लोकतान्त्रिक समाजमा सरकार, नेता, कम्पनी वा धार्मिक संस्थामाथि खुला आलोचना गर्न पाउनु अभिव्यक्ति स्वतन्त्रताको आधार हो । तर आलोचनाको स्वतन्त्रता असीमित हुँदैन ।
What you should know
‘मेरो देश, सही होस् वा गलत’ मेरो समर्थन भन्ने भनाइले देशप्रतिको निष्ठा व्यक्त गर्न सक्छ तर यसले नागरिकले आफ्नो सरकारका अन्यायपूर्ण कार्यको आलोचना गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न पनि उठाउन सक्छ । त्यसैले, देशप्रेम भनेको पक्षपोषण मात्रै होइन, गल्ती देखे सुधार गर्नु पनि हो । यस्तै, ‘मेरो पार्टीको सरकार सही होस् या गलत म समर्थन गर्छु’ भन्नु पनि लोकतन्त्रका लागि हानिकारक हुन्छ । यस्तो प्रवृत्तिले सत्यको पहिचान, न्यायको अभ्यास र नैतिक उत्तरदायित्वको आधारलाई कमजोर बनाउँछ । त्यसैले, नागरिक स्वायत्तता र स्वतन्त्र सोच कुनै पनि मुलुकको सुरक्षा र प्रगतिका लागि अपरिहार्य हुन्छन् ।
व्यक्तिगत स्वार्थका लागि सत्ता वा शक्तिशालीको प्रशंसा गर्ने प्रवृत्तिको विभिन्न विचारकले सदियौंदेखि आलोचनात्मक विश्लेषण गर्दै आएका छन् । प्लेटोले (‘द रिपब्लिक’ मा) जब समाजमा विवेकभन्दा चाप्लुसी हाबी हुन्छ, तब शासन गलत र अयोग्यका हातमा पुग्ने सम्भावना बढ्छ भन्ने निष्कर्ष प्रस्तुत गरेका छन् । त्यस्तै, माकियावेलीले (‘द प्रिन्स’ मा) राजनीतिक शक्तिको व्यावहारिक प्रयोगलाई विश्लेषण गर्दै सत्ता टिकाउनका लागि अनैतिक बनावटी छविको प्रयोग कसरी गरिन्छ भन्ने यथार्थपरक पक्ष उजागर गरेका छन् । प्लेटो र माकियावेलीको विश्लेषण आज पनि सान्दर्भिक छन् ।
आधुनिक विश्लेषणमा जर्ज ओरवेलले (‘पोलिटिक्स एन्ड द इंग्लिस ल्यांग्वेज’ र ‘नाइन्टिन एटी–फोर’ मा) राजनीतिक भाषा र विचारधाराको दुरुपयोगले अन्याय र झूटलाई सामान्य र स्वीकार्य बनाउने खतरा औंल्याएका छन् । त्यस्तै, एडवर्ड सइदले (‘रेप्रेजेन्टेसन्स अफ द इन्टेलेक्चुअल्स’ मा) बौद्धिकहरू कुनै पनि सत्ता वा संस्थाको प्रभावमा नपरी स्वतन्त्र रूपमा सत्य र न्यायको पक्षमा उभिनुपर्नेमा जोड दिएका छन् ।
समग्रमा, यी उल्लेखनीय विचारकहरूको साझा सन्देश के हो भने स्वार्थका लागि शक्तिलाई प्रशंसा गर्नुले समाजमा आलोचनात्मक सोच, सत्य र जवाफदेहिता कमजोर बन्छन्, जसका कारण गलत सूचना, अन्याय र अयोग्य नेतृत्व फस्टाउँछन् तथा सामाजिक प्रगति र लोकतान्त्रिक मूल्यहरू क्षीण हुँदै जान्छन्, जुन आज विश्वभर भइरहेको छ ।
यो लेखमा आलोचकहरूको पनि आलोचना प्रस्तुत गर्ने प्रयास गरिएको छ । अर्थात्, ज्ञानको विकास र प्रगतिका लागि सत्ता वा सत्ताधारी मात्र होइन बौद्धिक, विचारधारा र ज्ञान–प्रणालीहरू पनि आलोचनाका विषय हुनुपर्छ भन्नेमा जोड दिइएको छ । किनकि, कुनै पनि बौद्धिक वा विचारलाई आलोचनाभन्दा माथि राखिएमा त्रुटि, पूर्वाग्रह र गलत निष्कर्षहरू समयसँगै संस्थागत हुन सक्छन् । यसका साथै, अनुभवजन्य ज्ञानको विकास निरन्तर प्रश्न, परीक्षण र पुनर्मूल्यांकनको प्रक्रियाबाट हुन्छ । त्यसैले बौद्धिकहरूको आलोचना व्यक्तिमाथिको आक्रमण नभई उनीहरूका विचार, तर्क, प्रमाण र निष्कर्षहरूको सार्वजनिक परीक्षण हो । यही प्रक्रियाले बौद्धिक विनम्रता, उत्तरदायित्व र निरन्तर सुधारको संस्कृतिलाई बलियो बनाउँछ, जसले स्वतन्त्र विचार भएका नागरिकको समाज निर्माण गर्न मद्दत गर्छ ।
स्वतन्त्र आलोचकको विशेषता
अस्तित्वमीमांसात्मक (एन्टोलोजिकल) दृष्टिले प्रत्येक व्यक्ति अद्वितीय हुन्छ भने ज्ञानमीमांसात्मक (एपिस्टेमोलोजिकल) दृष्टिले प्रत्येक व्यक्तिले संसारलाई फरक तरिकाले बुझ्न सक्छ । यही कारणले विचारको विविधता स्वाभाविक हो । तर स्वतन्त्र आलोचकको विशेषता भनेको विरोधाभासी तर्कलाई एउटै ज्ञानमीमांसात्मक मापदण्डले मूल्यांकन गर्नु हो । उसले पूर्वाग्रहभन्दा प्रमाणलाई प्राथमिकता दिन्छ र नयाँ तथ्य प्राप्त भएमा आफ्नो निष्कर्ष संशोधन गर्न तयार हुन्छ (अर्थात्, विचारको स्थिरता र व्याख्याको लचिलोपन) ।
बौद्धिक स्वायत्तता आलोचकका लागि धेरै महत्त्वपूर्ण हुन्छ । निमित्त–बौद्धिकले व्यक्तिगत लाभका लागि शक्ति–प्रशंसालाई माध्यम बनाएका हुन सक्छन् । एक शुद्ध–निष्पक्ष बौद्धिकले उसको काम गर्ने विश्वविद्यालय, सञ्चार संस्था वा कुनै पनि नियोक्ताको हितका लागि आफ्नो अन्तःकरणलाई समर्पण गर्दैन । जुनसुकै अवस्था र परिस्थितिमा उसलाई आफ्नो बौद्धिक वा व्यक्तिगत स्वायत्तता कायम राख्नु अपरिहार्य हुन्छ । यदि कुनै बौद्धिकले आफ्नो स्वायत्तता जोगाउन सक्दैन र सत्तासामु आत्मसमर्पण गर्छ भने उसलाई स्वतन्त्र चिन्तक भन्न गाह्रो हुन्छ । वास्तविक बौद्धिकले आफ्नो संस्थागत वा व्यक्तिगत हितभन्दा माथि उठेर बौद्धिक स्वायत्तता कायम राख्छ ।
एक निजामती कर्मचारीले आफ्नो व्यक्तिगत स्वायत्तता कायम राख्न संविधान, कानुन र जनहितप्रति निष्ठावान रहनुपर्छ, कुनै नेता वा राजनीतिक दलप्रति अन्धभक्त बन्नु हुँदैन । उसले स्वतन्त्र रूपमा सोच्न, इमानदार र व्यावसायिक सुझाव दिन, कानुनी जिम्मेवारीहरू जिम्मेवारीपूर्वक पूरा गर्न तथा नैतिक वा कानुनी समस्या देखिएमा उचित माध्यमबाट आवाज उठाउन सक्नुपर्छ । एक असल निजामती कर्मचारीले सरकारको सेवा गर्छ तर आफ्नो विवेक र आलोचनात्मक सोचलाई कहिल्यै त्याग्दैन ।
तथ्यभन्दा अनुमानमा आधारित विज्ञहरूका लेखन (अप–एड) ले षड्यन्त्र सिद्धान्तलाई बल पुर्याउन सक्छ । त्यसैले स्वतन्त्र आलोचकको मूल्यांकन उसले कस्तो निष्कर्ष निकाल्यो भन्ने आधारमा होइन, त्यो निष्कर्षमा पुग्ने प्रक्रिया कति निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित छ भन्ने आधारमा गरिनुपर्छ । उसले आफ्नै विश्वासविरुद्ध जाने प्रमाणलाई पनि विचार गर्नुपर्छ र पर्याप्त प्रमाण उपलब्ध भएमा आफ्नो धारणा बदल्न तयार हुनुपर्छ ।
अनुभवजन्य दृष्टिकोणमा सत्य व्यक्तिको प्रतिष्ठा, अधिकार वा दृढ विश्वासले निर्धारण हुँदैन । सत्यको निकटता त्यही दाबीले प्राप्त गर्छ, जसलाई प्रमाण, तार्किक सुसंगति र स्वतन्त्र पुष्टि गर्न सकिने तथ्यहरूले समर्थन गर्छन् । त्यसैले बौद्धिक विनम्रता, आत्मालोचना र वैकल्पिक दृष्टिकोणप्रति खुलापन ज्ञानको खोजका आधारभूत सर्त हुन् ।
‘अलौकिक’ र ‘लौकिक’ ज्ञान
संसारका अधिकांश सामाजिक र राजनीतिक द्वन्द्वको जरा प्रायः ज्ञानका दुई फरक र विरोधाभासी विषयको मिश्रणबाटै निस्कन्छ । ‘अलौकिक’ र ‘लौकिक’ ज्ञान छुट्याउन वैज्ञानिक सोच पनि अनिवार्य हुन्छ । अर्थात्, धर्म, संस्कृति र विज्ञानलाई सार्वजनिक नीति सन्तुलनमा राख्नु भनेको तथ्य र प्रमाणका लागि विज्ञानको प्रयोग गर्नु, मूल्य र पहिचानका लागि धर्म र संस्कृतिको सम्मान गर्नु हो । विज्ञान, धर्म र संस्कृतिबीच सन्तुलन नभएमा सार्वजनिक जीवन अज्ञानता, विभाजन वा साझा अर्थको अभावले विकृत हुन सक्छ ।
‘म नै अन्तिम सत्य हुँ, मप्रति पूर्ण रूपमा समर्पित होऊ’ भन्ने प्रकारका कथनहरू आध्यात्मिक सन्दर्भमा अर्थपूर्ण हुन सक्छन् । आस्थाको ‘अलौकिक’ संसारमा श्रीकृष्णलाई सर्वज्ञ र परम मार्गदर्शक गुरुका रूपमा स्वीकार गरिन्छ । तर अनुभवजन्य र लौकिक दृष्टिकोणबाट कुनै पनि व्यक्तिलाई पूर्ण रूपमा सर्वज्ञ वा त्रुटिरहित मान्न पर्याप्त प्रमाण उपलब्ध हुँदैन । स्वतन्त्र विचार, आलोचनात्मक चिन्तन र प्रमाणमा आधारित समाजमा कुनै दाबीलाई केवल अधिकार वा प्रतिष्ठाका आधारमा अन्तिम सत्य मानिँदैन । त्यसको मूल्यांकन तर्क, प्रमाण र अनुभवका आधारमा गरिन्छ ।
युरोपेली ‘इनलाइटेनमेन्ट’ अघि ज्ञानको वैधता मुख्यतः धार्मिक आदेश (टेन कमान्डमेन्ट्स) निर्धारित हुन्थ्यो । युरोपेली इनलाइटेनमेन्टले ज्ञानको प्रमुख आधारका रूपमा तर्क, वैज्ञानिक परीक्षण र व्यक्तिगत विवेकलाई स्थापित गर्यो । यसले परम्परा र धार्मिक अधिकारमाथि आलोचनात्मक दृष्टि विकास गर्न योगदान पुर्यायो । यद्यपि यसको प्रभाव विभिन्न समाजमा फरक–फरक रूपमा देखिन्छ ।
भनिन्छ, गौतम बुद्धले ज्ञानको परीक्षण र पुनर्मूल्यांकन ‘मारा’ (जसलाई आत्मछाया पनि भनिन्छ) को पूर्ण रूपमा सामना गर्दै, त्यसबाट विचलित नभई स्थिर रहँदा ‘बुद्धत्व’ (ज्ञान) प्राप्त भयो । ‘मारा’ सामाजिक विज्ञानमा आफ्नै विचारको परीक्षण गर्ने अन्तिम माध्यम हुन सक्छ तर सबै गौतम बुद्ध हुन सक्दैनन् । बौद्ध परम्पराको ‘बोधि’ र युरोपेली ‘इनलाइटेनमेन्ट’ फरक ऐतिहासिक र दार्शनिक अवधारणा हुन् । पहिलोले आत्मअवलोकन र चेतनाको गहिरो अनुभूतिमार्फत यथार्थ बुझ्न जोड दिन्छ भने दोस्रोले वैज्ञानिक अनुसन्धान र तर्कलाई प्राथमिकता दिन्छ ।
बौद्ध साहित्यमा ‘मारा’ लाई मानिसका मानसिक र भावनात्मक अवरोधको प्रतीकका रूपमा बुझ्न सकिन्छ । मानसिक अवस्थाहरू आधुनिक सामाजिक र मनोवैज्ञानिक अध्ययनका लागि महत्त्वपूर्ण हुन सक्छन् । यसै सन्दर्भमा, बौद्धिक आत्मालोचनाको महत्त्व देखिन्छ । आत्मालोचना भनेको आफ्ना विश्वास, तर्क र निष्कर्षको व्यवस्थित परीक्षण हो । यसले व्यक्तिलाई आफ्ना त्रुटि, पूर्वाग्रह र कमजोरी पहिचान गर्न सहयोग पुर्याउँछ । वैज्ञानिक विधिको मूल भावना पनि यही हो अर्थात् कुनै दाबीलाई स्वतः सत्य नमान्ने, प्रमाण र परीक्षणमार्फत निरन्तर मूल्यांकन (परीक्षण) गर्ने । आधुनिक बौद्धिक व्यक्तिलाई मारा प्रकारको परीक्षण प्रयोग गर्न सम्भव नहुन सक्छ । तर परीक्षण नगरिएको ज्ञान, बौद्धिकको चाप्लुसी र विश्वासघात स्वीकार्य हुनु हुँदैन ।
बौद्धिकको विश्वासघात र सत्ताको नियन्त्रण
बौद्धिक विश्वासघातबारे चर्चा गर्दै जुलियन बेन्डाले (‘द बिट्रेयल अफ द इन्टेलेक्चुअल्स’ मा) बौद्धिकहरू सत्य र सार्वभौमिक नैतिक मूल्यहरूको पक्षमा उभिनुको सट्टा राजनीतिक शक्तिको सेवक बन्दा आफ्नो जिम्मेवारीबाट विचलित हुने तर्क गरेका छन् । बेन्डा भन्छन्– बौद्धिकहरूको विश्वासघात तब हुन्छ, जब उनीहरूले सत्य र निष्पक्ष चिन्तनको सट्टा विचारधारा, सत्ता वा समूहगत निष्ठालाई प्राथमिकता दिन्छन् । जस्तै– केहीले फासीवादलाई समर्थन गरे, केहीले सोभियत दमन र स्टालिनवादलाई बेवास्ता वा उचित ठहर्याए र केहीले जातीय भेदभाव र उपनिवेशवादलाई समर्थन गर्ने गलत सिद्धान्तहरूलाई वैधता दिए । यी सबै अवस्थामा बौद्धिक ज्ञान सत्यको खोजीका लागि होइन, बरु शक्ति र विचारधाराको पक्षमा प्रयोग भयो । बेन्डाले यस्ता प्रवृत्तिलाई बौद्धिकहरूको विश्वासघात भनी आलोचना गरेका छन्, त्यो आज पनि सान्दर्भिक छ ।
नागरिकउपर शक्तिको नियन्त्रणबारेमा मिशेल फुकोले (‘डिसिप्लिन एन्ड पनिस ः द बर्थ अफ द प्रिजन’ मा) शक्ति सरकारमा मात्र सीमित नभई विद्यालय, अस्पताल, जेल तथा अन्य सामाजिक संस्थाहरूमा पनि उपस्थित हुने तर्क गरेका छन् । उनका अनुसार शक्तिले दैनिक जीवन र सोचाइमा प्रभाव पार्छ, त्यसैले यसको आलोचनात्मक परीक्षण आवश्यक छ । नियन्त्रण र सार्वजनिक जाँचबिना राजनीतिक शक्ति खतरनाक हुन सक्छ । यही कारणले धेरै चिन्तकहरूले शक्तिको आलोचनालाई लोकतान्त्रिक समाजको आवश्यक तत्त्व मानेका छन् ।
बौद्धिकहरूको मुख्य भूमिका सत्ताको आलोचनात्मक परीक्षण गर्नु हो । उनीहरूले सरकार, नेता वा संस्थाका गलत निर्णय, झूट, अन्याय र शक्ति दुरुपयोगलाई उजागर गर्न सक्छन् । आलोचना तथ्यमा आधारित, जिम्मेवार र सार्वजनिक हितप्रति सचेत हुनुपर्छ । असल नेता प्रशंसाबाट होइन, आफ्ना कार्यबाट मूल्यांकन हुन्छ । त्यसैले नेताहरूले आलोचनालाई दबाउने होइन, आफ्ना काममार्फत त्यसको जवाफ दिनुपर्छ । त्यस्तै, जिम्मेवार नागरिकहरूले पनि नेताहरूको अन्धसमर्थन नगरी उनीहरूका राम्रा र नराम्रा दुवै पक्षबारे विचार व्यक्त गर्नुपर्छ ।
यदि कलाकार, लेखक वा चलचित्रकर्मीहरूले शासकको प्रशंसा गरेर मात्र सफलता प्राप्त गर्ने अवस्था सिर्जना हुन्छ भने कला र साहित्य स्वतन्त्र अभिव्यक्तिको माध्यम नभई प्रचारको साधन बन्न सक्छ । इतिहासले देखाएको छ कि वास्तविक कला र साहित्य प्रतिकूल परिस्थितिमा पनि जीवित रहन्छन् । लोकतान्त्रिक व्यवस्थामा सरकार र सार्वजनिक संस्थाहरूले आफ्ना निर्णयको औचित्य प्रमाणसहित जनतासामु प्रस्तुत गर्नुपर्छ । त्यसपछि बौद्धिक, पत्रकार, अदालत र नागरिकहरूले ती निर्णयको समीक्षा तथा आलोचना गरेर सत्तालाई उत्तरदायी बनाउँछन् ।
मानववाद र लोकतान्त्रिक आलोचना
एडवर्ड सइदले (‘ह्युम्यानिज्म एन्ड डेमोक्रेटिक क्रिटिसिज्म’ मा) ‘मानववाद र लोकतान्त्रिक आलोचना’ लाई खुला, समावेशी र स्वतन्त्र आलोचनात्मक अभ्यासका रूपमा परिभाषित गरेका छन् । उनका अनुसार बौद्धिकहरूको दायित्व सत्ता, अन्याय र स्थापित मान्यतामाथि प्रश्न उठाउनु तथा स्वतन्त्र सार्वजनिक बहसलाई प्रोत्साहित गर्नु हो । उनले मानववादलाई केवल ज्ञानको अध्ययन होइन, नैतिक जिम्मेवारी र आलोचनात्मक सोचको अभ्यासका रूपमा प्रस्तुत गरेका छन् । साँचो मानववादले अरूलाई मात्र होइन, आफूलाई पनि आलोचनात्मक दृष्टिले हेर्न सिकाउँछ । त्यसैले आत्मालोचना व्यक्ति, समाज, राष्ट्र र बौद्धिक समुदाय सबैका लागि आवश्यक गुण हो ।
सइदले संकीर्ण राष्ट्रवाद, कठोर पहिचान राजनीति र संस्थाप्रतिको अन्धविश्वासले स्वतन्त्र चिन्तनलाई कमजोर बनाउने चेतावनी दिएका छन् । सइद भन्छन्– बौद्धिकहरूले शक्तिशाली विचार र स्थापित कथनहरूलाई प्रश्न गर्नुपर्छ र असहज परिस्थितिमा पनि सत्य बोल्ने साहस राख्नुपर्छ । सइदका अनुसार लोकतन्त्र संवाद, आत्मालोचना र विविध विचारप्रतिको सम्मानमा आधारित हुन्छ । आफ्ना विश्वास, परम्परा र अभ्यासहरूको आलोचनात्मक समीक्षा नगरी तथा अन्य विचार र संस्कृतिसँग संवाद नगरी वास्तविक आत्मज्ञान सम्भव हुँदैन । आलोचना लोकतन्त्रको आधारभूत अभ्यास हो, जसले कट्टरता, जडता र शक्ति दुरुपयोगलाई चुनौती दिन्छ ।
जयपृथ्वीबहादुर सिंहको विचारसँग मिल्दोजुल्दो रूपमा सइदले मानवतावादलाई ‘अरूमा आफूलाई देख्ने क्षमता’ का रूपमा यसरी व्याख्या गरेका छन्– ‘आफ्नो भन्ने साँघुरो घेराभन्दा बाहिर निस्केर अरूको वास्तविक अवस्था, अनुभव र भावनालाई सहानुभूतिपूर्वक तथा विपरीतार्थक रूपमा, सँगसँगै राखेर बुझ्ने प्रयास गर्नु कठिन हुन सक्छ तर त्यो बढी सन्तोषजनक हुन्छ । यसको अर्थ अरूमाथि प्रभुत्व जमाउने, उनीहरूलाई वर्गीकरण गर्ने वा श्रेणी क्रममा राख्ने होइन, न त आफ्नो देश वा संस्कृतिलाई निरन्तर सर्वश्रेष्ठ ठहर्याइरहनु नै हो । बरु, भिन्नता र विविधतालाई सम्मान गर्दै अनेक दृष्टिकोणलाई एकसाथ बुझ्न सक्नु नै साँचो विवेक र बौद्धिक परिपक्वताको चिह्न हो ।’ विदेशीप्रति बढ्दो अविश्वास र शत्रुता (जेनोफोबिया) को वर्तमान संसारमा आलोचनात्मक चिन्तकहरूका लागि यो गहिरो सन्देश हो ।
आलोचनाको सीमा
लोकतान्त्रिक समाजमा सरकार, नेता, कम्पनी वा धार्मिक संस्थामाथि खुला आलोचना गर्न पाउनु अभिव्यक्ति स्वतन्त्रताको आधार हो । तर आलोचनाको स्वतन्त्रता असीमित हुँदैन । हिंसाको उक्साहट, प्रत्यक्ष धम्की, जानाजानी फैलाइने झूटा आरोप, मानहानि वा अमानवीय अपमानलाई आलोचनाका नाममा वैध ठहर गर्न सकिँदैन । तर पनि नीति, निर्णय र शक्तिको प्रयोगमाथि प्रश्न उठाउनु र केवल व्यक्तिगत अपमान गर्नुबीच स्पष्ट भिन्नता हुन्छ ।
आलोचना मानव विचार, विज्ञान, राजनीति र व्यक्तिगत विकासको महत्त्वपूर्ण साधन हो, यसका केही सीमा यस प्रकारका हुन्छन्– पहिलो, आलोचना तथ्य, प्रमाण र सन्दर्भमा आधारित हुनुपर्छ । गलत सूचना वा अतिरञ्जनामा आधारित आलोचनाले आफ्नो विश्वसनीयता गुमाउँछ । दोस्रो, आलोचनाको उद्देश्य सुधार, समझदारी र उत्तरदायित्व हुनुपर्छ । केवल अपमान, घृणा वा क्षति पुर्याउने उद्देश्यले गरिएको आलोचनाले संवादलाई कमजोर बनाउँछ । तेस्रो, मानव ज्ञान सीमित हुन्छ । पर्याप्त जानकारीबिना गरिएको आलोचना सतही वा अन्यायपूर्ण हुन सक्छ । चौथो, आलोचनाको मनोवैज्ञानिक प्रभावलाई पनि ध्यान दिनुपर्छ । अत्यधिक कठोर वा असन्तुलित आलोचनाले आत्मविश्वास र सिर्जनशीलतालाई कमजोर बनाउन सक्छ । पाँचौं, सामाजिक र नैतिक दृष्टिले धम्की, गालीगलौज, मानहानि वा अमानवीय व्यवहारलाई धेरैजसो समाजले अपराधका रूपमा लिन्छ (आलोचनात्मक सोच भन्न मिल्दैन) ।
लोकतन्त्र, पत्रकारिता, दर्शन र वैज्ञानिक अनुसन्धान खुला आलोचनामाथि निर्भर हुन्छन् । तर आलोचना प्रभावकारी हुनका लागि सत्यता, निष्पक्षता, संवेदनशीलता, मर्यादा र जिम्मेवारीका सीमाहरूभित्र रहनुपर्छ । साँचो आलोचना अरूलाई मात्र होइन, आफैंलाई पनि प्रश्न गर्न सक्षम हुन्छ । आत्मालोचनाबिना आलोचना पक्षपाती बन्न सक्छ र आलोचनाबिना लोकतन्त्र, ज्ञान र मानव स्वतन्त्रता कमजोर हुन सक्छन् । यस अर्थमा लोकतान्त्रिक आत्मालोचना कमजोरी होइन, यो बौद्धिक परिपक्वता, नैतिक साहस र सत्यप्रतिको प्रतिबद्धताको संकेत हो ।
