आजका बहुसंख्यक आमा–बाबु सन्तानलाई ‘सेलेब्रिटी’ बनाउने यस्तो आत्मघाती दौडमा छन्, जहाँ बालापन एउटा सहज अनुभूति हुन छोडेर ‘स्क्रिप्टेड दृश्य’ मा परिणत भएको छ ।
What you should know
अस्तित्वको सबैभन्दा शुद्ध, आदिम र मौलिक अवस्था हो– ‘बालापन’ । बालक परमात्माको त्यो अनाहत स्वरूप हो, जहाँ अझै अहंकारको धूलो उडेको हुँदैन र ‘म’ को संकुचित पर्खाल ठडिएको हुँदैन । शुद्ध चैतन्यको महासागरमा तैरिनु नै बालापन हो । तर, दुर्भाग्य ! आजको उपभोक्तावादी बजारले यो शाश्वत पवित्रता र निर्दोषतालाई विज्ञापनको ‘कन्टेन्ट’ बनाइदिएको छ । एउटा कलिलो कोपिला, जो आफ्नै अन्तरात्माको प्राकृतिक सुगन्धमा फक्रिनुपर्ने थियो, त्यसलाई आज ‘भाइरल’ को कृत्रिम रसायन हालेर जबर्जस्ती फुलाउन खोजिँदै छ ।
आजका बहुसंख्यक आमा–बाबु सन्तानलाई ‘सेलेब्रिटी’ बनाउने यस्तो आत्मघाती दौडमा छन्, जहाँ बालापन एउटा सहज अनुभूति हुन छोडेर ‘स्क्रिप्टेड दृश्य’ मा परिणत भएको छ । सन्तानहरू अभिभावकका अधुरा र कुण्ठित रहर प्रदर्शन गर्ने जीवन्त पर्दा बनिरहेका छन् । बालबालिकालाई काखमा राखेर उनीहरूको निर्दोषिता खुम्च्याउँदै अभिभावक आफ्ना अतृप्त सपनालाई ‘डिजिटल फिल्टर’ लगाएर भाइरल बनाउने होडमा छन् । तर, त्यो भाइरल बन्ने चाहना बच्चाको आत्माको पुकार होइन, अभिभावकभित्र वर्षौंदेखि थिचिएर रहेको ‘अहम्’ र पहिचानको भोकको भद्दा पुनर्जन्म हो ।
बालबालिकाले आफ्ना संवेगलाई शब्दमा पोख्नसमेत नसक्ने उमेरमै तिनको मौलिकता, स्वतन्त्रता र शुद्ध चेतनालाई क्यामेराको साँघुरो फ्रेमभित्र बन्द गरिँदै छ । बालक त एउटा खुला आकाश हो तर हामी उसलाई सानै उमेरमा सामाजिक अपेक्षा र ‘भर्चॅअल’ संख्याको साङ्लोले बाँध्छौं । उनीहरूलाई अर्थ र भावसमेत थाहा नभएका अश्लील एवं उच्छृंखल गीतमा कम्मर मर्काउन सिकाइन्छ, टिकटक र रिल्सका लागि कृत्रिम अभिनयको यातना दिइन्छ, अनि बोल्नै गाह्रो लवजमा संवादहरू रटाइन्छ ।
जब कुनै अभिभावक छाती फुलाएर गर्वका साथ भन्छन्, ‘हाम्रो बच्चा त भाइरल भयो’, त्यतिबेला उनीहरूले भुलिरहेका हुन्छन् कि उनीहरूले बच्चाको सफलताको उत्सव मनाइरहेका छैनन्, बरु उसको ‘मौनता’ को व्यापार गरिरहेका छन् । प्रश्न उठ्छ, यो भाइरलको मृगतृष्णा कसका लागि ? के यो त्यो अबोध बालकको मानसिक आवश्यकता हो ? कि तपाईंको विस्मृतिमा बिलाएको रहरको उत्खनन ? यदि यो तपाईंको अधुरो तृष्णाको उपज हो भने आफैंलाई प्रश्न गर्नॅहोस्– के सन्तान तपाईंको अहंकार तृप्त गर्ने निर्जीव औजार हुन् ?
प्रकृतिले हरेक बालबालिकालाई स्वच्छ क्यानभासका रूपमा धर्तीमा पठाउँछ, जहाँ दिव्य रङ भर्नॅपर्ने जिम्मा अभिभावकको काँधमा हुन्छ । तर, आज त्यो पवित्र क्यानभासमा रङ होइन, व्यापारिक ‘रिल’ भरिँदै छ । सन्तानभित्र लुकेको अनुपम र प्राकृतिक प्रतिभा पहिल्याउने धीरता आजको हतारो समाजसँग छैन । हामी त उसलाई बजारमा बिक्ने एउटा ‘प्रोजेक्ट’ र ‘हिट’ बनाउने वित्तीय लतमा होमिरहेका छौं । सन्तानको आत्मा एउटा शुद्ध र मौलिक ध्वनि हो तर हामी डिजिटल संसारमा लाइक्स र कमेन्टको सस्तो ताली बजाउन त्यो ध्वनिलाई नै ‘म्युट’ गरिरहेका छौं ।
सांस्कृतिक विचलन र प्रविधिको आक्रामक लहरसँगै मनोरञ्जन अब स्वतन्त्रताबाट होइन, मानसिक दबाबबाट जन्मिन थालेको छ । हामी हरेक दिन यस्तो त्रासदीका साक्षी भइरहेका छौं, जहाँ बालकको हाँसो अब उन्मुक्त छैन । हरेक पटक क्यामेराको ‘लेन्स’ अन हुँदा, एउटा त्रसित र असहज अनुहारले मुस्कानको नक्कली अभ्यास गर्छ । हाँस्नुपर्छ, किनकि स्क्रिप्टमा लेखिएको छ । नाच्नुपर्छ, किनकि त्यो बजारको ‘ट्रेन्ड’ हो । यो एउटा कलिलो र शुद्ध चेतनामाथि गरिएको गम्भीर मनोवैज्ञानिक हिंसाबाहेक अरू केही हुन सक्दैन ।
डिजिटल माध्यमबाट अर्थोपार्जन गर्नॅ आधुनिक युगको अवसर होला तर बालबालिकाको बालापनलाई नै बजारमा बेच्ने ‘कन्टेन्ट’ बनाउनु कतिसम्म न्यायसंगत हो ?यस्ता कृत्रिम र यान्त्रिक व्यवहारले ती नानीहरूको आत्मिक संरचनामा कहिल्यै निको नहुने गहिरो चोट पुर्याउँछ । यसले उनीहरूको आत्मसम्मानलाई भित्रभित्रै खियाउँदै लैजान्छ, मौलिकता सोस्छ र भविष्यमा हुनुपर्ने आत्मचिन्तनको क्षमतामाथि पक्षघात गराइदिन्छ । बालापन, जो जीवनको क्यालेन्डरमा कहिल्यै दोहोरिएर फर्कंदैन, त्यही स्वर्णिम समय ‘भाइरल’ को सस्तो भोक मेटाउन खर्चिइरहेको छ । आजका यी ‘भाइरल’ बालकहरू भोलि वयस्क हुँदा आत्मसंकट’ को भयानक खाडलमा भासिने निश्चित छ ।
जब बालकलाई चौबिसै घण्टा ‘परफर्म’ गर्न बाध्य पारिन्छ, उनीहरूको व्यक्तित्व र भावनात्मक चेतनाको स्वाभाविक विकास रोकिन्छ । तिनीहरू आफैंलाई आफ्नो नजरले होइन, अरूको नजर र मूल्यांकनबाट हेर्न अभ्यस्त हुन्छन्, ‘म क्युट देखिएँ कि देखिइनँ ? मेरो भिडियोमा कति भ्युज आयो ?’ यो आत्मकेन्द्रित संकीर्णताले उनीहरूमा गम्भीर सामाजिक डिप्रेसन र भावनात्मक शून्यता पैदा गर्छ । हामी उनीहरूलाई ‘सफल’ बनाउने हतारो र महत्त्वाकांक्षामा, उनीहरूको ‘सक्षम’ हुन पाउने नैसर्गिक यात्राको बाटो नै थुनिदिइरहेका छौं । सक्षम हुनु भनेको त तिनको भित्र रहेको चेतनाको बीउलाई आफ्नै गति र समयमा अंकुरित हुन दिनु हो ।
डिजिटल माध्यमबाट अर्थोपार्जन गर्नॅ आधुनिक युगको अवसर होला तर बालबालिकाको बालापनलाई नै बजारमा बेच्ने ‘कन्टेन्ट’ बनाउनु कतिसम्म न्यायसंगत हो ? उनीहरूको अबोध हाँसो, रुन्चे अनुहार, दाजुभाइको झगडा, भोक, निद्रा र कलिला संवादलाई टुक्रा–टुक्रा पारेर, क्लिप बनाएर सामाजिक सञ्जालको मञ्चमा लिलाम गरिन्छ । जसले डलर र पैसा त ल्याउँछ तर आम्दानीको स्रोत आफ्नै सन्तानको चेतनाको हुर्मत लिएर गरिन्छ भने, के त्यो कमाइलाई ‘सात्विक’ मान्न सकिन्छ ?
साँचो अर्थमा पवित्र कमाइ त्यही हो, जहाँ कुनै कलिलो आत्मा लाइक्सको लोभमा थिचिएको हुँदैन, जहाँ कुनै बालापन भ्युजको सट्टामा लुटिएको हुँदैन र जहाँ कुनै निर्दोष आँखामा मुनाफाको नक्कली ‘स्क्रिप्ट’ लेखिएको हुँदैन । के ती मासुम आँखाहरूले कहिल्यै तपाईंको कृत्रिम मौनतालाई मौन प्रश्न गरेका छैनन्, ‘बुबा–आमा, म तपाईंको सन्तान हुँ कि तपाईंको डिजिटल पसलको सामान ?’ के तपाईंको वात्सल्य अब स्क्रिनको ‘इन्गेजमेन्ट’ र कमेन्टको संख्यामा सर्तबद्ध भएको हो ? याद गरौं, बालक कुनै ‘मुनाफा’ फलाउने निर्जीव यन्त्र होइन, ऊ त अस्तित्वले तपाईंको निष्ठामाथि विश्वास गरेर सुम्पिएको दिव्य उपहार हो । अभिभावकत्वको योभन्दा तीतो र व्यंग्यात्मक ऐना अरू के हुन सक्छ, जहाँ बच्चाको सुरक्षा र गोपनीयताको पहरेदार बन्नुपर्ने बुबा–आमा नै उसको व्यक्तिगत जीवनको ‘भर्चॅअल’ हुर्मत लिइरहेका छन् ?
हामी किन आफ्ना अधुरा सपनाको भारी उनीहरूको कलिलो काँधमा लाद्न खोज्दै छौं ? किन उनीहरूको उन्मुक्त आत्मालाई प्रदर्शनको डिजिटल पिँजडामा थुन्न खोजिरहेका छौं ? बच्चाहरू तपाईंका अधुरा इच्छा पूरा गर्न धर्तीमा आएका होइनन्, आफ्नो यात्राका लागि आएका स्वतन्त्र ब्रह्माण्डीय यात्री हुन् । तपाईंको कर्तव्य उनीहरूलाई आफ्नो बाटो हिँड्न बाध्य बनाउनु होइन, केवल मार्गको सहयात्री बन्नु हो ।
अभिभावक हुनु एउटा दिव्य जिम्मेवारी हो । सन्तानलाई जन्म दिनु एउटा जैविक संयोग मात्रै हो तर उसलाई चेतनाको उच्चस्तरमा हुर्काउनु आन्तरिक परिपक्वताको परीक्षा हो । प्रेम भनेको नियन्त्रण वा प्रदर्शन होइन, प्रेम त स्वीकार र समर्पण हो । बाल स्वतन्त्रताको अर्थ उनीहरूको आत्मिक रुचि, प्रकृति र संवेगको कदर गर्नॅ हो । न कि आफ्नो अहंकारको रहर ठेलेर उनीहरूलाई कुण्ठित बनाउनु !
हरेक बालबालिका एउटा सम्भावनाको बीउ हो, जसलाई जस्तो वातावरण दिइन्छ, भोलि त्यस्तै वृक्ष बन्छ । हामी आज यिनलाई प्रदर्शनको मरुभूमिमा रोप्दै छौं, जहाँ गहिरो जरा बस्न सम्भव नै छैन । जुन उमेरमा उनीहरूले खुला आकाश हेरेर अनन्तको सपना देख्नुपर्ने हो, त्यो आँखा आज क्यामेराको लेन्स र स्क्रिनको चौघेरामा खुम्चिएको छ । बालबालिकाको मनमा आत्मीयता र माया रोपौं, बजारको व्यापार होइन । उनीहरूको उन्मुक्त हाँसो जोगाउनुहोस् किनकि त्यो हाँसो नै ब्रह्माण्डको सबैभन्दा ठूलो प्रार्थना हो । उनीहरूको हात समाऔं तर आफ्ना रहर पूरा गर्न धक्का नदिऔं । यो मनको फूललाई आफ्नै गतिमा, आफ्नै सुगन्धका साथ प्राकृतिक रूपमै फक्रिन दिऔं ।
