एआई युगले खोजेको शिक्षा प्रणाली

आजका विद्यार्थी पूर्णतः एआईमा निर्भर हुन थालेका छन् । यसले अनुसन्धान संस्कृतिमा नकारात्मक असर पार्नेछ । एआईको गलत प्रयोगबाट शैक्षिक चोरी, तथ्यहीन सामग्री उत्पादन तथा नक्कली सूचनाको विस्तार हुने जोखिम बढ्दै छ । त्यसैले एआई सहयोगी उपकरण हो, विकल्प होइन ।

जेष्ठ २५, २०८३

शोभाकुमारी पौडेल

The education system sought by the AI ​​era

What you should know

समय, समाज, संस्कृति र राजनीतिक परिवर्तनसँग प्रत्यक्ष जोडिएको छ– नेपालको शिक्षा प्रणाली । प्राचीन गुरुकुल परम्पराबाट सुरु भएको नेपाली शिक्षा प्रणाली आज आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल प्रविधि, अनलाइन शिक्षण तथा विश्वव्यापी सूचना प्रवाहको युगसम्म आइपुगेको छ । यसले स्पष्ट देखाउँछ– शिक्षा केवल ज्ञान दिने माध्यम नभई राष्ट्र निर्माण, सामाजिक परिवर्तन, आर्थिक विकास तथा आधुनिक सभ्यताको आधारशिला पनि हो ।

आजको युगमा शिक्षालाई एआई, डिजिटल प्रणाली र प्रविधिमैत्री व्यवस्थासँग जोडेर अगाडि बढाउन नसके नेपालको शैक्षिक विकास विश्व प्रतिस्पर्धामा पछाडि पर्न सक्ने खतरा देखिन्छ । त्यसैले नेपालको शिक्षा नीतिलाई इतिहास, वर्तमान आवश्यकता र भविष्यको डिजिटल विश्वसँग जोडेर पुनः विश्लेषण गर्नु आवश्यक छ ।

वर्तमान परिस्थितिमा चाहिँ शिक्षा केवल ज्ञान प्राप्त गर्ने प्रक्रिया होइन, यो ज्ञानको छनोट र विश्लेषण क्षमतासँग पनि जोडिएको छ । आज विश्वका धेरै राष्ट्रले एआई आधारित शिक्षालाई राष्ट्रिय प्राथमिकतामा राखेका छन् । चीन, अमेरिका, दक्षिण कोरिया तथा भारतले विद्यालय तहदेखि नै डिजिटल साक्षरता र एआई शिक्षालाई पाठ्यक्रममा समावेश गरिसकेको छ । यस्तो अवस्थामा नेपालले पनि विश्व प्रवृत्तिसँग समन्वय गर्नु आवश्यक छ ।

नेपालमा शिक्षा दिने र लिने परम्परा गुरुकुल प्रणालीबाट प्रारम्भ भएको हो । गुरुकुल प्रणालीमा विद्यार्थीहरू गुरुको आश्रममा बसेर नैतिक शिक्षा, धार्मिक शिक्षा, संस्कृत, वेद, दर्शन, ज्योतिष तथा सामाजिक आचरणसम्बन्धी ज्ञान हासिल गर्थे । त्यतिबेला शिक्षाको उद्देश्य केवल रोजगारी प्राप्त गर्नु नभई संस्कारयुक्त, अनुशासित र जिम्मेवार नागरिक तयार पार्नु थियो । लिच्छविकालमा देवकुल, राजकुल र पितृकुलजस्ता शिक्षालय सञ्चालनमा थिए । मठ, मन्दिर र आश्रम शिक्षाका केन्द्र थिए । यसले शिक्षा र समाजबीच गहिरो सम्बन्ध रहेको देखाउँछ । मल्लकालमा व्यावसायिक तथा सीपमूलक शिक्षाको विकास गर्न प्रयास गरिएको पाइन्छ । जयस्थिति मल्लले विभिन्न पेसा र व्यवसायलाई व्यवस्थित गरी सीपमा आधारित शिक्षा प्रणालीको सुरुवात गरेका थिए । यसलाई आजको प्राविधिक तथा व्यावसायिक शिक्षाको आधार मान्न सकिन्छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणपछि राष्ट्रिय एकता, भाषा, संस्कृति र सुरक्षामाथि प्राथमिकता दिँदै शिक्षालाई राष्ट्र निर्माणको माध्यमका रूपमा हेरे । उनका दिव्य उपदेशहरूमा राष्ट्रिय चेतना, आत्मनिर्भरता र व्यावहारिक शिक्षाको अवधारणा स्पष्ट पाइन्छ । नेपालमा आधुनिक विद्यालय शिक्षाको औपचारिक सुरुवात विसं १९१० मा दरबार हाईस्कुल स्थापनापछि भएको थियो । जंगबहादुर राणाले बेलायत भ्रमणपछि आधुनिक अंग्रेजी शिक्षा नेपालमा ल्याए र राणाकालमा अंग्रेजी शिक्षाको प्रवेश भयो । यद्यपि त्यो शिक्षा सीमित वर्गका लागि मात्रै थियो । २००७ को प्रजातन्त्रपछि शिक्षा क्षेत्रमा व्यापक सुधारका प्रयास भए । त्रिभुवन विश्वविद्यालय स्थापना, राष्ट्रिय शिक्षा प्रणाली योजना, महिला शिक्षा कार्यक्रम तथा प्राविधिक र व्यावसायिक शिक्षाको विस्तारजस्ता कार्यले आधुनिक शिक्षाको जग बसाल्न मद्दत गरे ।

वर्तमान परिस्थितिमा चाहिँ शिक्षा केवल ज्ञान प्राप्त गर्ने प्रक्रिया होइन, यो ज्ञानको छनोट र विश्लेषण क्षमतासँग पनि जोडिएको छ । त्यसैले आजको विश्व परम्परागत शिक्षाले मात्रै अघि बढ्न सक्ने अवस्थामा छैन । एआई, रोबोट प्रविधि, मेसिनद्वारा सिकाइ प्रणाली, विशाल तथ्यांक विश्लेषण, क्लाउड कम्प्युटिङ, डिजिटल सिकाइ प्रणाली तथा भर्चुअल शिक्षाको युग हो यो । विश्वका विकसित राष्ट्रहरूले शिक्षालाई डिजिटल प्रविधिसँग जोडेर विद्यार्थीलाई व्यावहारिक, अनुसन्धानमुखी र नवप्रवर्तनशील बनाइरहेका छन् । नेपालमा पनि विद्यार्थीहरू डिजिटल प्रविधिप्रति आकर्षित भइरहेका छन् । 

अबको बदलिँदो शिक्षा प्रणाली चक–डस्टरदेखि च्याटबटसम्म पुगेर आडिएको छ । मोबाइल, इन्टरनेट, अनलाइन माध्यम, डिजिटल पुस्तकालय तथा एआईमा आधारित सिकाइ प्रणालीले शिक्षण सिकाइ प्रक्रियालाई नयाँ दिशातर्फ लैजान थालेको छ । तर, नेपालमा डिजिटल शिक्षाको पहुँच अझै असमान छ । सहरी क्षेत्रमा केही विद्यालय र विश्वविद्यालयले डिजिटल प्रणाली अपनाए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट, कम्प्युटर तथा प्राविधिक स्रोतको अभाव अझै ठूलो चुनौती छँदै छ । आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थी अझै मोबाइल, इन्टरनेट तथा डिजिटल उपकरणको पहुँचबाट वञ्चित छन् । यसले शिक्षामा नयाँ प्रकारको असमानता सिर्जना गरेको छ, जसलाई डिजिटल डिभाइडका रूपमा बुझिन्छ ।

आजका विद्यार्थी एआई र डिजिटल प्रविधिमा निर्भर बन्दै छन् । च्याटजीपीटी, गुगल जेमिनाई, एआई आधारित खोज प्रणाली, अनलाइन सिकाइ माध्यम, भर्चुअल कक्षा, स्मार्ट बोर्ड तथा विद्युतीय पुस्तकालयजस्ता माध्यमले विद्यार्थीलाई विश्वस्तरीय ज्ञानसँग प्रत्यक्ष जोडिरहेका छन् । यसका सकारात्मक पक्ष धेरै छन् । विद्यार्थीले छिटो जानकारी प्राप्त गर्न सक्छन्, अनुसन्धान गर्न सजिलो भएको छ, अनलाइन कक्षामार्फत विश्वका उत्कृष्ट शिक्षक तथा विश्वविद्यालयसँग जोडिन सकिन्छ । डिजिटल शिक्षाले समय र दूरीको बाधा हटाएको छ । कोभिड–१९ महामारीका समयमा अनलाइन शिक्षाले यसको महत्त्व अझ स्पष्ट बनायो ।

तर, एआई र डिजिटल प्रविधिप्रति अत्यधिक निर्भरता पनि चुनौतीरहित छैन । विद्यार्थीमा मौलिक सोच, सिर्जनात्मकता तथा विश्लेषणात्मक क्षमता कमजोर हुने खतरा बढेको छ । धेरै विद्यार्थी गृहकार्य, प्रतिवेदन तथा परियोजना तयार गर्दा आर्टिफिसियल इन्टेलिजेन्समा पूर्णतः निर्भर हुन थालेका छन् । यसले अनुसन्धान संस्कृतिमा नकारात्मक असर पार्न सक्छ । साथै एआईको गलत प्रयोगबाट शैक्षिक चोरी, तथ्यहीन सामग्री उत्पादन तथा नक्कली सूचनाको विस्तार हुने जोखिम पनि बढेको छ । डिजिटल प्रविधिको गलत प्रयोग, साइबर अपराध, अनलाइन लत, सामाजिक सञ्जालप्रतिको अत्यधिक निर्भरता तथा गलत सूचना प्रवाहले विद्यार्थीको मानसिकता र सामाजिक व्यवहारमा समेत असर गरिरहेको छ । त्यसैले एआईलाई सहयोगी उपकरणका रूपमा प्रयोग गर्न सिकाउनु आवश्यक छ, विकल्पका रूपमा होइन ।

चीन, अमेरिका, दक्षिण कोरिया तथा भारतले विद्यालय तहदेखि नै डिजिटल साक्षरता र एआई शिक्षालाई पाठ्यक्रममा समावेश गरिसकेको छ । यस्तो अवस्थामा नेपालले पनि विश्व प्रवृत्तिसँग समन्वय गर्नु आवश्यक छ ।नेपालको वर्तमान शिक्षा नीतिमा अझै व्यावहारिक, प्राविधिक तथा एआईमा आधारित शिक्षाको अभाव छ । धेरै शिक्षण संस्था अझै सैद्धान्तिक र परीक्षाकेन्द्रित शिक्षामै सीमित छन् । विद्यार्थीलाई रोजगारमुखी, नवप्रवर्तनशील तथा डिजिटल दक्ष बनाउनेतर्फ पर्याप्त ध्यान दिइएको छैन । विश्व एआई क्रान्तितर्फ अगाडि बढिरहेको अवस्थामा नेपालले पनि आफ्नो शिक्षा नीतिलाई समयानुकूल बनाउनु आवश्यक छ । नेपाल सरकारले राष्ट्रिय शिक्षा नीति तथा डिजिटल नेपाल फ्रेमवर्कमार्फत प्रविधिमैत्री शिक्षा–अवधारणा अघि सारे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ । विद्यालय तहदेखि नै कोडिङ, प्रोगामिङ, रोबोट प्रविधि, तथ्यांक विश्लेषण तथा डिजिटल साक्षरताजस्ता विषय समावेश गरिनुपर्छ । शिक्षकलाई पनि डिजिटल शिक्षण प्रविधिमा दक्ष बनाउनु आवश्यक छ । धेरै शिक्षक अझै डिजिटल शिक्षण प्रणालीप्रति पूर्ण अभ्यस्त नभएकाले नियमित तालिम, प्रविधि पहुँच तथा व्यावहारिक अभ्यास आवश्यक छ ।

नेपालका विश्वविद्यालयहरूले अनुसन्धान, नवप्रवर्तन तथा डिजिटल प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्छ । केवल प्रमाणपत्र वितरण गर्ने संस्थाका रूपमा विश्वविद्यालय सीमित हुनु हुँदैन । एआईमा आधारित अनुसन्धान केन्द्र, डिजिटल प्रयोगशाला, नवप्रवर्तन केन्द्र तथा प्रविधि प्रवर्द्धन केन्द्र स्थापना गर्नु आवश्यक छ । विद्यार्थीलाई नवउद्यम, उद्यमशीलता तथा डिजिटल अर्थतन्त्रसँग जोड्नुपर्छ । आज विश्वमा डिजिटल अर्थतन्त्र तीव्र विस्तार भइरहेको छ । नेपालका युवालाई पनि विश्वव्यापी डिजिटल बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु आवश्यक छ । 

दक्ष जनशक्ति विदेश पलायन हुने प्रवृत्ति बढ्दै गएको वर्तमान अवस्थामा विश्वविद्यालयहरूले अनुसन्धान र नवप्रवर्तनमार्फत युवालाई देशभित्रै अवसर सिर्जना गर्न प्रेरित गर्नुपर्छ ।

राजनीतिक हस्तक्षेप, कमजोर कार्यान्वयन पक्ष, स्रोत–साधनको अभाव तथा दीर्घकालीन योजनाको कमीले नेपालको शिक्षा प्रणाली अझै कमजोर छ । नीति निर्माणमा शिक्षाविद्, प्रविधिविज्ञ, अनुसन्धानकर्ता, शिक्षक, उद्योगी तथा विद्यार्थीको सहभागिता आवश्यक छ । शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन, राष्ट्र निर्माणको आधारका रूपमा विकास गर्नुपर्छ । एआई र डिजिटल प्रविधिको प्रयोग गरिरहँदा नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व तथा मानवीय मूल्यलाई पनि समान महत्त्व दिनुपर्छ ।

समग्रमा नेपालको शिक्षाको इतिहास गुरुकुल प्रणालीदेखि आधुनिक डिजिटल युगसम्मको परिवर्तनशील यात्रा हो । आजको आवश्यकता परम्परागत मूल्य, राष्ट्रिय संस्कृति र आधुनिक आर्टिफिसियल इन्टेलिजेन्समा आधारित प्रविधिबीच सन्तुलन कायम गर्नु हो । नेपालले समयानुकूल, व्यावहारिक, प्रविधिमैत्री तथा आर्टिफिसियल इन्टेलिजेन्सकेन्द्रित शिक्षा नीति अवलम्बन गर्न सके मात्रै विद्यार्थीलाई विश्व प्रतिस्पर्धामा सक्षम बनाउन सकिन्छ ।

शिक्षा वास्तवमै राष्ट्र विकासको मेरुदण्ड बन्ने हो भने त्यसलाई डिजिटल युगको आवश्यकताअनुसार रूपान्तरण गर्नु अनिवार्य छ । २१ औं शताब्दीको शिक्षा केवल किताबमा सीमित ज्ञान होइन, प्रविधिसँग जिम्मेवार रूपमा सहकार्य गर्न सक्ने चेतनशील नागरिक निर्माण गर्ने प्रक्रिया पनि हो । भविष्यको नेपाल निर्माण गर्ने शक्ति आजका विद्यार्थीमा निहित छ । र, ती विद्यार्थीलाई सक्षम, सिर्जनशील तथा प्रविधिमैत्री बनाउन आधुनिक शिक्षा नीतिले निर्णायक भूमिका खेल्नैपर्छ ।

शोभाकुमारी पौडेल समाजशास्त्रमा विद्यावारिधी गर्दैछिन् ।

Link copied successfully