दबाब र द्वन्द्वबीच किशोरकिशोरी 

जब परिवारले भावनात्मक आधार दिन्छ, विद्यालयले सुरक्षित वातावरण बनाउँछ, समाजले अनावश्यक दबाब घटाउँछ र राज्यले संरचनागत समर्थन सुनिश्चित गर्छ, तब मात्रै किशोरकिशोरीको दबाब सम्भावनामा रूपान्तरण हुन्छ ।

जेष्ठ २४, २०८३

प्रवीणराज पाण्डे

Teenagers amidst pressure and conflict

What you should know

काठमाडौंको एक निजी स्कुलमा कक्षा १० मा अध्ययनरत सानु श्रेष्ठ (नाम परिवर्तन) पछिल्ला महिनामा राति राम्रोसँग निदाउन सकेकी थिइनन् । परीक्षा नजिकिँदै जाँदा दिनैभर हातमा किताब लिएर बसे पनि पढेको कुरा सम्झन सक्दिनथिइन् । ‘परीक्षामा फेल भएँ भने भविष्य के होला ?’ यो डरले उनलाई बारम्बार सताइरहन्थ्यो । यसको असरस्वरूप साथीसंगीसँग उनको बोलचाल कम हुँदै गयो, भोक लाग्न छाड्यो । यति मात्रै होइन, उनले क्रमशः आफूलाई असफल भएको ठान्न थालिन् । अन्ततः उनी विद्यालय जानै नसक्ने अवस्थामा पुगिन् ।

विद्यालय तहका किशोरीको एक प्रतिनिधि पात्र हुन्– सानु । विद्यालय तहमा अध्ययनरत धेरै किशोरकिशोरी यस्तै शैक्षिक तनाव, पारिवारिक अपेक्षा र सामाजिक तुलनाबीच मानसिक दबाबले थिचिँदै गएका छन् ।

केही समयअघि भारतको ओडिसामा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युले किशोर–मानसिक स्वास्थ्यप्रति गम्भीर प्रश्न उठाएको थियो । त्यस घटनापछि विद्यार्थीले शैक्षिक संस्थाको असंवेदनशीलता, सुरक्षा अभाव र मानसिक सहयोग नपाएको गुनासोसहित आन्दोलनसमेत गरेका थिए । यस्ता घटनाबाट प्रत्यक्ष प्रभावित विद्यार्थी मात्रै होइन, ती घटनाका समाचार सुन्ने अन्य किशोरकिशोरीमा पनि डर, असुरक्षा र भविष्यप्रतिको नकारात्मक सोच बढ्छ । मनोविज्ञानको भाषामा यसलाई ‘सेकेन्डरी ट्रमा’ भनिन्छ, जहाँ अरूको पीडाले समेत किशोरकिशोरीको मानसिक सन्तुलन खलबल्याइदिन्छ । 

मनोवैज्ञानिक दृष्टिले किशोरावस्था अत्यन्तै संवेदनशील विकासात्मक चरण हो । यो समयमा मस्तिष्कको भावनात्मक भाग (लिम्बिक सिस्टम) छिटो विकास हुन्छ भने निर्णय, आत्मनियन्त्रण र दीर्घकालीन सोचसँग सम्बन्धित भाग (प्रि–फ्रन्टल कोर्टेक्स) ढिलो परिपक्व हुन्छ । यही असन्तुलनका कारण किशोरकिशोरी भावनात्मक रूपमा बढी प्रतिक्रियाशील, तनावप्रति संवेदनशील र चिन्ता तथा अवसादतर्फ छिटो आकर्षित हुन्छन् । 

विश्व स्वास्थ्य संगठन–२०२१ अनुसार, करिब आधा जनसंख्यामा १४ वर्ष उमेर पुग्नुअगावै स्वास्थ्य समस्या सुरु भइसकेको हुन्छ । तर, धेरैजसो पहिचानबिना नै रहन्छन् । यही उमेर समूहमा पर्ने कक्षा ८–१० का विद्यार्थी परीक्षा, नतिजा र भविष्यसँग गाँसिएका अनेक झन्झटका कारण झनै जोखिममा पर्ने गरेका छन् ।  

परीक्षा केन्द्रित मूल्यांकन, शिक्षकद्वारा गरिने नकारात्मक टिप्पणी, सार्वजनिक अपमान र बुलिङप्रतिको मौनताले विद्यालय आफैं तनावको स्रोत बन्ने गरेको छ ।विश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको  ग्लोबल स्कुलमा आधारित विद्यार्थी स्वास्थ्य सर्वेक्षण–२०१७ ले माध्यमिक तहका विद्यार्थीमा चिन्ता, एक्लोपन र आत्महत्यासम्बन्धी सोच भएको तथ्य देखाएको थियो । परीक्षाकेन्द्रित शिक्षा प्रणालीले दीर्घकालीन तनाव उत्पन्न गर्छ, जसले निद्रा बिगार्छ, एकाग्रता घटाउँछ र भावनात्मक नियन्त्रण कमजोर बनाउँछ । मनोवैज्ञानिक रूपमा यस अवस्थालाई ‘परफर्मेन्स एन्जाइटी’ र ‘लर्न्ड हेल्पलेसनेस’ सँग जोडिन्छ । 

किशोरकिशोरीको यस्तो अवस्थामा परिवारको भूमिका निर्णायक हुन्छ । किनभने परिवार उनीहरूको पहिलो भावनात्मक आधार हो । अभिभावकबाट हुने निरन्तर तुलना, अत्यधिक अपेक्षा, असफलताप्रति कठोर प्रतिक्रिया र संवादको कमीले उनीहरूको आत्मसम्मान कमजोर बनाउँछ । यसले डर र असफलता, आत्मालोचना र निराशा बढाउँछ । तर, सहयोगी अभिभावकत्व भएको परिवारमा सन्तानको भावना सुन्ने, असफलतालाई सिकाइको प्रक्रिया मान्ने र नतिजाभन्दा प्रयासलाई महत्त्व दिने संस्कार हुन्छ । यस्तो वातावरणले किशोरकिशोरीको मानसिक सहनशीलता बलियो बनाउँछ । विश्व स्वास्थ्य संगठन–२०२१ अनुसार, भावनात्मक रूपमा सुरक्षित पारिवारिक वातावरण भएका किशोरकिशोरीमा मानसिक समस्याको जोखिम कम हुन्छ ।

किशोर उमेरमा मानसिक स्वास्थ्यको दोस्रो बलियो आधार हो, विद्यालय । तर, परीक्षा केन्द्रित मूल्यांकन, शिक्षकद्वारा गरिने नकारात्मक टिप्पणी, सार्वजनिक अपमान र बुलिङप्रतिको मौनताले विद्यालय आफैं तनावको स्रोत बन्ने गरेको छ । मनोवैज्ञानिक रूपमा यस्तो वातावरणले ‘टक्सिस स्ट्रेस’ सिर्जना गर्छ, जसले सिकाइ क्षमता मात्रै होइन, आत्मविश्वास र मानसिक स्वास्थ्य पनि कमजोर बनाउँछ । यसविपरीत शिक्षक–विद्यार्थीबीचको सकारात्मक सम्बन्ध, मानसिक स्वास्थ्यबारे सचेत शिक्षक, विद्यालयमै परामर्श सेवा र एन्टी–बुलिङ नीति भएका विद्यालयले किशोरकिशोरीलाई भावनात्मक सुरक्षा दिन सक्छन् । 

किशोरकिशोरीमा मानसिक तनाव सिर्जना गर्न समाजको भूमिका पनि उत्तिकै सहयोगी हुन्छ । किनकि नेपाली समाजमा अझै पनि सफलतालाई विद्यार्थीले पाएको उच्च अंक, त्यसका आधारमा भर्ना भएको राम्रो कलेज र पढाइपछि उसले पाएको प्रतिष्ठित पेसासँग मात्रै जोडेर हेर्ने चलन छ । छिमेकी, आफन्त र सामाजिक सञ्जालबाट हुने तुलना–टिप्पणीले तिनलाई निरन्तर ‘परफर्मेन्स प्रेसर’ मा राख्छ । मनोविज्ञानमा यसलाई ‘सोसल कम्प्यारिजन स्ट्रेस’ भनिन्छ । यो स्ट्रेसले आत्मछवि कमजोर बनाउँछ । 

जर्नल अफ एडोलेसेन्ट हेल्थ–२०१९ अनुसार, सामाजिक अस्वीकृति, बुलिङ र अपमानले किशोरकिशोरीमा अवसाद र आत्महत्यासम्बन्धी सोचसम्म उत्पन्न गराउन सक्छ । त्यसैले समाजले किशोरकिशोरीका असफलतालाई कलंक होइन, सिकाइको प्रक्रिया मान्ने संस्कार विकास गर्नु आवश्यक छ । यसमा राज्य, मिडिया र स्वास्थ्य प्रणालीको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । राज्यले विद्यालय तहबाटै मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्नु, विद्यालयमा पर्याप्त परामर्शदाता व्यवस्था गर्नु र किशोरमैत्री मानसिक स्वास्थ्य सेवा विस्तार गर्नु आवश्यक छ । मिडियाले विद्यार्थीका मृत्यु वा आत्महत्याजस्ता संवेदनशील विषयलाई सनसनी होइन, जिम्मेवार र समाधानमुखी ढंगले प्रस्तुत गर्नुपर्छ । 

बेलायतद्वारा सन् २०२३ मा प्रकाशित ‘द ल्यान्सेट’ जर्नलका अनुसार, प्रारम्भिक–माध्यमिक तहमा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा गरिएको लगानीले दीर्घकालीन रूपमै सिकाइ, उत्पादकता र सामाजिक स्थायित्वमा सकारात्मक प्रभाव पार्छ । जब परिवारले भावनात्मक आधार दिन्छ, विद्यालयले सुरक्षित वातावरण बनाउँछ, समाजले अनावश्यक दबाब घटाउँछ र राज्यले संरचनागत समर्थन सुनिश्चित गर्छ, तब मात्रै कक्षा ८–१० का किशोरकिशोरीको दबाब सम्भावनामा रूपान्तरण हुन्छ । त्यसैले तिनको मानसिक स्वास्थ्यमा लगानी गर्नु  मुलुकको भविष्यमै लगानी गर्नु हो ।

प्रवीणराज

Link copied successfully