जब परिवारले भावनात्मक आधार दिन्छ, विद्यालयले सुरक्षित वातावरण बनाउँछ, समाजले अनावश्यक दबाब घटाउँछ र राज्यले संरचनागत समर्थन सुनिश्चित गर्छ, तब मात्रै किशोरकिशोरीको दबाब सम्भावनामा रूपान्तरण हुन्छ ।
What you should know
काठमाडौंको एक निजी स्कुलमा कक्षा १० मा अध्ययनरत सानु श्रेष्ठ (नाम परिवर्तन) पछिल्ला महिनामा राति राम्रोसँग निदाउन सकेकी थिइनन् । परीक्षा नजिकिँदै जाँदा दिनैभर हातमा किताब लिएर बसे पनि पढेको कुरा सम्झन सक्दिनथिइन् । ‘परीक्षामा फेल भएँ भने भविष्य के होला ?’ यो डरले उनलाई बारम्बार सताइरहन्थ्यो । यसको असरस्वरूप साथीसंगीसँग उनको बोलचाल कम हुँदै गयो, भोक लाग्न छाड्यो । यति मात्रै होइन, उनले क्रमशः आफूलाई असफल भएको ठान्न थालिन् । अन्ततः उनी विद्यालय जानै नसक्ने अवस्थामा पुगिन् ।
विद्यालय तहका किशोरीको एक प्रतिनिधि पात्र हुन्– सानु । विद्यालय तहमा अध्ययनरत धेरै किशोरकिशोरी यस्तै शैक्षिक तनाव, पारिवारिक अपेक्षा र सामाजिक तुलनाबीच मानसिक दबाबले थिचिँदै गएका छन् ।
केही समयअघि भारतको ओडिसामा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युले किशोर–मानसिक स्वास्थ्यप्रति गम्भीर प्रश्न उठाएको थियो । त्यस घटनापछि विद्यार्थीले शैक्षिक संस्थाको असंवेदनशीलता, सुरक्षा अभाव र मानसिक सहयोग नपाएको गुनासोसहित आन्दोलनसमेत गरेका थिए । यस्ता घटनाबाट प्रत्यक्ष प्रभावित विद्यार्थी मात्रै होइन, ती घटनाका समाचार सुन्ने अन्य किशोरकिशोरीमा पनि डर, असुरक्षा र भविष्यप्रतिको नकारात्मक सोच बढ्छ । मनोविज्ञानको भाषामा यसलाई ‘सेकेन्डरी ट्रमा’ भनिन्छ, जहाँ अरूको पीडाले समेत किशोरकिशोरीको मानसिक सन्तुलन खलबल्याइदिन्छ ।
मनोवैज्ञानिक दृष्टिले किशोरावस्था अत्यन्तै संवेदनशील विकासात्मक चरण हो । यो समयमा मस्तिष्कको भावनात्मक भाग (लिम्बिक सिस्टम) छिटो विकास हुन्छ भने निर्णय, आत्मनियन्त्रण र दीर्घकालीन सोचसँग सम्बन्धित भाग (प्रि–फ्रन्टल कोर्टेक्स) ढिलो परिपक्व हुन्छ । यही असन्तुलनका कारण किशोरकिशोरी भावनात्मक रूपमा बढी प्रतिक्रियाशील, तनावप्रति संवेदनशील र चिन्ता तथा अवसादतर्फ छिटो आकर्षित हुन्छन् ।
विश्व स्वास्थ्य संगठन–२०२१ अनुसार, करिब आधा जनसंख्यामा १४ वर्ष उमेर पुग्नुअगावै स्वास्थ्य समस्या सुरु भइसकेको हुन्छ । तर, धेरैजसो पहिचानबिना नै रहन्छन् । यही उमेर समूहमा पर्ने कक्षा ८–१० का विद्यार्थी परीक्षा, नतिजा र भविष्यसँग गाँसिएका अनेक झन्झटका कारण झनै जोखिममा पर्ने गरेका छन् ।
परीक्षा केन्द्रित मूल्यांकन, शिक्षकद्वारा गरिने नकारात्मक टिप्पणी, सार्वजनिक अपमान र बुलिङप्रतिको मौनताले विद्यालय आफैं तनावको स्रोत बन्ने गरेको छ ।विश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ग्लोबल स्कुलमा आधारित विद्यार्थी स्वास्थ्य सर्वेक्षण–२०१७ ले माध्यमिक तहका विद्यार्थीमा चिन्ता, एक्लोपन र आत्महत्यासम्बन्धी सोच भएको तथ्य देखाएको थियो । परीक्षाकेन्द्रित शिक्षा प्रणालीले दीर्घकालीन तनाव उत्पन्न गर्छ, जसले निद्रा बिगार्छ, एकाग्रता घटाउँछ र भावनात्मक नियन्त्रण कमजोर बनाउँछ । मनोवैज्ञानिक रूपमा यस अवस्थालाई ‘परफर्मेन्स एन्जाइटी’ र ‘लर्न्ड हेल्पलेसनेस’ सँग जोडिन्छ ।
किशोरकिशोरीको यस्तो अवस्थामा परिवारको भूमिका निर्णायक हुन्छ । किनभने परिवार उनीहरूको पहिलो भावनात्मक आधार हो । अभिभावकबाट हुने निरन्तर तुलना, अत्यधिक अपेक्षा, असफलताप्रति कठोर प्रतिक्रिया र संवादको कमीले उनीहरूको आत्मसम्मान कमजोर बनाउँछ । यसले डर र असफलता, आत्मालोचना र निराशा बढाउँछ । तर, सहयोगी अभिभावकत्व भएको परिवारमा सन्तानको भावना सुन्ने, असफलतालाई सिकाइको प्रक्रिया मान्ने र नतिजाभन्दा प्रयासलाई महत्त्व दिने संस्कार हुन्छ । यस्तो वातावरणले किशोरकिशोरीको मानसिक सहनशीलता बलियो बनाउँछ । विश्व स्वास्थ्य संगठन–२०२१ अनुसार, भावनात्मक रूपमा सुरक्षित पारिवारिक वातावरण भएका किशोरकिशोरीमा मानसिक समस्याको जोखिम कम हुन्छ ।
किशोर उमेरमा मानसिक स्वास्थ्यको दोस्रो बलियो आधार हो, विद्यालय । तर, परीक्षा केन्द्रित मूल्यांकन, शिक्षकद्वारा गरिने नकारात्मक टिप्पणी, सार्वजनिक अपमान र बुलिङप्रतिको मौनताले विद्यालय आफैं तनावको स्रोत बन्ने गरेको छ । मनोवैज्ञानिक रूपमा यस्तो वातावरणले ‘टक्सिस स्ट्रेस’ सिर्जना गर्छ, जसले सिकाइ क्षमता मात्रै होइन, आत्मविश्वास र मानसिक स्वास्थ्य पनि कमजोर बनाउँछ । यसविपरीत शिक्षक–विद्यार्थीबीचको सकारात्मक सम्बन्ध, मानसिक स्वास्थ्यबारे सचेत शिक्षक, विद्यालयमै परामर्श सेवा र एन्टी–बुलिङ नीति भएका विद्यालयले किशोरकिशोरीलाई भावनात्मक सुरक्षा दिन सक्छन् ।
किशोरकिशोरीमा मानसिक तनाव सिर्जना गर्न समाजको भूमिका पनि उत्तिकै सहयोगी हुन्छ । किनकि नेपाली समाजमा अझै पनि सफलतालाई विद्यार्थीले पाएको उच्च अंक, त्यसका आधारमा भर्ना भएको राम्रो कलेज र पढाइपछि उसले पाएको प्रतिष्ठित पेसासँग मात्रै जोडेर हेर्ने चलन छ । छिमेकी, आफन्त र सामाजिक सञ्जालबाट हुने तुलना–टिप्पणीले तिनलाई निरन्तर ‘परफर्मेन्स प्रेसर’ मा राख्छ । मनोविज्ञानमा यसलाई ‘सोसल कम्प्यारिजन स्ट्रेस’ भनिन्छ । यो स्ट्रेसले आत्मछवि कमजोर बनाउँछ ।
जर्नल अफ एडोलेसेन्ट हेल्थ–२०१९ अनुसार, सामाजिक अस्वीकृति, बुलिङ र अपमानले किशोरकिशोरीमा अवसाद र आत्महत्यासम्बन्धी सोचसम्म उत्पन्न गराउन सक्छ । त्यसैले समाजले किशोरकिशोरीका असफलतालाई कलंक होइन, सिकाइको प्रक्रिया मान्ने संस्कार विकास गर्नु आवश्यक छ । यसमा राज्य, मिडिया र स्वास्थ्य प्रणालीको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । राज्यले विद्यालय तहबाटै मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्नु, विद्यालयमा पर्याप्त परामर्शदाता व्यवस्था गर्नु र किशोरमैत्री मानसिक स्वास्थ्य सेवा विस्तार गर्नु आवश्यक छ । मिडियाले विद्यार्थीका मृत्यु वा आत्महत्याजस्ता संवेदनशील विषयलाई सनसनी होइन, जिम्मेवार र समाधानमुखी ढंगले प्रस्तुत गर्नुपर्छ ।
बेलायतद्वारा सन् २०२३ मा प्रकाशित ‘द ल्यान्सेट’ जर्नलका अनुसार, प्रारम्भिक–माध्यमिक तहमा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा गरिएको लगानीले दीर्घकालीन रूपमै सिकाइ, उत्पादकता र सामाजिक स्थायित्वमा सकारात्मक प्रभाव पार्छ । जब परिवारले भावनात्मक आधार दिन्छ, विद्यालयले सुरक्षित वातावरण बनाउँछ, समाजले अनावश्यक दबाब घटाउँछ र राज्यले संरचनागत समर्थन सुनिश्चित गर्छ, तब मात्रै कक्षा ८–१० का किशोरकिशोरीको दबाब सम्भावनामा रूपान्तरण हुन्छ । त्यसैले तिनको मानसिक स्वास्थ्यमा लगानी गर्नु मुलुकको भविष्यमै लगानी गर्नु हो ।
