जब युवा नेतृत्वले सामाजिक सञ्जालको भर्चुअल संसारबाट बाहिर निस्केर धरातलीय यथार्थ, कानुनी जटिलता र दीर्घकालीन योजनाका साथ काम गर्न थाल्नेछन्, तब मात्र ‘जेन–जी आन्दोलन’ ले परिकल्पना गरेको नयाँ र समृद्ध नेपालको निर्माण सम्भव हुनेछ ।
What you should know
नेपालले राजनीतिक रूपनान्तरका नाममा धेरै मोडहरू पार गर्दै आयो । त्यसैमध्येको एक हो– जेन–जी आन्दोलन । यसले नेपाली समाजको सोच र चेतनामा ठूलो हलचल ल्यायो । यही आन्दोलनको जगमा टेकेर देश चुनावमा होमियो ।
विगतमा राजनीति मुख्यतः अधबैंसे र पाकाको गफगाफ र बहसको केन्द्रमा थियो । युवा पुस्ता राजनीतिप्रति निराश थिए । वैदेशिक रोजगारीका लागि राहदानी बनाउने लाइनमा हुन्थे । विकल्पमा, कुनै दलको अन्धभक्त कार्यकर्ता बनेर सडकमा ढुंगामुढा र नाराबाजी गर्थे । युवाले राजनीतिलाई झगडा र शक्ति अभ्यास गर्ने फोहोरी खेलका रूपमा बुझे । तर, जेन–जी आन्दोलनले पुरानो भाष्य बदलिदियो । यो पुस्ताले राजनीतिप्रति नयाँ, रचनात्मक र बलियो सहभागितात्मक चेतना जगाएको बुझिन्छ । आजको पुस्ता पुराना दलका परम्परागत, खोक्रा र भावुक नारामा अल्झिन तयार छैनन् । उनीहरू ‘वाद’ र ‘सिद्धान्त’ को रटानभन्दा परिणाममुखी राजनीतिमा विश्वास गर्न थालेका छन् । उनीहरूका लागि राजनीति भाषण नभई स्पष्ट विकास, गुणस्तरीय रोजगारी, सर्वसुलभ र आधुनिक शिक्षा, भरपर्दो स्वास्थ्य सेवा, सुशासन र निर्मम भ्रष्टाचार नियन्त्रण हो । हुनुपर्ने पनि यही हो ।
अवसरको समानता, सामाजिक न्याय र योग्यताको कदरजस्ता मुद्दामा आज सडकदेखि सामाजिक सञ्जालसम्म तीव्र बहस भइरहेको छ । यही कारणले पनि चुनावमा पुराना र स्थापित भनिएका राजनीतिक हस्तीहरू बढारिए । ठूलो संख्यामा नयाँ अनुहार र नयाँ विचार बोकेका युवा संसद्मा प्रवेश गरे । पक्कै पनि यसले रूपान्तरणको एउटा मुद्दालाई संस्थागत गरेको देखिन्छ । तर, के यसले परिपक्व देखाउन सक्ला ? यसबारे प्रशस्त संशय छन् ।
युवा पुस्ताले एकाएक राजनीतिक परिवर्तन खोज्नुको पछाडि गम्भीर सामाजिक र आर्थिक कारण छन् ।
पहिलो, शिक्षित युवा र सीमित अवसरको खाडल नै हो । देशमा युवाको संख्या दिनानुदिन बढ्दै गयो । उनीहरूको योग्यता र क्षमताअनुसार रोजगारीका अवसर भने सिर्जना भएनन् । बरु राजनीतिक भागबन्डा र नातावाद फस्टायो ।
दोस्रो, ‘म र मेरा मात्र’ भन्ने प्रवृत्ति हाबी हुँदै गयो । पुराना दल र नेतामा देखिएको चरम भ्रष्टाचार र राज्यको स्रोतसाधनमा परिवार र गुटलाई मात्रै पोस्ने प्रवृत्तिले पुरानो शक्ति संरचनाप्रति युवामा आक्रोश पैदा भयो । जसलाई उनीहरूले ‘नेपोटिजम’ को संज्ञा पनि दिए ।
तेस्रो, दैनिक जीवनका संकटहरू गहिरिँदै गए । शिक्षामा व्यापारीकरण, स्वास्थ्यमा महँगी, प्रशासनिक सेवा लिन जाँदा भोग्नुपर्ने सास्तीले युवालाई वाक्क बनायो । खासमा सेवा क्षेत्रमा आएको कर्मचारीतन्त्रको गैरजिम्मेवारीपनले विद्रोहमा घिउ थप्ने काम गर्यो ।
चौथो, जेन–जी डिजिटल मिडिया र विश्वव्यापी पहुँच छन् । यो पुस्ता इन्टरनेट र विश्वव्यापी संरचनाको पहुँचमा सबभन्दा अगाडि छ । उनीहरूले संसारका अन्य देशले कसरी विकास गरे, कसरी प्रविधिको प्रयोग गरेर जनताको जीवनस्तर सुधारे र कसरी विधिको शासन स्थापना गरे भन्ने विषयलाई आफ्नो मोबाइलको स्क्रिनमा हेरे । यसैको सिकाइ र प्रभावले उनीहरूमा सामाजिक न्याय, लैंगिक समानता, समावेशिता, सुशासन र पारदर्शिताको महत्त्वको बोध भयो । उनीहरूले नेपालमा पनि त्यही परिवर्तनको बाटो रोजे ।
युवा र जेन–जी आन्दोलन विश्वव्यापी र विशेषतः दक्षिण एसियाली क्षेत्रकै एउटा साझा लहर बनेको छ, जसले स्थापित र शक्तिशाली सत्तालाई समेत उलेखेको वा उखेल्न खोजेको देखिन्छ । तथापि, विश्व राजनीति, विकासका शृंखला र परिवर्तनको भोक बढाइरहँदा भूराजनीति तथा त्यसले पारेका असरलाई नियाल्ने कोसिस भयो कि भएन ? यो अर्को प्रश्न हो ।
नेपालमा युवा उमेरका प्रधानमन्त्री बालेन्द्र शाह छन् । सत्तारूढ रास्वपाको सभापतिमा रवि लामिछाने छन् । अन्य मन्त्री तथा सांसद पनि युवा नै देखिन्छ । यसले राजनीतिमा ठूलो उत्साह र तरंग सिर्जना गरेको छ । के यो लहर मात्रै दीर्घकालीन परिवर्तनका लागि पर्याप्त छ त ? यो आजको सबैभन्दा गम्भीर प्रश्न हो ।
जेन–जी र युवामा ऊर्जा, प्रविधिको ज्ञान र देश बदल्ने तीव्र इच्छाशक्ति एवम् अनेक सम्भावना देखिन्छन् । तथापि, उनीहरूमा राजनीतिक र प्रशासनिक अनुभवको कमी स्पष्ट देखिन्छ । अल्पकालका लागि राजनीतिमा लहर ल्याउनु र दीर्घकालीन रूपमा राज्य सञ्चालन गर्नु फरक विषय हुन् । विगतका धेरै क्रान्ति र आन्दोलन व्यक्तिकेन्द्रित भए, संस्थागत हुन सकेनन् । कुनै लोकप्रिय व्यक्तिको लहरले केही समय चुनाव जित्न वा भीड जम्मा गर्न पक्कै साथ दिन्छ । त्यसको पछाडि बलियो वैचारिक र सांगठनिक जग छैन भने त्यस्तो लहर जुनसुकै बेला ढल्न सक्छ ।
भारतमा केजरीवालको आम आदमी पार्टी त्यसको ताजा नमुना हो । विश्वको राजनीतिक इतिहासमा लहरका साथ उदाएका राजनीतिक शक्तिहरू केही समयमै पत्तासाफ भएका प्रशस्तै उदाहरण पाइन्छ ।
राजनीतिमा दीर्घकालीन सफलताका लागि केही महत्त्वपूर्ण पक्षमा गम्भीर हुनैपर्ने देखिन्छ । सधैंभरि सामाजिक सञ्जालको क्रेजले मात्रै चुनाव जितिन्छ भन्ने हुँदैन । वडा तहदेखि राष्ट्रिय तहसम्म भुइँमान्छेसँग जोडिएको बलियो संगठन र विचारले प्रशिक्षित कार्यकर्ताको संयन्त्र आवश्यक पर्छ । यस्तो संयन्त्र भएर मात्र हुँदैन, उनीहरूलाई विकासका आयाम र रोजगारीसँग जोड्ने धागो अनिवार्य हुनुपर्छ ।
निर्णय प्रक्रियाहरू व्यक्तिवादी हुनु हुँदैन । पार्टी वा आन्दोलन कुनै एउटा ‘सेलेब्रिटी’ को इसारामा होइन, पारदर्शी र लोकतान्त्रिक प्रणालीमा आधारित प्रक्रियाबाट चल्नुपर्छ । चुनाव जितेर सत्तामा पुगेपछि रास्वपाका सांसदमा देखिएको अस्वाभाविक परिवर्तनले उत्साहसँगै चिन्ता पनि थपेको छ । जेन–जी पक्षधरले नै सरकार र मन्त्रीका गतिविधिसँग असहमति राख्न थालेको देखिन्छ । यो गम्भीर विषय हो ।
धेरै युवा रातारात परिवर्तन चाहन्छन् । तर राज्य सञ्चालन अत्यन्तै जटिल, कानुनी र ब्युरोक्रेटिक प्रक्रिया हो । देशबाट भ्रष्टाचार पूर्णतः हटाउन गहिरो कानुनी र संरचनागत सुधार चाहिन्छ । रोजगारी सिर्जना गर्न विदेशी लगानी, उद्योग स्थापना र आर्थिक नीतिको स्थिरता चाहिन्छ । यसको नतिजा आउन वर्षौं लाग्छ । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार पनि लामो समयको निरन्तर लगानी र योजनाबाट मात्र सम्भव हुन्छ । सरकारी कार्यसम्पादन शैली र दशकौंदेखि जरा गाडेर बसेको कर्मचारीतन्त्रलाई एकै झट्कामा परिवर्तन गर्न तत्काल सम्भव हुँदैन ।
यसैले, देशको वास्तविक र दीर्घकालीन राजनीति सामाजिक सञ्जालको क्षणिक भाइरल भाषण वा टिकटकका ‘क्लिप्स’ भन्दा धेरै फरक, जिम्मेवार, गम्भीर र धैर्यतापूर्ण यात्रा हो । यो पक्षलाई मनन् गर्दै प्रणालीगत झन्झट तत्तत्का तहबाट हटाउन सोही अनुकूल नीतिगत र कार्यगत सन्तुलन अपरिहार्य देखिन्छ । पार्टपुर्जा सही र स्वस्थ भएनन् भने गन्तव्यमा छिटो पुग्नुपर्ने हतारोले राज्य सञ्चालनको गाडी दुर्घटना हुन सक्छ ।
अन्त्यमा, नेपालमा जेन–जी र युवा पुस्ताले ल्याएको राजनीतिक आँधी स्वागतयोग्य र अपरिहार्य थियो । यसले पुराना दललाई सच्चिन र नयाँलाई अघि बढ्न ठूलो दबाब दिएको पनि छ । स–साना बालबालिकामा देखिएको राजनीतिक चासो र युवाको बढ्दो सहभागिताले नेपालको भविष्य सुन्दर र सचेत वर्गको हातमा जाँदै छ भन्ने कुरामा आशा गर्न सकिन्छ ।
नयाँ पुस्ताले पनि बुझ्नुपर्छ, लोकतान्त्रिक परिपक्वता र नीतिगत ज्ञानबिनाको जोस केवल आक्रोशमा परिणत हुन सक्छ । युवाले आफ्नो गतिशीलता र प्रविधिको शक्तिलाई संस्थागत संगठन, कानुनी साक्षरता र राज्य सञ्चालनको गम्भीर अध्ययनसँग जोड्न सक्नुपर्छ । जब युवा नेतृत्वले सामाजिक सञ्जालको भर्चुअल संसारबाट बाहिर निस्केर धरातलीय यथार्थ, कानुनी जटिलता र दीर्घकालीन योजनाका साथ काम गर्न थाल्नेछन्, तब मात्र ‘जेन–जी आन्दोलन’ ले परिकल्पना गरेको नयाँ र समृद्ध नेपालको निर्माण सम्भव हुनेछ ।
