कक्षाकोठा केवल सूचना दिने र परीक्षाको तयारी गराउने प्रशासनिक संरचना मात्र बन्नु हुँदैन । यो विद्यार्थीको जीवन, भाषा, समुदाय र अनुभवसँग जोडिएको सांस्कृतिक रूपमा सहयोगी वातावरण बन्नुपर्छ ।
What you should know
(एइकल्यान्ड एज्डर युनिभर्सिटी, नर्वेको एसोसिएट प्रोफेसर हुन् । उनी नेपालको शैक्षिक विकासमा तीन दशकदेखि प्रत्यक्ष तथा परोक्ष रूपमा काम गरिरहेकी छन्)
नेपालको शैक्षिक पाठ्यक्रमको सुधारलाई लिएर लामो समयदेखि बहस भइरहेका छन् । विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रम नेपाली माटो सुहाउँदो बनाइनुपर्दछ भन्नेमा विवाद नरहे पनि यसका लागि ठोस नीतिगत व्यवस्था र रणनीतिक योजनाको कमी देखिन्छ ।
नेपालको शिक्षा प्रणाली विदेशी मोडेल, अन्तर्राष्ट्रिय मापदण्ड र बाह्य परिवेशमा निर्माण गरिएका परीक्षाकेन्द्रित संरचनाबाट प्रभावित हुँदै आएको छ । यी सुधारहरू धेरै हदसम्म सकारात्मक उद्देश्यका साथ ल्याइए पनि एउटा गम्भीर प्रश्न भने अझै अनुत्तरित छ । के नेपालको शिक्षा प्रणालीले वास्तवमै नेपाली शिक्षक, विद्यार्थी र समुदायको जीवन, मूल्य, अनुभव र आकांक्षालाई प्रतिनिधित्व गर्न सकेको छ ?
कक्षाकोठा केवल सूचना दिने र परीक्षाको तयारी गराउने प्रशासनिक संरचना मात्र बन्नु हुँदैन । यो विद्यार्थीको जीवन, भाषा, समुदाय र अनुभवसँग जोडिएको सांस्कृतिक रूपमा सहयोगी वातावरण बन्नुपर्छ ।नेपालको शिक्षक शिक्षा, अनुसन्धान र शैक्षिक नीतिहरूमा लामो समयदेखि एउटा समस्याकेन्द्रित दृष्टिकोण हाबी रहँदै आएको देखिन्छ । यस दृष्टिकोणले शिक्षक, समुदाय र स्थानीय संस्कृतिलाई विकासका स्रोतका रूपमा होइन, सुधार कार्यान्वयनमा बाधक तत्वका रूपमा हेर्ने गरेको छ । शिक्षा क्षेत्रमा भएका धेरैजसो बहस र अनुसन्धानहरू असफलता खोज्नमै केन्द्रित भए । खासगरी सुधारको पहल किन सफल भएन, विद्यार्थीको नतिजा किन कमजोर भयो, शिक्षकहरूले नयाँ पद्धति किन अपनाएनन् भन्ने प्रश्नमा केन्द्रित रहे । तर शिक्षाको वास्तविक जग निर्माण गर्ने सांस्कृतिक र सामाजिक पक्षमाथि पर्याप्त ध्यान दिइएन । आज नेपालको शिक्षा प्रणालीले भोगिरहेको सबैभन्दा ठूलो संकट हो– कक्षाकोठा र स्थानीय जीवनबीचको दूरी । हामीले विभिन्न जिल्लामा रहेका नेपाली शिक्षकहरूको जीवन र अनुभवमाथि गरेको अध्ययनले यही संकटलाई गहिरोसँग उजागर गर्छ ।
नेपाली शिक्षक–शिक्षिकाहरूको आदर्श, विश्वास र पेसागत सक्रियता नेपालको आफ्नै सांस्कृतिक र ऐतिहासिक आधारसँग गहिरो रूपमा जोडिएको हुनुपर्छ । शिक्षकहरू केवल विद्यार्थी उत्तीर्ण गराउने यान्त्रिक पात्र होइनन् । उनीहरूको शिक्षाप्रतिको दृष्टिकोण जीवन अनुभव, सामाजिक सम्बन्ध, सामुदायिक मूल्यमान्यता र दर्शनबाट प्रभावित हुनुपर्दछ । नेपालको शैक्षिक प्रणालीमा समस्या त्यतिबेला उत्पन्न हुन्छ, जब शैक्षिक सुधारहरूका योजनाहरूले समस्याको जरो खोतलेका हुँदैनन् वा बेवास्ता गरेका हुन्छन् । जब शिक्षण विधि, पाठ्यक्रम र शैक्षिक संरचनाहरू शिक्षकहरूको आफ्नै मूल्य र अनुभवसँग सम्बन्धित हुँदैनन्, तब शिक्षण प्रक्रिया क्रमशः यान्त्रिक बन्दै जान्छ । शिक्षकहरूले सुधारलाई परिवर्तनको अवसरभन्दा पनि बाह्य दबाबका रूपमा अनुभव गर्न थाल्छन् । त्यसपछि कक्षाकोठा सिर्जनात्मकता र जीवन अनुभवको स्थान नभई केवल नियम पालन गर्ने थलोमा रूपान्तरण हुन्छ । स्थानीय ज्ञान, संस्कार र अनुभवहरू बिस्तारै किनारामा धकेलिन्छन् ।
नेपालको शैक्षिक सुधारको योजना तथा शिक्षा नीति नेपाली माटो र संस्कृति सुहाउने खालको हुन आवश्यक छ । शिक्षा प्रणाली समुदायको आवश्यकता अनुकूल हुन आवश्यक छ । अझ नेपालको शिक्षा आफ्नै सांस्कृतिक, सामाजिक र दार्शनिक आधारबाट तय गरिन आवश्यक छ । यही सोचलाई नै स्थानीय शिक्षाशास्त्रको बहसको केन्द्रमा राखेर पाठ्यक्रम निर्धारण गरिनुपर्छ ।
स्थानीय शिक्षाशास्त्र भन्नाले आधुनिक शिक्षा, विज्ञान वा विश्वव्यापी ज्ञानलाई अस्वीकार गर्नु होइन । यसले नेपाललाई विश्वबाट अलग गर्न खोज्दैन । बरु यसको उद्देश्य विश्वव्यापी ज्ञानलाई स्थानीय यथार्थसँग संवाद गराउँदै शिक्षालाई सान्दर्भिक बनाउनु हो ।
नेपालसँग आफ्नै समृद्ध शैक्षिक परम्परा छ । गुरुकुल प्रणाली, बौद्ध दर्शन, मौखिक परम्परा, कृषिमा आधारित जीवन, सामूहिक उत्तरदायित्व र समुदाय केन्द्रित सिकाइले नेपाली शिक्षाको ऐतिहासिक आधार निर्माण गरेका छन् । यी परम्पराहरूले केवल शैक्षिक उपलब्धिलाई मात्र होइन, नैतिक विकास, आत्म अनुशासन, भावनात्मक परिपक्वता, सामाजिक उत्तरदायित्व र शिक्षक–विद्यार्थी सम्बन्धलाई पनि महत्त्व दिन्छन् । यी मूल्यमान्यताहरू आज पनि अत्यन्त सान्दर्भिक छन् ।
जब पाठहरू स्थानीय सन्दर्भसँग जोडिन्छन्, शिक्षा अझ अर्थपूर्ण, प्रभावकारी र परिवर्तनकारी बन्छ ।आज नेपालमा धेरै युवाहरूका लागि शिक्षा देश निर्माणको आधारभन्दा विदेश जाने माध्यमजस्तो बन्दै गएको छ । प्रतिस्पर्धात्मक र परीक्षाकेन्द्रित प्रणालीले सफलता भनेको देश छोड्न सक्नु हो भन्ने मानसिकता निर्माण गरेको छ । धेरै विद्यार्थीहरूका लागि आफूले प्राप्त गरेको ज्ञान र अनुभव स्थानीय जीवन, अवसर र समुदायसँग जोडिएको अनुभव बन्न सकेको छैन । यो अवस्थाले नेपालको शिक्षा प्रणालीमा गम्भीर आत्मचिन्तनको माग गरेको छ ।
यदि शिक्षाले विद्यार्थीलाई आफ्नै समाज, इतिहास र पहिचानसँग जोड्न सकेन भने भविष्यमा भावनात्मक रूपमा समाजबाट टाढिएका पुस्ताहरू निर्माण हुने खतरा रहन्छ । विश्वव्यापीकरणले अवसरहरू ल्याएको छ, तर त्यससँगै आफ्नै जरा त्याग्ने दबाब पनि बढाएको छ । त्यसैले शिक्षामा स्थानीय दृष्टिकोणलाई सशक्त बनाउनु कुनै भावनात्मक आग्रह मात्र होइन, राष्ट्रिय आवश्यकता पनि हो ।
शिक्षा कहिल्यै पनि सांस्कृतिक रूपमा तटस्थ हुँदैन । हरेक शिक्षा प्रणालीले असल जीवन के हो ? कुन ज्ञान मूल्यवान् हो ? र, कस्तो समाज निर्माण गर्नुपर्छ ? भन्ने गहिरा प्रश्नहरूको उत्तर बोकेको हुन्छ । नेपालको सांस्कृतिक परम्पराले यी प्रश्नहरूबारे आफ्नै समृद्ध दृष्टिकोण विकास गरेको छ । गुरु–शिष्य सम्बन्ध, आत्म अनुशासन, प्रकृतिसँग सहअस्तित्व र व्यावहारिक जिम्मेवारीलाई शिक्षासँग जोड्ने परम्पराले आज पनि महत्त्वपूर्ण शैक्षिक मार्गदर्शन दिन सक्छ । यी परम्परालाई पुरानो वा अप्रासंगिक भनेर अस्वीकार गर्नुको सट्टा, आधुनिक शिक्षासँग कसरी जोड्न सकिन्छ भन्ने दिशामा बहस केन्द्रित गरिनुपर्छ ।
स्थानीय पाठ्यक्रम निर्माण वा शैक्षिक सुधार स्थानीय सामाजिक र सांस्कृतिक यथार्थलाई बेवास्ता गरेर सफल हुन सक्दैन । नीति निर्माताहरूले अब केवल एकरूप संरचना लागू गर्ने होइन, स्थानीय भाषा, ज्ञान प्रणाली र समुदायको अनुभवलाई सम्मान गर्ने ढाँचाहरू निर्माण गर्नुपर्छ । सिर्जनशीलता, आलोचनात्मक सोच र नवप्रवर्तन पहिचान मेटाएर होइन, पहिचानसँग जोडिएर विकास हुन्छ । यही कुरा शिक्षक शिक्षामा पनि लागू हुन्छ ।
परम्परागत शिक्षक प्रशिक्षण कार्यक्रमहरू प्रायः विद्यार्थी–शिक्षकहरूको जीवन अनुभव र सांस्कृतिक पृष्ठभूमिबाट अलग देखिन्छन् । पाठ्यक्रम र शिक्षण पद्धतिहरू कक्षाकोठाको वास्तविक सामाजिक सन्दर्भभन्दा बाहिर बसेर निर्माण गरिन्छन् । शिक्षकहरूलाई विषयवस्तु पढाउन त तयार गरिन्छ, तर शिक्षालाई आफ्नै समुदाय, मूल्य र पहिचानसँग कसरी जोड्ने भन्ने प्रश्नमा पर्याप्त अवसर दिने गरेको अनुभव नेपालमा पाइएको छैन ।
स्थानीय शिक्षा शास्त्रीय दृष्टिकोणले शिक्षकहरूको अनुभव र सांस्कृतिक सन्दर्भलाई शिक्षक शिक्षाको केन्द्रमा राख्ने गरिएको हुन्छ । यसले कथामूलक सिकाइ, सान्दर्भिक शिक्षण र स्थानीय तथा विश्वव्यापी ज्ञानबीच आलोचनात्मक संवादलाई प्रोत्साहन गर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले शिक्षक पेसामा स्वामित्व र सम्मानको भावना पुनःस्थापित गर्छ ।
शैक्षिक अनुसन्धानलाई पनि नयाँ दिशातर्फ लैजान आवश्यक छ । लामो समयदेखि नेपालको शैक्षिक यथार्थलाई बाह्य सैद्धान्तिक ढाँचाबाट व्याख्या गर्ने प्रयास हुँदै आएको छ । अन्तर्राष्ट्रिय दृष्टिकोण उपयोगी हुन सक्छन्, तर केवल पश्चिमी अवधारणामार्फत नेपाली समाजलाई बुझ्ने प्रयासले अपूर्ण निष्कर्ष दिन्छ । स्थानीय अनुसन्धानले नेपालको आफ्नै दार्शनिक, सामाजिक र सांस्कृतिक आधारभित्रै अवधारणात्मक संरचना खोज्नुपर्छ ।
यो प्रश्न केवल अनुसन्धानको पद्धतिसँग सम्बन्धित छैन । यो शक्ति सम्बन्धको प्रश्न पनि हो । शिक्षाको सफलता कसले परिभाषित गर्छ ? ज्ञान उत्पादनको नियन्त्रण कसको हातमा छ ? गुणस्तरीय शिक्षा के हो भन्ने निर्णय कसले गर्छ ? हाम्रा अनुसन्धान केवल बाह्य सुधार सफल भयो कि भएन भन्ने मापनमै सीमित रह्यो भने यसले शिक्षक, विद्यार्थी र समुदायको वास्तविक अनुभवलाई बेवास्ता गर्न सक्छ । स्थानीय दृष्टिकोणले भने शिक्षामा संलग्न व्यक्तिहरूको उद्देश्य, आकांक्षा र विश्वदृष्टिलाई बुझ्ने कोसिस गरेको हुन्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, कक्षाकोठा स्वयं परिवर्तन हुनुपर्छ । कक्षाकोठा केवल सूचना दिने र परीक्षाको तयारी गराउने प्रशासनिक संरचना मात्र बन्नु हुँदैन । यो विद्यार्थीको जीवन, भाषा, समुदाय र अनुभवसँग जोडिएको सांस्कृतिक रूपमा सहयोगी वातावरण बन्नुपर्छ । जब पाठहरू स्थानीय सन्दर्भसँग जोडिन्छन्, शिक्षा अझ अर्थपूर्ण, प्रभावकारी र परिवर्तनकारी बन्छ । यसले शैक्षिक गुणस्तर कमजोर बनाउँदैन । बरु विद्यार्थीहरूले परिचित अनुभवसँग जोडिएको ज्ञानलाई अझ गहिरो रूपमा बुझ्न सक्छन् । शिक्षकहरूलाई स्थानीय सन्दर्भ समावेश गर्ने स्वतन्त्रता दिँदा सिकाइ अझ जीवन्त र प्रभावकारी हुन्छ ।
नेपालको शिक्षा प्रणाली आज एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ । यसको कारण हो, यहाँको शिक्षा प्रणाली स्थानीय यथार्थसँग सम्बन्धविहीन हुनु । नेपालले अब रोज्नुपर्ने बाटो आफ्नै सांस्कृतिक आधारमा उभिएको तर विश्वसँग संवाद गर्न सक्ने शिक्षा प्रणाली निर्माणतर्फ हो । शिक्षा सुधारको बहस परम्परा र आधुनिकतामध्ये एक रोज्ने बहस मात्रै होइन । यो त सामाजिक न्यायसहितको सन्तुलित समाज र उज्ज्वल भविष्य निर्माण गर्ने बहस हो । नेपालको भविष्यको शिक्षा प्रणालीले विद्यार्थीलाई विश्वव्यापी समाजमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनुका साथै उनीहरूलाई आफ्नै पहिचान, इतिहास र समाजसँग पनि जोड्नुपर्छ । जरा नभएको शिक्षा प्रणालीले राष्ट्रको पहिचानलाई दीर्घकालीन रूपमा जोगाउन सक्दैन ।
यदि नेपालले साँच्चिकै रूपान्तरणकारी शिक्षा सुधार चाहन्छ भने उसले आफ्ना शिक्षक, समुदाय र सांस्कृतिक सम्पदाको आवाज सुन्नैपर्छ । वास्तविक शैक्षिक प्रगति केवल बाह्य मोडेल आयात गरेर सम्भव हुँदैन । त्यो तब सम्भव हुन्छ, जब नेपालले आफ्नै कक्षाकोठा, समुदाय र परम्पराभित्र रहेका ज्ञान र अनुभवलाई मूल्य दिन थाल्छ ।
स्थानीय शिक्षाशास्त्र प्रगतिविरोधी अवधारणा होइन । सायद यही नेपालको शिक्षा प्रणालीलाई आधुनिक, मानवीय र दीर्घकालीन रूपमा अर्थपूर्ण बनाउने सबैभन्दा महत्त्वपूर्ण मार्ग हो ।
