किन र कसरी सम्झिने 'जेठ १९’ ?

इतिहास भइसकेको राजसंस्था पुनः गद्दीमा फर्कने लालसा पालेर बसेको छ । पूर्वराजाका सार्वजनिक उपस्थिति र गतिविधिहरू हेर्दा त्यस्तै लाग्छन् । तीतो यथार्थ के हो भने, नारायणहिटी अब स्मृतिको संग्रहालय हो, भविष्यको गन्तव्य होइन । 

जेष्ठ १८, २०८३

राजाराम गौतम

Why and how is 'Jesth 19' remembered?

What you should know

क्यालेन्डरका पानासँगै दिनहरू फेरिँदै जान्छन् । तर, इतिहासमा कुनै दिन यस्ता हुन्छन्, जो क्यालेन्डरमा फेरिए पनि जन–जनको मनमस्तिष्कमा रहिरहन्छन् । जेठ १९, २०५८ त्यस्तै एउटा मिति हो, जो आम नेपाली जनताको दिल–दिमागबाट हट्न सकेको छैन । नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको वंशनाश भएको त्यो बीभत्स हत्याकाण्डको तिथि फेरि आएको छ । भोलि ‘जेठ १९’ (मंगलबार) उक्त हत्याकाण्डको २५ औं वार्षिकी हो ।

क्रूर नरसंहारका अनेक दुःखद् कथा इतिहासमा पढ्न पाइन्छ । सन् १९१८ मा रसियाका राजा निकोलस रोमानोभसहित उनका परिवारका ११ सदस्यको हत्या भयंकर शाही नरसंहारका रूपमा इतिहासमा दर्ज छ । रसियामा ३ सय वर्ष राज्य गरेको जारशाही रोमानोभ परिवारका ७ सदस्य, १ जना चिकित्सक, भान्से, सहयोगी र एउटा कुकुरसमेतको हत्या लेनिनका सैनिकले गरेका थिए । साढे दुई दशकअघि काठमाडौंमा राजा वीरेन्द्र, उनका परिवारका सदस्य र आफन्तको सामूहिक हत्याकाण्ड हुँदा धेरैले रसियाको जारशाही संहारलाई बिर्साउने काण्ड भनेर टिप्प्णी गरेका थिए । देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमै सनसनी मच्चिएको त्यो हत्याकाण्ड मदिराले लट्ठ भएका तत्कालीन युवराज दीपेन्द्रले घटाएको कुरा प्रत्यक्षदर्शीहरूले बताएका थिए । छानबिन प्रतिवेदनहरूमा पनि त्यही कुरा उल्लेख छ । 

इतिहास बनिसकेको त्यो दुर्दान्त हत्याकाण्डलाई साढे दुई दशकपछि किन सम्झिने ? एउटा कोणबाट यसरी पनि प्रश्न गर्न सकिन्छ । यद्यपि, यसको अर्को पाटो छ । इतिहासको त्यो कालो दिन वर्तमान नेपाली समाज, राजनीतिक नेतृत्व र राज्य सञ्चालकहरूका लागि गतिलो पाठ बन्न सक्छ । पाठ किन र कसरी बन्न सक्छ ? यो विश्लेषण यसैमा केन्द्रित छ । 

एकातिर ‘जेठ १९’ ले राजपरिवारको सामूहिक विनाश गर्‍यो, अर्कोतिर त्यसले मुलुकमा नयाँ राजनीतिक शक्ति सन्तुलनको ढोका पनि खोलिदियो ।राजा वीरेन्द्रको परिवारको समूल नष्ट भएको त्यो दुःखद् दुर्घटना पीडादायी त थियो नै, सँगै त्यसले अग्लो पर्खालभित्र बलियो सुरक्षा प्रबन्धमा रहेको शक्तिशाली संस्था कसरी भित्रभित्रै खोक्रिएका हुँदारहेछन् र ती कसरी ढल्दा रहेछन् भन्ने दृष्टान्त पनि दियो । एकातिर ‘जेठ १९’ ले राजपरिवारको सामूहिक विनाश गर्‍यो, अर्कोतिर त्यसले मुलुकमा नयाँ राजनीतिक शक्ति सन्तुलनको ढोका पनि खोलिदियो । राजा वीरेन्द्रको परिवारको सामूहिक विनाश राजसंस्था बिदाइको प्रतीकात्मक प्रारम्भ थियो । जब–जब त्यो बीभत्स हत्याकाण्डको सन्दर्भ आउँछ, नेपाली नागरिकवृत्तमा एकथरी राजा वीरेन्द्रको भावुक स्मृतिमा डुब्छन् भने अर्कोथरी ‘षड्यन्त्रको सिद्धान्त’ मा आधारित अपुष्ट चिया गफमा बहकिन्छन् । तथापि, दरबार हत्याकाण्डका अरू पनि अनेक आयाम छन् । ‘जेठ १९’ को स्मृति हुँदै गर्दा यसमा थप विमर्श सान्दर्भिक भएको छ । 

पहिलो, नेपालमा राजसंस्थालाई हेर्ने दृष्टिकोण नागरिकवृत्तमा एकै प्रकारको थिएन/छैन । एउटा जमातले राजसंस्थाप्रति आस्था र भरोसा राख्दा अर्को पंक्ति यसलाई लोकतान्त्रिक परिपाटीको बाधक ठान्थ्यो । पञ्चायतकाल र त्यसका पृष्ठपोषकहरूले उक्त कालखण्ड र त्यसपछिको प्रजातान्त्रिक शासन व्यवस्थामा राजसंस्थाप्रतिको आस्थाको वकालत गरे । तर, संवैधानिक राजसंस्था स्विकारेका कांग्रेस र कम्युनिस्टहरूले चाहिँ यसलाई मुलुकको लोकतान्त्रिक प्रणाली र प्रक्रिया संस्थागत गर्ने बाटोको बाधक ठान्थ्यो । राजसंस्थाले पटक–पटक नागरिक अधिकार हरण र अतिक्रमण गरेकाले यस्तो धारणा बनेको थियो । अझ कट्टर कम्युनिस्टहरू त राजसंस्थालाई सामन्तवादको प्रतीक मात्रै होइन, वर्ग शत्रु नै मान्थे । राजनीतिक वृत्तका यी विविध धारणाका बीच पनि आमवृत्तमा राजसंस्थाप्रति विश्वास थियो । तर, ‘जेठ १९’ को बीभत्स हत्याकाण्डले त्यो विश्वासको जग नराम्ररी हल्लाइदियो । कुनै पनि शासनसत्ताको प्रमुख आधार जनविश्वास नै हो । ‘जेठ १९’ ले राजसंस्थाको विश्वासको त्यो आधार भत्कायो । 

दोस्रो, दरबारभित्रको सुरक्षा बन्दोबस्ती र प्रबन्धमाथि उक्त काण्डले गम्भीर प्रश्नहरू उठायो । हुन त दरबार हत्याकाण्डले नेपाली समाजकै सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठायो । मान्छेहरू प्रश्न गर्न थाले, चौतर्फी सुरक्षा बन्दोबस्तीसहित दरबारभित्र विराजमान राजा असुरक्षित हुने देशमा जनता कसरी सुरक्षित होलान् ? सुरक्षा चुकबारे जनस्तरमा मात्रै प्रश्न उठेन, हत्याकाण्डबारे अध्ययन गर्न बनेको समितिले पनि दरबारभित्रको सैन्य सुरक्षा प्रबन्धहरूमा चुक भएको निष्कर्ष निकाल्यो । दरबारभित्रको सुरक्षा प्रबन्ध तत्कालीन शाही सेना (नेपाली सेना) का विभिन्न ‘लेयर’हरू हुन्थे । ती सबै लेयरहरू निष्प्रभावी हुनु भनेको संस्थागत त्रुटि थियो । त्यसैले वारदात हुँदा खटिएका शाही पार्श्ववती (एडीसी) हरूको लापरबाह प्रवृत्तिदेखि सेनाको नेतृत्वसम्मको भूमिका र जिम्मेवारीमाथि प्रश्नहरू उठे । 

तेस्रो, दरबार हत्याकाण्डपछि नेपालको भूराजनीतिक शक्ति सन्तुलन पनि खलबलियो । विज्ञहरू भन्छन्, यही प्रकरणपछि नै हो, नेपाल उत्तर र दक्षिण छिमेकको भूराजनीतिक होडबाजीको नयाँ चरणमा प्रवेश गरेको । खासगरी, राजा वीरेन्द्र जीवित हुँदा दरबार चीनतिर अलि बढी झुकाव राख्थ्यो भन्ने बुझाइ थियो । भारतले नेपाल चीनमुखी भएको ऊबेला पनि रुचाउँदैनथ्यो र अहिले पनि रुचाउँदैन । हत्याकाण्डपछि नेपाली राजनीतिमा दरबार कमजोर भयो र ‘दिल्ली दरबार’ बलियो भयो भनेर विदेश मामिलाका जानिफकारले अर्थ्याएका थिए । 

२०४६ सालपछि नेपालको राजसंस्था संवैधानिक सीमामा थियो । यद्यपि, यो परम्परागत शक्तिकेन्द्र भूराजनीतिक संवेदनशीलता, विदेश नीति वा मुलुकको समग्र सुरक्षा अवधारणाको केन्द्र पनि मानिन्थ्यो । हत्याकाण्डपछि त्यो केन्द्र पनि कमजोर भयो । दक्षिण छिमेक नेपाली राजनीतिमा माइक्रो व्यवस्थापनको तहमा ओर्लेको त्यसपछि नै हो । हुन त त्यसअघि पनि नेपाली राजनीतिमा भारतको प्रत्यक्ष/परोक्ष प्रभाव नहुने होइन । तर त्यसको एउटा निश्चित सीमा हुन्थ्यो । हत्याकाण्डपछि उसको भूमिका सूक्ष्म राजनीतिक व्यवस्थापकको झैं बन्न पुग्यो । 

सक्रिय राजतन्त्रकालमा राजाले प्रधानमन्त्री फेर्थे तर कूटनीति र यसको संयन्त्र अपेक्षाकृत स्थिर हुन्थ्यो भनिन्थ्यो । दरबार हत्याकाण्डपछि दलअनुसार फेरिने विदेश नीतिका प्राथमिकताले शक्ति सन्तुलन खलबलियो । छिमेकको प्रभाव व्यक्तिगत स्तरमा ओर्लियो । जसले नेपालको विदेश मामिला रणनीतिक स्थिरताका दृष्टिले कमजोर बन्यो । सारमा, ‘जेठ १९’ अघि नेपाली भूराजनीतिका कतिपय आयाम र जटिलता दरबारसँग जोडिएका थिए भने हत्याकाण्डपछि ती क्रमशः दलकेन्द्रित प्राथमिकता र होडबाजीको विषय बन्न पुगे । 

हत्याकाण्डपछि नयाँ राजा बनेका ज्ञानेन्द्रसामु मुलुकलाई यी सबैखाले संक्रमणबाट जोगाउने, संवैधानिक सीमाभित्र बसेर राजसंस्थाको गुमेको विश्वास फिर्ता गर्ने प्रशस्त अवसर थियो । तर, काकताली परेर दोस्रो पटक राजा बन्ने अवसर पाएका ज्ञानेन्द्रले समयको पदचाप बुझ्न सकेनन् । उनी न कूटनीतिक हिसाबले चनाखो र सन्तुलित हुन सके, न त राजसंस्थाप्रति गुमेको जनविश्वास फर्काउने भूमिकामा नै देखिए । गद्दीमा बसेपछि ‘रचनात्मक राजा’ बन्ने धुनमा मग्न ज्ञानेन्द्रमा शक्ति अभ्यासको भोक जाग्यो । त्यो बेला एकातिर माओवादीको हिंसात्मक विद्रोहको पारो बढिरहेको थियो भने अर्कोतिर २०४६ पछि अनवरत सत्तामा रहेका संसदीय राजनीतिक दलहरू अलोकप्रिय हुँदै थिए । यस्तो बेला लोकतान्त्रिक र संवैधानिक फ्रेमवर्कभित्रै शान्ति र सहमतिको खोजीलाई ज्ञानेन्द्रले आफ्नो प्राथमिकता बनाउन सक्थे । तत्कालीन राजनीतिक संक्रमणकाललाई समन्वय र मध्यस्थताबाट पार लगाएको भए नेपाली राजसंस्थाको कथा सायद बेग्लै बाटोमा बढ्थ्यो । 

तर, उनले सेनाको साथ लिएर सक्रिय सत्ताको अभ्यास थाले र ‘माघ १९’ घटाए । जसले न मुलुकभित्र वैधता पायो, न त अन्तर्राष्ट्रिय जगत्ले नै समर्थन गर्‍यो । बरु उनको अलोकतान्त्रिक अभ्यास र सत्ता भोकले संसदीय दल र माओवादीलाई एकै ठाउँमा उभ्यायो । अन्तर्राष्ट्रिय शक्तिहरूले पनि दलहरूको लोकतान्त्रिक प्रक्रियालाई समर्थन गरे । फलस्वरूप, मुलुक बाह्रबुँदे समझदारी हुँदै २०६२/६३ को दोस्रो जनआन्दोलनको बाटोमा अघि बढ्यो । र, अन्ततः राजसंस्थाको विधिवत् अन्त्य र मुलुक संघीय गणतन्त्रको मार्गचित्रमा अघि बढ्यो । 

जेठ १९ मा वीरेन्द्रको वंशनाश भएपछि धेरैले त्यसलाई राजसंस्था पतनको प्रारम्भ मानेका थिए । नभन्दै त्यस्तै भयो । ज्ञानेन्द्रको असंवैधानिक कदम, सैन्यवाद र शक्तिको अति महत्त्वाकांक्षाले राजसंस्थाको विधिवत् अन्त्य भयो । अनि, मुलुकमा राजनीतिक परिवर्तनसहित गणतन्त्र, संघीयतासहितको नयाँ शक्ति सन्तुलनको सूत्रपात भयो । उदेकलाग्दो कुरा के छ भने, मुलुकमा राजनीतिक परिवर्तन भयो तर संस्कार र प्रवृत्ति फेरिएन । 

भविष्य लोकतान्त्रिक शक्तिहरू नै हुन् । नयाँ र ऊर्जाशील अनुहारहरू नै हुन् । यद्यपि, विगतका अभ्यासहरूले भन्छ, नयाँ अनुहार आउँदैमा लोकतान्त्रिक प्रणाली फस्टाउँछ नै भन्ने छैन ।बाह्रबुँदे समझदारी, बृहत् शान्ति सम्झौता, दोस्रो जनआन्दोलन, मधेश आन्दोलन, शान्ति प्रक्रिया, दुई पटक संविधानसभा र संविधान निर्माण अनि आवधिक निर्वाचन आदि अनेक उतारचढावका बीच संघीय लोकतान्त्रिक गणतन्त्रले आफ्नो बाटो तय गर्दै थियो । राजनीतिक दलहरूले राजसंस्थाको अन्त्यपछि राज्य पुनःसंरचनाको अभूतपूर्व अवसर पाएका थिए । तर, तिनले परिवर्तनको स्पिरिटलाई नजरअन्दाज गरे र केवल सत्तामुखी भइदिए । कुशासन र सत्ताकेन्द्रित राजनीतिले मुलुक निराशा र अस्थिरताको दुश्चक्रबाट निस्कन सकेन । गणतन्त्र आएपछि राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि देला भनेर अपेक्षा गरेका जनता निराश भए । सुखी नेपाली र समृद्ध नेपालको नारा त लगाइयो, व्यवहारमा केही थान राजनीतिक नेतृत्व मात्रै समृद्ध हुने अवस्था बन्यो । सत्ता भागबन्डा, दलतन्त्र, गुटतन्त्र र भ्रष्टाचारले दल र राज्य संयन्त्र थिलथिलो भएपछि फेरि जनअसन्तुष्टिले विद्रोहको रूप धारण गर्‍यो । यस पटक जेन–जी उमेर समूहका नवयुवाहरू नेतातन्त्रविरुद्ध सडकमा ओर्लिए । एउटा अर्को रक्तरञ्जित विद्रोहपछि मुलुकमा हुर्केको नेतातन्त्र रक्षात्मक अवस्थामा पुग्यो । पुनः राजनीतिक शक्ति सन्तुलनको अवस्था फेरियो । 

यतिबेला सिंहदरबारमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली राजनीतिक वृत्तमा उदाएको चार वर्ष पुग्दै छ । २०७९ को आम निर्वाचनमा चौथो ठूलो दलका रूपमा उदाएको रास्वपा यस पटक मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्ति भएको छ । संसद्मा यो पार्टीको झन्डै दुईतिहाइ सांसद छन् । पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री छन् । रास्वपाको उदयसँगै थुप्रै नयाँ अनुहार राजनीतिक रंगमञ्चमा देखिएका छन् । विगतका लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण र अग्रणी भूमिका भएका दलहरू आफ्नै कारणले रक्षात्मक बन्न पुगेका छन् । पार्टीमा सुधारका केही प्रयत्न भएजस्तो देखिए पनि पुराना दलहरू सुध्रिने बाटोमा छैनन् । इतिहास भइसकेको राजसंस्थाचाहिँ पुनः गद्दीमा फर्कने लालसा पालेर बसेको छ । पूर्वराजाका सार्वजनिक उपस्थिति र गतिविधिहरू हेर्दा त्यस्तै लाग्छन् । तर, तीतो यथार्थ के हो भने, नारायणहिटी अब स्मृतिको संग्रहालय हो, भविष्यको गन्तव्य होइन । 

भविष्य लोकतान्त्रिक शक्तिहरू नै हुन् । नयाँ र ऊर्जाशील अनुहारहरू नै हुन् । यद्यपि, विगतका अभ्यासहरूले भन्छ, नयाँ अनुहार आउँदैमा लोकतान्त्रिक प्रणाली फस्टाउँछ नै भन्ने छैन । जबसम्म शासकहरूले उत्तरदायी शासन सञ्चालन गर्न सक्दैनन्, व्यवहारमा प्रतिबद्ध र जवाफदेही हुन सक्दैनन्, पारदर्शिता र संस्थागत स्थिरता हुन सक्दैन । जनता ढुक्क हुने अवस्था बन्दैन । जस्तो कि, अहिलेको बालेन सरकारसँग आम जनताका अपेक्षा अलि धेरै नै छन् तर यो सरकारले जनअपेक्षाको भारी बोक्न सकेको छैन । बरु, संक्रमणकालीन लोकतन्त्रलाई थप कमजोर बनाउनेतिर उद्यत् छ । लोकतन्त्रको संस्थागत विकास र राजनीतिक संस्कार जनमुखी हुन सकिरहेको छैन । सत्तासँगको आक्रोश सडकमा पोखेर परिवर्तन ल्याउन नेपालीहरू जति माहिर छन्, सायद परिवर्तनपछिको व्यवस्थापन तिनका लागि ‘फलामको च्युरा’ सावित हुने गर्छ । विगतका दृष्टान्त त्यस्तै छन् । 

२५ वर्षअघिको दरबार हत्याकाण्डले दिएको सबैभन्दा महत्त्वपूर्ण सन्देश हो, कुनै पनि संस्था चाहे त्यो साढे दुई सय वर्ष इतिहास भएको परम्परागत राजसंस्था होस् वा आन्दोलनको बलमा बनेको दलहरूको सत्ता वा नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाको सत्ता होस्, सबैको टिक्ने मुख्य आधार जनविश्वास हो । जनविश्वास गुमेपछि सत्ता टिक्दैन । बाहिरबाट हेर्दा शक्तिशाली देखिने संरचनाहरू पनि अपारदर्शिता र स्वार्थहरूको द्वन्द्वले खोक्रिएर एक दिन ढल्छन् । नेपाली राजसंस्थाले पनि समयको पदचाप बुझ्न सकेन । पारिवारिक कलह र स्वार्थको अपारदर्शी टापु बन्यो । सत्ता, शक्ति र स्वार्थ समूहहरूको बन्दी मात्रै बन्ने र जनविश्वासलाई बेवास्ता गर्ने कुनै पनि राजनीतिक शक्तिको नियति यस्तै हुने हो । जनतालाई आस जगाउन जति सहज छ, त्यसलाई दीर्घकालीन विश्वासमा बदल्न उत्तिकै कठिन काम हो । त्यसका लागि ऊच्चस्तरको राजनीतिक/लोकतान्त्रिक संस्कार, संस्थागत निष्ठा र नैतिक आचरण चाहिन्छ । 

राजाराम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको 'साप्ताहिक' र 'नारी' मासिकको सम्पादक भएका राजाराम कान्तिपुरमा समसामयिक बिषयमा लेख्ने गर्छन् ।

Link copied successfully