पछिल्लो समय महिलामाथि भौतिकसँगै ‘भर्बल’ शाब्दिक उत्पीडन डरलाग्दो गरी बढेको छ । महिला पत्रकार, अभियन्ता, कलाकार वा राजनीतिकर्मी भएकै कारण उनीहरू दिनहुँ ‘हेट कमेन्ट’ को सिकार भइरहेका छन् ।
What you should know
नेपाललाई हामी विभिन्न परिचयबाट चिन्छौं– बहुजातीय, बहुभाषिक, बुद्धको जन्मभूमि र सगरमाथाको देश । यसैगरी नेपाललाई ‘देवीहरूको देश’ पनि भनिन्छ । तथ्यांकलाई हेर्ने हो भने यहाँ ५१ प्रतिशत हाराहारी जनसंख्या तिनै कथित देवीहरूको छ । हाम्रा मन्दिर, भान्सा र खेतबारीमा जताततै देवीकै स्वरूप भेटिन्छन् । धार्मिक मिथकले भन्छन्, यहाँ हलो जोत्दा सीता भेटिन्छिन् ।
देउती बजै, दक्षिणकाली, मनकामनादेखि गढीमाईसम्मका शक्तिपीठहरूमा भक्तजनको कहिल्यै नटुंगिने ताँती लाग्छ । तर, देवीको यो महिमा केवल मूर्ति र पौराणिक कथामा मात्र सीमित छ । विडम्बना कस्तो छ भने, हाम्रा एक थरी देवीहरू मन्दिरको गर्भगृहमा पुजिन्छन् भने अर्का थरी जिउँदा देवीहरू कहिले लुटिन्छन्, कहिले जलाइन्छन् । अचेल त यो हिंसाको रूप फेरिएर मोबाइलको सानो स्क्रिनसम्म आइपुगेको छ ।
मनुस्मृतिमा भनिएको छ– जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् । तर आजको डिजिटल दुनियाँका ‘पुरुष देवता’ नारीको चरित्र हत्या गरेर रमाइरहेको पाइन्छ । यहाँ हिंसा केवल पुरुषले महिलामाथि मात्र होइन, महिलाले महिलामाथि पनि विभिन्न तवरले गरिरहेका छन् । अहिलेको समयमा कसैलाई अपमानित गर्ने सबैभन्दा सहज हतियार बनेको छ– एक भद्दा गाली र एक विषालु कमेन्ट ।
विचार राख्नु नै अपराध
पछिल्लो समय महिलामाथि भौतिकसँगै ‘भर्बल’ शाब्दिक उत्पीडन डरलाग्दो गरी बढेको छ । महिला पत्रकार, अभियन्ता, कलाकार वा राजनीतिकर्मी भएकै कारण उनीहरू दिनहुँ ‘हेट कमेन्ट’ को सिकार भइरहेका छन् ।
हामीले धेरै टाढा जानै पर्दैन । सामाजिक सञ्जाल खोल्ने हो भने रक्षा बम, तनुजा पाण्डे, अमिशा पराजुली, सरिश्मा थापा, समीक्षा अधिकारी वा एलिना चौहान जस्ता अभियन्ता र गायिकाहरूको फिडमा आउने प्रतिक्रियाहरू पढिनसक्नु हुन्छ । सुमना श्रेष्ठ, रामकुमारी झाँक्री वा निशा अधिकारी जस्ता सार्वजनिक व्यक्तित्वले आफ्नो विचार राख्दा प्रतिक्रियामा पाउनले गरेको ‘हेट स्पिच’ ले हाम्रो समाजको मानसिक दरिद्रता झल्काउँछ । के वाक स्वतन्त्रताको अर्थ अरूको अस्मितामाथि धावा बोल्नु हो ? दुःखको विषय त यो छ कि, यहाँका ‘डिजिटल न्यायाधीश’ हरू त मरेको लासमाथि पनि गाली बर्साउन पछि पर्दैनन् ।
पछिल्लो समय महिलामाथि भौतिकसँगै ‘भर्बल’ शाब्दिक उत्पीडन डरलाग्दो गरी बढेको छ । महिला पत्रकार, अभियन्ता, कलाकार वा राजनीतिकर्मी भएकै कारण उनीहरू दिनहुँ ‘हेट कमेन्ट’ को सिकार भइरहेका छन् ।हाम्रो अघिल्लो पुस्ताका दिदीहरूले चोक र गल्लीमा जिस्काउने र सिटी बजाउने ‘इभ टिजिङ’ झेलेका थिए । आज ती जिस्काउने पात्रहरू चोकमा होइन, फेसबुकको कमेन्ट र इन्स्टाग्रामको इनबक्समा भेटिन्छन् । इन्स्टाग्राम र फेसबुकको तुलनामा ‘एक्स’ मा ‘हेट स्पिच’ को सीमा नाघिसकेको छ । यदि यही गतिमा हिंसा बढ्दै जाने हो भने, आगामी पुस्ताले सामाजिक सञ्जाल चलाएपछि सिधै मनोचिकित्सककामा जानुपर्ने डरलाग्दो अवस्था सिर्जना नहोला भन्न सकिँदैन ।
इनिशा विकको लास सत्ताइस दिनसम्म बरफ बनेर बसिरहँदा हाम्रो समाजको संवेदनशीलता पनि कतै त्यही बरफझैं जमेर बसेको भान हुन्थ्यो । एउटी युवतीले आफूमाथि भएको जबर्जस्ती करणीविरुद्ध आवाज उठाउँदा न्यायका लागि सहजीकरण गर्नुको सट्टा हाम्रो पुरातन सोच र विषालु कमेन्टले उनलाई मर्नु न बाँच्नुको दोसाँधमा पुर्याउँछ । त्यति मात्र होइन, एउटा खेलाडीमाथि नाबालिग बलात्कारको मुद्दा लाग्दा सिंगो समाज विभाजित भयो, जहाँ एउटा पक्षले ती नाबालिकाको भविष्यको प्रवाह नगरी उनीमाथि नै दोषको भारी थोपरिरह्यो । पुनःस्थापित भएर यही समाजमा बस्न अप्ठ्यारो हुने अवस्था सिर्जना गर्न लागिपर्यो ।
हाम्रो पुस्ताले त यो भौतिक र डिजिटल दुवै हिंसा भोग्यो र देख्यो तर चिन्ता त अबको पुस्ताको छ । के यो डिजिटल अराजकताको बीचमा हुर्कने सन्तानहरूले सामाजिक सञ्जाललाई सुरक्षित महसुस गर्लान् ? वा, उनीहरू पनि यस्तै चरित्र हत्याको सिकार बन्ने डरमा खुम्चिएर बाँच्लान् ?
यद्यपि, यो भयावह अवस्थाका बीच सरकार र सुरक्षा संयन्त्र पूर्णतः निदाएरै बसेको भने होइन । तथ्यांकले साइबर अपराधसम्बन्धी हजारौं निवेदन दर्ता भएको देखाउँछ । यसले समस्याको आयतन र समाधान खोज्ने प्रयत्नलाई प्रस्ट्याउँछ । तर, मुख्य प्रश्न अझै अनुत्तरित छ, के हाम्रो संयन्त्र घटना घटेपछि ‘पोस्टमार्टम’ गर्न मात्रै सक्रिय हुने हो ? वा, घटना हुनै नदिनका लागि पूर्वसजगता र कडा कानुनी प्रबन्ध पनि गर्ने हो ? जबसम्म राज्य र समाजले ‘रियाक्सन’ भन्दा बढी ‘प्रिभेन्सन’ मा जोड दिँदैन, तबसम्म यी डिजिटल प्लाटफर्महरू छोरीहरूका लागि असुरक्षित नै रहिरहनेछन् ।
भर्खरै ‘कथा घेरा’ समूहले कर्णाली र सुदूरपश्चिममा प्रदर्शन गरेको सडक नाटक ‘बाटैबाटो’ को एउटा गीत खुब चर्चामा रह्यो– ‘छोरी, बूढी, बुहारी, आमा, देवीभन्दा पहिला, मान्छे हो महिला, मान्छे हो महिला ।’ यो गीत केवल शब्दको सँगालो मात्र थिएन, यो हरेक नेपाली महिलाको दबेको आवाज थियो । हामी भनिरहेका छौं, हामीलाई देवी बनाएर मन्दिरमा थुन्नु पर्दैन, केवल मान्छे मानेर हिंसामुक्त समाजको ‘ग्यारेन्टी’ गरिदिए पुग्छ । देवीको पगरी भिराएर अपमान गर्नुभन्दा मान्छेको दर्जा दिएर सम्मान गर्नु नै आजको साँचो आवश्यकता हो ।
अन्त्यमा, ‘हेट स्पिच’ र ‘साइबर बुलिङ’ केवल प्राविधिक समस्या मात्र होइनन्, यी त हाम्रो समाजमा जरो गाडेर बसेको सांस्कृतिक र नैतिक विचलनका उपज हुन् । हामीले आँखाले देखिरहेका र भोगिरहेका यी प्रतिनिधि घटनाहरू त हिमनदीको सतह मात्र हुन्, जसको मुनि अनगिन्ती दबिएका चीत्कारहरू लुकेका छन् । त्यसैले, अब केवल कानुनको डर देखाएर वा घटना घटेपछि सक्रिय भएर मात्र पुग्दैन । सरकारले मिडिया लिटरेसी (सञ्चार साक्षरता) र डिजिटल सुरक्षाका कार्यक्रमहरूलाई गाउँ–गाउँ र विद्यालयका पाठ्यक्रमसम्मै पुर्याउन ढिला भइसकेको छ ।
हामी यस्तो नेपालको परिकल्पना गर्छौं, जहाँ हाम्रो बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधताको मात्र चर्चा नहोस्, बरु हरेक नागरिक विशेषगरी महिलाहरू भौतिक र डिजिटल दुवै संसारमा उत्तिकै सुरक्षित र सम्मानित रहुन् । जबसम्म मान्छे हुनुको गरिमालाई देवीको आवरणभन्दा माथि राखिँदैन र प्रविधिको प्रयोगलाई मानवीय संवेदनासँग जोडिँदैन, तबसम्म हाम्रो लोकतन्त्र र स्वतन्त्रता अधुरो रहनेछ । त्यसैले, सुरक्षित र मर्यादित डिजिटल समाज निर्माणको पाइला आजै र अहिल्यैबाट चाल्नु अपरिहार्य छ ।
