अधिक गर्मीबाट बच्न व्यक्तिगत प्रयत्न नै प्रभावकारी

अधिक गर्मीबाट दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदुर वर्ग बढी प्रभावित हुन्छन् । त्यसैले गर्मीको असरबाट बच्नका लागि यो वर्गका व्यक्ति स्वयं नै बढी सचेत हुनुपर्छ ।

जेष्ठ १२, २०८३

सम्पादकीय

Individual efforts are effective in avoiding excessive heat.

What you should know

नेपालको तराई यस्तो भौगोलिक क्षेत्र हो, जहाँ जाडो मौसममा अधिक जाडो र गर्मी मौसममा अधिक गर्मी हुने गर्छ । यतिबेला तराई–मधेशबासी अधिक तातोको सकस खेप्न बाध्य छन् । वैशाखसँगै बढ्ने गर्मी जेठ मध्यतिर पुग्दा उत्कर्षमै पुग्छ । पानी परेका दिन कम भए पनि भदौ–असोजसम्मै गर्मी कायम रहन्छ । केही दिनयता पश्चिम तराईको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगिरहेको छ । दिउँसो तातो हावा (लु) चल्न थालेको छ ।

उच्च गर्मी र तातो हावाका कारण मानिस बिरामी पर्न थालेका छन् । अस्पतालका शय्याहरू भरिन थालेका छन् । उच्च गर्मीको विषय मूलतः प्राकृतिक विषय भएकाले प्राकृतिक रूपमै तत्कालै न्यूनीकरण गर्नु मानिसको नियन्त्रणमा छैन । तसर्थ, मानिसले व्यक्तिगत तथा सामूहिक रूपमा आफ्ना व्यवहार परिवर्तन गर्नुपर्छ । उच्च गर्मीबाट बच्ने उपाय पहिल्याउनुपर्छ । सरकारले आफ्नो स्रोतसाधन प्रयोग गर्ने तथा आवश्यक निर्णय लिएर नागरिकलाई परेको अप्ठ्यारोमा सहजीकरण गर्नुपर्छ ।

अधिक गर्मीका कारण लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा तापक्रम बढ्दा र तातो हावा (लु) चल्दा बिरामी पर्ने क्रम बढेको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा हरेक दिन करिब एक सय बिरामी गर्मीले प्रभावित भएर आउने गरेको तथ्यांक छ । खासगरी टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मुटुको धड्कन वृद्धि, श्वासप्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिए तुरुन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ । यस्ता विवरण तथा सूचनाले अधिक गर्मीले स्वास्थ्यमा परिरहेको प्रभाव र तत्कालै खोज्नुपर्ने उपचारका विषयमा जानकारी दिन्छ । आममानिसले यसलाई गम्भीरतापूर्वक लिन र सचेत रहन आवश्यक छ ।

अधिक गर्मीबाट दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदुर वर्ग बढी प्रभावित हुन्छन् । त्यसैले गर्मीको असरबाट बच्नका लागि यो वर्गका व्यक्ति स्वयं नै बढी सचेत हुनुपर्छ । सम्भव भएसम्म काम गर्ने सिफ्टलाई बिहान वा बेलुका सार्नुपर्छ । सरकारले पनि यस्ता वर्गका लागि अभिभावकत्व देखाउनुपर्छ । राहत वितरण जस्ता उपायमार्फत उनीहरूको अप्ठ्यारोलाई सहजीकरण गर्नुपर्छ । त्यस्तै, गर्मीबाट बच्नका लागि घरभित्रै बस्ने उपाय पनि अपनाउन सकिन्छ ।

त्यतिबेला उपलब्ध भएसम्म पंखा वा अन्य शीतल दिने विद्युतीय उपकरण पनि प्रयोग गर्न सकिन्छ । त्यसैले सरकारले बिजुली आपूर्ति अवरुद्ध गर्नु हुँदैन । गर्मीबाट बच्ने अर्को उपाय प्रशस्त पानी पिउनु तथा झोलिलो पदार्थ खानु पनि हो । ताजा फलफूल खाँदा पनि गर्मीको असर कम गर्न सकिन्छ । चिया तथा मादक पदार्थको सेवन नगर्दा पनि गर्मीले पारिरहेको असरलाई न्यूनीकरण गर्न सकिन्छ ।

अत्यावश्यक काम नपरी घरबाहिर निस्किनु हुँदैन । घरको कोठालाई पनि शीतल बनाउने उपाय अपनाउनुपर्छ । घरबाहिर निस्किनै पर्दा छाता ओढ्ने, गर्मी र घाममैत्री हलुका कपडा लगाउने, घामबाट बच्न सकिने क्रिमको प्रयोग गर्ने जस्ता उपाय अपनाइयो भने पनि असर कम गर्न सकिन्छ । शारीरिक बल बढी प्रयोग गर्नुपर्ने कामलाई सम्भव भएसम्म स्थगित गर्नु उचित हुन्छ । सबैका लागि गर्मीबाट बच्नका लागि अतिरिक्त व्यवस्था गर्ने आर्थिक सुविधा उपलब्ध नहुन सक्छ । तर, यथाशक्य प्रयत्न भने गर्नैपर्छ । किनकि, यसको असर व्यक्ति स्वयंले भोग्नुपर्छ । भवितव्य भएमा त्यसको असर परिवारले समेत भोग्नुपर्छ ।

गर्मी मौसम भनेको कीरा तथा सर्पको प्रभाव वृद्धि हुने समय पनि हो । लामखुट्टेलगायतको प्रभाव पनि यही बेलामा बढ्छ । मलेरिया, डेंगी, स्क्रब टाइफसलगायतको जोखिम पनि बढ्छ । त्यसैले गर्मीबाट बच्ने मात्रै होइन, कीरा, सर्प तथा लामखुट्टेको टोकाइबाट बच्दै तिनीहरूबाट हुने संक्रमणबाट बच्नु पनि अनिवार्य छ । त्यसका लागि घर वरपर सरसफाइ गर्नुपर्छ, जसका कारण कीरा, सर्प वा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । सुत्दा झुल प्रयोग गर्नुपर्छ । त्यस्तै, गर्मी बढेसँगै झाडापखाला, आउँ, हैजा जस्ता रोगको जोखिम पनि बढ्ने भएकाले खानपिनमा समेत ख्याल गर्नुपर्छ ।

गर्मीबाट नवजात शिशु, वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा सुत्केरी जस्ता अतिरिक्त स्याहार चाहिने वर्ग बढी प्रभावित हुन्छन् । त्यसैले उनीहरूलाई सहज हुने वातावरण बनाउन सम्बन्धित पक्ष गम्भीर हुनुपर्छ । अन्य व्यक्तिहरू घरमै बस्न सक्ने भए पनि बालबालिका भने विद्यालय पनि जानुपर्ने हुन्छ । त्यसैले उनीहरूका बारेमा थप ध्यान दिनुपर्छ । गर्मी अधिक भएका बेलामा विद्यालय बन्द गर्न सकिन्छ ।

त्यसका लागि स्थानीय तहले नै पहलकदमी लिन सक्छ । विकल्पमा, पठनपाठनलाई बिहानका लागि सार्न सकिन्छ । यद्यपि, विद्यालयमा शीतल वातावरण उपलब्ध गराउने, पानी खान प्रेरित गर्ने जस्ता काममा विद्यालय प्रशासनले पनि ध्यान दिनुपर्छ । विद्यालय आवतजावतलाई सुरक्षित बनाउन विद्यालय तथा अभिभावकले सहकार्य गर्नुपर्छ ।

गर्मी तथा लुको असरबाट बच्नका लागि व्यक्तिगत प्रयत्न सबैभन्दा प्रमुख हो । यसका सरकार तथा सरोकारवाला निकायले तय गरेका मापदण्ड पछ्याउनुपर्छ । साथसाथै जनतालाई सचेत र उत्प्रेरित गर्नका लागि तीनै तहका सरकारले सूचना सम्प्रेषण गर्नुपर्छ । त्यस्तै, सरकारले तय गरेका गम्भीर असर देखिएमा तत्कालै अस्पताल पुग्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully