चलचित्रमा दलित पात्र उभ्याउनु गलत होइन, दलितका मुद्दा उठान गर्नु पनि अपराध होइन । तर, त्यो समुदायको मुद्दा र पात्रलाई चलचित्रले न्यायपूर्ण अवतरण गराउन सकेको छ कि छैन ? यो विषय अहम् हो ।
What you should know
दलित पात्रलाई केन्द्रमा राखेर बनेका पछिल्ला दुई चलचित्रले दर्शक रुवायो । दर्शक रुनु भनेको अहिले चलचित्र निर्माण पक्ष सफल हुनु र धन कमाउनु हो । दुई वर्षअघि चलचित्र ‘पूर्णबहादुरको सारंगी’ ले बाउ–छोराको गरिबीले निम्त्याएको संघर्ष देखाउन गन्धर्भ समुदायको खोक्रो सारंगीलाई ढाल बनायो ।
अहिले विरोधपश्चात् प्रदर्शन भइरहेको चलचित्र ‘लालीबजार’ ले पनि आमा–छोरीको जीवन संघर्ष देखाउन बादी समुदायले भोग्नुपरेको गहिरो घाउ अर्थात् देह व्यापारलाई कोट्याएको छ, दुखाएको छ ।
यी दुवै चलचित्रले एउटै प्रश्न गर्छन्– बाउ–छोराको संघर्ष र आमा–छोरीको संघर्ष देखाउन दलित समुदायका पात्र नै किन रोजाइमा ? यद्यपि यी दुवै चलचित्र दर्शकले मन पराए ।
दुवै चलचित्रमा एक पक्षका दर्शक दुःखी पनि भए । भलै उनीहरूको पीडा बजारको भीडमा मौन हुन बाध्य छ । हालै प्रदर्शन भइरहेको चलचित्र ‘लालीबजार’ बारे डिग्निटी इनिसिएटिभले मार्टिन चौतारीमा छलफल चलायो । विनीता नेपाली र अमर विश्वकर्माले ‘नेपाली चलचित्रमा जातको चित्रण र यसको सामाजिक—राजनीतिक प्रभाव’ शीर्षकमा गरेको अध्ययन प्रस्तुत गरिएको थियो । त्यसमा विनीताले अध्ययनको निष्कर्षमा चलचित्रमा देखाइएका दलित पात्रलाई प्रोटेक्ट
(संरक्षक) गर्ने जहिले पनि कथित उपल्लो वर्गको समूह वा पात्र देखाउने प्रवृत्ति औंल्याएकी थिइन् । उनका अनुसार, अहिलेसम्म बनेका कुनै पनि चलचित्रले दलित समुदायको उत्थान र मुद्दामा रूपान्तरणकारी प्रभाव पार्न सकेका छैनन् । बिचरा पात्र, मनोरञ्जन, निरीह र हारेको भावमा मात्रै दलित पात्र र मुद्दा प्रस्तुत गरिएको उनको अध्ययनको निष्कर्ष छ ।
अनुसन्धानका क्रममा पञ्चायतकालमा बनेका चलचित्रदेखि २०६२/६३ पछिको आमूल राजनीतिक परिवर्तनमा बनेका चलचित्रसम्मको समीक्षा गरिएको थियो । नेपालको पहिलो चलचित्र सन् १९६४ मा बनेको ‘आमा’ सँगै नेपाली चलचित्रको यात्रा सुरु भएको हो । त्यसपछिका ‘माइतीघर’, ‘परालको आगो’, ‘पण्डित बाजेको लौरी’, ‘कालो पोथी’, ‘प्रकाश’ लगायत चलचित्रमा अप्रत्यक्ष रूपमा दलित पात्रको दृश्य देखाइएको छ । त्यसपछि दलितकै मुद्दामा बनेको चलचित्र ‘सिमाना’, ‘बाटो मुनिको फूल’, ‘प्रसाद’, ‘सुनपानी’, ‘प्रसाद–२’, ‘पुजार सार्की’, ‘वसन्त’ हुन् ।
यी सबै चलचित्रको मूल्यांकन गरेकी अध्येता विनीताले पञ्चायत व्यवस्थामा बनेका चलचित्रमा देखिएका पात्र अहिलेका दलित मुद्दाका चलचित्रभन्दा केही मानवीय दृष्टिले संवेदनशील देखिएको सुनाइन् । ‘पञ्चायतकाल खण्डमा निर्माण भएका चलचित्रमा दलित पात्रलाई मानव संवेदनाले हेरिन्थ्यो’, उनी भन्छिन्, ‘अहिले दलित पात्र हँसााउने र रुवाउने पात्र बनेका छन् । मुद्दा उठानप्रति गहिरो र वास्तविक अध्ययन भएको देखिँदैन ।’
‘लालीबजार’ प्रदर्शनीसँगै विरोधका लागि सडकमा उत्रिएका थिए– गोपाल नेपाली बादी । उनले चलचित्र हेरेपछि आँसु पुछ्दै फर्किएको बताउँदै भने, ‘अरू बादी महिलाको रोदन देखेर रोएका थिएँ, म मेरो समुदायकी चेलीको अपमान भएको सम्झेर रोएँ ।’ गोपालले अचेल फेसबुक र स्टाटसहरूमा ‘लालीबजार, बादीबजार, नालीबजार’ भनेर मानिसले उडाउन थालेकामा दुःख भावसमेत व्यक्त गरे । ‘हाम्रो कथाको यथार्थ देह व्यापार मात्रै होइन । अन्यायविरुद्धको कथा हो’, उनले भने, ‘तर, हामीले चलचित्रमा पनि न्याय नपाएको महसुस भयो ।’
गोपालले भनेजस्तै, ‘लालीबजार’ चलचित्रले बादी समुदायका महिलाले शोषणका रूपमा भोग्दै आएको पुरानो घाउ कोट्याएको हो, जहाँ चलचित्रले पुरानो घाउमा मल्हम लगाउन भने बिर्सिएको छ ।
चलचित्रमा दलित पात्र उभ्याउनु गलत होइन, दलितका मुद्दा उठान गर्नु पनि अपराध होइन । तर, त्यो समुदायको मुद्दा र पात्रलाई चलचित्रले न्यायपूर्ण अवतरण गराउन सकेको छ कि छैन ? यो विषय अहम् हो ।
पक्कै पनि दलित समुदाय इतिहासकालदेखि नै कला, संस्कृति, भोगाइ र वेदना सबैका दृष्टिले अनमोल छन् । प्रत्येक दलितका अनुहारमा समाजले जबर्जस्ती थोपरेका गहिरा चोट छन् । ‘मान्छे हुँ’ भन्न खोज्दा निमिट्यान्नै पार्ने क्रूर समाजको चक्रव्यूहमा रुमलिएको दलितको इतिहास साँच्चिकै रोदनपूर्ण छ ।
त्यस्तै न्याय गुमेको चलचित्र हो ‘लालीबजार’ । पात्र छनोटमै प्रश्न छ । आमा र छोरीको संघर्ष देखाउन के बादी समुदायकै महिला नै जरुरी थियो ? देह व्यापार रहरको पेसा होइन । राज्यसत्ता र ठूलाबडाले दमन गरेर आफ्नो मनोरञ्जनका लागि कुनै समुदायलाई शोषण हुन बाध्य पारिन्छ भने त्यो राज्य व्यवस्थाप्रति प्रश्न गर्नु चलचित्रको दायित्व होइन ?
चलचित्र संस्कार र संस्कृति विकास गराउने एक प्रकारको ‘सफट्पावर’ पनि हो । ‘लालीबजार’ हेरेपछि दर्शकले ‘बिचरा बादी’ महिलाको भाष्य निर्माण गर्छन् । चलचित्र निर्माता पक्षले दाबी गरेजस्तो बादी महिला पात्र (मधुवाला) को अब्बल संघर्ष देखिँदैन । ती पात्र रुँदैमा वा कराउँदैमा अब्बलता झल्किँदैन । उनले परिवर्तनका लागि चाल्ने आँट र सहास उनकै हुनुपर्छ ।
चलचित्रमा नारायण पात्रले निधारमा लगाएको रातो टीका र ढाकाटोपीजस्तो भेषभूषाले उपल्लो वर्गको संकेत गर्छ । तिनै उपल्लो वर्गका नारायण पात्रले ज्ञान दिएपछि मधुवालाले छोरी पढाउन संघर्षको यात्रा थाल्नु नै चलचित्रमा बादी महिलाको विद्रोही पक्ष छायामा परेको छ । सन्तान जन्माउने आमा र काजीको दमन भोग्दै आएकी मधुवालाको भोगाइ नै आफैंमा चेतनाको भण्डार हुन सक्छ । चेतना अक्षर पढेर मात्रै होइन, भोगाइले पनि पलाउँछ । त्यो मधुवाला पात्रमा निर्देशकले देख्न सकेनन् या चाहेनन् । त्यसैले चलचित्रमा सुपेरियर पुरुष र उपल्लो वर्गको पात्र उभ्याइएको छ । यसले चलचित्रमा पनि बादी महिला पात्रलाई दोस्रो दर्जामै देखाउने प्रयास गरिएको छ । चलचित्रको मूल पात्र मधुवाला हुनुपर्ने हो तर, हरेक सिनको टर्निङ प्वाइन्टमा पुरुष पात्र छन् । मधुवाला अर्थात् बादी महिला त्यो टर्निङ प्वाइन्टको अभियन पात्र बनेकी छन् ।
चलचित्रमा मधुवालालाई सुरुमा यौनकर्मप्रतिको स्वीकार्य भावमा देखाइन्छ, जुन हाम्रो समाजको यथार्थभन्दा विपरीत छ । चलचित्रमा निरन्तर अपराध गर्दै आएको सम्भ्रान्त परिवारको काजी पात्रलाई कुनै खालको अपराध बोध गराइएको छैन ।
लामो समयदेखि निरन्तर चलिरहेको दलित आन्दोलनको ध्येय केवल समुदायको मुक्ति होइन– समाज, राष्ट्र र राज्यमा सबैखाले विभेदको अन्त्य हो । दलितको चित्कारले मानवरूपी समाजको अपिल गर्छ । यदि चलचित्र रूपान्तरणको आधार हो भने समाजको पिँधमा परेका दलित, सीमान्तकृत र महिलाको चरित्रलाई केवल मनोरञ्जन र बजार पक्षमा मात्रै केन्द्रित गर्नु हुँदैन ।
अब ‘लालीबजार’ को ‘लाली’ देखाउनुभन्दा ‘लाली’ लगाउन बाध्य पारिएको त्यो संरचना भत्काउने रचनात्मक चलचित्रको खाँचो छ । पूर्णबहादुरलाई सारंगी बजाएर मगन्ते देखाउनुको सट्टा सारंगीको सम्मान गर्ने संस्कारको सन्देश दिन जरुरी छ । मान्छेमाथि विभेद गर्ने मान्छेको मगज रूपान्तरण गर्न बाध्य बनाउने रचनात्मक चलचित्रको खाँचो छ । दलित समुदायले समाजमा झैं चलचित्रमा पनि न्याय खोजिरहेका छन् ।
[यो विचार जेठ १ गते २०८३ मा मार्टिन चौतारीमा डिग्निटी इनिसिएटिभले आयोजना गरेको अध्येताद्वव विनिता नेपाली र अमर विश्वकर्माले तयार पार्दै गरेको ‘नेपाली चलचित्रमा जातको चित्रण र यसको सामाजिक-राजनीतिक प्रभाव’ शीर्षकको प्रारम्भिक अनुसन्धानको छलफलका आधारमा तयार पारिएको हो । उक्त अध्ययनपत्र प्रकाशन हुने क्रममा छ ।]
