आयकरको उच्च दर घटाऊ, दायरा बढाऊ

आम्दानीको ३९ प्रतिशतसम्म आयकर तिर्दा पनि नागरिकले स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी, सामाजिक सुरक्षा, प्रशासनिक सेवा कुनै क्षेत्रमा पनि सुविधाको अनुभूत गर्न पाएका छैनन् ।

जेष्ठ ८, २०८३

सम्पादकीय

Reduce the high rate of income tax, expand the scope

What you should know

नेपालीले दक्षिण एसियामै सबैभन्दा धेरै आयकर तिर्दै आए पनि राज्यबाट पाउने सेवा सुविधा सबैभन्दा निम्न छ ।  आम्दानीको ३९ प्रतिशतसम्म आयकर तिर्दा पनि नागरिकले पाउने सार्वजनिक सेवा कमजोर छ । स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी, सामाजिक सुरक्षा, प्रशासनिक सेवा कुनै क्षेत्रमा पनि नागरिकले सुविधाको अनुभूत गर्न पाएका छैनन् । यसरी उच्च कर र न्यून सुविधाबीचको असन्तुलन अहिले नेपालको कर प्रणालीमाथिको जटिल प्रश्न बनेको छ । करलाई नागरिकको स्वाभाविक दायित्वका रूपमा मात्रै लिइनुपर्छ तर करका नाममा नागरिक निचोरिएको सन्देश गइरहेकाले सरकारले कर नीतिमा नागरिकमैत्री हेरफेर गर्नुपर्छ ।

राज्य सञ्चालनका लागि कर अनिवार्य हो । अनिवार्य दायित्व भएकाले नागरिकले न त कर तिर्दिनँ भन्न पाउँछन्, न त मैले यति कर तिरेको छु, यति सुविधा चाहियो भनेर दाबी नै गर्न सक्छन् । यद्यपि नागरिकलाई करको दायित्व भए जस्तै करअनुरूपको सुविधा दिने दायित्व सरकारको हो । करको वैधता त्यसबेला मात्र स्थापित हुन्छ, जब नागरिकले त्यसबापत राज्यबाट सुविधा पाएको अनुभूति गर्छन् ।

अन्य राष्ट्रमा नागरिकले स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, बेरोजगारी भत्ता, वृद्धभत्ता, सार्वजनिक यातायात जस्ता क्षेत्रमा उत्कृष्ट सुविधा राज्यबाट पाउँछन् । नेपालमा वृद्धभत्ता र सीमित स्वास्थ्य सुविधा उपलब्ध भए पनि करदाताले राज्यलाई कर तिरे पनि स्वास्थ्य, शिक्षा तथा यातायात जस्ता अनिवार्य सेवाका लागि उच्च शुल्क तिर्न बाध्य छन् । आफ्नो आयको ठूलो हिस्सा करका रूपमा सरकारलाई तिरिरहँदा पनि आवश्यक सेवाका लागि फेरि चर्को शुल्क तिर्नुपर्दा कर प्रणालीप्रति असन्तोष बढेको छ । 

३९ प्रतिशतसम्म कर लगाइँदा अन्तर्राष्ट्रिय जगत्मा उच्च कर लाग्ने मुलुक भनेर नराम्रो सन्देश गएको छ । बाहिरी जगत्मा नेपालको राम्रो छवि कायम गर्नका लागि पनि करको उच्च दर घटाएर दायरा बढाउनुपर्ने आवाज उठेको छ । यसलाई सरकारले सम्बोधन गर्नुपर्छ ।

 सरकारले न्यून आय भएका नागरिकलाई राहत दिने, मध्यमवर्गमाथिको भार घटाउने र उच्च आय तथा सम्पत्तिमा न्यायोचित कर लगाउने सन्तुलित प्रणाली आवश्यक छ । नेपालको कर संरचनामा अर्को गम्भीर समस्या करको साँघुरो दायरा हो । नेपालमा करिब ४० प्रतिशत बढी अनौपचारिक क्षेत्र छ । उद्योग व्यवसायीको संख्या कम छ । यसकारण करको दायरामा आउने जनसंख्या सीमित छ । हरेक सरकारले करको दर घटाएर दायरा बढाउने बताउँदै आए पनि सजिलै भेटिने तलबजीवी र औपचारिक व्यवसायमाथि बढी कर थोपर्ने बाटो रोज्ने गरेका छन् । यसकारण धेरैमा कर छल्ने प्रवृत्ति, आम्दानी लुकाउने प्रवृत्ति बढेकाले अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहन भएको छ । नेपालमा झन्डै आधा व्यवसाय अझै अनौपचारिक क्षेत्रमा हुनु त्यसकै संकेत हो ।

राजस्व संकलन बढाउने नाममा करको दर मात्र बढाउने नीति दीर्घकालीन समाधान होइन । पछिल्ला वर्षमा जीडीपीमा आयकरको हिस्सा स्थिर रहनु वा घट्नुले पनि उच्च दरले मात्रै राजस्व नबढ्ने देखाउँछ । बरु अत्यधिक करले लगानी, उपभोग र उत्पादनलाई निरुत्साहित गर्न सक्छ । अहिले नेपाली अर्थतन्त्र सुस्त छ । निजी क्षेत्र विस्तार हुन सकेको छैन । रोजगारी सिर्जना कमजोर छ । यस्तो बेला मध्यमवर्गीय उपभोक्ताको क्रयशक्ति खुम्च्याउने कर नीति प्रतिकूल हुने सम्भावना रहेकाले सरकार सचेत हुन जरुरी छ ।

नेपालमा बढी आय हुनेलाई धेरै र कम आय हुनेलाई कम (प्रगतिशील कर) का दरले कर लगाइने र यस किसिमको व्यवस्थाले समाजमा आयको असमान वितरण कम हुने दाबी गरिन्छ । तर व्यक्तिगत आयकर उच्च आय हुने व्यक्तिलाई धेरै दरले लगाउने प्रचलनले विभिन्न देशमा करको आधार संकुचित भएको र उच्च दरका कारणले करदातामा कर छल्ने प्रवृत्ति विकास भई कर कार्यान्वयन कमजोर भएको यथार्थ हो । तसर्थ, सरकारले ३९ प्रतिशत करको दर घटाउनुपर्छ भन्ने आवाज उठिरहेको हो ।

यस्तै, सरकारले ५ लाखसम्मको आयका कर छुट दिने भनिए पनि १ प्रतिशत सामाजिक सुरक्षा कर लगाउँदै आएको छ । त्यो नागरिकप्रतिको अन्याय हो । यसलाई पनि खारेज गर्नुपर्छ । र, कर छुट हुने न्यूनतम सीमा बढाएर करको दायरा विस्तार गर्नुपर्छ ।

मध्यमवर्ग सुरक्षित नभएसम्म देश उँभो नलाग्ने भन्दै सरकारले पनि यस्तो वर्गलाई करको भार कम गर्ने नीति अवलम्बन गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउँदै आएका छन् । अर्थतन्त्रको पुनःसंरचनाका क्रममा कर प्रणालीमा पनि सुधार गरी मध्यमवर्गको करभार घटाउनुपर्ने उनको भनाइ छ । अर्थमन्त्री वाग्लेको यो भनाइ आगामी बजेटमा प्रतिविम्बित हुनुपर्छ ।

यसकारण सरकारले न्यून आय भएका नागरिकलाई राहत दिने, मध्यमवर्गमाथिको भार घटाउने र उच्च आय तथा सम्पत्तिमा न्यायोचित कर लगाउने सन्तुलित प्रणाली आवश्यक छ । त्यस्तै, पुँजीगत लाभ, सम्पत्ति र अनुत्पादक क्षेत्रमा प्रभावकारी कर व्यवस्थापन गर्न सकिए आयकरको भार केही घटाउन सकिन्छ । कर प्रशासनलाई डिजिटल, पारदर्शी र अनुमानयोग्य बनाउन पनि उत्तिकै जरुरी छ । सरकारले आगामी बजेटमार्फत मध्यमवर्गीय करभार घटाउने संकेत गरेको छ । त्यो स्वागतयोग्य हुन सक्छ । तर केवल दर हेरफेर गरेर मात्र पुग्दैन । कर प्रणालीलाई उत्पादन, रोजगारी र औपचारिक अर्थतन्त्र विस्तारसँग जोड्न सक्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully