जनताबाट टाढिएको ‘विकास’

इतिहास साक्षी छ, जनतालाई नजोडिईकन, जनताको आवश्यकता पहिचान नगरीकन, जनतालाई सचेत नबनाईकन, समुदायलाई संगठित र सहभागी नगराईकन गरिने जुनसुकै विकास निर्माणको कार्य पनि फलदायी हुन सक्दैन । परिणाममुखी हुन सक्दैन ।

जेष्ठ ८, २०८३

मनिकर कार्की

'Development' away from the people

What you should know

रास्वपाको नेतृत्वमा सरकार बनेको महिना दिन पुग्दै गर्दा काठमाडौं उपत्यकाका बागमती, मनोहरा, विष्णुमती, रुद्रमतीलगायतका नदी किनारामा बसोबास गर्दै आएका सुकुमवासी बस्तीमा डोजर चलाउने काम गर्‍यो । केही घण्टाको मात्रै सूचना दिएर सरकारले बस्तीमा एकाएक डोजर चलाइदिँदा सबै अवाक् बने । 

प्रकोपजन्य शैलीमा जनताका घरटहरा भत्काउनमै उद्यत सरकारले क्षणभरमै नागरिकका बस्ती उजाडिदियो । लाग्दथ्यो, बस्ती रणमैदान हो र बस्तीका बासिन्दा अप्रत्याशित युद्धपीडित नागरिक, जो बास र गाँसको खोजीमा लामबद्ध भएर निस्किँदै छन् । यी दृश्यहरू हेर्दै गर्दा सामाजिक सञ्जालमा एकखाले संकथन पनि निर्माण हुँदै थियो, ‘विकासका लागि विनाश आवश्यक हुन्छ’ अर्थात् ‘विनाशबाट नै विकासको सुरुवात हुन्छ ।’

के विकासको सुरुवात विनाशबाट नै हुने हो त ? यो प्रश्नको विवेचना गर्नुपूर्व विकासका केही संकथन र अवधारणामाथि चर्चा गरौं । विकास एक बहुआयामिक अवधारणा हो । विकासको भौतिक विज्ञानसम्मत अवधारणा नियाल्ने हो भने यो एक उद्भवजन्य अवधारणा (इभोल्युसनरी कन्सेप्ट) हो, जसले निरन्तर वा नियमित परिवर्तन वा वृद्धिलाई बुझाउँछ । त्यस्तै समाज विज्ञानसम्मत अवधारणाअनुसार विकास एक सिर्जनशील अवधारणा (क्रिएटिभ कन्सेप्ट) हो, जसले केही नयाँ भौतिक वस्तु वा अभौतिक विचारको सिर्जना गर्छ । 

विकासलाई परिभाषित गर्ने सवालमा सन् १९७० को दशकमै विकास अर्थशास्त्री ई एफ सुमाखरले विकासलाई अभौतिक (इम्मेटेरियल) पक्षहरू जस्तै– शिक्षा, संस्था र अनुशासनमा देखिने गुणात्मक परिवर्तनका रूपमा परिभाषित गरेका थिए । 

त्यसैगरी नोबेल पुरस्कारद्वारा सम्मानित भारतीय मूलका अर्थशास्त्री अमर्त्य सेनले पनि विकासलाई मानवीय क्षमताको विकाससँग जोडेर व्याख्या गरेका छन् । उनले विकासलाई मानवीय स्वतन्त्रतासँग जोडेर हेरेका छन् । अतः हामीले कोरा अर्थमा बुझ्ने भौतिक परिवर्तन वा निर्माणमुखी प्रक्रियाले मात्रै विकासको अर्थबोध गर्न सक्दैन ।  

संक्षेपमा विकासलाई सकारात्मक दिशातर्फको भौतिक, आर्थिक एवम् सामाजिक परिवर्तनका रूपमा बुझ्न सकिन्छ । विकासबारे हाम्रै मुलुकका विद्वान्हरूको शब्द सापटी लिँदा संरक्षणविद् डा. हर्क गुरुङको नाम अगाडि आउँछ, उनले विकासलाई ‘सकारात्मक एवम् अपेक्षित दिशातर्फको परिवर्तन’ का रूपमा अर्थ्याएका छन् ।

त्यस्तै विकासशास्त्री डा. देवेन्द्रराज पाण्डेले पनि विकासलाई राज्यको धन, व्यक्तिको सिर्जनशीलता, उद्यमशीलता र स्रोतको उपयोगको दक्षता अभिवृद्धि गर्ने मानवीय विकासका रूपमा ग्रहण गर्नुपर्ने तर्क गरेका छन् ।

विकास अर्थशास्त्रीहरूले पनि मानवीय ज्ञान, क्षमता र दक्षताको वृद्धि र प्रवर्द्धनलाई नै विकासको अवयवका रूपमा ग्रहण गरेका छन् । अनि विकास भनेको राजनीतिक प्रक्रिया पनि हो, जसले जनतालाई आर्थिक एवम् सामाजिक रूपान्तरणको सन्दर्भमा क्रियाशील ढंगले सहभागी गराउने गर्दछ । समाजशास्त्री चैतन्य मिश्रले पनि विकासलाई जनतालाई संगठित गर्ने र उनीहरूको सहभागिता सुनिश्चित गर्ने राजनीतिक प्रक्रियाका रूपमा अर्थ्याएका छन् । 

विकासको सवालमा अक्सर हामी बरालिएका छौं । विकासको मानकका रूपमा भौतिक निर्माणलाई नै लिने गरिएको छ । सहरबजारका फराकिला सडक, हवाई अड्डा, व्यापारिक कम्प्लेक्स, अग्ला भवन, सुन्दर बगैंचा र सुविधासम्पन्न आवास आदिलाई विकासको पर्याय ठान्ने गरिएको छ । 

हामीले विगतदेखि नै विकासको संकथनका रूपमा त्यही भौतिक निर्माणलाई नै अंगीकार गर्‍यौं । त्यसैअनुरूप विकासलाई राज्यले दिने वस्तुका रूपमा बुझ्यौं । विगत सात दशकको विकास यात्रामा हामीले किन राजनीतिक परिवर्तनको लाभांश जनतासम्म पुर्‍याउन सकेनौं ? यो अवधिको पछिल्ला तीन दशकमा विकासका नाउँमा भौतिक परिवर्तन त भएको छ तर त्यसले उत्पादन र जनताको दैनिकीलाई नै प्रभावित पार्न भने सकेन । 

आखिर विकासलाई जनताको तहबाट सोच्न सकिएन । परियोजना छनोटको सन्दर्भमा पनि सर्वजन/बहुजन हितायको कथ्यलाई अंगीकार गरिएन । निश्चित रूपमा पछिल्लो समय बाटोघाटो, पुलपुलेसा, विमानस्थल, सरकारी भवन निर्माण, सहरबजार आदि पूर्वाधारजन्य क्षेत्रमा निकै ठूलो लगानी भएको छ र त्यसले देखिने गरी भौतिक पूर्वाधारको निर्माण पनि भएको देखिन्छ । 

जब राज्यले गर्ने भनिएको विकास अघि ‘विनाश’ आइदिन्छ, त्यसले समुदायलाई विकाससँग जोड्नेभन्दा पनि झन् टाढा र बेवारिसे बनाइदिने खतरा रहन्छ ।तर, त्यस्तो पूर्वाधारजन्य क्षेत्रको निर्माण गर्दा जनताको आवश्यकता र अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रको पहिचान हुन सकेन । अर्थतन्त्रको उत्पादनमुखी क्षेत्र के हो ? भन्ने पक्षमा ध्यान नदिँदा हाम्रो पूर्वाधारको लगानीले प्रतिफल दिन सकेको छैन । यसो भन्दै गर्दा पूर्वाधारमा गरिएको लगानीले तत्कालै कसरी प्रतिफल दिन्छ ? भन्ने प्रश्न उत्पन्न हुन सक्छ । 

यसको एउटै उत्तर ती भौतिक सम्पदाको निर्माणमा जनताको आवश्यकता र प्राथमिकता नजोडिनु नै हाम्रो ठूलो दुःखान्त हो । किनकि हाम्रो विकास स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा अघि बढ्नै सकेन । केन्द्रमा रहेका ठूला दल र तिनका नेतृत्वले जे देख्छ र जे कल्पना गर्छ, त्यही नै विकासे सोच भइदियो । स्थानीय तवरमा पनि स्थानीय जनप्रतिनिधिहरूका लहडे सोच नै विकासे योजना बनिदिए । 

जब राज्यले गर्ने भनिएको विकास अघि ‘विनाश’ आइदिन्छ, त्यसले समुदायलाई विकाससँग जोड्नेभन्दा पनि झन् टाढा र बेवारिसे बनाइदिने खतरा रहन्छ । त्यसले विकासलाई राज्य र शासकीय मनोकांक्षाको विषय बनाइदिन्छ । त्यस्तो विकासमा जनता जोडिँदैनन् । अतः जनताको घरबास उजाडेर गरिने विकासलाई कसरी जनमुखी ठान्ने ? त्यस्तो विकासले कसरी समुदायको हित होला ? कसरी सामूहिक लाभ मिल्ला ? 

खासमा हाम्रो विकासले मान्छे चिनेन । दोस्रो विश्वयुद्धको समाप्तिसँगै विश्वव्यापी रूपमा निर्माण भएको ‘विकास’ को संकथनमा त्यतिबेला विश्व अर्थतन्त्रलाई गतिशील बनाउन र युद्धपछिको पुनर्निर्माणको कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएका मौद्रिक संस्थाहरू विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमार्फत नै निर्माण भएको देखिन्छ । 

ब्रिटन उड सम्झौताअनुरूप विश्व बैंकले अल्पविकसित मुलुकहरूको आर्थिक पुनरुत्थान र सुधारका लागि वित्तीय तथा परामर्श सहयोग सुरु गर्न थाल्यो । त्यही अवधारणाअनुरूप नेपालमा पनि ‘विकास’ भित्रियो । त्यसरी आर्थिक सहायतासहित भित्रिएको ‘विकास’ को संकथन बेलगामा विस्तार भयो र विकास भनेकै हुनेले नहुनेलाई दिने वस्तुका रूपमा चित्रित हुन पुग्यो । 

जब विकासलाई सहायता वा एकले अर्कोलाई दिने वस्तु वा गरिदिने कामका रूपमा ग्रहण गरिन्छ भने त्यहाँ जनपरिचालनको सवाल गौण हुन्छ । लामो समयसम्म नेपालको विकासमा समुदायको सक्रियता र संगठित सहभागिता हुन सकेन । परिणामस्वरूप अहिलेसम्मको विकासले न त व्यापक मात्रामा रोजगारी सिर्जना गरी स्थानीय जनतालाई समेट्न सक्यो, न त यसले स्थानीय अर्थतन्त्रलाई नै मूलधारमा जोड्न सक्यो । 

खासमा जनतालाई भौतिक पूर्वाधारजन्य सडक, विमानस्थल, रेल, पानीजहाज, भ्युटावर जस्ता संरचनामुखी विकास होइन, जनताको दैनिकी जोड्दै उनीहरूलाई समृद्धि र प्रगतितर्फ अग्रसर गर्ने ‘उन्नति’ चाहिएको छ । उन्नतिबेगरको विकासले जनतालाई छुँदैन । त्यसैले अब विकासको डाइनामिक्स पनि बदल्नुपर्ने भएको छ ।

दुर्भाग्य यो भइदियो कि शक्तिशाली जनमत पाएको सरकारले पनि ‘विकास’ का लागि तिनै जनताको घरबास उजाडिदिने काम गर्दै छ । फेरि पनि भौतिक निर्माणमुखी कार्यलाई नै समग्र विकासको स्वरूप ठानिँदै छ । 

त्यही कथित विकासकै लागि ‘विनाश’ का माध्यमबाट सपना बुनिँदै छ । इतिहास साक्षी छ, जनतालाई नजोडिईकन, जनताको आवश्यकता पहिचान नगरीकन, जनतालाई सचेत नबनाईकन, समुदायलाई संगठित र सहभागी नगराईकन गरिने जुनसुकै विकास निर्माणको कार्य पनि फलदायी हुन सक्दैन । परिणाममुखी हुन सक्दैन ।

राज्यले गर्ने हरेक लगानीमा जनताको अपनत्व स्थापित हुनै पर्छ । यदि त्यसो हुन सकेन भने राज्यको लगानी, बालुवामा पानी सावित हुनेछ । र, जनता खेदेर गरिने जुनसुकै विकासको सपना पनि उही मृगमरीचिकामै सीमित हुनेछ । 

मनिकर कार्की वैकल्पिक अर्थतन्त्रबारे रुचि राख्छन् ।

Link copied successfully