सञ्चारमाध्यमको संरचनात्मक संकट

सञ्चारमाध्यम, व्यवसाय र राजनीतिबीचको सीमारेखा धमिलो बन्दै छ । समाचार संस्था अब केवल सार्वजनिक सेवाका वाहक रहेनन्– ती प्रतिस्पर्धात्मक बजारभित्र सञ्चालन हुने नाफामुखी उद्यम पनि बनेका छन् ।

जेष्ठ ७, २०८३

सीपी अर्याल

Structural crisis of the media

What you should know

कुनै बेला सञ्चारमाध्यम भनेको सर्वस्वीकृतिको संस्था थियो । मानिसहरूले मिडियालाई निष्पक्ष ठान्थे र सार्वजनिक उत्तरदायित्व वाहकका रूपमा बुझ्थे । पत्रकारिताले आफैंलाई शक्तिबाट बाहिर उभिएको संस्था, शक्तिलाई प्रश्न गर्ने हिम्मतिलो अंगका रूपमा प्रस्तुत गर्थ्यो । मिडिया भनेको केवल समाचार होइन, समाजको ऐना हो भन्ने विश्वास थियो । अहिले सञ्चार जगत् संकटमा छ । 

यस लेखमा सञ्चारमाध्यममाथि आइपरेका संरचनात्मक संकटबारे चर्चाको प्रयास गरिनेछ ।

शक्ति, पुँजी र वैधताको गाँठो

सञ्चारमाध्यममाथि हाल भइरहेको अविश्वास मूलतः एउटा संरचनात्मक संकट हो । यो शक्ति, पुँजी र वैधताको जटिल गाँठोमा बेरिएको छ । म्याक्स वेबरले भनेझैं वैधता भनेको थोपारिएको विषय होइन, यो त मानिसले दिएको स्वीकृति हो ।

पुँजीवादी मिडियाको चालढाल पूर्ण स्वतन्त्र भएर समाजभन्दा माथि रहने खालको हुँदैन, बरु पुँजीवादी संरचनाभित्रै गढेको हुन्छ । मालिकत्व (अपनत्व) को शैली, प्रचार सामग्रीबाट हुने आर्जन र उच्च वर्गसँगको उठबसले मिडियाबाट के भन्ने, कसरी भन्ने वा के नभन्ने र कसको आवाजलाई अलि चर्को स्वरमा भन्ने ? ती विषय निर्क्योल गरिदिन्छ । सम्पादकीयमा आउने आवाज प्रायः यस्तै–यस्तै दबाबबाट आइरहेको हुन्छ । त्यसैले यस्तो परिप्रेक्ष्यमा सञ्चारको काम वास्तविकता देखाउने नभएर सञ्चारमाध्यमलाई जसले हुर्काइबढाइ गरेको हुन्छ, उसैमार्फत तथ्यहरू छानिएर आउँछन् । 

अहिले यी सत्य अझ बहुआयामिक भएका छन् । सञ्चारमाध्यमको स्वामित्व क्रमशः व्यावसायिक समूहमा केन्द्रित हुँदै गएको छ, जसकारण धेरैले अ/प्रत्यक्ष रूपमा राजनीतिक र आर्थिक शक्ति संरचनासँग सम्बन्ध राख्छन् । फलतः सञ्चारमाध्यम, व्यवसाय र राजनीतिबीचको सीमारेखा धमिलो बन्दै गएको छ । समाचार संस्था अब केवल सार्वजनिक सेवाका वाहक रहेनन्, ती प्रतिस्पर्धात्मक बजारभित्र सञ्चालन हुने नाफामुखी उद्यम पनि बनेका छन् । जब सञ्चारमाध्यमको अस्तित्व नै शक्तिशाली पक्षहरूसँग गाँसिएका आम्दानीका स्रोतहरू (जस्तै– विज्ञापन, कर्पोरेट सहकार्य वा राज्य संरक्षण) मा निर्भर हुन थाल्छ, तब स्वतन्त्र र आलोचनात्मक पत्रकारिताको दायरा क्रमशः संकुचित हुँदै जान्छ ।

आदर्श रूपमा पत्रकारिता स्वायत्त क्षेत्र हो, जसलाई वस्तुनिष्ठता र सार्वजनिक उत्तरदायित्वजस्ता पेसागत मान्यताले निर्देशित गरिन्छ । तर, पियरे बोरदिउ ‘फिल्ड’ को अवधारणाबाट बुझाउँछन्– कुनै पनि क्षेत्र पूर्णतः स्वतन्त्र नभएर सधैँ बाह्य शक्तिहरू विशेषतः आर्थिक र राजनीतिक पुँजीद्वारा प्रभावित हुन्छ । यी शक्तिहरू जब पत्रकारिताको क्षेत्रमा अझ गहिराइसम्म प्रवेश गर्न थाल्छन्, तब यसको स्वायत्तता क्रमशः क्षय हुन थाल्छ । र, यही क्षयसँगै बोरदिउले भन्ने गरेको ‘प्रतीकात्मक पुँजी’ (सिम्बोलिक क्यापिटल) ले विश्वसनीयता, अधिकार र भरोसा पनि घटाउँदै लैजान्छ । 

यो प्रक्रियामा पाठकले अवलोकन गर्छन्, अर्थ लगाउँछन् र प्रतिक्रिया जनाउँछन् । जब समाचारले साधारण जनताको सरोकारभन्दा शक्तिशालीहरूको हितलाई बढी प्रतिविम्बित गर्न थाल्छ, तब सन्देह जन्मिन्छ । जब सञ्चारमाध्यमहरू आलोचनामा चयनात्मक देखिन्छन् र केही पक्षप्रति आक्रामक तर अरूप्रति मौन, तब प्रश्नहरू उठ्न थाल्छन् । समयसँगै यही सन्देह गहिरिँदै गएर अविश्वासमा परिणत हुन्छ, जसलाई प्रायः ‘विश्वसनीयताको संकट’ भनेर व्याख्या गरिन्छ तर वास्तवमा त्यो वैधताको संकट हो ।

यो संकट केवल व्यक्ति–पत्रकारहरूको नैतिक असफलताको परिणाम होइन, एउटा संरचनात्मक अवस्था हो । आजका सञ्चारमाध्यम एक प्रकारको विरोधाभासमा छन् । उनीहरूबाट निगरानीकर्ताको भूमिका अपेक्षा गरिन्छ तर ती स्वयं त्यही शक्ति–संरचनाभित्र जकडिएका छन्, जसलाई उनीहरूले निगरानी गर्नुपर्ने हो । यही अन्तरविरोध समकालीन समयमा सञ्चारमाध्यमप्रति देखिएको सार्वजनिक आक्रोशको केन्द्रमा छ ।

क्षत–विक्षत सत्य

शक्तिसँगको संरचनात्मक गाँठोले सञ्चारमाध्यमको वैधता कमजोर बनाएको हो भने डिजिटल प्रविधिको उदयले ‘साझा सत्य’ (सेयर्ड ट्रुथ) को अवधारणालाई अस्थिर बनाइदिएको छ । हेबरमासको ‘पब्लिक स्फियर’ सम्बन्धी अवधारणाले नागरिकहरू विश्वसनीय सूचनामा आधारित र तर्कले बाटो देखाउने विवेकशील अनि आलोचनात्मक बहसमा संलग्न हुन सक्ने एउटा साझा स्थानको परिकल्पना गरेको थियो । बीसौं शताब्दीमा परम्परागत सञ्चारमाध्यम, पत्रपत्रिका, रेडियो, टेलिभिजनले यस क्षेत्रलाई जोगाइराख्न केन्द्रीय भूमिका खेले । उनीहरूले सूचना छनोट गर्ने, तथ्यहरू पुष्टि गर्ने र कम्तीमा सैद्धान्तिक रूपमा व्यापक जनसमुदायसम्म पहुँच हुने कथाहरू प्रस्तुत गर्ने गरी द्वारपालकको काम गरे ।तर, डिजिटल क्रान्तिले यसलाई उलटपुलट गरिदिएको छ ।

यो संकट केवल व्यक्ति–पत्रकारहरूको नैतिक असफलताको परिणाम होइन, एउटा संरचनात्मक अवस्था हो । समकालीन विश्वमा शक्ति अब केन्द्रीकृत संस्थाहरूबाट होइन, सूचनाका सञ्जालहरूमार्फत सञ्चालन हुन्छ । सामाजिक सञ्जाल प्लाटफर्महरूले सूचनाको प्रवाहमाथि परम्परागत सञ्चारमाध्यमको एकाधिकारलाई भत्काइदिएका छन् । आज स्मार्टफोन भएका जोकोहीले पनि सामग्री उत्पादन र प्रसारण गर्न सक्छ । यसले सञ्चारलाई लोकतान्त्रिक बनाउँदै पहिले बहिष्कृत (बनाइएका ?) आवाजलाई स्थान दिएको छ । तर, यसले एउटा गहिरो ज्ञानसम्बन्धी संकट (एपिस्तेमिक क्राइसिस) पनि जन्माएको छ ।

अब सूचना प्रमाणीकरण हुनुभन्दा छिटो फैलिन्छ । हल्ला (रिउमर), भ्रमपूर्ण सूचना (इल्युजन) र योजनाबद्ध दुष्प्रचार (प्रोपोगान्डा) विश्वसनीय पत्रकारितासँगै फैलिन्छन् । अनि धेरैजसो अवस्थामा यी सबैलाई फरक–फरक स्वरूपमा छुट्याउनै गाह्रो हुन्छ । सत्यको निर्णायकका रूपमा परम्परागत सञ्चारमाध्यमको अधिकार कमजोर बनेको छ । यस्तो अवस्थामा प्रश्न अब केवल ‘के सत्य हो ?’ भन्नेमा सीमित रहँदैन, बरु ‘सत्य के हो भनेर कसले निर्धारण गर्छ ?’ भन्ने बन्छ ।

यो बेला जटिल अनि आधुनिक सूचनाको हल्लीखल्लीमा मानिसहरू रुमल्लिनुपर्छ र विश्वसनीयता मूल्यांकनको जिम्मा उनीहरूकै काँधमा आइपर्छ । तर, त्यसका लागि आवश्यक साधन वा क्षमता सधैं हुँदैन । हरेक व्यक्ति व्यवस्थित जाँचभन्दा बढी अन्तर्ज्ञान, पूर्वाग्रह वा सामाजिक संकेतमा भर परेर आफ्नै ‘द्वारपाल’ (गेटकिपर) बन्न थाल्छ ।

अल्गोरिदमहरू मान्छेलाई अझ धेरै ‘इंगेज्ड’ गराउने गरी डिजाइन गरिएका हुन्छन् । तिनीहरूले क्रोध, डर र आक्रोशजस्ता भावना अनि उत्तेजित बनाउने सामग्रीलाई प्राथमिकता दिन्छन् किनभने त्यस्ता सामग्री बढी फैलिन्छन् । ती सामग्री अब ‘इको च्याम्बर’ बन्न जान्छन्, जहाँ प्रयोगकर्ताहरू प्रायः आफ्नै विश्वासलाई पुष्टि गर्ने सूचना मात्रै देख्छन् । अब समूहहरू आफ्नै–आफ्नै सूचना संसारमा बाँच्न थाल्छन्, जहाँ सत्यका स्रोत र मानकहरू फरक–फरक हुन्छन् ।

यस्तो विखण्डित परिवेशमा भरोसा ध्रुवीकृत हुन्छ । मानिसहरू केही सञ्चारमाध्यमप्रति गहिरो विश्वास राख्न सक्छन् भने अरूलाई पूर्ण रूपमा अस्वीकार गर्छन् । सञ्चारमाध्यम अब साझा सन्दर्भविन्दु रहँदैन, त्यो प्रतिस्पर्धा र विवादको स्थल बन्छ ।

यस तीव्र परिवर्तनबीच परम्परागत सञ्चारमाध्यमहरू एक कठिन द्विविधामा छन् । तिनीहरूले तथ्य–जाँच र सूक्ष्म विश्लेषणजस्ता पेसागत मान्यतामा अडिग भई काम गर्दा तीव्र, द्रुत र प्रदर्शनमुखी डिजिटल संसारमा पछि पर्ने जोखिम हुन्छ । तर, फेरि यदि भाइरल हुने लोभ, गति, सनसनी आदिमा अभ्यस्तता चाहन्छन् भने आफ्नै विश्वसनीयता कमजोर पार्ने खतरा हुन्छ । दुवै अवस्थामा परिणाम अनिश्चित र जोखिमपूर्ण छ । यसरी हेर्दा, विश्वासको संकट केवल स्तर खस्किनु होइन, यो ज्ञानको सामाजिक संरचनामै आएको गहिरो परिवर्तनको संकेत हो ।

दक्षिण एसियामाथि झुन्डिएको डरको तरबार

भारतमा मिडिया अनि राज्य–सत्ताबीचको सम्बन्धले लोकतान्त्रिक संस्थाहरू र पत्रकारिताको स्वायत्ततामाथि गम्भीर प्रश्न खडा गरेको छ । भारतका थुप्रै सञ्चारमाध्यमले सत्ताको खातिरदारीको पराकाष्ठा नाघिसकेका छन् । त्यहाँ अहिले अति कम मूलधारे मिडियाले मात्रै मोदीलाई आलोचनात्मक आँखाले हेर्न सक्छन् । यो हिचकिचाहट प्रत्यक्ष सेन्सरसिपको परिणाममा मात्रै नआएर कानुनी, आर्थिक र प्रतीकात्मक दबाबहरूको जटिल अन्तरक्रियाबाट उत्पन्न भएको हो ।

भारतमा मानहानिसम्बन्धी कानुन, देशद्रोहका मुद्दा, आतंकवादसम्बन्धी कडा कानुनी प्रावधानहरू पत्रकार र सञ्चारमाध्यमविरुद्ध प्रयोग हुन सक्छन्, जसले कानुनी जोखिमको वातावरण सिर्जना गर्छ । र, यसले पत्रकारितालाई सधैं डरलाग्दो पेसा बनाएको छ, जसमाथि धारिलो तरबार २४ सै घण्टा तेर्सिएको छ । यस्ता मुद्दाहरू दोषी ठहरिने अवस्थामा नपुगे पनि तिनको प्रक्रिया आफैंमा लामो, खर्चिलो, मानसिक रूपमा दबाबपूर्ण र डर पैदा गर्ने माध्यम बन्छ । आर्थिक पक्ष पनि त्यत्तिकै महत्त्वपूर्ण छ । सरकारी विज्ञापन धेरै मिडियाका लागि प्रमुख आम्दानीको स्रोत हो । यस्तो विज्ञापनको वितरण चयनात्मक हुन सक्छ, जसले सरकारअनुकूल सामग्रीलाई प्रोत्साहन गर्छ र आलोचनात्मक रिपोर्टिङलाई अप्रत्यक्ष रूपमा दण्डित गर्छ ।

यी दबाबहरू सधैं स्पष्ट रूपमा देखिँदैनन् । ती संकेत, अपेक्षा र पूर्वानुमानका माध्यमबाट सञ्चालन हुन्छन् । पत्रकारहरूले स्वीकार्य आलोचनाका सीमाहरू आन्तरिक रूपमा आत्मसात् गर्न थाल्छन् । उनीहरूले प्रस्ट नभनेरै पनि कुन विषय संवेदनशील छ ? कुन प्रश्न जोखिमपूर्ण छ ? र, कुन घटना स्वीकार्य छ ? त्यो सिक्छन् । यस अवस्थामा सेल्फ–सेन्सरसिप बाँच्नका लागि एक व्यावहारिक रणनीति बन्न पुग्छ ।

यो रूपान्तरण एकै रातमा हुँदैन । यो क्रमिक प्रक्रिया हो । शीर्षक नरम बनाउने, कुनै रिपोर्ट हटाउने वा विवादास्पद विषयबाट टाढा रहने जस्ता विषय साना जस्ता देखिए पनि सामूहिक रूपमा यिनले सम्पूर्ण मिडिया परिदृश्यलाई आकार दिइरहन्छन् । परिणामस्वरूप खुला दमनको प्रणाली होइन, नियन्त्रित अभिव्यक्तिको संस्कृति विकसित हुन्छ । त्यहाँ असहमति पूर्ण रूपमा समाप्त नभए पनि सीमित र नियन्त्रित हुन्छ । भारतको सञ्चारमाध्यमको हालत ठीक यही अवस्थामा छ अहिले– अति कमजोर र डराइरहेको ।

टेलिभिजनमा देखिने नाटकीय बहस र ध्रुवीकृत शैलीले दर्शक आकर्षित गर्न सक्छ तर विश्वासलाई अझ कमजोर बनाउँछ । जब दर्शकहरूले समाचारलाई मनोरञ्जनका रूपमा हेर्न थाल्छन्, तब त्यसको गाम्भीर्यमाथि प्रश्न उठ्छ । यस अवस्थामा मिडिया वास्तविकता स्पष्ट पार्ने माध्यम नभई, अझ जटिल र अस्पष्ट बनाउने कारक बन्छ ।

समकालीन समयमा मिडियाप्रतिको विश्वासको संकट कुनै पृथक् घटना होइन । यो आर्थिक, राजनीतिक र प्रविधिगत क्षेत्रहरूमा भएका संरचनागत रूपान्तरणहरूको परिणाम हो । एन्थोनी गिडेन्सले भनेझैं आधुनिक समाज ‘अमूर्त प्रणालीहरू’ (एब्स्ट्राक्ट सिस्टम्स) मा निर्भर हुन्छन्, जसको कार्यक्षमता नै विश्वासमा आधारित हुन्छ । मिडिया त्यस्ता प्रणालीमध्ये एक प्रमुख संस्था हो । जब मिडियामाथिको विश्वास कमजोर हुन्छ, तब त्यसका असरहरू पत्रकारिताभन्दा बाहिर गएर लोकतान्त्रिक जीवनको समग्र सामाजिक संरचनासम्म फैलिन्छन् ।

त्यसैले, विश्वास पुनर्निर्माण गर्ने कामलाई केवल नैतिक सुधार वा जिम्मेवार पत्रकारिताको आग्रहमा सीमित गर्न सकिँदैन, यद्यपि ती आवश्यक छन् । यसका लागि शक्तिशाली आर्थिक तथा राजनीतिक शक्तिसँगको निर्भरता घटाउनुपर्छ, पत्रकारिताको स्वतन्त्रताको कानुनी संरक्षण सुनिश्चित गर्नुपर्छर् र खण्डित डिजिटल वातावरणमा मिडियाको भूमिकालाई पुनर्विचार गर्नुपर्छ । 

अन्ततः चुनौती केवल मिडियाप्रतिको विश्वास पुनःस्थापित गर्ने होइन, त्यही विश्वास सम्भव बनाउने सामाजिक आधारहरू पुनर्निर्माण गर्ने हो ।

सीपी समाजशास्त्रमा विद्यावारिधि गरेका अर्यालले समाज र राजनीतिक वृहत आयाममाथि लेख्छन् ।

Link copied successfully