वातावरण जोगाउनुपर्छ भनेर प्रत्यक्ष–परोक्ष वातावरणमैत्री व्यवहार गर्दै आएका व्यक्ति वा समूहले आफ्नै शैलीमा घरायसी फोहोर व्यवस्थापनदेखि वृक्षरोपणसम्म गरेका छन्, जसले समाज सफा भइरहेको छ ।
What you should know
ठ्याक्कै दुई दशकभन्दा बढी भयो, ठोस फोहोरको मात्रा घटाउने अर्थात् न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्न थालेको । खासमा शून्य फोहोरको अवधारणा कार्यान्वयनका चुनौती धेरै छन् । र, यसबाट निस्किने परिणामले म जस्ता वातावरणप्रेमीलाई सन्तुष्टि मात्रै दिँदैन, फोहोरको मात्रा पनि घट्छ ।
मैले घरायसी फोहोर अर्थात् भान्साबाट निस्किने कुहिनेलगायत नकुहिने फोहोर व्यवस्थापन गर्न थालेको धेरै भयो । सर्वप्रथम भान्साबाट निस्किने दुई थरीका– कुहिने फोहोर अर्थात् काँचो (तरकारी र फलफूलबाट निस्कने) र पाकेको फोहोर
(उब्रेको खानेकुरा) लाई प्रकृतिअनुसार वर्गीकरण गरी बिर्कोसहितको दुई वटा बाल्टीमा अलग–अलग राख्ने गरेकी छु ।
यसरी बिहान–बेलुकी जम्मा हुने फोहोरलाई अन्तिम विसर्जनका लागि कौसी भए कौसी, नत्र अन्य खुला ठाउँमा खाल्डो बनाई छोप्नुपर्छ । यस्तै कौसीमा भए एउटा कुनामा ठूलो मुख भएको तथा पिँधमा स–साना दुला भएको बाल्टीमा जम्मा गर्नुपर्छ । यसरी जम्मा भएको काँचो फोहोरबाट केही दिनपछि बिस्तारै झोल मल निस्कन थाल्छ । झोल मल जम्मा गर्न अर्को उस्तै बाल्टी (बिर्कोमा स–साना दुला पारेको) चाहिन्छ ।
यसरी पहिलो बाल्टीमा जम्मा भएको काँचो फोहोरबाट निस्कने झोल मल अर्को बाल्टीमा जम्मा हुन्छ । उक्त झोल मल निकासाका लागि तल्लो बाल्टीको एक छेउमा दुलो बनाउनुपर्छ । यसरी उक्त दुलोबाट निस्किने झोल मललाई जुनसुकै भाडामा जम्मा गर्न सकिन्छ । उक्त झोल मलमा एक–दुईको अनुपात अर्थात् एक भाग झोल मलमा दुई भाग पानी मिसाएर साताको एक–दुई पटक बोटबिरुवामा हाल्न सकिन्छ ।
यस्तै अर्को पाकेको फोहोर अर्थात् उब्रेको खानेकुरालाई सामान्य माटोमा मिसाएर केही दिन घाममा सुकाएपछि त्यो फोहोर माटोमै परिणत हुन्छ । यस्तो माटो पुनः प्रयोग गर्न सकिन्छ । एवं रीतले मैले शून्य फोहोरको अवधारणा कार्यान्वयन गर्न थालेयता मेरो घरको तीन वटा कौसी हराभरा मात्रै भएको छैन, मौसमी र बेमौसमी विषादीमुक्त तरकारी र फलफूल पनि सेवन गर्न पाएको छु । त्यति मात्रै होइन, मेरा पूर्वप्रावि तह पढ्ने विद्यार्थीलाई तरकारी र फलफूलको पाठ पढाउनुअघि बेलाबेला कौसी खेती अवलोकन गराउन थालेको पनि धेरै भयो ।
नचाहँदा नचाहँदै तरकारीलगायत किराना सामानसँगै घरमा भित्रिने रंगीविरंगी साना–ठूला प्लास्टिकका झोला जम्मा गरेर किराना पसलेलाई दिने गरेका छौं र दूधको पोकालाई धोइपखाली जम्मा गरेर कबाडीलाई । यस्तै काम नलाग्ने कागजबाट शैक्षिक, घरायसी तथा कार्यालय प्रयोजनका लागि विभिन्न थरीका सामग्री बनाएर प्रयोग गर्न थालेको धेरै भयो । यस्ता सामग्री बनाउन सर्वप्रथम कागजलाई चार–पाँच दिन ठूलो मुख भएको बाल्टी अथवा भाँडामा भिजाउनुपर्छ ।
यसरी भिजेको कागजलाई खस्रो भुइँ अथवा ओख्लीमा मसिनो हुने गरी कुट्नुपर्छ र कुटेको कागज आँटाभन्दा केही खस्रो भएपछि त्यसबाट पानी निचोरेर मैदाको गम बनाई विभिन्न प्रकारका शैक्षिक सामग्री बनाउन सकिन्छ । मेरो विद्यालयमा म अन्य खेल सामग्रीसँगै यसरी काम नलाग्ने कागजबाट बनेका शैक्षिक सामग्री प्रयोग गर्छु ।
घर बाहिरभन्दा घरायसी फोहोर अर्थात् घर तथा विद्यालयबाट निस्किने ठोस फोहोरको दिगो र वैज्ञानिक व्यवस्थापन झन्झटिलो देखिए पनि फोहोर व्यवस्थापनबारे चासो राख्ने म जस्ताका लागि यो जीवनशैली बनेको छ । घरायसी तथा विद्यालयबाट निस्किने फोहोरलाई हामीले घरेलु उपाय अपनाई दिगो र वैज्ञानिक तरिकाले व्यवस्थापन गर्न सके चुनौतीसँगै अवसर पनि जोडिएर आउँछ । खाँचो छ मात्रै दृढ इच्छाशक्तिको ।
वातावरण जोगाउनुपर्छ भनेर प्रत्यक्ष–परोक्ष रूपमा वातावरणमैत्री व्यवहार गर्दै आएका व्यक्ति तथा समूहले चाहिँ आफ्नै शैलीले घरायसी फोहोर व्यवस्थापनदेखि वृक्षरोपणसम्म गरेका छन् । यसरी पनि वातावरण संरक्षण भइरहेको छ ।
विडम्बना भन्नुपर्छ ! आमसञ्चारका विभिन्न माध्यमको प्राथमिकतामा फोहोर व्यवस्थापनलगायत वातावरण संरक्षणका विषय हत्तपत्त पर्दैर्न । त्यसैले फोहोर व्यवस्थापनलगायत वातावरण संरक्षण जस्ता विषयप्रति जनचासो बढेको छैन । यस सन्दर्भमा ‘शिक्षक’ मासिकले शून्य फोहोरलगायत वातावरण संरक्षण जस्ता विषयमा खोजमूलक सामग्री सम्प्रेषण गर्दै आएको छ । उदाहरणका लागि गत वर्ष (२०८२ पुस) को अंकमा ‘शिक्षा र स्वच्छता’ स्तम्भअन्तर्गत ‘घरमा शून्य फोहोर स्कुलमा हरित शिक्षा’ तथा माघमा सोही स्तम्भअन्तर्गत ‘हरित विद्यालय अभ्यास कसरी बनाउने व्यापक’ शीर्षकमा काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिकाले आफ्नो वडाअन्तर्गत सञ्चालित सहकारी तथा विद्यालयमा ‘शून्य फोहोर’ को अवधारणा कार्यान्वयन गर्दै आएको छ भन्ने विषयमा स्थलगत रिपोर्टिङ गरेको थियो । रिपोर्टमा नगरपालिकाले सहकारीमा आबद्ध सदस्य तथा विद्यालयमा ‘शून्य फोहोरको अवधारणा’ लाई कसरी कार्यान्वयन गर्दै छ भन्नेबारे विस्तृत उल्लेख गरेको थियो ।
तर, फोहोर व्यवस्थापनलगायत वातावरण संरक्षणजस्ता विषयमा जनचासो बढाउन स्थानीय सरकार र सञ्चार जगत् पूर्णतया चुकेको छ । खासमा सामाजिक विकासअन्तर्गत पर्ने यस्ता फोहोर व्यवस्थापनलगायत वातावरणसँग सम्बन्धित विषय विशेषगरी घरायसी फोहोर व्यवस्थापनसम्बन्धी टोलस्तरीय वा वडास्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारको अग्रसरता जरुरी छ । विडम्बना भन्नुपर्छ, यी र यस्ता विषय स्थानीय सरकारको प्राथमिकतामा पर्दैन । अधिकांश स्थानीय तहले नगरको फोहोर व्यवस्थापन जिम्मा निजी कम्पनीलाई दिने गरेका छन् ।
उदाहरणका लागि २ लाख ४४ हजार ७ सय ५० जनसंख्या रहेको विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट निस्कने फोहोर निजी कम्पनीले तीन दशकदेखि पुरातन तरिकाबाटै व्यवस्थापन गर्दै आएका छन् । यस्ता निजी कम्पनीले पनि परम्परागत रूपमै फोहोर व्यवस्थापन गर्दै आएका छन् । ती कम्पनीले विकसित मुलुकले झैं फोहोरको प्रकृतिअनुसार प्रशोधन गरी व्यवस्थापन गर्न सकेका छैनन् । अपवादका रूपमा धनगढीका प्रमुख गोपी हमालले फोहोरलाई प्रकृतिअनुसार प्रशोधन गरी अतिरिक्त आम्दानी गर्न थालेको विषय बेलाबेला सञ्चारमाध्यमले जनसमक्ष ल्याउँछन् ।
यसरी धनगढी तथा बूढानीलकण्ठजस्ता स्थानीय सरकार र निकायले शून्य फोहोरको अवधारणालाई व्यावहारिक रूपमै प्रयोगमा ल्याइरहेका छन् । अन्य स्थानीय तहले पनि प्रयास गर्ने हो भने यो काम असम्भव छैन । यसमा मात्रै खाँचो छ– धनगढी तथा बूढानीलकण्ठका नगर प्रमुखजस्ता दृढ इच्छाशक्ति भएका जनप्रतिनिधिको ।
