सचेतना नै जलनको मलहम

घना बस्तीबीचका पेट्रोल पम्प, फायर सेफ्टीबिनाका पार्टी प्यालेस, ग्यास पसल र कमजोर वायरिङ सहरका ‘टाइम बम’ हुन्।

जेष्ठ ५, २०८३

डा.प्रकाश बुढाथोकी

Awareness is the balm for burns.

What you should know

‘पोखरा भ्रमण वर्ष– २०२५’ घोषणासभामा स्विच थिचेर पानसमा बत्ती बाल्ने र हाइड्रोजन भरिएको बेलुन उडाउने कार्यक्रम थियो । कार्यक्रममा आगलागीको घटना घट्यो, तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भए । तिनको जलनको घाउ र उपचारको सुविधासम्बन्धी बहसमा लामै साता बित्यो । तत्कालीन सांसद चन्द्र भण्डारीको जलनको घटनामा पनि सडक, सदन– सर्वत्र यसैको चर्चा थियो । 

मानव सभ्यताको आजसम्मको विकास आगोबिना असम्भव थियो । आगोले पोल्छ, प्रयोग सावधानीपूर्वक गर्नुपर्छ– सबैलाई थाहा छ तथापि दुर्घटनावश गम्भीर क्षति पुग्ने गरेको छ । 

जब चिसो वा गर्मी बढ्दै जान्छ, तब जलनका घटना र बिरामी अस्पताल पुग्ने तथा भर्ना हुने संख्यामा बढोत्तरी हुन्छ । बिरामीलाई अस्पतालको शय्या पाउन गाह्रो हुन्छ, अस्पतालले साधारण शय्या थप गरे पनि सघन उपचारका शय्या थप्न सक्दैन । जनप्रतिनिधि, समाजसेवी तथा संघसंस्थाहरू न्यानो कपडा वा आगोबाट बचाउन भन्दा पनि दाउरालगायत आगोजन्य सरसामान वितरण गरी जलनका घटना बढाउनै केन्द्रित छन् ।

जलनका बिरामीलाई आकस्मिक कक्षमा चिकित्सकले गहिराइका आधारमा सतही, गहिरो र अति गहिरो तथा क्षेत्रफलका आधारमा प्रतिशत हेरी गम्भीरता निर्धारण गर्छन् ।‘वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२’ अनुसार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सन् २०१३ यताका घटना विश्लेषण गर्दै उच्च जोखिममा ९ र मध्यम जोखिममा १३ जिल्लालाई राखेको छ । घनाबस्तीबीच पेट्रोल पम्प, ग्यास पसल र कमजोर वायरिङका कारण उपत्यका लगायतका सहरहरू टाइम बमका रूपमा छन् । फायर सेफ्टीबिनाका पार्टी प्यालेस छ्यापछ्याप्ती छन् ।

स्वास्थ्य सेवा विभागको तथ्यांक भन्छ– सानाठूला गरी वर्षमा ७९ हजार ६ सय ३० भन्दा बढी मानिस जलनमा पर्छन् र २ हजार जतिको मृत्यु हुन्छ । सबैभन्दा बढी मधेश प्रदेशमा २० हजार २ सय ७८ मानिस आगो वा एसिडको जलनबाट पीडित भएका थिए । बागमतीमा १४ हजार ४ सय ३९, लुम्बिनीमा १३ हजार ५ सय ७२, कोशीमा ८ हजार ८ सय ६७, गण्डकीमा ८ हजार ४ सय ८७, सुदूरपश्चिममा ७ हजार ४ सय ७१ र कर्णालीमा ६ हजार ६ सय १५ जना थिए ।

नेपालमा धेरैजसो जलनका घटना करिब ६० प्रतिशत आगो, २५ प्रतिशत तातो तेल वा पानी र १५ प्रतिशत विद्युतीय कारणबाट हुने गरेको छ । यसमा ९० प्रतिशत जलनका घटना ग्रामीण क्षेत्रमा देखिएका छन् । शरीरका बाहिरी भाग जल्दा २० देखि २५ प्रतिशत र श्वास नली जल्दा ६० प्रतिशतभन्दा बढी मृत्यृदर छ । पर्याप्त स्रोत, साधन, सघन उपचार कक्ष, विशेषज्ञ जनशक्ति भए यो मृत्युदर कम गर्न सकिन्छ । 

घरमा खाना पकाउने चुलोचौकोदेखि पशुपालन, खेतीपातीको झारपात डढाउनेसम्मका घरेलु काममा महिलाको सहभागिता बढी हुन्छ । असावधानी अनि  पहिरनका कारण महिला जलनमा बढी पर्ने र तिनको ज्यान गएको तथ्यांक छ । तराईमा घुर, पहाडमा दाउराको आगो तापिन्छ । र, सहरमा बढीजसो हिटर, ब्रिकेट, मकल प्रयोग गरिन्छ । महिलाहरू घर तथा काममा प्रायः सारी, नभए लुंगी, म्याक्सी, पछ्यौरालगायत खुकुला र लत्रने कपडा लगाउँछन्, जसलाई आगोले छिट्टै समाउँछ र त्यो फैलिन्छ । जलनका घटनामा मृत्यु हुने दोब्बरमा दुईतिहाइ संख्या महिलाको छ । 

जलनका बिरामीलाई आकस्मिक कक्षमा चिकित्सकले गहिराइका आधारमा सतही, गहिरो र अति गहिरो तथा क्षेत्रफलका आधारमा प्रतिशत हेरी गम्भीरता निर्धारण गर्छन् ।

सतही जलनमा छालाको सतह मात्रै जल्छ । घाउ रातो हुने, भाग तातो हुने, धेरै दुख्ने र रातो भागमा थिच्दा रातोपन हराउने वा फिक्का हुन्छ । ड्रेसिङ मात्रैले तथा सामान्यतः ५ देखि ७ दिनमा आफैं निको हुन्छ । जलेको छालामा पानीको फोका ठूलो भए मध्यम र ससाना भएमा गहिरो जलन बन्छ । गहिरो जलनमा पानी फोका उठ्ने, छाला खुइँलिने र दुख्ने हुन्छ । घाउ गहिरो हुँदै गए शल्यक्रिया जरुरी हुन्छ ।

धेरै गहिरो जलनमा जलन भएको भागमा रातो हुने, थिच्दा फिका नहुने, छाला सुकेर कडा र बाक्लो हुने, दुखाइ कम हुने जस्ता समस्या देखिन्छन् । जलन आफैं निको नहुने भएकाले डढेको छाला फ्याँकेर छाला प्रत्यारोपण शल्यक्रिया आवश्यक पर्छ । 

धेरै गहिरो जलनमा जलन भएको भागमा रातो हुने, थिच्दा फिका नहुने, छाला सुकेर कडा र बाक्लो हुने, दुखाइ कम हुने जस्ता समस्या देखिन्छन् ।वयस्कको हकमा २० प्रतिशत, बालबच्चा र वृद्धवृद्धामा १० प्रतिशतभन्दा बढी जलेमा गम्भीर मानिन्छ किनभने पोलेको भागका मात्रै नभई शरीरका अन्य अंग (फोक्सो, मुटु र आन्द्रा) मा असर परेको हुन्छ । गम्भीर जलन भएकालाई अनिवार्य अस्पतालमा तत्काल भर्ना गर्नुपर्छ । 

जलन भइहाले सकेसम्म छिटो वा ३ घण्टाभित्रै बिरामीलाई बगिरहेको ठन्डा पानीमा राख्नुपर्छ । बगिरहेको पानीले घाउको तातोपना सोसेर थप गहिरो हुन दिँदैन । रसायनिक जलनमा थप लामो समय घण्टौं चिस्याउनुपर्छ । आगो वा कुनै पनि कुराले पोलेपछि त्यसमा प्रयोग गर्ने मुख्य कुरा पानी नै हो । पानी पनि असाध्यै चिसो होइन, पोलेको भागलाई सामान्य तापक्रम भएको धारामा बगेको पानीले २० देखि ३० मिनेटसम्म चिस्याउनुपर्छ । यसले भित्री पोलाई गहिरिँदै जान पाउँदैन ।

पोलेको घाउमा बरफ, गोलभेंडा, बेसार, घिउकुमारी, गोबर, दन्तमन्जन, नौनी इत्यादि राख्दा अझै हानि हुन सक्छ । गहिराइ नभएका साना–साना जलन साना फोका निस्केर घिउकुमारी, गोलभेंडा लगाए पनि वा नलगाए पनि ८ देखि १० दिनमा निको हुन्छ, तर गहिरो घाउमा पानीले चिस्याउनैपर्छ । खरानी, गोबर लगाउँदा धनुष्टंकार लगायतका संक्रमणको जोखिम रहन्छ ।

आगोले जलिरहेको अवस्थामा आत्तिएर दौडनु हुँदैन । दौडँदा आगोले अक्सिजन पाएर झन् ह्वार–ह्वारी बल्छ । सुरक्षित ठाउँमा पुगी रोकिन लगाउने, निभाउने वस्तु केही नभए भुइँमा लड्ने र लडिबुडी गर्न लगाई आगो निभाउने अर्थात् स्टप, ड्रप र रोल गर्नुपर्छ । यति गर्दा पनि आगो ननिभे बाक्लो कम्बल भए त्यसले झ्याप्प छोपेर पनि आगो निभाउन सकिन्छ ।

असुरक्षित वातावरण (जस्तैः पकाउने तरिका, बस्ने ठाउँ, बालबालिकाको पहुँच, रोकथामका उपाय) बारे पूर्ण जानकारी नहुनु र प्राथमिक उपचारबारे जानकारी नहुनुले देशैभरि जलनका घटनामा असाध्यै वृद्धि भइरहेका छन् । यसैले सचेतनाले रोक्न सकिन्छ जलनका घटना । 

डा.प्रकाश बुढाथोकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन्।

Link copied successfully