शिक्षा सुधारका लागि शैक्षिक र आर्थिक गतिविधि सँगसँगै

जब नतिजाको प्रवृत्ति हरेक वर्ष नै उस्तै छ भने सम्बन्धित प्रदेशहरूले भविष्यमा पनि शैक्षिक, आर्थिक, सामाजिक प्रगति गर्ने सम्भावना पनि कमजोर हुन्छ । त्यसैले अहिल्यैदेखि तीनै तहका सरकार, विद्यालय, शिक्षक र अभिभावकले हरेक कक्षा तथा तहको शैक्षिक उपलब्धि उकास्न संवेदनशील भएर अभियान सञ्चालन गर्नु अनिवार्य छ ।

वैशाख ३१, २०८३

सम्पादकीय

Educational and economic activities go hand in hand for education reform

What you should know

गतवर्षको तुलनामा यस वर्ष एसईईको नतिजामा ४.१७ प्रतिशतले सुधार देखिएको भए पनि केही आधारभूत सवाल भने थप बलियो बनेको छ । खासगरी चार वटा प्रदेशहरू सुदूरपश्चिम, मधेश, कर्णाली र लुम्बिनीको नतिजा औसतभन्दा कमजोर देखिएको छ । यी तिनै प्रदेशहरू हुन्, जहाँ गरिबी उच्च छ । आर्थिक गतिविधि सुस्त छ । विषयगत शिक्षकको सहज उपलब्धता छैन । निगरानी प्रणाली बलियो छैन । कक्षागत र तहगत शैक्षिक उपलब्धि पनि कमजोर छ । परिणामतः हरेक वर्ष सार्वजनिक हुने एसईईको नतिजाले केही प्रदेशको शैक्षिक उपलब्धिलाई सार्वजनिक रूपमा अपमानित गर्न भूमिका खेल्ने गर्छ । अतः एसईई वा अन्य कक्षागत र तहगत नतिजामा सुधार खोज्ने हो भने दुई पक्षबाट समानान्तर मिहिनेत गर्न जरुरी छ– शैक्षिक वातावरण र आर्थिक गतिविधिमा अभिवृद्धि । किनकि, यी दुई पक्षले सम्बन्धित क्षेत्रको शैक्षिक उन्नतिमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेल्ने गर्छन् र परिपूरकको काम गर्छन् ।

देशभरकै विद्यार्थीको शैक्षिक उपलब्धि बढाउन अपरिहार्य छ नै, सुदूरपश्चिम, मधेश तथा कर्णाली प्रदेशका लागि भने विशेष प्रयत्न अनिवार्य छ । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको यस वर्ष एसईईमा ६५.९८ प्रतिशत उत्तीर्ण भएका छन्, अघिल्लो वर्ष ६१.८१ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । विज्ञहरूले नतिजामा सुधार आउनुमा उत्तरपुस्तिका परीक्षणमा ल्याइएको बदलावलाई पनि जोडेका छन् । यद्यपि, सुदूरपश्चिमबाट ५१ प्रतिशत, मधेशबाट साढे ५८ प्रतिशत, कर्णालीबाट ५९ प्रतिशत र लुम्बिनीबाट ६१ प्रतिशत विद्यार्थी मात्रै कक्षा ११ मा भर्नाका लागि योग्य भए । समग्रमा ६५.९८ प्रतिशत मात्रै उत्तीर्ण हुने विषय नै समस्यापूर्ण छ । त्यसमा पनि कुनै प्रदेशबाट आधा विद्यार्थी नै अनुत्तीर्ण हुने विषय चिन्ताजनक नै हो । खास वर्षमा मात्रै यस्तो नतिजा प्राप्त भएको भए तत्कालीन कारणलाई केन्द्रमा राखेर बहस गर्न सकिन्थ्यो । जब नतिजाको प्रवृत्ति हरेक वर्ष नै उस्तै छ भने सम्बन्धित प्रदेशहरूले भविष्यमा पनि शैक्षिक, आर्थिक, सामाजिक प्रगति गर्ने सम्भावना पनि कमजोर हुन्छ । त्यसैले अहिल्यैदेखि तीनै तहका सरकार, विद्यालय, शिक्षक र अभिभावकले हरेक कक्षा तथा तहको शैक्षिक उपलब्धि उकास्न संवेदनशील भएर अभियान सञ्चालन गर्नु अनिवार्य छ ।

अहिले पनि धेरै विद्यालयमा विषयगत शिक्षकको अभाव छ । शिक्षा मन्त्रालयकै तथ्यांकअनुसार सामुदायिक विद्यालयमा ५० हजारभन्दा बढी विषयगत शिक्षकको अभाव छ । अर्कोतर्फ, २०५७ देखि देशभरका कुनै पनि सामुदायिक विद्यालयमा एउटा पनि शिक्षक दरबन्दी थप हुन सकेको छैन । उपलब्ध शिक्षक र विद्यार्थीको अनुपात पनि असाध्यै असन्तुलित छ । जस्तो कि, मधेशमा १६ लाख २९ हजार विद्यार्थी पढ्छन्, त्यहाँ १७ हजार ५ सय ४४ शिक्षक छन् । जबकि, कोशीमा १० लाख ८७ हजार विद्यार्थीका लागि ३० हजार शिक्षक छन् । यस वर्ष कोशीबाट ७०.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । भएकै शिक्षकलाई पनि टिकाउन मुस्किल छ । त्यस्तै, पाठ्यपुस्तक, सहयोगी कक्षा, पठनपाठन संस्कृति, बलियो निगरानी प्रणाली, जवाफदेहिता जस्ता पक्ष पनि कमजोर छ । धेरै थरी कारणले गर्दा विद्यार्थीले सम्बन्धित विषयले लक्षित गरेको शैक्षिक उपलब्धि भेट्टाउन कठिनाइ हुने गर्छ । तसर्थ, सरकारले राष्ट्रिय र स्थानीय समस्याको पहिचान गरेर शैक्षिक सुधारमा जोड दिनुपर्छ ।

शैक्षिक उपलब्धि कमजोर देखिनु वा तह विशेषको नतिजा कमजोर आउनुमा शैक्षिक वातावरण मात्रै मुख्य कारण होइन, आर्थिक कारण पनि उल्लेखनीय हुने गर्छ । जस्तो कि एसईईको नतिजा कमजोर आएका प्रदेशहरूको प्रतिव्यक्ति आय पनि कमजोर छ । आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार प्रतिव्यक्ति जीडीपी अमेरिकी डलरमा सुदूरपश्चिमको ११५३, कर्णालीको १०८९ र मधेशको ९३२ छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार सुदूरपश्चिममा ३४.१६, कर्णालीमा २६.६९ र मधेशमा २२.५३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । त्यसैले कमजोर आर्थिक क्षमता रहेको प्रदेश र त्यहाँको कमजोर एसईई नतिजालाई अलग्याएर हेर्नै सकिँदैन, मिल्दैन । बरु यी दुई पक्षबीच अन्योन्याश्रित सम्बन्ध रहेकोमा प्रस्ट भई शैक्षिक सुधारलाई आर्थिक पक्षबाट पनि सम्बोधन गरिनुपर्छ ।

गरिबीले शैक्षिक उपलब्धि कमजोर तुल्याउन धेरै वटा कोणबाट भूमिका खेल्छ । पहिलो, सम्बन्धित परिवारले तुलनात्मक रूपमा अब्बल विद्यालयमा पढाउने सम्भावना नै कम रहन्छ । आ–आफ्नै गाउँठाउँको विद्यालयमा पढाउनुपर्दा पनि परिवारको बाध्यताका कारण उपयुक्त शैक्षिक वातावरण उपलब्ध गराउन सक्दैनन् । त्यसैले विद्यार्थीले जसोतसो पढाइलाई निरन्तरता दिने वा बीचमै छाड्ने हुन सक्छ । दोस्रो, विद्यालयले विद्यार्थीमैत्री शैक्षिक वातावरण उपलब्ध गराउन सक्दैन । पर्याप्त शिक्षक, पर्याप्त शैक्षिक सामग्री, विद्यार्थीमैत्री शैक्षिक गतिविधि, आधुनिक प्रविधि, विद्यार्थीको व्यक्तिगत आवश्यकतालाई ध्यान दिएर अतिरिक्त कक्षा सञ्चालन जस्ता काम गर्न सक्दैन । कैयौं विद्यालयलाई कक्षाकोठा व्यवस्थापन गर्नसमेत कठिन हुन्छ । आर्थिक रूपले कमजोर सरकारले पनि विद्यालयको भौतिक आवश्यकता पूर्ति गर्ने कि शैक्षिक वातावरणलाई अब्बल बनाउन लगानी गर्ने भन्ने अन्योल रहन्छ । शैक्षिक उपलब्धिमा आर्थिक पक्षको भूमिका हुने भएकैले वार्षिक बजेटको २० प्रतिशतसम्म शिक्षा क्षेत्रमा खर्चिनुपर्ने माग उठ्ने गरेको छ । तर हरेक वर्ष १० प्रतिशत हाराहारीमा मात्रै बजेट खर्च हुने गरेको छ ।

निष्कर्षमा, देशभरकै विद्यार्थीको शैक्षिक उपलब्धि बढाउन अपरिहार्य छ नै, सुदूरपश्चिम, मधेश तथा कर्णाली प्रदेशका लागि भने विशेष प्रयत्न अनिवार्य छ । तर त्यसका लागि शैक्षिक वातावरण अभिवृद्धिको एकतर्फी बहस र प्रयत्नले मात्रै सफलता प्राप्त हुँदैन । त्यसैले आर्थिक गतिविधि बढोत्तरीको विषयलाई पनि विशेष प्राथमिकता दिनुपर्छ । अर्थात्, यी दुवै पक्षलाई एकअर्काको परिपूरक बनाउनुपर्छ । अहिले एसईईको नतिजालाई नै सन्दर्भमा लिएर कमजोर नतिजा देखिएका प्रदेशमा ठूला, मझौला तथा घरेलु उद्योग खोल्ने तथा स्वरोजगारका विशेष अभियान चलाउनुपर्छ । परिवारलाई आकर्षक, नियमित र टिकाउ आम्दानी हुने आर्थिक वातावरणको हिस्सा बनाउन सकियो भने उसले बालबालिकाको शिक्षामा लगानी गर्ने सम्भावना बढी रहन्छ । नागरिक, सरकार, विद्यालय र अन्य संस्थाहरू सम्पन्न हुँदै गए भने शिक्षामा यथेष्ट लगानी हुने सम्भावना रहन्छ । त्यसले अन्ततः हरेक कक्षा र तहको नतिजालाई सुखद बनाउनेछन् ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully