अबको सहरी विकास कसरी ? 

नीति, योजना र लगानीका दृष्टिले महानगरका जटिल समस्या सम्बोधन गर्न राष्ट्रिय सरकारको सक्रियता कमजोर छ । त्यसैले नेपालमा महानगरको व्यवस्थापन चुनौतीपूर्ण छ ।

वैशाख ३०, २०८३

पुरुषोत्तम लामिछाने

What will urban development look like in the future?

What you should know

काठमाडौं उपत्यकामा सहरी विकासको अवस्थालाई नियाल्दा एउटा स्पष्ट कमजोरी देखिन्छ– सहरी विकास र क्षेत्रीय योजनालाई बृहत्तर, एकीकृत र दीर्घकालीन प्रक्रियाका रूपमा बुझ्ने तथा कार्यान्वयन गर्ने दृष्टिकोणको अभाव । 

सहरी विकास र क्षेत्रीय योजनामा कुनै पनि क्षेत्रको विकासलाई चार प्रमुख संरचनात्मक ढाँचामा वर्गीकरण गर्न सकिन्छ । सुरुमा एककेन्द्रित (मोनोसेन्ट्रिक) मोडल हुन्छ, जहाँ सबै गतिविधि एउटै केन्द्रमा केन्द्रित हुँदा चाप बढ्छ र अन्य क्षेत्र पछाडि पर्छन् । अनि योजनाविहीन अवस्थामा यो अनियोजित फैलावट (स्प्रोल) मा रूपान्तरण भई भूमि नष्ट, पूर्वाधार महँगो र यातायात जटिल बन्छ । त्यसपछि बहुकेन्द्रित तर असामञ्जस्यपूर्ण (मल्टिपोलार) ढाँचा देखापर्छ । यसमा धेरै केन्द्र त हुन्छन् तर तीबीच आपसमा कुनै समन्वय वा बलियो सम्बन्ध हुँदैन । प्रत्येक केन्द्रले छुट्टाछुट्टै र प्रतिस्पर्धात्मक रूपमा काम गर्दा क्षेत्रीय सन्तुलन बिग्रन सक्छ र स्रोत साधनको दोहोरो लगानी हुने जोखिम रहन्छ । यस्तो संरचनामा पूर्वाधारको सञ्जाल छरिएको हुन्छ, जसले गर्दा एकीकृत आर्थिक विकासको लक्ष्य प्राप्तिमा बाधा पुग्छ । सबैभन्दा प्रभावकारी समन्वित बहुकेन्द्रीय (पोलिसेन्ट्रिक) ढाँचा हो ।  यहाँ हरेक एकाइ वा ‘सेल’ को आफ्नै विशिष्ट पहिचान र कार्यक्षेत्र हुन्छ तर तिनीहरू यातायात, प्राकृतिक र सञ्चारका करिडोरमार्फत आपसमा मजबुत रूपमा जोडिएका हुन्छन् । जनसंख्या चाप विकेन्द्रीकरण हुन्छ र समग्र क्षेत्रको सन्तुलित आर्थिक विकास सम्भव हुन्छ ।

काठमाडौं उपत्यकाको वर्तमान सहरी विकासमाथि विश्लेषण गर्दा यो कुनै एक मात्रै ढाँचामा सीमित नभई मिश्रित स्वरूपमा विकसित भएको देखिन्छ । तर, समग्रमा हेर्दा ‘अनियोजित फैलावट’ र ‘बहुकेन्द्रित तर असामञ्जस्यपूर्ण’ ढाँचाको प्रभुत्व छ । ऐतिहासिक रूपमा उपत्यका ‘एककेन्द्रित’ ढाँचामा आधारित थियो, जहाँ काठमाडौं महानगरपालिका मुख्य केन्द्रका रूपमा विकास भएको थियो र आर्थिक, प्रशासनिक तथा सेवा गतिविधि त्यहीँ केन्द्रित थिए । तर, समयसँगै जनसंख्या वृद्धि, बसाइँसराइ र सहरी विस्तारका कारण काठमाडौं, ललितपुर, भक्तपुर तथा वरपरका क्षेत्रहरू पनि सहरीकरणतर्फ अघि बढे । यसले उपत्यकालाई क्रमशः बहुकेन्द्रित स्वरूपतर्फ ताने पनि ती केन्द्रबीच स्पष्ट कार्यगत विभाजन, समन्वय र योजनाबद्ध विकासको अभावले यसलाई ‘समन्वित बहुकेन्द्रीय’ बनाउने दिशामा पुर्‍याउन सकेको छैन ।

उपत्यका ‘अनियोजित फैलावट (अर्बन स्प्रोल)’ को स्पष्ट उदाहरण बनेको छ, जहाँ बस्तीहरू योजनाविहीन रूपमा फैलिएका छन्, कृषि भूमि अनियन्त्रित रूपमा प्लटिङमा परिणत भइरहेको छ र पूर्वाधार विकास त्यसको पछाडि दौडिरहेको छ । काठमाडौं उपत्यका अहिले पूर्ण रूपमा अनियोजित फैलावटसँग मिसिएको, असामञ्जस्यपूर्ण बहुकेन्द्रित संरचनातर्फ उन्मुख संक्रमणकालीन अवस्थामै रहेको छ ।

महानगर देशको पावरहाउस हो र देशमा महानगरहरू चल्दैनन् भने त्यो देश नै चल्दैन । उपत्यकाको सन्दर्भमा, पोलिसेन्ट्रिक अर्थात् बहुकेन्द्रीय महानगर संरचना भविष्यको सहरी विकासका लागि महत्त्वपूर्ण हुन सक्छ, जसमा विभिन्न सहरलाई आपसमा जोडेर विकास गरिन्छ । र, सबै गतिविधि एउटै सहरमा केन्द्रित हुन दिइँदैन । यस्तो संरचनामा काठमाडौं मुख्य महानगरीय केन्द्रका रूपमा रहँदा ललितपुर, भक्तपुर, कीर्तिपुर, टोखा, बनेपाजस्ता सहरलाई विशेष भूमिकासहित जोड्न सकिन्छ । पश्चिमतर्फ थानकोट/नौबिसे जस्ता क्षेत्रलाई राष्ट्रिय यातायात तथा व्यापार प्रवेशद्वारका रूपमा विकास गर्न सकिन्छ भने पूर्वतर्फको क्षेत्रलाई आर्थिक तथा नवप्रवर्तन करिडोरका रूपमा रूपान्तरण गर्न सकिन्छ । 

भौगोलिक र रणनीतिक महत्त्वमाथि मध्यनजर गर्दै विभिन्न सेवा केन्द्रलाई व्यवस्थित रूपमा विकास गरी वा एकाधिकारवादी विकास वा अव्यवस्थित फैलावटलाई निरुत्साहित गरी ‘मेट्रोपोलिटन डिसिप्लिन’ मार्फत समन्वित बहुकेन्द्रीय ढाँचा अवलम्बन गर्नुपर्ने हुन्छ । यसले गर्दा उत्पादक सहरी सेलहरू (प्रोडक्टिभ अर्बन सेल) र प्राकृतिक स्रोतहरूको सन्तुलन कायम भई क्षेत्रीयस्तरमा समानुपातिक आर्थिक अवसर र नागरिक सुविधाहरू सुनिश्चित हुनेछन् । यसरी विभिन्न सहरलाई कार्यात्मक रूपमा जोडेर विकास गर्न सके उपत्यकाको भीड कम हुनुका साथै आर्थिक गतिविधि सन्तुलित रूपमा फैलिन सक्छ ।

महानगर देशको पावरहाउस हो र देशमा महानगरहरू चल्दैनन् भने त्यो देश नै चल्दैन । काठमाडौं उपत्यका जस्तो महानगरीय क्षेत्रको आर्थिक, सामाजिक र पूर्वाधारगत प्रभाव देशव्यापी हुन्छ । त्यसैले महानगरका मुद्दाहरू स्थानीय मुद्दा मात्र होइनन्, ती मूलतः राष्ट्रिय मुद्दा हुन् । तर व्यवहारमा, यस्ता महानगरीय मुद्दालाई राष्ट्रियस्तरमा पर्याप्त प्राथमिकता दिइएको देखिँदैन । नीति, योजना र लगानीको दृष्टिले पनि महानगरका जटिल समस्या सम्बोधन गर्न राष्ट्रिय सरकारको सक्रियता अपेक्षाकृत कमजोर देखिन्छ । यही कारण नेपालमा महानगरहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

सहरी विकासको अर्को महत्त्वपूर्ण पक्ष भनेको ग्रीन–ब्लु इन्फ्रास्ट्रक्चर अर्थात् हरियो–नीलो पूर्वाधार हो । यसले सहरभित्रका प्राकृतिक तथा अर्धप्राकृतिक प्रणालीलाई एउटै नेटवर्कका रूपमा जोड्ने अवधारणा प्रस्तुत गर्छ । नदी, जलाधार, वन क्षेत्र, पार्क र खुला क्षेत्रलाई योजनाबद्ध रूपमा जोडेर सहरको पर्यावरणीय सन्तुलन कायम राख्न सकिन्छ । उपत्यकाको उत्तरी भागमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज जलाधार र वन प्रणालीका दृष्टिले अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो । त्यसैगरी दक्षिणतर्फको गोदावरी र फुल्चोकी क्षेत्र जैविक विविधता र हरित संरक्षणका लागि महत्त्वपूर्ण मानिन्छ । यी क्षेत्रलाई नदी करिडोरहरूसँग जोडेर हरियो–नीलो पूर्वाधारको नेटवर्क निर्माण गर्न सके बाढी नियन्त्रण, पानी व्यवस्थापन, जैविक विविधता संरक्षण र सहरी वातावरण सुधारमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।

‘सहरी विकासको उच्चस्तर’ हासिल गर्न उपत्यकाले सम्पूर्ण क्षेत्रलाई एक जीवित र अन्तरसम्बन्धित प्रणालीका रूपमा हेर्ने महानगरीय दृष्टिकोण अवलम्बन गर्नुपर्छ । यसका लागि समन्वित शासन प्रणाली, स्थानिक पुनःसंरचना तथा एकल केन्द्रीय सहरको सट्टा बहुकेन्द्रीय सहरी नोडहरूको विकास आवश्यक हुन्छ । 

घना र अविभाजित संरचनाबाट लचिलो र अनुकूलनशील महानगरीय प्रणालीतर्फको रूपान्तरण पारिस्थितिक सिद्धान्तहरूको समावेश, सन्तुलित क्षेत्रीय विकासको प्रवर्द्धन तथा संस्थागत क्षमताको सुदृढीकरणमा निर्भर रहनेछ । यस्ता परिवर्तनमार्फत मात्रै उपत्यका वर्तमान अवस्थाबाट माथि उठ्दै दिगो, प्रभावकारी र जैविक रूपमा विकसित सहरी प्रणालीमा रूपान्तरण हुन सक्षम हुनेछ । यसले दीर्घकालीन विकासलाई सुनिश्चित गर्न सक्छ । 

सहरी विकास र क्षेत्रीय योजना एक बृहत्तर प्रक्रिया हो, जसले भौतिक पूर्वाधार, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई एकीकृत रूपमा अगाडि बढाउँछ ।

पुरुषोत्तम इन्जिनियर लामिछाने सहरी योजनाकार हुन् ।

Link copied successfully