नीति तथा कार्यक्रम : लक्ष्य हासिल गर्न बजेटको भर

दशककै सबैभन्दा न्यून ब्याजदर हुँदा पनि लगानी गर्न निरुत्साहित रहेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउने योजनाको नीतिमा कमी छ । तर सूचना प्रविधिलाई दिइएको प्राथमिकता सकारात्मक छ ।

वैशाख २९, २०८३

सम्पादकीय

Policies and Programs: Budgetary Reliance on Goals

What you should know

प्रविधिको उच्चतम प्रयोग, लगानी वृद्धि, सुशासनलाई मुख्य रूपमा समेट्ने प्रयास गरेको नीति तथा कार्यक्रमले सर्वसाधारणको जीविका सुधारका तल्कालीन उपायसहितको रूपान्तरणकारी योजना सार्वजनिक गर्न नसक्दा परम्परागत देखिएको छ । 

सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको १०० बुँदाको सो दस्तावेजमा सीमित नयाँ पहल र अधिकांश पुराना योजना र भाषाले निरन्तरता पाएको छ । नीति तथा कार्यक्रममा बृहत् रूपमा समावेश भएका र सुधारका अन्य विषय समेटेर ठोस योजनासहित बजेट सार्वजनिक हुने हुँदा प्रतीक्षा गर्नुपर्ने हुन्छ । 

नयाँ चरणको आर्थिक सुधार र सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्न थप सुधार र सुविधा बजेटले प्रस्तुत गर्न सक्नुपर्छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रसमेतलाई हेर्दा सात प्रतिशतको आर्थिक वृद्धिले सय अर्ब अमेरिकी डलरको अर्थतन्त्र पाँचदेखि सात वर्षमा पुग्न कठिन देखिन्छ । 

त्यसैले नीति तथा कार्यक्रममा ठोस आधार प्रस्तुत हुने अपेक्षा गरिएको थियो । दशककै सबैभन्दा न्यून ब्याजदर हुँदा पनि लगानी गर्न निरुत्साहित रहेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउने योजनाको नीतिमा कमी छ । तर सूचना प्रविधिलाई दिइएको प्राथमिकता सकारात्मक छ । 

सरकारले नीति तथा कार्यक्रममा सूचना प्रविधि, एआई, डिजिटल जस्ता शब्दावलीलाई प्राथमिकता दिएको छ । सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीति उद्योग घोषणा गरी सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्प्युटेसन निर्यातलाई प्राथमिकता दिने भनिएको छ । साथै, डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबका रूपमा अघि बढाइने भनिएको छ । सूचना प्रविधिको निर्यातलाई पनि प्राथमिकता दिइएको छ । यस्ता प्राथमिकताले सरकारले बदलिँदो विश्वसँग आफ्नो गति मिलाउन खोजेको देखिन्छ ।

अर्थतन्त्रको शून्य दशमलब २ प्रतिशत हाराहारी वैदेशिक लगानी भित्रिइरहेको समयमा ल्याइएका लगानी प्रवर्द्धनका योजना आकर्षक छन् । लगानीकर्ताले बेहोर्नुपर्ने झन्झटले नेपालमा लगानी गर्न नै निरुत्साहित हुनुपरेको गुनासोका बीच सरकारले विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गर्ने नीति लिएको छ । नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराइने भनिएको छ । 

तर कतिपय विषय पुरानैको निरन्तरता छ । जस्तो कि, वैदेशिक लगानीका लागि प्राथमिकता दिइने क्षेत्र । अघिल्लो वर्षको नीति तथा कार्यक्रममा वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त औद्योगिक तथा भौतिक पूर्वाधार आयोजनामा केन्द्रित गरिनेछ भनिएको थियो । यस वर्ष पनि वैदेशिक सहायता, ऋण र निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गरिनेछ भनिएको छ । 

सार्वजनिक प्रतिबद्धतामा पनि सरकारहरूले यस्तै भाषा प्रयोग गर्ने गरेको पाइन्छ । तर, नेपालले लिएको ऋण खर्च गरिने क्षेत्रका विषयमा सधैं आलोचना हुँदै आएको छ । त्यस्तै, नेपाललाई चलचित्र छायांकनको गन्तव्य बनाउने विषयलाई तुलना गरेर हेर्न सकिन्छ । सोमबार सार्वजनिक नीति तथा कार्यक्रममा नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकन तथा सिर्जनात्मक गन्तव्यका रूपमा स्थापित गरिने भनिएको छ । अघिल्ला वर्षमा पनि त्यस्तै लक्ष्य राख्ने गरिएको थियो । 

राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरणलाई सरकारले मार्गदर्शनका रूपमा प्रस्तुत गरेको छ । संविधान संशोधनको आवाज र स्वयंको प्रतिबद्धतालाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । विगतमा संविधान संशोधनलाई आपसी सम्झौता वा सहमतिमार्फत जनता अलमल्याउने रणनीतिक विषय मात्रै बनाइएको थियो । 

वर्तमान सरकार आएपछि गठन गरेको कार्यदलमार्फत संविधान संशोधनबारेका छलफल औपचारिक ढंगबाटै अघि बढेको छ । नीति तथा कार्यक्रममा सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी बहस पत्र तयार गर्ने भनिएको छ । बढीभन्दा बढी पक्षको सहभागितामा संविधान संशोधन हुन सक्यो भने त्यसले राज्य–नागरिक सम्बन्धलाई बलियो र संविधानप्रति अपनत्व बढाउनेछ । 

नीति तथा कार्यक्रममा बाली लगाउनुअघि नै प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोक्ने भनिएको छ । वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिने भनिएको छ । २०८७ सम्ममा सबै नागरिकलाई स्वच्छ खानेपानी सुविधा सुनिश्चित गर्ने भनिएको छ । विपन्न, सीमान्तकृत, दलित, आदिवासी जनजाति, अपांगता भएका तथा पिछडिएका क्षेत्रका सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता छ । यी र यस्ता कैयौं कार्यक्रम छन्, जसले भुइँतहका नागरिकलाई प्रत्यक्ष छुनेछ । र, नीति तथा कार्यक्रमको सफलता यस्तै प्रतिबद्धताको प्रतिफलमा सुनिश्चित हुनेछ । विगतमा भने यस्तै प्रतिबद्धता कार्यान्वयन नभएको थुप्रै उदाहरण छन् । 

निष्कर्षमा, नीति तथा कार्यक्रम सरकारको सैद्धान्तिक अवधारणा हो । मार्ग पहिचान हो । सरकारको चाहना हो । त्यसैले यस दस्तावेजमा धेरैभन्दा धेरै क्षेत्रमा प्रतिबद्धता व्यक्त गर्ने प्रचलन छ । यसमा घोषणा गरिएका राम्रा कार्यक्रमहरू ठोस रूपमा आगामी १५ जेठमा प्रस्तुत हुने बजेटमा समावेश हुनुपर्छ । 

अन्ततः जनताको जीवनस्तरमा कति परिवर्तन आउन सक्यो भन्ने विषयले नै सरकारका हरेक दस्तावेजको सफलता मापन गर्छन् । इतिहासमै बलियो जननिर्वाचित सरकार गठन भएको विशिष्ट अवस्थामा सरकारलाई उथलपुथलकारी नीति र कानुन तर्जुमा गर्न सहज छ । त्यो सहजतालाई प्रतिफलमा परिणत गर्न सक्नुपर्छ । त्यसैले नीति तथा कार्यक्रममा समेटिएका आकर्षक बुँदाहरूको कार्यान्वयन गर्न सकियो र जनताको जीवनस्तरमा सुधार ल्याउन सकियो भने बलियो सरकारको औचित्य पुष्टि हुनेछ । 

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully