विदेशमा उपचार खर्चका नाममा भ्रष्टाचार

कार्यविधिबाट गरिएका खर्च भ्रष्ट नेता र भ्रष्टाचारको प्रमाण हो । भ्रष्टाचार प्रजातन्त्रकफ दुरुपयोग हो।

वैशाख २९, २०८३

बलराम केसी

Corruption in the name of medical expenses abroad

What you should know

 

१४ वैशाखमा सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि’ को दफा १२ (१) खारेज गरिदिएको छ । यसअनुसार पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा लागेको खर्च लिने गरेकामा अब नपाउने भएका छन् । लामो समयदेखि यसबारे बहस र आलोचना हुने गरेको थियो । तर नैतिकताका दृष्टिबाट प्रश्न उठाउने गरिएको थियो । यस आलेखमा भने यस कार्यविधि कसरी गैरसंवैधानिक थियो र उपचार खर्च लिने कार्य कसरी गम्भीर भ्रष्टाचार हो भनेर चर्चा गरिनेछ ।

२०६८ सालमा तत्कालीन सरकारले ‘नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि’ बनायो र दुई पटक संशोधन भयो । कार्यविधिका आधारमा राष्ट्रपति, पूर्वराष्टपति, पूर्वप्रधानमन्त्रीलगायत धेरैले राज्यकोषबाट खर्च लिए । केपी ओलीले पटक–पटक गरी झन्डै अढाई करोड, रामवरण यादवले झन्डै डेढ करोड, रामचन्द्र पौडलले झन्डै ५० लाख, झलनाथ खनालले ५० लाख लिएको सार्वजनिक भइसकेको छ । यस्तो व्यवस्थाका कारण उपचारका लागि सरकारी खर्चमा विदेश जाने प्रवृत्ति मौलायो । बिरामी मात्र होइन, ठूलो ‘इन्टोराज’ लैजाने खर्च पनि राज्यकोषबाट बेहोरिने भयो । जबकि, प्रायः रोगको उपचार नेपालमा नै हुन्छ ।

यसक्रममा खर्चको बिल भर्पाइ मागिएन । नेपालमै उपचार किन नगराउने भनेर सोधिएन । मेडिकल बोर्डको सिफारिस खोजिएन । बचेको रकम फिर्ता गराउने होइन, बरु थपियो । कानुनले नचिन्ने ‘कार्यविधि’ मा १५ लाख तोकियो तर अढाई करोडसम्म दिइयो । लाख त सामान्य भयो । मागेजति रकम प्रधानमन्त्रीबाट ‘हुकुम प्रमांगी’मा बक्सिस भयो । यस्ता कार्यहरू संविधानको धारा ७५(२) मा निहित कार्यकारी अधिकारको चरम दुरुपयोग, समानता र स्वास्थ्यसम्बन्धी मौलिक हकको उल्लंघन र भ्रष्टाचार हो र थियो ।

प्रजातन्त्रको गलत बुझाइ

पञ्चायती व्यवस्था प्रजातान्त्रिक थिएन । तर पञ्चायत ‘गभर्नेन्स’ र सुशासनमा धेरै अनुशासित थियो । आज नेपाल सिद्धान्ततः र संविधानतः पूर्ण प्रजातान्त्रिक छ । तर छाडापन पनि छ । आवधिक चुनावमा राजनीतिक दलको सहभागिता, निष्पक्ष निर्वाचन, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका र संसदीय व्यवस्था हुनाले संसद्को ‘बाइप्रोडक्ट’ कार्यकारी हो । कार्यकारी संसद्प्रति उत्तरदायी हुनाले प्रजातान्त्रिक व्यवस्था हो र छ । प्रजातन्त्रमा ‘रुल बाइ ल, नट बाइ मेन’ हुन्छ । तर नेपालमा ‘रुल बाइ नेता’ भएको छ । न्यायपालिका र कार्यपालिकाको अधिकार कटाएर बाँकी सम्पूर्ण अधिकार कार्यपालिकाको हुन्छ । राज्यमा तीन अन्तरनिहित अधिकार हुन्छ । ‘इमिनेन्ट डोमेन’ को अधिकारले सार्वजनिक कामका लागि व्यक्तिको जग्गा प्राप्त गर्न सक्छ । ‘पुलिस पावर’ ले ऐन बनाएर नागरिकको मौलिक हकमा रोक लगाउन सक्छ । अर्को भनेको ‘नो ट्याक्सेसन विद आउट लेजिस्लेसन’ अर्थात् ‘कानुन बनाएर मात्र कर’ लगाउन सक्छ । तर नेपालमा बिना कानुन सरकारी ढुकुटीबाट रकम बाँडिन्छ ।

पञ्चायती व्यवस्था प्रजातान्त्रिक नभए पनि ‘गभर्नेन्स’ को ‘मूल्य र मान्यता’ मा शासन चल्थ्यो । पञ्चायतकालमा ‘अध्यादेश जारी’ र ‘राज्यकोष’ बाट रकम बाँडिएन । तर गणतन्त्रमा प्रजातन्त्रको न्यूनतम मूल्य र मान्यता पनि पालना गरिएन । सञ्चित कोषको रकममा दुरुपयोग गरियो । सञ्चित कोषबाट ऐनको अधिकार नभई खर्च गर्न हुँदैन भन्ने पनि नेताले बुझेनन् । यस्तो लाग्छ, यिनले राजतन्त्र हटाउनु नै प्रजातन्त्र हो भन्ने बुझे । सरकारी रकम बाँड्ने प्रजातन्त्र होइन भन्ने बुझेनन् । सरकारी ढुकुटीबाट रकम खर्च गर्न ऐन चाहिन्छ, ऐन संविधानसँग बाझिने गरी बनाउन पाइँदैन भन्ने पनि बुझेनन् । ऐन ‘फेयर, जस्ट, रिजनेवल’ हुनुपर्छ भन्नेसम्म पनि बुझेनन् । मन्त्रिपरिषद्ले ऐन बनाउन सक्दैन, मन्त्रिपरिषद्ले बनाएको कार्यविधि ‘फेयर, जस्ट, रिजनेवल’ हुँदैन भन्ने नै बुझेनन् । यिनले प्रजातन्त्र भनेकै बुझेनन् भनिएको यिनै कारणले हो ।

शासन गर्नेले प्रजातन्त्र भनेको ‘रुल बाइ ल, नट बाइ मेन’ भन्ने बुझ्नुपर्ने हो । बुझेको भए संविधानविपरीतको कार्यविधि बनाउने थिएनन् । राणाहरूले १०४ वर्ष राज गरे । राणा शासनमा संविधान, कानुनी शासन थिएन । शासक आफैं फ्रान्सको लुई १४ औंले ‘आई एम द स्टेट’ भने जस्तै राणाहरूले सरकार भनेको आफैं भन्ने ठान्थे । उनीहरूको हुकुम नै कानुन हुन्थ्यो । ऐन बनाउने संसद् थिएन । महालेखा परीक्षक थिएन । आजको बैंकलाई त्यतिबेला तेजारथ भनिन्थ्यो । प्रधानमन्त्रीलाई प्राइममिनिस्टर भनिन्थ्यो । उनीहरू कानुनभन्दा मािथ हुन्थे । रकम मनपरि बाँडिन्थ्यो । त्यस कार्यमा प्रश्न गर्न अपराध मानिन्थ्यो, कडा सजाय हुन्थ्यो । शासनमा १०४ वर्ष लामो ‘लिगेसी’ बोकेको देशमा अनुभव र अध्ययन नभएको तर जसरी पनि सत्ता र शक्ति चाहिने मानसिकता र संस्कार भएकाहरू शासक बनेपछि संविधानको भाग १० को संघीय आर्थिक कार्य प्रणालीमा ऐन किन लेखियो, कानुन किन लेखिएन भनेर नबुझ्नु स्वाभाविक हो । हामी नागरिक पनि सतर्क, सचेत, चनाखो र सूचित नभएर हामीले नै शासकहरूलाई सिंहदरबार पुर्‍यायौं । त्यसैको परिणाम ‘कार्यविधि’ बन्यो र सरकारी ढुकुटी दुरुपयोग भयो ।

आजका शासकहरूमा राणाहरूले सरकारी ढुकुटीबाट रकम बाँड्थे, हामीले पनि बाँड्नुपर्छ भन्ने सोच देखिन्छ । प्रजातन्त्रको गलत बुझाइले गर्दा कार्यविधि बनाएर राज्यकोषबाट लुटिएको हो ।

कार्यकारी अधिकारको दुरुपयोग

सरकार कार्यकारी अधिकारको स्रोत हो । शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन यसैले गर्छ । यही अधिकारले संसद्बाट कानुन बनाउँछ । कानुन अपर्याप्त छ भने संशोधन गराउँछ । संविधानले सरकारी ढुकुटीबाट रकम खर्च गर्न ‘ऐन’ चाहिन्छ भन्दा पनि ‘कार्यविधि’ बनाएर तीन अर्ब खर्च गर्नु भनेको संविधान मिचाइ हो ।

बिना ऐन सरकारी ढुकुटीबाट खर्च गर्नु हुँदैन भन्ने कानुनको विद्यार्थीले पनि जानकारी राख्ने विषय हो । सरकार प्रमुखलाई जानकारी भएन भन्ने छुट हुँदैन । आफू पनि राज्यकोषबाट फाइदा लिने र आफ्ना आसेपासेहरूलाई पनि फाइदा दिलाउने उद्देश्यले कार्यविधि बनाइएको हो र छ । ‘कार्यविधि’ को नाम ‘आर्थिक सहायता’ राखिएको छ । तर फाइदा सिंहदरबारमा पहुँचवालाले मात्र लिन्छन् ।

कार्यविधि ऐनको प्रत्यायोजित अधिकारले बनेको होइन । कार्यविधिको प्रस्तावनामा ऐनको स्रोत उल्लेख गरिएको छैन । कार्यविधि प्रशासकीय अधिकारअन्तर्गत बनेको हो । राज्यकोषमा जम्मा भएको रकम खर्च गर्न कागजको खोस्टो जस्तो कार्यविधिबाट अधिकार हुँदैन । राज्यकोषमा जम्मा भएको रकम खर्च गर्न पाउने अधिकार संविधानको भाग १० को धारा ११५ देखि धारा १२५ सम्म १० धारा हुन् । उल्लिखित धाराहरूअन्तर्गत बनेको ऐनबाट मात्र राज्यकोषबाट रकम खर्च गर्न सकिन्छ । उल्लिखित १० धारामा खर्च गर्नुपर्दा ‘ऐन’ वा ‘संघीय ऐन’ भन्ने प्रस्ट उल्लेख छ । ‘कानुन’ भनिएको छैन । ‘कानुन’ भनियो भने सरकारले नियम, विनियम, कार्यविधि बनाएर खर्च गर्ला भनेर ऐन शब्द राखिएको हो । ऐन बहुमतले पास गर्नुपर्छ । सरकारको मनपरीको रोक विपक्षीले लगाउँछ । त्यसैले संविधानमा ‘ऐन’ लेखिएको हो । 

नेपालभित्रै उपचार सम्भव हुँदाहुँदै ‘कार्यविधि’ बनाएर नेताहरूलाई प्रोस्टेटको शल्यक्रिया र किड्नी प्रत्यारोपणका लागि बिरामी र ठूलो ‘इन्टोराज’ लाई डलर दिएर सरकारबाट राज्यकोषको दुरुपयोग गरियो । औषधोपचार खर्च लिने र दिने दुवैबाट अख्तियारको दुरुपयोग र भ्रष्टाचार भएको छ । संविधानविपरीत ‘कार्यविधि’ बनाएर सरकारी ढुकुटीबाट रकम दिन हुन्छ भने सरकारी कार्यालयका नाममा रहेको नेपाल राष्ट्र बैंक वा अन्य बैंकको खाताबाट चेकमा हस्ताक्षर चल्ने कार्यालय प्रमुख र लेखापाल मिलेर आफ्नालाई उपचार खर्च दिए हुन्छ ।

जसरी चेक काटेर सरकारी रकम उपचारमा खर्च गर्ने कार्य भ्रष्टाचार मानिन्छ र चेक काट्नेलाई सजाय हुन्छ, त्यसैगरी ‘कार्यविधि’ का आधारमा राज्यकोषबाट उपचारको रकम दिने–लिने दुवैलाई भ्रष्टाचारमा मुद्दा चलाइनुपर्छ । कार्यविधिका नाममा सरकारी ढुकुटी मासिनु गम्भीर भ्रष्टाचार हो । दिने र लिने दुवै व्यक्ति र पद जोसुकै होस्, दुवै मिलुवा मानेर पद होइन उनीहरूको कुकृत्य हेरिनुपर्छ । यो देशमा लिखित संविधान छ, समानताको हक छ र स्वास्थ्य सेवामा प्रत्येकको समान पहुँचको हक छ भन्ने र मान्ने हो भने राष्ट्रपति होस् वा प्रधानमन्त्री सबैलाई अ.दु.अ.आ. ऐनले धारा २३९ (१) बमोजिम अनुसन्धान गर्ने र उपधारा ३ बमोजिम भ्रष्टाचारमा मुद्दा चलाइनुपर्छ । 

जनता सचेत सतर्क र सूचित नहुनु

प्रजातन्त्र भन्दैमा नेताहरू सबै इमानदार, शिक्षित अनुशासित हुन्छ भन्नु गलत हो । कार्यविधि बनाएर राज्यकोष रित्याउनु आफैंमा नेपालका नेता भ्रष्टाचार गर्छन् भन्ने संकेत हो । कार्यविधिबाट गरिएका खर्च भ्रष्ट नेता र भ्रष्टाचारको प्रमाण हो । भ्रष्टाचार प्रजातन्त्रको दुरुपयोग हो । भ्रष्टाचार नियन्त्रण सूचित सचेत र सर्तक नागरिकबाट हुन्छ । २०६८ मा कार्यविधि बनाए । त्यहीबाट राज्यको ढुकुटी दोहन सुरु भयो । दुई पटक कार्यविधि संशोधन भयो । तीन अर्बभन्दा बढी रकम कार्यविधि देखाएर भ्रष्टाचारजन्य काम गरे । 

संविधानविपरीत कार्यविधि

संविधानको धारा १८ (१) मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कानुनको समान संरक्षणबाट वञ्चित गर्न नपाइने व्यवस्था छ । धारा ३५ (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था छ । धारा १ मा संविधानसँग बाझिने गरी कानुन बनाउन नहुने स्पष्ट छ । धारा ३५ (३) मा स्वास्थ्य सेवामा पहुँच भनेको राष्ट्रपति वा प्रधानमन्त्रीलाई सरकारी खर्चमा अमेरिका पठाउने भनेको होइन । यो भनेको बेलायतको ‘एनएचएस’ र अमेरिकाको ‘ओवामा केयर’ जस्तो सुविधा देशमा आर्थिक विकास गरेर बिना पहुँच सबैले स्वास्थ्य सेवा पाउनुपर्छ भनेको हो ।

कार्यविधिले आम जनतालाई सुविधा दिँदैन । नेतालाई मात्र दिन्छ । केही वर्ष अगाडि डायलासिस गर्ने पैसा नभएर टिचिङ अस्पतालको चार तलाबाट हामफालेर एक जनाले आत्महत्या गरे । कार्यविधिको पूर्वविशिष्टको वर्गीकरणमा यी वर्ग पर्दैनथे । त्यसैले कार्यविधि धारा १८ र ३५ को विपरीत बनेकाले यो गम्भीर भेदभावको घटना हो । सर्वोच्च अदालतले कार्यविधिको १२(१) मात्र होइन, कार्यविधि नै बदर गर्नुपर्दथ्यो ।

अन्त्यमा, ‘कार्यविधि’ कार्यकारी अधिकारको चरम दुरुपयोग हो । ‘कार्यविधि’ मा उल्लेख भएका कुराहरू जनताले थाहा पाउनुपर्छ । रकम दिनुपर्दा नेपालमा उपचार हुनै नसक्ने, मेडिकल बोर्डको सिफारिसलगायत कुनै विषय सोधिएको पाइँदैन । सीमा १५ लाख तोकिएकामा अढाई करोडसम्म दिइयो । अर्को महत्त्वपूर्ण विषय आफ्नै सम्पत्तिबाट किन उपचार नगराउने ? ऋण लिएर वा घरजग्गा बन्धक राखेर वा बेचेर पनि पुगेन भने सरकारसँग मागेको भए मानवताका आधारमा समाजले हेर्थ्यो होला । कसैले पनि आफ्नो सम्पत्ति चलाएनन् । राज्यको ढुकुटी ताके । अझ कतिसम्म भने केपी ओलीले संसद्मा नै ‘मैले सम्पत्ति सरकारलाई दिएँ, तपाईंहरू पनि दिनुहोस्’ भन्दै हुनुहुन्थ्यो । यस्तो भन्नेले सरकारी ढुकुटीबाट अढाई करोड लिनु नाटक भएन र ?

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई १९८८ मा किड्नीको रोग लाग्यो । त्यतिबेलाको भारतमा उपचार सम्भव नभएर डाक्टरहरूले अमेरिका जान सल्लाह दिए । उहाँसँग पैसा थिएन । त्यहाँ हाम्रोमा अहिलेको जस्तो राज्यकोषमा लुटतन्त्र थिएन । राजीव गान्धीले थाहा पाउनुभयो । उहाँले बाजपेयीलाई भेटेर तपाईं यो देशका लागि बाँच्नुपर्छ, म तपाईंलाई अमेरिकामा सरकारी डेलिगेसनमा पठाउँछु, त्यहीं उपचार गराउनुहोस् भनेर डेलिगेसनमा हाल्नुभयो ।

निष्कर्ष के हो भने, कार्यविधि बनाउनु गम्भीर अख्तियारको दुरुपयोग हो र तीन अर्ब बढी रकम औषधोपचारमा खर्चका नाममा बाँड्नु गम्भीर भ्रष्टाचार हो । रकम दिने सबै पूर्वप्रधानमन्त्री र रकम लिने सबै नेताहरूलाई भ्रष्टाचारमा मुद्दा चलाइनुपर्छ । तब मात्रै सरकारी रकम मास्न नेताहरूमा डर हुन्छ ।

बलराम बलराम केसी पूर्वन्यायाधीश हुन् ।

Link copied successfully