श्रमिक दिवसको सार्थकता श्रमलाई सास्तीबाट संस्कृतिमा बदल्ने संकल्पमा निहित छ । यसका लागि हाम्रो शिक्षा प्रणालीले केवल ‘करियर’ होइन, ‘कौशल’ सिकाउनुपर्छ ।
काठमाडौँ — इतिहास सधैं विजेताहरूको गाथा हो भनिन्छ । वास्तवमा इतिहास त ती अनाम हत्केलाहरूको वास्तुकला हो, जसले ढंगालाई अक्षर र जंगललाई सहर बनाइदिए । आज मे १ अर्थात् श्रमिक दिवस । सहरका चिल्ला सडकमा राता झन्डा फहराइरहेका होलान्, नाराहरूले आकाश थर्किएको होला र होटलका वातानुकूलित हलमा ‘श्रमको सम्मान’ बारे गोष्ठी भइरहेका होलान् । यसैबीच, के हामीले कहिल्यै सोचेका छौं– यो सभ्यताको विशाल संरचना ठड्याउने ती गुमनाम कालिगडहरूको चिनारी कहाँ छ ? के हाम्रो आधुनिकता उनीहरूको रगत र पसिनाको जगमा ठडिएको एउटा ‘सुन्दर उपेक्षा’ मात्र त होइन ?
हामीले श्रमलाई सधैं ‘दुःख’ को लेपन लगाइदियौं । हामीले श्रमिकलाई ‘बिचरा’ र ‘पीडित’ को फ्रेममा कैद गरेर उनीहरूको सिर्जनात्मक गर्वको हत्या गरिदियौं । यद्यपि, सत्य यो हो कि श्रम केवल पेट पाल्ने सास्ती होइन, श्रम त यो धर्तीमाथि मानिसले गर्ने सबैभन्दा सुन्दर मानवीय हस्तक्षेप हो ।
सन् १८८६ मे १ बाट सुरु भएको र हेमार्केट स्क्वायरको विद्रोहसम्म पुगेको ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ को आन्दोलन समयको माग मात्र थिएन, मानिसले मेसिन हुनबाट बच्न गरेको विद्रोह थियो । त्यो आन्दोलनले स्थापित गरेको ‘श्रमको मूल्य’ आज डेढ शताब्दी पुग्न लाग्दा पनि अझै पूर्ण रूपमा प्राप्त हुन सकेको छैन ।
इतिहासका पाना पल्टाउँदा देखिन्छ– ठूला–ठूला पिरामिडदेखि ग्रेटवालसम्म र भव्य महलदेखि आधुनिक महानगरसम्म सबैको जगमा श्रमिकको रगत र पसिना मिसिएको छ । विडम्बना ! ती संरचना बनाउनेहरूको नाम इतिहासको मूल पाठमा कतै भेटिँदैन । शासकहरूको नाम शिलालेखमा कोरियो, तर शिला काट्नेहरूको हत्केलाका ठेलाहरू कतै अभिलेखित भएनन् ।
हाम्रो समाजमा एउटा गजबको विरोधाभास छ । हामी एउटा पेन्टरले क्यानभासमा कोरेको रङलाई ‘कला’ भन्छौं र लाखौंमा किन्छौं, तर चर्को घाममा नुनिलो पसिना मिसाएर पर्खालमा ‘प्लास्टर’ गर्ने डकर्मीको कौशललाई ‘मजदुरी’ को बिल्ला भिराएर दुई–चार सयमा खुम्च्याइदिन्छौं । के एउटा लेखकले शब्दसँग खेल्नु र एउटा सिकर्मीले काष्ठकलामा प्राण भर्नुमा फरक छ ? फरक त हाम्रो हेराइमा छ । के एउटा सिर्जनाको मूल्य त्यसलाई बनाउँदा लागेको समय र सीपले निर्धारण गर्छ कि निर्माताको सामाजिक स्तरले ?
हामीले ‘ह्वाइट कलर’ र ‘ब्लु कलर’ को एउटा नदेखिने पर्खाल खडा गरेका छौं, जसले एकातिर बौद्धिकताको भ्रम बाँड्छ र अर्कोतिर शारीरिक मिहिनेतलाई घृणाको नजरले हेर्छ । श्रमिकलाई दया होइन, मर्यादा चाहिएको हो । उनीहरूलाई दान होइन, उनीहरूको सिर्जनाको स्वामित्व चाहिएको हो ।
कार्ल मार्क्सले दशकौं पहिले ‘एलियनेसन’ अर्थात् अलगावको कुरा गरेका थिए । मानिस जब आफूले उत्पादन गरेको वस्तुबाटै अलग हुन्छ, तब उसको सिर्जनात्मकता मर्छ । आजको कर्पोरेट र डिजिटल युगमा यो झनै भयावह भएर आएको छ ।
अहिलेको स्वतन्त्र श्रम बजार (गिग इकोनोमी) ले त श्रमिकलाई झन् एउटा अनौठो भ्रममा पारिदिएको छ । ‘आफ्नो मालिक आफैँ’ भन्ने नाराको खोलभित्र एल्गोरिदमको दासत्व लुकेको छ । यद्यपि, प्रविधि आफैँमा दोषी होइन, यसले रोजगारीका नयाँ ढोका पनि खोलेको छ । चुनौती त प्रविधिलाई मानवीय अनुहार दिनुमा छ ।
श्रमको कुरा गर्दा हामी सधैं सडक र कारखानाको कुरा गर्छौं, तर घरभित्रको त्यो ‘अदृश्य योगदान’ लाई भुल्छौं, जसले यो संसारलाई टिकाइराखेको छ । विभिन्न अध्ययनहरूका अनुसार महिलाले घरभित्र गर्ने बेतलबी ‘केयर वर्क’ (हेरचाहको श्रम) को मौद्रिक मूल्य विश्वको कुल गार्हस्थ्य उत्पादनको करिब ९ प्रतिशत वा सो भन्दा बढी हुन आउँछ ।
दुर्भाग्य ! पितृसत्तात्मक सोचले त्यसलाई ‘कर्तव्य’ वा ‘माया’ को नाम दियो र श्रमको परिभाषाबाटै बाहिर राखिदियो । के मायाको नाममा हामीले श्रमको एउटा विशाल हिस्सालाई अदृश्य बनाइराख्न मिल्छ ? सभ्यताको जग त वास्तवमा त्यहीँ छ, जहाँ कसैको भोक मेटाउन बिहानैदेखि कसैका हातहरू आगोसँग खेलिरहेका हुन्छन् । जबसम्म घरभित्रको श्रमलाई आर्थिक र सामाजिक रूपमा सम्मान गरिँदैन, तबसम्म श्रमको बहस अधुरै रहनेछ ।
श्रमिक दिवसको सार्थकता श्रमलाई सास्तीबाट संस्कृतिमा बदल्ने संकल्पमा निहित छ । यसका लागि हाम्रो शिक्षा प्रणालीले केवल ‘करियर’ होइन, ‘कौशल’ सिकाउनुपर्छ । जब एउटा विद्यार्थीले विद्यालयमै काष्ठकला, प्लम्बिङ वा आधुनिक कृषि प्रविधिको महत्त्व र त्यसको विज्ञान बुझ्छ, तब उसको मानसपटलबाट श्रमप्रतिको घृणा हट्छ । शिक्षाले डिग्रीलाई सामाजिक प्रतिष्ठाको मानक बनाउनुको सट्टा सीपलाई आत्मनिर्भरताको मुहान बनाउनुपर्छ ।
त्यसैगरी, न्यूनतम पारिश्रमिक केवल कागजमा तोकिएर पुग्दैन । यसको कार्यान्वयनमा राज्यको कठोर अनुगमन चाहिन्छ । विशेषगरी अनौपचारिक क्षेत्र जस्तैः घरेलु कामदार, कृषि मजदुर र निर्माणकर्मीलाई सामाजिक सुरक्षा कोषको छातामुनि ल्याउनु अनिवार्य छ ।
सामाजिक लोकतन्त्रको पहिलो सर्त नै श्रमको सम्मान हो । जबसम्म समाजले जुत्ता सिउनेको सीप र सफ्टवेयर बनाउनेको बुद्धिमा भिन्नता देख्छ, तबसम्म हामी साँच्चै आधुनिक हुन सक्दैनौं । हामीलाई यस्तो सांस्कृतिक क्रान्ति चाहिएको छ, जसले मानिसको ओहोदा उसको ‘पद’ बाट होइन, उसको सिर्जनात्मक योगदानबाट नापोस् ।
पसिनाको कुनै निश्चित रङ हुँदैन । तथापि, जब यो माटोमा मिसिन्छ, यसले सभ्यताको रङ बदल्ने सामर्थ्य राख्छ । वास्तवमा पसिना शरीरबाट बगेको त्यो ‘सेतो रगत’ हो, जसले यो संसारको क्यानभासमा विकासका बुट्टाहरू भरेको छ । श्रमिकहरू सभ्यताका ती मौन निर्माता हुन्, जसले कोलाहल नगरी यो संसारलाई बस्न योग्य बनाइरहेका छन् । उनीहरूको हत्केलामा परेका ठेलाहरू श्रमका डोब मात्र होइनन्, ती त यो धर्तीको भविष्य लेख्ने जीवन्त अक्षरहरू हुन् ।
अबको मे १ मा हामीले श्रमिकको ‘मुठी’ मात्र होइन, उसको ‘मस्तिष्क’ र ‘मुटु’ को पनि सम्मान गर्न सिक्नुपर्छ । श्रमिक दिवस तब मात्र सार्थक हुनेछ, जब हामी सडक बढार्नेको हातमा कुचो होइन, ‘सभ्यता सफा गर्ने कुची’ देख्न थाल्नेछौं । जब हामी एउटा शिल्पकारको निधारबाट खसेको थोपामा सूर्यको किरण पर्दा देखिने इन्द्रेणीको सौन्दर्य र त्यसको मूल्य बुझ्नेछौं ।
(सिवा समाजशास्त्रका विद्यार्थी हुन् । उनी महिला, बालबालिका तथा दलित अधिकार तथा न्यायको पक्षमा लेख्छिन्)
