संविधान संशोधनको पहललाई निष्कर्षमा पुर्‍याउन सबैको साथ

२१ फागुनको निर्वाचनका लागि प्रस्तुत वाचापत्रमा रास्वपाले ‘सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे ‘बहसपत्र’ तयार गर्नेछौं’ भनेको थियो । ऊ झन्डै दुईतिहाइ सिटसहितको सत्ताधारी दल बनेपछि संविधान संशोधनको एजेन्डालाई कुलशतापूर्वक निकास दिनुपर्ने दायित्व उसकै काँधमा आएको छ ।

वैशाख १०, २०८३

सम्पादकीय

Everyone's support to bring the initiative to a conclusion on constitutional amendment

What you should know

नवगठित सरकारले कार्यदल गठन गरेसँगै दलहरूबीच संविधान संशोधनका विषयमा अन्तर्क्रिया सुरु भएको छ । कार्यान्वयनको दसवर्षे अनुभवका आधारमा संविधानमा संशोधन गरिनुपर्ने आवाज सत्तादेखि सडकसम्मको विषय बने पनि त्यसका लागि ठोस पहल हुन सकेको थिएन । १६ चैतको मन्त्रिपरिषद् बैठकबाट गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले राजनीतिक दलहरूबाट सुझाव मागेको र दलहरूले दिन थालेकाले यो विषय सकारात्मक रूपमै अघि बढ्ने विश्वास गर्न सकिन्छ ।

संविधान संशोधनको आवश्यकता सबै पक्षलाई बोध भइसकेको, त्यसका लागि औपचारिक/अनौपचारिक रूपमा प्रतिबद्धता पनि व्यक्त भएको र चुनावी एजेन्डा पनि बनिसकेको विषय हो । त्यसैले सकारात्मक वातावरणमा सौहार्दपूर्ण ढंगबाट दलहरूले संविधान संशोधनको विषयलाई निष्कर्षमा पुर्‍याउनुपर्छ । त्यसपछि नै संविधान संशोधनपछि आउन सक्ने राजनीतिक र शासकीय सुधारको अपेक्षा पनि परीक्षण हुनेछ ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को गठन गरेको थियो । कार्यदलमा रास्वपा, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा नेपाल, लोसपा तथा राजमोका प्रतिनिधिहरू पनि छन् । २५ चैतमा बसेको कार्यदलको बैठकपछि राजनीतिक दलको धारणा लिन थालिएको छ । दुई वटा दलहरू जनमोर्चा र लोसपाले आफ्नो धारणा बुझाइसकेका छन् ।

कांग्रेसले भने स्वयं पनि अध्ययन गर्नका लागि समिति गठन गरेको छ र त्यसको निष्कर्षका आधारमा कार्यदलसमक्ष धारणा बुझाउनेछ । अन्य दलहरूले पनि धारणा बुझाउने तयारी गरेका छन् । कार्यदलले पार्टीहरूका धारणाका अतिरिक्त विज्ञहरूले उठाएका विषय पनि अध्ययन गर्नेछ । उसले साझा र फरक धारणासहितको बहसपत्र तयार पारेर सरकारलाई बुझाउनेछ । त्यसपछि सरकारले संविधान संशोधन विधेयक अघि बढाउने वा आयोग गठन गरेर त्यसको प्रतिवेदनपछि विधेयक अघि बढाउने निर्णय लिन सक्छ ।

३ असोज २०७२ मा संविधान जारी भएपछि यसका मूलभूत धाराहरू कार्यान्वयनमा आइसकेका छन् । त्यसका कैयौं सकारात्मक र नकारात्मक अनुभव पनि हासिल भइसकेका छन् । संविधानको सबल पक्ष र कमजोर पक्ष पनि सतहमा आइसकेको छ । त्यसैले पनि संविधान संशोधन करिब राष्ट्रिय एजेन्डा नै बनिसकेको छ । यद्यपि, कहाँ कस्तो संशोधन भन्नेमा भने दलहरूबीच मतैक्य छैन । कतिपय दलले अभ्यासका क्रममा देखिएका कमजोरीहरूबाट सिक्दै संविधानमा सुधार खोजेका छन् ।

कतिपय दलले संविधानमा उथलपुथल ढंगले संशोधन गर्दै शासकीय स्वरूप र राजनीतिक व्यवस्थाकै विकल्प चाहेका छन् । त्यसैले पनि संविधान संशोधनको मुद्दा संवेदनशील छ । दलहरूले आ–आफ्ना एजेन्डा अनुसार संविधानमा संशोधन चाहने र त्यसका लागि दबाब सिर्जना गर्न खोजे भने अहिलेको प्रयत्नले नयाँ किसिमको राजनीतिक तनाव सिर्जना गर्न पनि सक्छ ।

कतिपय दलले संविधानमा उथलपुथल ढंगले संशोधन गर्दै शासकीय स्वरूप र राजनीतिक व्यवस्थाकै विकल्प चाहेका छन् । त्यसैले पनि संविधान संशोधनको मुद्दा संवेदनशील छ । असार २०८१ मा कांग्रेस र एमालेले सत्ता साझेदारीको सहमति गर्दा संविधान संशोधनको एजेन्डालाई पनि समेटेका थिए । त्यहाँ ‘संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन’ गर्ने भनिएको थियो । तर सत्तामा रहुञ्जेल उनीहरूले यो विषयलाई प्राथमिकता दिएनन् । जेन–जी आन्दोलनपछि भने यो विषय अघि बढ्न सकेन ।

२१ फागुनको निर्वाचनका लागि प्रस्तुत वाचापत्रमा रास्वपाले ‘सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे ‘बहसपत्र’ तयार गर्नेछौं’ भनेको थियो । ऊ झन्डै दुईतिहाइ सिटसहितको सत्ताधारी दल बनेपछि संविधान संशोधनको एजेन्डालाई कुलशतापूर्वक निकास दिनुपर्ने दायित्व उसकै काँधमा आएको छ । उसले नै आफ्ना तथा अन्य दलका एजेन्डामा विमर्श गर्ने र साझा निष्कर्ष खोज्ने विषयलाई प्राथमिकता दिनुपर्छ ।

संविधानमा संशोधन गरिनुपर्छ । तर, यो संवेदनशील विषय भएकाले सतर्क पनि हुनुपर्छ । किनकि, संशोधनको सम्पूर्ण पहलमा मुख्य राजनीतिक दलहरूले अपनत्व लिन सक्ने हुनुपर्छ । संविधानसभा गठनका लागि तयार भएको तत्कालीन राजनीतिक परिस्थितिको बोध गरिनुपर्छ । अर्कोतर्फ, २०७२ मा जारी संविधान सहमतिको दस्तावेज हो । संविधान जारी गर्ने मूल उद्देश्यलाई साकार पार्नका लागि त्यतिबेला धेरै दलले आफ्ना कैयौं एजेन्डा छाडेका थिए । त्यतिबेला विभिन्न शक्तिकेन्द्रको दबाब पनि झेलेका थिए ।

अहिले संविधान संशोधनको पहल हुँदा त्यतिबेला स्थगित गरिएका एजेन्डा पुनः ब्युँतिन सक्छन् । त्यतिबेला सक्रिय भएका शक्तिकेन्द्र पुनः सक्रिय हुन सक्छन् । जसले गर्दा राजनीति नै तरल बन्ने, विषय गिजोलिने, कुनै निष्कर्षमा नपुगिने बरु संविधानमाथि नै खतरा निम्तिने अवस्था बन्न सक्नेमा सचेत हुनुपर्छ । संविधान संशोधनको पहलले सकारात्मक नतिजा दिनुपर्छ, ‘पान्डोराज बक्स’ खोलिए जस्तो हुनुहुँदैन ।

असिम शाह नेतृत्वको कार्यदलले बहसपत्र मात्रै तयार गर्नेछ । संविधान संशोधनसम्मको यात्रा भने अझै लामो छ । तसर्थ, अहिले भइरहेको पहल अत्यन्तै प्रारम्भिक अवस्थामा छ । त्यसका लागि दलहरूले जिम्मेवार ढंगले आ–आफ्नो धारणा र एजेन्डा प्रस्तुत गर्नुपर्छ । सम्पूर्ण प्रक्रियालाई सकारात्मक लक्ष्यप्राप्तितर्फ केन्द्रित गर्नुपर्छ । र, यो पहललाई निष्कर्षमा पुर्‍याउँदै संविधानलाई थप समृद्ध बनाउनुपर्छ । संविधान बलियो बन्ने भनेकै समयानुकूल संशोधन गरेर हो ।

हाम्रो संविधानले पनि संशोधनको मार्ग खुला गरेको छ । तैपनि जुन राजनीतिक पृष्ठभूमिमा संविधान लेखनको काम भएको थियो, त्यसलाई स्मरण भने गर्न जरुरी छ । त्यसको मर्म हो– बलमिच्याइँबाट होइन, बृहत्तर संवाद र सहमतिबाट संविधान संशोधन हुन सक्छ । यद्यपि, यस पटकलाई दलहरूबीच सहमति भएका विषयमा संविधान संशोधन गर्ने र असहमतिका विषयलाई आफ्नो राजनीतिक एजेन्डा बनाएर अघि बढ्ने विकल्प सबैलाई उपलब्ध छ । अहिलेलाई भने सरकारले सुरु गरेको सकारात्मक पहललाई निष्कर्षमा पुर्‍याउन सबैको साथ अपरिहार्य छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully