मूल्याकंन प्रणालीको 'रि-डिजाइन'*

परीक्षाको प्रारम्भिक लक्ष्य हुन्छ– विद्यार्थीले सिके वा सिकेनन् ? त्यो परीक्षण गर्नु । केही सिक्नुको अर्थ यसलाई भण्डार गर्नु होइन । बरु, त्यसको प्रयोग गर्न सक्षम हुनु हो । ज्ञानको इमान्दार परीक्षण ‘के तपार्इंले यो सम्झिन सक्नुहुन्छ ?’ होइन, ‘यसबाट केही नयाँ गर्न सक्नुहुन्छ ?’ हुनुपर्छ ।

वैशाख ८, २०८३

सलोम भट्ट

'Re-design' of the evaluation system*

What you should know

कक्षा १ देखि ५ सम्म आन्तरिक लिखित परीक्षालाई विस्थापित गर्ने सरकारको नयाँ निर्देशिका एउटा उत्कृष्ट वाचा हो । बालबालिकामा तनाव घटाउन यो सुधार अघि बढाइएको छ । यो विषय राम्रोसँग बुझेर साँचो मूल्यांकन गर्‍यौं भने भविष्यमा नेपाललाई पनि परिवर्तन गर्न सक्छौं । 

यस क्षणमा नेपाल राजनीतिक रूपान्तरणबाट गुज्रिएको छ । हामी सबैले आफैंलाई सोध्नुपर्छ– भविष्यका नेपाली नागरिक कस्ता बनुन् भन्ने चाहन्छौं ?

आफ्ना सन्तानलाई वास्तविक जीवनका समस्या समाधान गर्ने सक्षम व्यक्ति बनाउन परम्परागत परीक्षाबाट अघि बढेर वास्तविक नतिजा आउने गरी डिजाइन गरिएको मूल्यांकनबारे सोच्नुपर्छ । पहिलो पटक हार्वर्ड आउँदा सबै कक्षाहरूमा मेरो प्रस्तुति कमजोर थियो । असाइनमेन्टमा स्पष्टै लेखिएको भए पनि ‘आफ्नो सब्मिसनमा के समावेश गर्ने ?’ यो दुविधा मलाई हुन्थ्यो । 

यहाँ मूल्यांकन फरक थिए । यहाँ ‘राम्रो काम’ कस्तो देखिन्छ ? मेरा सहपाठी, शिक्षक टोली, परीक्षा र असाइनमेन्टले के सोधिरहेका छन् ? यो बुझ्न मलाई झन्डै एक वर्ष लाग्यो । 

मैले महसुस गरें– कोर्सबुकले परीक्षामार्फत कन्सेप्ट पुनर्उत्पादनको माग गरिरहेको थिएन । बरु, यसले आफ्नो ज्ञानको निर्माणलाई तथ्यमार्फत सञ्चार गर्न र  ज्ञानमार्फत ‘मैले के निर्माण गर्न सक्छु ?’ भनी प्रस्तुत गर्न माग गरिरहेको थियो । अहिले मलाई महसुस हुन्छ– यी अनुभवले मेरो सिर्जना गर्न सक्ने सामर्थ्य र सिकेर बाँच्ने तरिका परिवर्तन गरिदिए । 

त्यस अनुभवले मभित्र केही सोच सल्बलायो– नेपाल र भारतमा मेरो पढ्ने अनुभवलाई केवल लिखित परीक्षाले मूल्यांकन गरिरहेको थियो । यसमा एउटै मात्र सीपको परीक्षा हुन्थ्यो, त्यो हो– स्मरण क्षमता । 

परीक्षाको उद्देश्य हेरौं न । यसको प्रारम्भिक लक्ष्य हाम्रा विद्यार्थीले सिके वा सिकेनन् भनेर परीक्षण गर्नु हो । केही सिक्नुको अर्थ यसलाई भण्डार गर्नु होइन । बरु, त्यसको प्रयोग गर्न सक्षम हुनु हो । त्यही कारण कसैको ज्ञानको इमानदार परीक्षण ‘के तपाईंले यो सम्झन सक्नुहुन्छ’ होइन, ‘यसबाट केही नयाँ गर्न सक्नुहुन्छ ?’ हुनुपर्छ । नेपालमा विद्यमान लिखित परीक्षा प्रणालीले यी उद्देश्य हासिल गरेका छैनन् । 

खासमा यो १ सय पूर्णाङ्कको लिखित परीक्षाले हाम्रो सिर्जना र आविष्कार गर्न सक्ने सामर्थ्यलाई पछाडि धकेलिदिएको छ । यस विषयमा म विश्वस्त छु ।  अहिलेको हाम्रो परीक्षण प्रणालीले स्मरण गर्ने क्षमतालाई मात्रै पुरस्कृत गर्छ । नेपाली युवाहरूको वास्तविक सम्भावना आउटडेटेड स्मरण अभ्यासमा खेर गइरहेको छ । 

हामीले आफ्नो वर्षौंदेखिको जिज्ञासा र प्रयोगलाई बेचेर स्मरण फर्काउने कोसिस गरिरहेका छौं । हाम्रा पुर्खाहरूले हामीलाई वास्तविक प्रयोग र कलाको विरासत छाडेर गए । हँसिया, सारङ्गी र डोकोजस्ता सामग्री आवश्यकता र आविष्कारले नै जन्मिएका थिए । 

आज हामीले हाम्रा आसपास सबै आयातित सामग्री, नक्कल गरिएका आविष्कार र सेकेन्ड–ह्यान्ड जीवनशैली देखिरहेका छौं । यो सबै हाम्रो ‘कपी–पेस्ट १०० पूर्णाङ्कको परीक्षाको नतिजा’ हो । 

यदि यी परम्परागत परीक्षाहरूले आफ्नो लक्ष्य हासिल गर्न असफल हुन्छन् भने हामीले कसरी सिकाइ प्रणाली बनाउने ? के परीक्षण गर्ने ? के विषयलाई पुरस्कृत गर्ने ?

विद्यार्थीहरूलाई नेपाली समुदायमा आविष्कारक र सर्जक बनाउन दुई विषय सबैभन्दा महत्त्वपूर्ण छ– सिर्जना गर्ने क्षमताको आधार र सिकाइ अनुभवका आधारमा विद्यार्थीको मूल्यांकन । 

सान्दर्भिक र व्यक्तिगत परियोजनामा आधारित मूल्यांकनले विद्यार्थीहरूलाई आफ्नो सिकाइमा आधारित सिर्जनात्मक तथ्य तयार गर्न माग गर्छ । विश्वभरका शैक्षिक संस्थाले अवलम्बन गरिरहेको यस्तो शैली नेपालमा ल्याउन ढिला भइसकेको छ । 

विद्यार्थीहरूले बनाएका समूह परियोजना, निबन्ध, आफ्नो विचार प्रक्रिया झल्काउने सामग्री, लिखित परीक्षालगायत विविध सामग्रीमा आधारित रहेर हामीले मूल्यांकन संयन्त्र बनाउनुपर्छ । त्यही आधारमा उनीहरूलाई पुरस्कृत पनि गर्नुपर्छ । 

एउटा मूल्यांकन अभ्यासबाट धेरै वटा अभ्यासमा जाने प्रक्रिया पक्कै सहज छैन । यसका लागि पाठ्यसामग्री कसरी तयारी गरिन्छ र प्रयोगमा ल्याइन्छ भन्ने विषयमा चिन्तन जरुरी छ । पाठ्यक्रम डिजाइनको आविष्कार जरुरी छ । यो प्रस्तावको केन्द्रमा हाम्रो लक्ष्यको रूपान्तरण पर्छ । हरेक पाठ र युनिटले विद्यार्थीलाई बुझाइबाट सिर्जनातर्फ लैजानुपर्छ । 

हामी प्रदूषणको परिभाषाबारे विज्ञान र वातावरणका पाठ्यपुस्तकमा पढ्छौं । विद्यार्थीहरूलाई प्रश्न सोधिन्छ– ‘वायु प्रदूषण के हो ? केही कारणसहित व्याख्या गर्नुस् ।’

यसको सट्टा– ‘तपाईंले स्थानीय वडाका अधिकारीहरूसँग कुराकानी गरेपछि वायु प्रदूषणबारे तपाईंको धारणामा के परिवर्तन आयो ? कसरी ?’ सोध्न सकिन्छ । 

यस्ता सिर्जनात्मक परीक्षा प्रश्नले विद्यार्थीलाई आफ्नै सिकाइ अनुभवका आधारमा उत्तर दिने राम्रो अवसर प्रदान गर्छ । यस्ता प्रश्नले व्यक्तिगत अनुभव, सिर्जनात्मक सोचाइ र तथ्यमा आधारित आविष्कारलाई पनि प्रोत्साहित गर्छ । 

यसले कक्षाकोठा बदल्छ । शिक्षकले सहजीकरण गर्छन्, विद्यार्थीले अर्थपूर्ण अनुभव सँगाल्छन् र ज्ञानलाई विनिर्माण गरिन्छ, न कि हस्तान्तरण । 

यस्ता तथ्यगत मूल्यांकनले हामी कसरी पढाउँछौं, सिक्छौं र बाँच्छौं भन्ने सोच नै बदल्छ । शैक्षिक सुधारको वैश्विक बेन्चमार्क ब्लुम्स टाक्सोनोमीले ज्ञान केवल सुरुवात मात्रै रहेको स्मरण गराउँछ । विद्यार्थीले आफूले जानेको विषयबाट केही सिर्जना गर्ने अवस्थालाई नै सिकाइको उच्चतम तह मानिन्छ । आफ्नो ज्ञानबाट केही सिर्जना गर्ने विद्यार्थीको खुबीको मापन गर्न जाँच मात्रै पर्याप्त छैन । 

विद्यार्थीको अनुभवलाई मूल्यांकन गर्नु पनि उत्तिकै जरुरी छ । मेरो व्यक्तिगत अवलोकनमा हार्वर्डजस्ता ठूला विश्वविद्यालयले हरेक सेमेस्टरमा दुई वा तीन पटक आफ्नो विद्यार्थीलाई कोर्सबारे लिखित मूल्यांकन गर्न लगाउँछन् । यो उनीहरूको ठूलो प्राथमिकतामा पर्छ । यी मूल्यांकनले शैक्षिक सामग्रीको लक्षित नतिजा आयो वा आएन भन्ने निर्धारण गर्छन् । यसले शिक्षकलाई विद्यार्थीको अपेक्षा बुझ्न र आवश्यकताअनुसार शिक्षण टिम फेरबदल गर्न पनि सहयोग गर्छ । यो सामान्य प्रतिक्रिया लिने शैलीले नेपाली शिक्षा प्रणालीमा पनि धेरै समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्छ । 

यदि नेपाली शिक्षण संस्थाहरू आफ्ना विद्यार्थीले महत्त्वपूर्ण ठानेका विषय निर्माण गर्न चाहन्छन् भने पहिले विद्यार्थीलाई नै यसबारे सोध्नुपर्छ । अन्त्यमा विद्यार्थी नै उनीहरूको शिक्षाका सबैभन्दा ठूलो सरोकारवाला हुन् । शिक्षालाई समयानुकूल सिर्जनात्मक बनाउन उनीहरूको ‘आउटपुट’ महत्त्वपूर्ण छ । 

परिवर्तनको खाँचो अहिले सबैभन्दा धेरै देखिएको छ । भर्खरै एसईई परीक्षा दिएका जोकोही विद्यार्थीभन्दा चाँडो तथ्य स्मरण गर्ने काम कृतिम बुद्धिमत्ता (एआई) ले गर्न सक्छ । यदि सूचना कण्ठस्थ गर्न वा सम्झिने खुबी मात्रै परीक्षाको आधार हो भने हामीले एआईसँग हारिसकेका छौं । 

यस प्रणालीलाई हामीले यथावत् राख्दा नेपालले दुई तरिकाले हार्नेछ— पहिलो, नेपाली विद्यार्थीको स्मरण–कलाले बाँकी विश्वमा कुनै अर्थ राख्ने छैन । दोस्रो, ती विद्यार्थीलाई आफ्नै देशको साँचो समस्या कसरी समाधान गर्ने भन्ने पनि थाहा हुने छैन । 

शैक्षिक सुधार निकै ठूलो र गम्भीर विषय हो । यसका आफ्नै जटिलता छन् । तसर्थ, मूल्यांकन प्रणाली ‘रि–डिजाइन’ गर्ने काममा हामीले निकै विचार गर्नुपर्छ । र, यो काममा हामीले ध्यानकेन्द्रित गर्नुपर्छ । 

हामीले जसरी नेपाली विद्यार्थीको मूल्यांकन गरिरहेका छौं, त्यसमा अब पुनर्मूल्यांकन जरुरी छ । र, त्यसैअनुसार शैक्षिक प्रणाली डिजाइन गर्नुपर्छ । 

(यो आलेख ‘नेपाल डिस्कोर्स’ सँगको सहकार्यमा तयार पारिएको विचार शृंखलाको एक हिस्सा हो । हार्वर्ड विश्वविद्यालय र एमआईटीमा भेला भएर ‘द नेपाल डिस्कोर्स’ का सहभागीले आगामी दशकका लागि नेपालको रणनीतिक योजनाबारे छलफल गरिरहेका छन् ।) 

*यसअघि 'परीक्षाले नै निर्धारण गर्नेछ हाम्रो भविष्य' शीर्षक राखिएकोमा लेखको अर्थ फरक पर्ने देखिएकाले शीर्षक बदलिएको छ । 

सलोम (सलोम हार्वर्ड विश्वविद्यालयमा लर्निङ एक्सपेरियन्स डिजाइनर र टिचिङ फेलो हुन् ।)

Link copied successfully