आर्थिक बाध्यताले दुवै अभिभावक काममा निस्कनुपर्ने कतिपय परिवारका बालबालिका घरबाहिरको असुरक्षित परिवेशकै कारण कोठाभित्रै बन्दी छन् । र, आफ्नो खेललाई पूर्ण रूपमा अनलाइनमा सार्न बाध्य छन् ।
थबाङको एक सामुदायिक विद्यालयदेखि हार्वर्डसम्मको मेरो शैक्षिक यात्रा केवल पाठ्यपुस्तकले तय गरेको होइन । यसको जग त बालापनको मेरो स्वच्छन्द खेल–समयमै बसेको थियो । गोठालो जाँदा खोलाको बहावसँग साटिएका सम्झौता र गाउँघरमा खेलेका भाँडाकुटीका मर्महरूका आधारमै मेरा जीवनका सबैभन्दा महत्त्वपूर्ण कदम अडिएका छन् । राष्ट्रिय पौडी प्रतियोगिताको सफलता र समाजका विभिन्न आयामको गहन अध्ययन यस्तै स्वच्छन्द खेल–समयका प्रतिफल हुन् ।
तर, वर्तमान पुस्ताका धेरै बालबालिकाका लागि मेरो यो अनुभव एकादेशको दन्त्यकथा भइसकेको छ । धेरैजसो बालबालिकाको खेल घरको आँगनमै सीमित छ । अझ अवसरको खोजीमा बसाइँसराइ गरी सहरका साँघुरा गल्लीका कोठामा ओत लागेका परिवारका बालबालिकालाई त खुला खेल मैदान पहुँचमै छैन ।
आर्थिक बाध्यताले दुवै अभिभावक काममा निस्कनुपर्ने कतिपय परिवारका बालबालिका घरबाहिरको असुरक्षित परिवेशकै कारण कोठाभित्रै बन्दी छन् । र, आफ्नो खेललाई पूर्ण रूपमा अनलाइनमा सार्न बाध्य छन् । नेपालका बालबालिकाले भौतिक र मानसिक दुवै ‘स्पेस’ गुमाउँदै गएका छन् ।
आर्थिक बाध्यताले दुवै अभिभावक काममा निस्कनुपर्ने कतिपय परिवारका बालबालिका घरबाहिरको असुरक्षित परिवेशकै कारण कोठाभित्रै बन्दी छन् । र, आफ्नो खेललाई पूर्ण रूपमा अनलाइनमा सार्न बाध्य छन् ।आधुनिक सहरी योजनाको एउटा मुख्य कमजोरी हो– हामीले बालबालिकालाई एक स्वतन्त्र नागरिकका रूपमा कहिल्यै हेरेनौं । उनीहरूलाई केवल अभिभावकमाथि आश्रित एक समूहका रूपमा मात्रै सीमित राख्यौं । त्यसैले हाम्रा संरचना बनाउँदा बालबालिकाका आवश्यकता नीतिगत रूपमै सधैं ओझेलमा परे । हालै पारित राष्ट्रिय सहरी नीति, २०८१ मा पनि सुरक्षित खेल क्षेत्रको न्यूनतम मापदण्ड तोकिएको छैन ।
तीव्र र अव्यवस्थित सहरीकरणका कारण काठमाडौंमा सन् १९८९ देखि २०१६ को बीचमा मात्रै भौतिक संरचना ओगटेको क्षेत्र करिब ४ सय १२ प्रतिशतले बढेको थियो । अहिले काठमाडौं महानगरपालिकामा प्रतिव्यक्ति जम्मा करिब ०.२५ वर्गमिटर खुला क्षेत्र उपलब्ध छ । यसको अर्थ हो– प्रत्येक काठमाडौंवासीको भागमा एउटा नाङ्लो जत्ति मात्रै खुला क्षेत्र पर्छ । विश्व स्वास्थ्य संस्थाले सुझाव दिएको न्यूनतम ९ वर्गमिटरभन्दा निकै कम हो, यो क्षेत्र । नेपालका अन्य सहर पनि बिस्तारै यही स्वरूपमा अग्रसर छन् ।
हुन त सहरको तुलनामा पर्याप्त खेल मैदान भएको गाउँका बालबालिका पनि अब खेल मैदान अनलाइन सार्ने प्रवृत्तिबाट वञ्चित छैनन् । सामाजिक सञ्जाल र ‘अनलाइन गेम’ लाई नियोजित रूपमै लत लाग्ने खालको बनाउने होडबाजी छ । यस मुद्दामा हालै अमेरिकाका क्यालिफोर्निया र न्यु मेक्सिकोका अदालतले ‘मेटा’ र ‘युट्युब’ जस्ता कम्पनीलाई करोडौं डलर जरिवाना र क्षतिपूर्तिको ऐतिहासिक फैसला पनि सुनाएका छन् । उपयोगिता र लतको सूक्ष्म रेखा चिन्न नसक्ने बालबालिकाले यस नियोजित होडबाजीको प्रतिरोध गर्ने सामर्थ्य कहाँबाट ल्याऊन् ? आजकाल आफ्नो वरपरको वातावरणलाई नियालेर हेर्ने चम्किला आँखाहरू, संसारलाई बुझ्न खोजिरहेका कलिला मस्तिष्कहरू अनि साना सिर्जनशील हातहरू फोनको स्क्रिनमा पुगेर टक्क अडिएका छन् ।
आफैंतिर फर्केर हेर्दा, साथीसंगीसँग खोला रोकेर पौडी सिक्नु एक सामाजिक इन्टर्नसिप थियो । गह्रुँगा ढुंगा उचाल्न सक्नेले ढुंगा पल्ट्याउँथे । रुख चढ्न सक्नेले स्याउला ल्याउँथे । ढुंगा र स्याउला लिई जान्नेहरू खोलाको बहावले नढाल्ने बाँध बनाउँथे । कति गहिराइ र कति चौडाइ चाहिन्छ ? वार्ता हुन्थ्यो । अरूको सिको गरेर आफ्ना स्टन्टहरू तिखार्ने जमर्को हुन्थ्यो । सिक्ने, सिकाउने, नसिकाउने लेखाजोखा हुन्थ्यो । जोखिमपूर्ण स्टन्ट गर्ने साथी भेटिन्थे । जोखिमपूर्ण स्टन्ट गर्दा कान समात्ने दाइ–दिदी पनि भेटिन्थे । जोखिमपूर्ण स्टन्ट गर्न हौस्याउने दर्शक पनि भेटिन्थे । थाहै नपाई ती उछलकुदहरूमार्फत हामीले समाजमा हुने सामूहिक सहकार्यलाई एउटा ऐनामा हेरिरहेका थियौं ।
स्वच्छन्द खेललाई बालबालिकाको सामाजिक इन्टर्नसिपको संज्ञा दिनु मेरो स्मृतिमा गाडिएको एउटा उद्घोष मात्रै होइन, वैज्ञानिक चिन्तनले प्रमाणित गरेको तथ्य पनि हो । सामाजिक इन्टर्नसिपअन्तर्गतका यी खेल बालबालिकाहरू आमनेसामने खेल्छन् । बालबालिकाले खेलको संरचना, मर्यादा, सामग्री र उद्देश्य– सबै आफ्नै स्वायत्ततामा निर्धारण गर्छन् । विश्व प्रसिद्ध मनोवैज्ञानिक जोनाथन हेड्टले आफ्नो किताब ‘द एङ्सियस जेनेरेसन’ मा विश्वभर यस्ता प्रत्यक्ष सामाजिक इन्टर्नसिपका अवसर घट्दै गएकामा ध्यानाकर्षण गरेका छन् ।
बालबालिकाले खेलको संरचना, मर्यादा, सामग्री र उद्देश्य– सबै आफ्नै स्वायत्ततामा निर्धारण गर्छन् । विश्व प्रसिद्ध मनोवैज्ञानिक जोनाथन हेड्टले आफ्नो किताब ‘द एङ्सियस जेनेरेसन’ मा विश्वभर यस्ता प्रत्यक्ष सामाजिक इन्टर्नसिपका अवसर घट्दै गएकामा ध्यानाकर्षण गरेका छन् । तीव्र र अव्यवस्थित सहरीकरण भइरहेको थबाङमा अचेल बालबालिकाले बनाएका पौडी पोखरी विरलै देखिन्छन् । आँगनमा भाँडाकुटीका निसान घट्दै गएका छन् । थबाङको यो मुहार समग्र देशभरिको गाउँ र सहरको लघु रूप हो । यी परिवर्तन बालबालिकाका दोष होइनन्, बरु हाम्रा असफलताका उपज हुन् । आफ्नो अधिकारको वकालत आफैं गर्न नसक्ने ती अबोध बालबालिकाका लागि खेल्ने र सिक्ने सुरक्षित वातावरण निर्माण गरिदिनु नै आजको हाम्रो सबैभन्दा ठूलो दायित्व हो ।
यो दायित्व पूरा गर्न हाम्रा नीति र प्राथमिकता नै बालबालिकाको सर्वाङ्गीण हितमा केन्द्रित हुनुपर्छ । यसको सुरुवात ठूला घोषणाबाट होइन, हाम्रै वरपरका साना तर अर्थपूर्ण परिवर्तनबाट हुन सक्छ । अहिल्यै रहिआएका साझा खुला क्षेत्रहरूमा नियमित भइरहेका अनधिकृत पार्किङ, भोजभतेर, राजनीतिक कार्यक्रम वा अन्य खेल्ने स्थान र समय मिच्ने प्रवृत्ति हटाएर ती थलोमा बालबालिकाको अग्राधिकार स्थापित गर्न सकिन्छ । साथै, यस्ता सार्वजनिक स्थलमा नियमित सरसफाइ, पिउने पानीको व्यवस्था र सुरक्षित घेराबेरा सुनिश्चित गर्दै आसपासका क्षेत्रमा ट्राफिक व्यवस्थापन कडाइ गर्नुपर्छ । यसरी एक वर्षमै ‘एक वडा एक बालबालिकामैत्री खुला क्षेत्र’ सम्भव छ ।
काठमाडौंकै सन्दर्भमा कुरा गरौं । विगतका पाटी, पौवा, चोक र बहालहरूको सुदृढ सञ्जाल बालबालिकामैत्री थियो । नेपाली संस्कृति र स्थानीय मौसम सुहाउँदा यस्ता संरचनालाई हामी आधुनिक आवश्यकताअनुसार पुनर्जीवित गर्न सक्छौं । यसको सुरुवात वडा वा पालिकास्तरबाटै सहजै गर्न सकिन्छ । यद्यपि, अव्यवस्थित सहरीकरण भइसकेका नेपालका घना सहरहरूमा ठूला पूर्वाधार निर्माण गर्नु चुनौतीपूर्ण पक्कै छ । तैपनि नदी किनारका करिडोर, ऐतिहासिक चोकहरू र बाँकी रहेका सार्वजनिक जग्गालाई ‘पकेट पार्क’ का रूपमा विकास गर्ने पर्याप्त सम्भावना छ । कतिपय स्थानमा यस्ता प्रशंसनीय कार्य सुरु भइसकेका उदाहरण पनि हाम्रासामु छन् । तसर्थ, प्रत्येक नागरिकको घरबाट १५ मिनेटको पैदल दूरीभित्र हरित पार्कको पहुँच सुनिश्चित गर्ने नीतिगत प्रतिबद्धता जनाउनुपर्छ । र, आगामी पाँच वर्षभित्र त्यसलाई अनिवार्य रूपमा कार्यान्वयन गरी कायम राख्नुपर्छ ।
यस्तै, बालबालिकाका अति संवेदनशील वर्षहरूमा इन्टरनेट प्रयोगको सन्तुलित र सचेत निगरानी आवश्यक छ । यसका लागि अभिभावकलाई ‘पेरेन्टल कन्ट्रोल’ जस्ता प्राविधिक औजारबारे शिक्षित र सचेत गराउनु अनिवार्य छ । प्रविधि कम्पनीलाई पनि औसत नेपाली अभिभावकले सहजै बुझ्न र प्रयोग गर्न सक्ने सरल संयन्त्र निर्माणका लागि उत्तरदायी बनाउनुपर्छ ।
कतिपय बालबालिकाले यस्ता प्राविधिक नियन्त्रणलाई समेत छल्न सक्ने सीप सहजै सिक्न सक्छन् । त्यसैले इन्टरनेट प्रयोगलाई एउटा निश्चित समयको ‘रुटिन’ मा ढाल्नु झनै प्रभावकारी हुन्छ । इन्टरनेटले कैद नगरेको उनीहरूको त्यो समय र ध्यानलाई बालबालिकाले सिर्जनशील खेल र कलामा लगाउन पाउनेछन् । खुला क्षेत्रका समान भागीदार हुन्– बालबालिका । यी माटो, खोला र खुला आकाशसँगै भविष्य बुन्न पाउने बालबालिकाको अधिकार हामीले सुनिश्चित गर्नैपर्छ । तब मात्रै हाम्रो विकासले सार्थकता पाउनेछ ।
(यो लेख ‘द नेपाल डिस्कोर्स’ सँगको सहकार्यमा तयार पारिएको विचार शृंखला अन्तर्गत प्रकाशित गरिएको हो । ‘द नेपाल डिस्कोर्स’ हार्वर्ड विश्वविद्यालय र एमआईटीमा आयोजित एक कार्यक्रम हो, जुन आगामी दशकका लागि नेपालको रणनीतिक दृष्टिकोण तय गर्ने विषयमा केन्द्रित छ) (निरुपमाले हार्वर्ड विश्वविद्यालयबाट वातावरणीय विज्ञान र सार्वजनिक नीतिमा स्नातक गरेकी छिन्)
