मार्क्सको २ सय ३४ वर्षअघिको समाज आज छैन र समाजमा त्यस बेलाको वर्ग विद्यमान पनि छैन । समाज नै फरक भइसकेको स्थितिमा विचारधाराले पनि रचनात्मक प्रयोग खोजेको छ । र, नामले पनि परिमार्जन खोजेको छ । त्यसैले अब कम्युनिस्ट पार्टी भनिरहनु पर्दैन, वामपन्थीभन्दा हुन्छ ।
२१ फागुनको निर्वाचन परिणामपछि नेपालमा एउटा बहस आरम्भ भएको छ– के नेपालका कम्युनिस्टको अवस्था पश्चिम बंगालमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को जस्तै भएको हो ? अब नेपालबाट पनि कम्युनिस्ट पार्टी सकिन लागेका हुन् ? पश्चिम बंगालमा भाकपा (मार्क्सवादी) ले ३४ वर्ष (सन् १९७७—२०११) सरकार चलायो । २०११ को निर्वाचनमा ममता बनर्जीको त्रिणमुल कंग्रेस (टीएमसी) सँग पराजय व्यहोरे पनि ४० सिट जितेर प्रतिपक्षी दल भयो । तर २०१६ को निर्वाचनमा भारतीय राष्ट्रिय कंग्रेससँग गठबन्धन गरेर २६ सिट जित्यो । यतिबेलासम्म कमजोर भए पनि अस्तित्वमै थियो । तर २०२१ को निर्वाचनमा एउटा पनि सिट जित्न सकेन । संसदीय फाँटमा समाप्त नै भयो । अहिले २ सय ९४ सदस्यीय विधानसभामा भाकपा (मार्क्सवादी) को एक सिट पनि छैन । यद्यपि, उसले अहिले पनि केरलामा सरकार चलाइरहेको छ । त्रिपुरा विधानसभामा पनि उसको उपस्थिति छ । यो पृष्ठभूमिले प्रश्न उठेको छ, अब नेपालका कम्युनिस्ट पार्टीहरू– नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीहरू पनि सकिँदै छन् ? पश्चिम बंगालकै ढाँचामा गएका हुन् ?
यसको सहज उत्तर हुन्छ– नेपालका कम्युनिस्ट सकिएका छैनन्, अहिले नै सकिँदैनन् पनि । यही निर्वाचनमा पनि एमालेले प्रत्यक्ष र समानुपातिक गरी २५ सिट ल्यायो भने नेकपाले १७ । दुवै जोड्दा ४२ सिट हुन्छ, त्यसैगरी लोकप्रिय मत करिब २१ प्रतिशत हुन्छ । यी कम्युनिस्ट पार्टी पश्चिम बंगालकै मोडेलमा समाप्त हुन पनि अझै दुई आवधिक निर्वाचन हेर्नुपर्छ । तर यो खराब अवस्थाको चित्रण हो । कम्युनिस्ट पार्टी फेरि पहिलाकै अवस्था वा अझ बलियो भएर पुनःस्थापित हुन पनि सक्छन् । त्यसैले यो प्रश्नको वस्तुगत उत्तर कसैसँग छैन, विषयगत उत्तर सबैसँग छ । यस लेखमा पनि कम्युनिस्ट पार्टीको अवस्था कस्तो हुन्छ भन्नेमा थोरै बहस गरिएको छ । बरु कम्युनिस्ट नाम कति सान्दर्भिक छ भन्नेमा बढी बहस गर्न खोजिएको छ । वास्तवमै कम्युनिस्ट पार्टी छन् ? छैनन् भने किन तिनलाई वामपन्थी नभन्ने ? अवश्य पनि, अब नेपालमा कम्युनिस्ट शक्तिलाई सान्दर्भिक बनाउने हो भने नामबाटै पुनर्मूल्यांकन गर्दै किन अघि नबढ्ने भन्ने प्रश्न छ ।
पहिला, कम्युनिस्ट पार्टीबाट बहसको सुरु गरौं । आजसम्म हामीले कम्युनिस्ट भनेर बुझेका ती दल हुन्, जसले मार्क्सवाद, मार्क्सवाद–लेनिनवाद र माओवादलाई आफ्नो विचारधारा मान्छन् । तिनका प्रवर्तकका रूपमा भन्दा कार्ल हाइनरिख मार्क्स, भ्लादिमिर इलिच उल्यानोभ लेनिन र माओ जेदोङ हुन्, जसलाई नेपालका कम्युनिस्टले पनि मान्छन् । सम्पत्तिको निजी स्वामित्व अन्त्य गरेर वर्गविहीन समाजको निर्माण गर्नु नै कम्युनिस्ट लक्ष्य हो । जुन बेला कार्ल मार्क्स र एङेल्सले लन्डनमा बसेर सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेखेका थिए, त्यस बेला युरोपमा भएको पहिलो औद्योगिक क्रान्ति (सन्् १७६०–१८४०) ले त्यहाँ ठूलो असमानता ल्याएको थियो । त्यसलाई अन्त्य गर्न मजदुर वर्गले एउटा क्रान्तिकारी वैचारिक पहिचान बनायो, त्यही कम्युनिस्ट भयो । त्यो बेला समाजमा दुई वर्ग मात्र थिए, पुँजीपति वर्ग र मजदुर वर्ग अर्थात् मालिक र श्रमजीवी वर्ग । मालिक सधैं धनी हुने तर मजदुर झन् गरिब हुने अवस्थाको अन्त्य गर्न सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने, त्यसो गर्दा त्यो वर्गको पनि उत्थान हुन्छ र समाज वर्गविहीन हुन्छ भन्ने सोच राखियो । यो यस्तो विचारधारा हो, जसमा समाजमा जमिन, उद्योग, कलकारखाना व्यक्तिगत नभई सामूहिक रूपमा राज्य वा समाजको स्वामित्वमा हुन्छन् ।
तर मार्क्सको २ सय ३४ वर्षअघिको समाज आज छैन र समाजमा त्यस बेलाको वर्ग विद्यमान पनि छैन । श्रमिक वर्ग छ तर सर्वहारा वर्ग छैन । अर्थात् सर्वहारा वर्गको पनि उत्थान भएको छ । जब समाज नै फरक भयो भने त्यो विचारधाराले पनि रचनात्मक प्रयोग खोज्यो । र, नामले पनि परिमार्जन खोज्यो । त्यसैले अब कम्युनिस्ट पार्टी भनिरहनु पर्दैन, वामपन्थी पार्टीभन्दा हुन्छ । अर्को, सर्वहारा वर्गको अधिनायकत्व अब सम्भव नै छैन । व्यावहारिक रूपमा न पुँजीपति वर्गको अधिनायकत्व सम्भव छ, न सर्वहारा वर्गको । वास्तवमा कसैको अधिनायकत्वकै समय आज होइन । हो, ‘डिप स्टेट’ र प्रविधि अर्बपतिको भने विश्वसत्तामा ठूलो प्रभाव छ, यो फरक भयो । त्यसैले शास्त्रीय साम्यवादको धङधङीबाट मुक्त हुनैपर्छ । त्यसो त मार्क्सदेखि माओसम्म आउँदा नै पनि परिवर्तन भयो । जस्तोः मार्क्सले विचार दिए, लेनिनले त्यसलाई क्रान्तिमा लागू गरे र माओले त्यसलाई फरक सन्दर्भमा अनुकूलन गरे ।
जसरी मार्क्स–सिर्जित यो साम्यवादी विचारधाराले देश अनुकूलका अभ्यास गर्यो, नेपालका कम्युनिस्ट पार्टीहरूले पनि यसको घरेलु प्रयोग गरेकै हुन् । उनीहरू शास्त्रीय साम्यवादी सोचबाट मुक्त भएकै देखिन्छ तर कम्युनिस्ट नामप्रतिको पूर्ण मोह भने कायम नै छ । यसमा उनीहरूको तर्क आउँछ– कम्युनिस्ट नामकै कारण पनि पार्टीमा रहने पंक्ति ठूलो छ, आखिर व्यवहारमा भने हामी वामपन्थी भएकै छौं । त्यसो त यसमा पनि क्रमभंग गर्ने प्रयास नभएका भने होइनन्, तर ती असफल भए । जस्तोः प्रचण्डपछिको दोस्रो नेता हुँदाहुँदै बाबुराम भट्टराईले असोज २०७२ मा माओवादी छाडेर जेठ २०७३ मा वैकल्पिक पार्टी भन्दै ‘नयाँ शक्ति, नेपाल’ पार्टी बनाएका हुन् । तर त्यो नयाँ अभ्यासमा उनी पूर्णतः असफल भए । आज उनी सबैभन्दा बढी दल चाहर्ने नेतामा गनिन्छन् । उनले त्यसबेला पुरानो विचारधाराबाट नहुने भन्दै विकासमुखी राजनीतिका लागि पार्टी बनाएको दाबी गरेका थिए । अहिले नै यही निर्वाचनको समयमा पनि माओवादीका जर्नादन शर्मासहितले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ बनाएर नयाँ प्रयोग गर्न खोजेका हुन्, तर यस पटक उनीहरू पनि सफल भएनन् । सफलता र असफलताको साइनो भने नामसँग मात्र छैन, नेतृत्व र संगठनसँग पनि छ ।
दोस्रो, अर्थतन्त्रको मुद्दा । उत्पादनको साधन, उद्योगधन्दा र जमिनमाथि राज्यको नियन्त्रण, उद्योगधन्दाको राष्ट्रियकरण गर्ने जस्ता नीति पनि अव चल्दैनन् । एउटा नागरिकले पाउने आधारभूत सुविधामाथि राज्यको नियन्त्रण र नियमन आवश्यक छ, तर ती राज्यको स्वामित्वमा नहुन सक्छन् । जस्तोः चिनियाँ कम्युनिस्ट पार्टीले शासन गरेको चिनियाँ जनगणराज्यमा जमिन व्यक्तिको स्वामित्वमा हुँदैन, सहर र नगरक्षेत्रमा राज्यको, ग्रामीण समुदायमा समुदायको स्वामित्वमा छ, यद्यपि जमिन प्रयोगको अधिकार भने छ, निजी सम्पतिको अधिकार त छँदै छ । आजको दुनियाँ कम्युनिस्टले भन्ने गरेको पुँजीवादको अन्त्य हुँदैन, बरु कम्युनिस्टहरूले त्यही पुँजीवादको प्रयोग गरेर समाजवादको यात्रा तय गर्ने हो । नेपालका कम्युनिस्टले गरेको यही हो । त्यसैले नेपालका कम्युनिस्ट खासमा कम्युनिस्ट होइनन्, वामपन्थी हुन् । वामपन्थी पार्टीले पुँजीवादभित्रै रहेर असमानता घटाउन र सामाजिक न्याय कायम गर्नका लागि पैरवी गर्छन् । कम्युनिस्ट विचारधाराभित्रका वर्ग परिवर्तन भएर अव वामपन्थी कित्ताभित्रका वर्ग भएका छन् । ती भनेको मजदुर र किसान वर्ग होइन, सहरिया मध्यम वर्ग, युवा, अल्पसंख्यक भएका छन् ।
तेस्रो, अहिलेको विश्व मूलतः विचारधारा वा विचारवादको विश्व होइन । जब विचार र वादको विश्व होइन भने अब कट्टर विचारधाराको हिमायती कोही हुँदैन । त्यसैले कठोर अनुदारवादी विचारवादको कोही पनि बन्दी हुन चाहँदैन । हरेक व्यक्ति विचारमा लचकता खोज्छ, अझ समयअनुसारको रचनात्मक लचकता खोज्छ । जडसूत्रवाद टिक्दैन । अति क्रान्तिकारिता र तानाशाह दुवै विश्वमा चल्दैन । फ्रान्सिस फुकुयामाले उदारवादी लोकतन्त्र नै अन्तिम प्रणाली भनेका हुन्, तर आज त्यसमा पनि परिवर्तन आएको छ । आजको विश्व शुद्ध साम्यवाद वा शुद्ध पुँजीवादजस्ता खेमामा समेत विभाजित भएको छैन, देशहरू व्यावहारिक भएका छन् । उदाहरण, चीन, भारत, अमेरिका नै हुन् । बरु ती विचार र वाद रूपान्तरित भएर नयाँ ढाँचामा प्रकट भएका छन् । ती लोकप्रियतावाद, राष्ट्रवाद, अवसरवादका रूपमा देखिएका छन् । आजको वैश्विक राजनीति यिनै चरित्र ग्रहण गर्दै स्रोतमाथिको नियन्त्रण, प्रविधि र डाटामाथिको पहुँचतर्फ अग्रसर छ । प्रगतिशील शक्तिले पनि यिनै प्रवृत्तिको अंश नभई राजनीतिक यात्रा अघि बढाउन चुनौतीपूर्ण छ ।
त्यसो भए, अब नेपालमा किन कम्यनिस्ट नाम राखिरहने ?
अब नेकपा एमालेले मार्क्सवाद र लेनिनवाद भनेर फुर्को जोडिराख्नु आवश्यक छैन । एमाले व्यवहारका दृष्टिकोणमा वामपन्थी पार्टी हो । जनताको बहुदलीय जनवाद (जबज) मार्फत मदन भण्डारीले कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरण गरेका हुन्, त्यस अर्थमा एमाले व्यवहारमा अहिले पनि वामपन्थी पार्टी हो, कम्युनिस्ट पार्टी होइन । त्यसैले एमालेले अब नेपाल बहुदलीय जनता पार्टी वा बहुदलीय जनता पार्टी, नेपाल राखेर अघि बढ्नुपर्छ । छोटकरीमा नेपाल जबज पार्टीभन्दा हुन्छ । अब कार्ल मार्क्स र लेनिनलाई नाम र भित्तामा झुन्ड्याइराख्न आवश्यक छैन । कार्ल मार्क्स र एङेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेपछि कम्युनिस्ट भन्ने पार्टी वा विचारले विश्वभर महत्त्व पाएको हो । सामुदायिक स्वामित्वको आधारभूत जगबाट विकसित हुँदै यो कम्युनिस्ट विचारधारामा रूपान्तरण भएको हो ।
तर वामपन्थी भन्ने शब्दको इतिहास भने बिल्कुलै फरक छ । फ्रान्सेली राज्यक्रान्तिका समय ११ सेप्टेम्बर १७८९ मा त्यहाँको नेसनल एसेम्बीमा प्रबन्ध गरिएको बैठकको आसन व्यवस्थाका आधारमा वामपन्थी र दक्षिणपन्थी वर्गीकृत भएको हो । त्यसबेला सभाको दाहिनेतर्फ राजावादी, पुरातनवादीहरू बसे भने देब्रेतिर प्रगतिशील, राजतन्त्रविरोधीहरू बसे । त्यसैलाई लिएर वामपन्थी र दक्षिणपन्थीको कित्ताकाट सुरु भएको हो । कम्युनिस्ट एउटा विचारधारा हो तर वामपन्थ विचारधारा होइन । बरु एउटा फराकिलो सोच हो । वामपन्थभित्र सामाजिक न्याय, पुनर्वितरण, समानता र निश्चित हैसियतको राज्यको नियन्त्रण पर्छन् । त्यसैले भनिन्छ, सबै कम्युनिस्ट वामपन्थी हुन् तर सबै वामपन्थी कम्युनिस्ट होइनन् । जस्तोः वामपन्थको मोडलभित्र सामाजिक लोकतन्त्र, लोकतान्त्रिक समाजवाद, प्रगतिशील उदारवाद छन्, जसले पुँजीवादलाई अस्वीकार गर्दैनन् । त्यसलाई सुधार गरी नियमनमार्फत समानता ल्याउने प्रयास गर्छन् । सबै वाम कम्युनिस्ट हुँदैनन्, किनकि वामपन्थभित्र विभिन्न धाराहरू छन् ।
अर्को, पहिला कम्युनिस्ट आएको होइन, पहिला वामपन्थ भएको हो । एकप्रकारले भन्ने हो मार्क्स र एङेल्सले यही वामपन्थलाई एउटा क्रान्तिकारी विचारधारामा विकसित गरेका हुन् । त्यसैले वामका चरित्र सबै कम्युनिस्टमा छन् तर कम्युनिस्टका चरित्र सबै वामपन्थीमा छैनन् । जस्तोः स्विडेन र नर्वे सामाजिक प्रजातन्त्रवादी वामपन्थी हुन्, कम्युनिस्ट होइनन् । यी राष्ट्रले पुँजीवादको प्रयोग गरेरै सामाजिक कल्याणको मोडल अभ्यास गरेका छन् र असमानता हटाएका छन् । चीन, भियतनाम, क्युबा र लाओस कम्युनिस्ट हुन् तर तिनको आर्थिक मोडल मिश्रित छ । उनीहरूले पुँजीवादलाई हतियारका रूपमा प्रयोग गरेर समाजवादमा पुग्ने लक्ष्य राखेकै छन् ।
नेपालको हकमा भन्दा नेपाली कांग्रेस मध्यवामपन्थी पार्टी हो भने राप्रपा दक्षिणपन्थी पार्टी हो । नेपालका एमाले र माओवादी कम्युनिस्ट पार्टी नभएर वामपन्थी पार्टी हुन्, किनकि पुँजीवादबाटै समाजवाद जाने संविधान नै यिनको समेत सहयोगमा लेखिएको हो । नेपालको हकमा आफूलाई कम्युनिस्ट भन्नेहरू वामशक्तिमा रूपान्तरण भइसकेका छन् । यो रूपान्तरण आकस्मिक नभई ऐतिहासिक, वैचारिक र व्यावहारिक आवश्यकताबाट उत्पन्न भएको हो । तर कम्युनिस्ट भन्न भने छाडेका छैनन् । नेपाललाई समाजवादउन्मुख राष्ट्रका रूपमा संविधानले नै परिभाषित गरेको छ, यसले निजी सम्पत्ति अधिकारलाई मान्यता दिन्छ, बहुदलीय लोकतन्त्रलाई स्वीकार गर्छ र मिश्रित अर्थतन्त्रलाई अंगीकार गर्छ । त्यस अर्थमा हाम्रा कम्युनिस्ट वामपन्थी लोकतान्त्रिक कम्युनिस्ट हुन् । नाम परिवर्तन किन पनि आवश्यक भयो भने अब कम्युनिस्ट पार्टीका लागि वैश्विक वातावरण अनुकूल छैन । पश्चिमाहरूको आक्रमणको निसानामा कम्युनिस्ट शक्तिहरू छन् । तिनले वामपन्थी भयौं भन्दा पनि विश्वास गरिरहेका छैनन् । सानै हैसियतमा भए पनि युरोपतिर कम्युनिस्ट पार्टीहरू निर्वाचनमार्फत उदाइरहेका भए पनि त्यहाँ त्यो सत्ताविरुद्धको मतका आधारमा प्रकट भएको देखिन्छ । सोभियत संघको पतनपछि कठोर कम्युनिजम कमजोर भयो, चिनियाँ विशेषताको समाजवादले प्रभाव जमायो ।
अब फर्कौं उही बहसमा ।
सारमा नै मूलभूत परिवर्तन आएपछि त्यसलाई रूपले सम्बोधन गर्नुपर्छ । उदाहरणका लागि, एमालेले लिएका आर्थिक, सामाजिक, वैदेशिक सम्बन्धका नीति सही छन्, तिनको लोकतान्त्रीकरण भइसकेको छ । व्यवहारमा कहीँकतै कोल्टे परेका अवश्य हुन् । त्यस अर्थमा पार्टीलाई पूर्वहैसियतमा ल्याउन वैश्विक र घरेलु समाजका विकसित चरित्र, त्यसमा प्रविधिनिर्मित प्रचारसंयन्त्र र नवप्रवर्तन आवश्यक छ । एउटा निर्वाचन हार्नुले पार्टी समाप्त हुँदैन, फेरि पार्टी हार्नुमा एउटा व्यक्ति मात्र जिम्मेवार पनि हुँदैन । पार्टीले समयको माग चाहिँ बुझ्नुपर्छ ।
नेपाल भू–राजनीतिक रूपमा बढी अवसर, कम चुनौतीको चाङमा छ । भारत र चीनबीच सम्बन्धमा व्यावहारिक सन्तुलन कायम गर्नुछ भने असंलग्नताको शास्त्रीय सिद्धान्तलाई राष्ट्रिय हितकेन्द्रित मुद्दागत संलग्नतामा रूपान्तरण गर्नु आवश्यक छ । अबको समय ‘स्मार्ट डिप्लोमेसी’ को समय हो । कठोर कम्युस्ष्टि दृष्टिकोणले यस्तो सन्तुलन कायम हुँदैन, यसका लागि व्यावहारिक वापमन्थी दृष्टिकोण आवश्यक छ । जो नेपालका कम्युनिस्टले अभ्यास गरेकै हुन्, अब त्यही अभ्यासको वामपन्थीकरण गरेर व्यवहारवाद प्रदर्शन गर्नुपर्छ ।
(राजनीतिक/वैदेशिक सम्बन्धका जानकार खनाल राजनीतिशास्त्रमा विद्यावारिधि हुन् । उनी ‘इन्नोभेट रिसर्च फाउन्डेसन’ का अध्यक्ष हुन्)
