नेपालले स्विट्जरल्यान्डसँगको कूटनीतिक सम्बन्धको ७० औं वर्ष मनाउँदै गर्दा देशका लागि यो गम्भीर आत्ममूल्यांकनको अवसर पनि हो । दशकौंदेखि स्विट्जरल्यान्डले नेपाललाई सहयोग मात्रै दिएन– मानवअधिकार, निष्पक्षता, समावेशिता र श्रमको गरिमामा आधारित एक विकास दर्शन प्रस्तुत गर्यो ।
What you should know
स्वीस भूगर्भशास्त्री टोनी हेगन मेरा लागि मिथकझैं लाग्ने एक तिलस्मी पात्र थिए । २० औं शताब्दीको नेपाललाई सबैभन्दा बढ्ता र नजिकसँग कुनै विदेशीले बुझ्यो भने हेगनको कदको सायदै अर्को नाम भेटिएला । विभिन्न समयमा यहाँ उनले गरेका पैदल यात्रा मात्रै केलाउँदा पनि त्यो लगभग नेपाललाई सात फन्को लगाएसरह हुन आउँछ । चट्टान र भूगर्भ बुझ्न भनेर नेपाल आएका उनी अन्ततः मानिस र तिनका संस्कृतिले झन् बढ्ता मोहित बने । उनको दृष्टिबाट संसारले नेपाललाई त्यति धेरै नजिकबाट चिन्न पायो ।
हेगनले नेपालमा बिताएको समय सबैभन्दा खास छ । सन् १९५० को दशकमा पर्यटकका लागि देशको ढोका खुल्नेबित्तिकै आउने हेगन पहिला विदेशीमध्येमा थिए । त्यसबेला सगरमाथाका लागि शक्ति राष्ट्रको भागदौड उत्कर्षमा थियो । तर नेपालको भूगोल, विविधता र विशिष्टता भने ओझेलमा थियो । त्यसलाई विश्वमञ्चमा हेगनले सबैभन्दा बलियो पहिचान दिए । हुन त उनी पनि हिमाल चढ्न नभए पनि, एक भूगर्भशास्त्रीका रूपमा हिमालयको अध्ययन गर्न भनेरै नेपाल छिरेका थिए । तर, त्योभन्दा बढ्ता नेपाललाई ‘सांग्रि–ला’ का रूपमा प्रवर्द्धन गर्न उनको भूमिका रह्यो । यहाँको तत्कालीन विकासलाई उनले नजिकबाट मार्गनिर्देश गरे । उनका लेखन, उनले खिचेका उतिबेलाका कुनाकन्दराका दुर्लभ तस्बिर र विश्वभर दिने उनका मन्तव्य संसारका लागि नेपाल चियाउने त्यसबेलाका आँखीझ्याल थिए ।
टोनी हेगनको फोन
नेपालको स्विट्जरल्यान्ड भनिने जिरी आसपासमै जन्मेहुर्केको म भाग्यले डोर्याउँदै गर्दा सन् १९९९ मा हेगनकै देशको पासुग गाउँमा विद्यार्थीका रूपमा थिएँ । बिरानो भूमिमा एक दिन कसैले क्याम्पसमा फोन गरेपछि मलाई बोलाइयो ।
‘इज दिस खेमराज ?’ फोनमा त्यो गह्रुँगो स्वर नचिनेपछि मैले आफू नै खेम भएको भन्दै उनको परिचय मागें ।
जवाफ थियोः ‘दिस इज टोनी हेगन स्पिकिङ ।’
करिब साढे दुई दशकअघिको त्यस दिन म अझै झलझली सम्झिन्छु । एउटा विशाल कदको मानिस मसामु कति धेरै सहज र सौम्य भएर प्रस्तुत भएको थियो । उमेरले जीवनको उत्तरार्द्धमा पुगिसकेका टोनी हेगनको नाम र कीर्ति नेपालमा जत्तिकै स्विट्जरल्यान्डमा विशेष थियो । त्यहाँ उनीप्रति विशेष आदर थियो । खासमा स्वीसहरूको शताब्दीऔंदेखि हिमाल–पर्वतप्रति विशेष स्नेह छ । मानिसका जिउने कला, जीवनयापनका लागि चाहिने कौशल र सीप बुझ्ने कुरा उनीहरूका लागि सबैभन्दा माथि छन् । टोनी हेगन त्यस स्वीस मर्मका अग्रज अन्वेषक थिए । र, त्यस दिन अनायसै उनले मेरो नाम लिएर हालखबर सोधेपछि म त एकैछिन खुसीले रनभुल्लमा परेको थिएँ ।
‘भोलि म तिमीलाई भेट्नेछु,’ हेगनले त्यहाँ कोही नेपाली आएको सुइँको पाएपछि मलाई सम्पर्क गरेका रहेछन् ।
‘हुन्छ । तर म पहिला क्लासको समय बुझेर भन्छु है त,’ मेरो जवाफ नसक्दै उनले भने, ‘त्यसको चिन्ता नगर । मैले त्यो बुझिसकेको छु । भोलि बिहान तिम्रो क्लास छैन ।’
‘स्वीस पर्फेक्सन’ त्यहाँको घडी, रेलको समय वा चकलेटको स्वादमा मात्र होइन रहेछ, त्यो त उनीहरूको जीवनशैलीको हिस्सा रहेछ भन्ने एउटा सुरुवाती पाठ मैले त्यसबेला हेगनबाट त्यसरी सिकें ।
भोलिपल्टको भेटमा उनले मलाई आफ्नो गाउँ–ठाउँमा सहज बनाउने कुराहरू गरे । उमेरले ८० काटिसकेका उनले त्यतिखेर स्विट्जरल्यान्ड पनि नेपालजस्तै त हो भनेर आसपासका डाँडाकाँडा र खोलानाला देखाउँदै मलाई आफ्नोपनको आभाष दिए । स्विट्जरल्यान्ड र नेपाल उस्तै भईकन पनि धेरै फरक हुन् भन्ने हामी दुवैले बुझिसकेका थियौं । तर, त्यसलाई चिर्ने आत्मीयता हामीहरूबीच सबैभन्दा बलियो थियो ।
हेगनको पदचाप
अप्रिल १८ का दिन टोनी हेगन बितेको २३ वर्ष पूरा भएको छ । नेपालले उनलाई मानार्थ नागरिकता दिएर सम्मान गर्दै नेपालमा बिनाभिसा असीमित बसाइको अनुमति दिएको थियो । देशभर विदेशीलाई छुट्टै अनुमति लिनुपर्ने स्थानका लागि समेत उनलाई छुट दिइएको थियो ।
उनको सन् १९७१ को पुस्तक ‘नेपाल’ मा हाम्रो देशका कुनाकाप्चाको निकै सूक्ष्म वर्णन पाइन्छ । त्यो पढ्दा लाग्छ– हेगनले नेपालको आधुनिक नक्सांकनमा मात्र होइन, हाम्रो जनजीवन ऐतिहासिक र सांस्कृतिक दस्ताबेजीकरण निकै राम्रोसँग गरिदिए । खासमा उनी नेपालप्रति आफ्नो देशजत्तिकै निकै गहिरोसँग भिजेका थिए । नेपाली उनलाई कहिल्यै पराइ लागेन ।
स्विट्जरल्यान्डमा म बसेको ठाउँबाट उनको घर लेन्जरहाइडे गाडीमा आधा घण्टामै पुगिने ठाउँमा थियो । त्यसबीचमा कैयौं पटक हाम्रो भेटघाट चलिरह्यो । त्यसबेला हेगनको जीवनमा आधारित ‘द रिङ अफ दि बुद्ध’ रिलिज भइसकेको थिएन । तर, आफूसामु त्यसको अन्तिम कपी आएपछि एक दिन उनले नेपालीहरू माझमा बसेर त्यसलाई हेर्न मन लागेको बताएपछि हामी त्यहाँ रहेका नेपाली र नेपालप्रेमी स्वीसहरू जुटिहाल्यौं । हाल टोनी हेगन फाउन्डेसनको बोर्ड सदस्य रहेकी शुभ एल्मर लामा, नशमा श्रेष्ठ र मुना गुट खत्रीलगायतको अग्रसरतामा त्यस अवसरले मूर्तरूप लिइहाल्यो । हामीहरूले त्यस विशेष क्षणलाई अझ खास बनाउन घरघरबाट नेपाली परिकारहरू बनाएर ल्यायौं । र, ती खाँदै चासोपूर्वक हेर्यौं । त्यस बसाइ उनका लागि स्मृतिमा लैजाने क्षण थियो भने हाम्रा लागि हाम्रा बुवा–बाजेको समयमा पुग्ने दुर्लभ अवसर । टोनी हेगनकै माझमा बसेर त्यो हेरुन्जेल त हामी भूत–वर्तमानको दोसाँधमा रुमल्लिरह्यौं ।
त्यसमा हेगनको संग्रहकै कतिपय सन् १९६० को दशकतिरकै वास्तविक दृश्य थिए । कतै उनलाई भैंसीले लखेटेको त कतै उनले अध्ययनका लागि संग्र्रह गरेका मूल्यवान् ढुंगा त्यसलाई बोक्ने भरियाले ‘यस्तो पनि के बोकेको होला’ भनेर फ्याँकिदिएकाजस्ता रमाइला, कतै कारुणिक संघर्षले भरिएका तर वास्तविक धरातल देखाउने रोचक कथाहरू थिए । त्यसबेलाको देशको सुस्त गतिमाझ पनि मानिसहरूको निष्कपट मन, निश्चल खोला–नाला र पर्वत हेर्यौं । कति कुरा त्यसबेलै हेगनसँग थप सोधखोज गर्यौं पनि । पढाइ सकेर स्विट्जरल्यान्डबाट म थप अध्ययनका लागि क्यानडातिर लागें । बिदा माग्न खोज्दा उहाँ बिरामी अवस्थामा हुनुहुन्थ्यो । र, त्यही नै मेरो उहाँसँगको अन्तिम भेट हुन पुग्यो ।
स्विट्जल्यान्ड पुग्ने स्वीस बाटो
दोलखाको सैलुङ मेरो जन्मथलो हो । स्वीस सहयोगको लामुसाँघु–जिरी सडक खनिँदै गर्दा २०३० सालको अन्त्यतिर ‘लेबर फर फुड’ कार्यक्रम चलाइएको थियो । जतिखेर श्रमदानबापत एक बोरा मैदा, एक ग्यालन भटमासको तेल दिइन्थ्यो । मेरो बुवा त्यस सडक बनाउने क्रममा त्यहाँ जोडिएपछि हाम्रो घरमा पहिलो पटक मैदा भित्रिएको थियो । गाउँमा मैदालाई कसरी खाने भन्ने उत्सुकता फैलिएपछि हामीले त्यसलाई तारेर पुरी बनाउँदै खाएको अझै याद छ ।
दोस्रो पटक, म स्वीस सडक भनिने त्यही बाटो काठमाडौं आइपुगेको थिएँ । त्यहाँबाट स्विट्जरल्यान्ड पढ्न पुगें, त्यहाँ टोनी हेगनको समीपमा रहन पाएँ । र, लगभग २० वर्षयता अहिले म आतिथ्य सत्कार र पर्यटनसम्बन्धी स्वीस पाठ्यक्रम पढाइ हुने क्याम्पस चलाउँछु/पढाउँछु । मेरो जीवनका यात्रामा टोनी हेगन र स्वीस सम्बन्ध त्यसरी धेरैतिर जोडिन्छन् ।
म पढ्न जानुअघि सन् १९९७ मा स्विट्जरल्यान्डको पार्पानमा आठ जना नेपाली होटल म्यानेजमेन्ट पढ्न गएका रहेछन् । तर, त्यस क्याम्पस टाट पल्टिएपछि अलपत्र परेका नेपालीहरूलाई आफ्नो सरकारसँग पहल गरेर घर फर्कन चाहेमा बाटो खर्च वा त्यहीं पढाइ जारी राख्न चाहनेका लागि अन्य स्रोत जुटाएर पढाउने व्यवस्था हेगनले गरेका थिए ।
हेगनका दुई छोरी मोनिका र क्याथरिन लामो समय नेपालमा हुर्किए । डा. क्याथरिन हेगन आजसम्म पनि बर्सेनि नेपाल आउँछिन् र स्वास्थ्य सेवाको पहुँच कम भएका दुर्गम क्षेत्रहरूमा डाक्टरहरूको टोली लिएर उपचारका लागि पुग्छिन् ।
नेपाललाई स्विट्जरल्यान्ड बनाउने भनिरहने राजनीतिकर्मीका लागि हेगनकै ‘विकेन्द्रीकरण र विकास’ पुस्तक दुई छोरीको सक्रियतामा प्राध्यापक डा. सुजाना भोनडर हाइडेले हेगनकै लेखनबाट संकलन गरेकी थिइन् । त्यस कृतिले एकैखाले भूगोलको देश भईकन पनि स्विट्जरल्यान्ड कसरी अलग्गै समृद्ध हुन सक्यो र नेपालले के बिरायो भन्ने देखाउँछ । यो पुस्तक नीति–निर्माताहरूले अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने कृतिमध्ये एक हो । यतिखेर उक्त पुस्तक पढ्दा झन् बढ्ता हामीलाई उनी कति मूल्यवान् थिए भन्ने अनुभव गराउँछ ।
खासै मुख्य सडक नै नभएको बेलाको नेपाल घुमेपछि उनले यहाँका लागि स्विट्जरल्यान्डजस्तो पहाड–पर्वतलाई कुरूप बनाउने नभई सिँगार्ने ‘हरित सडक’ का कुरा उठाएका थिए । नेपालको जातीय विविधता नजिकबाट बुझे तापनि उनी विकेन्द्रीकरणको आधार त्यसको अर्थतन्त्रसँग जोडेर हुनुपर्ने कुरा गर्थे ।
नेपाल सरकारको सल्लाहकारका रूपमा उनले आधुनिक झोलुंगे पुल विकास र विस्तारको खाका कोरिदिए । खास त्यो विवेकी जुक्ति उनलाई आफ्नै लम्बे यात्रा र यात्राका क्रममा उनका सहयोगी भरियाहरूले दिएका थिए । जो पौडिन डराउँथे, डुंगामा पनि चढ्नुअघि नपल्टिओस् भन्ने प्रार्थना गर्थे । त्योभन्दा खास कुरा त्यसरी खोला तरेर उनीहरूको जीवनस्थल उकासिँदैनथ्यो । अहिले १० हजारभन्दा धेरै पुगिसकेको त्यस्ता पुल नेपालका लागि ‘रूपान्तरणकारी’ बनेको छ ।
विकासको पूर्वाधार भनेको मानिसको सीप, कला र नवप्रवर्तन हो । स्विट्जरल्यान्ड देशको खास सम्पत्ति भनेकै त्यहाँका जनता हुन् भन्ने मर्ममा अगाडि बढिरहेको छ, जहाँ पाँच भागमा चार भाग जनताहरू सीप सिक्छन् । हेगनलाई साँच्चिकै बुझेको भए त्यस तथ्य २० औं शताब्दीमै उनले नेपाललाई बुझाउन खोजेका थिए । सायद त्यतिखेर नेपालले स्विट्जरल्यान्ड बन्ने सपना पनि देख्न थालेको थिएन । स्वीस सहयोगमा बनेका जिरी टेक्निकल इन्स्टिच्युट, बालाजु यन्त्रशालाजस्ता सीप सिकाउने संस्था देशभर भइदिएको भए स्विट्जरल्यान्ड बन्ने आधारहरू त्यसैगरी बन्थे । त्यस्ता संस्थाहरू अलग्गै सफल परियोजना मात्र थिएनन् । ती आत्मनिर्भर र समानतामूलक नेपालका नमुना थिए । तर, हामीले ती मोडललाई विकास दर्शनका रूपमा देशभर विस्तार गर्न सकेनौं ।
फर्केर हेरौं
आज नेपाल एउटा निर्णायक मोडमा उभिएको छ । राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली संसद्बाट पारित भए तापनि पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको सुधार अब विकल्प होइन, आवश्यकता हो । स्विट्जरल्यान्डको जस्तो सीपमूलक अनि काम गर्दै पढ्ने शिक्षा प्रणाली अपनाउँदै र त्यसलाई उद्योगसँग जोड्दा मात्र शिक्षाको जनजीवनमा उपादेयता आउने स्वीस मर्म हो ।
संघीयतामा फड्को मार्दै गरेको नेपालले अझै पनि हरेक प्रदेशमा आधुनिक ‘ट्रेड स्कुल’ स्थापना गर्दै नेपालले आफ्ना युवाहरूलाई गरिमायुक्त र विश्वस्तरीय सीपले सशक्त बनाउन सक्छ । स्वीस संविधानको प्रस्तावनामा भनिएको छः ‘जनताको क्षमता त्यहाँका सबैभन्दा कमजोर सदस्यको अवस्थासँग जोडेर मापन गर्नुपर्छ ।’ पछिल्ला अन्तर्राष्ट्रिय अनिश्चितता र द्वन्द्वले भरिएको वर्तमान विश्वमा नेपालले स्विट्जरल्यान्डबाट केवल प्रणाली, सहायता मात्र होइन मार्गदर्शक मूल्यहरू पनि सिक्न आवश्यक छ ।
नेपालले स्विट्जरल्यान्डसँगको कूटनीतिक सम्बन्धको ७० औं वर्ष मनाउँदै गर्दा देशका लागि यो गम्भीर आत्ममूल्यांकनको अवसर पनि हो । दशकौंदेखि स्विट्जरल्यान्डले नेपाललाई सहयोग मात्रै दिएन– मानवअधिकार, निष्पक्षता, समावेशिता र श्रमको गरिमामा आधारित एक विकास दर्शन प्रस्तुत गर्यो । तर, हामीले धेरैजसो अवस्थामा सहयोग लिइरहँदा त्यसको गहिरो आशय बुझ्न सकेनौं ।
विश्वविद्यालय हुन् हेगन
टोनी हेगन त द्विपक्षीय सम्बन्ध गाँसिनुअघिदेखि नेपाल चिनेर बसेका एउटा जीवित स्तम्भ थिए । उनको गुन तिरिनसक्नुको छ । संसारको एउटा कुनामा एक्लिएको नेपाललाई चिन्न, चिनाउन र दस्ताबेजीकरण गर्न उनले लगाएको समर्पण संसारमा जोकोहीका लागि अनुकरणीय छ । द्विपक्षीय सम्बन्धको ७० औं वर्षगाँठ मनाइरहँदा हेगनका पदचाप र योगदान जताततै महसुस हुन्छ, जुन सायद आजपर्यन्त एउटा गौरवमय गाथाका रूपमा रहिरहनेछ ।
हेगनको विरासत एउटा विश्वविद्यालयसरह छ । हेगनले देखे–बुझेको र हामीलाई सम्झाएर छाडेको नेपाललाई हामीले सित्तैमा पाएजसरी लिनु हुँदैन । किनकि कसैको भूगोल र संस्कृति बुझ्ने काम कुनै हठात् निर्णयबाट हुन सक्दैन । यो पुस्तौंपुस्ताका लागि इतिहासले छाड्ने भार हो, जसलाई हेगनजस्ता केही आफ्नो उद्देश्यमा समर्पित व्यक्तिले मात्र उठाउन सक्छन् ।
(लकाई नेपाल–स्वीस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष हुन् ।)
