हामी विकासोन्मुख कि सभ्य ?  

अब आफैंतिर फर्केर हेरौं र अवलोकन गरौं– म कस्तो छु ? विकासोन्मुख, सभ्य या विकासशील ?

वैशाख ३, २०८३

रूपा पुरी

Are we developing or civilized?

What you should know

 

हाम्रो मस्तिष्कमा सभ्य तथा विकसित भन्नेबित्तिकै यस्तो चित्र आउँछ– हेर्दा राम्रो र आकर्षक । तर, वास्तवमा यथार्थ फरक हुन्छ । सभ्य र विकसित अर्थात् संरक्षणसहित सुविधा तथा कामको प्रगतितर्फ निरन्तर लम्किरहेको समाज । जहाँ काम हुन्छ, अनि कामको सम्मान पनि, अनि समयमै काम र समयको महत्त्व पनि हुन्छ ।

हामी विकासोन्मुख देशको विकासोन्मुख सोच बोकेका नागरिक । त्यसैले होला, जसको हरेक क्रियाकलाप सार्वजनिक गरे मात्रै वाह, राम्रो भनिन्छ । विकसित मुलुकमा कामको सम्मान हुन्छ, जीवन सरल–सामान्य हुन्छ, नयाँ आविष्कारको खोजी भइरहन्छ, सिक्ने क्रम चलिरहन्छ र त्यो देश प्रगतिपथ र विकासमा अघि बढिरहन्छ । 

त्यसैले देखावटी र क्षणिक रमाइलाका लागि गरिने हरेक पलपलका झलक सार्वजनिक गरेर विकासोन्मुख सोच र भ्रमलाई बढावा दिनबाट सजग बनौं । त्यस्ता देखावटी र क्षणिक रमाइलाका लागि गरिने हरेक पलपलका झलक सार्वजनिक गर्दाका बखतको सोचबाट माथि उठ्दै मानसिक सोच फराकिलो अनि यथार्थपरक बनाऔं । र, जीवन सामान्यतिर लम्किन सके मात्रै विकास र आधुनिकतातिर पाइला चालेको आभास हुने थियो ।

आजका बालबालिका, युवा र वयस्क– सबै मनोवैज्ञानिक रूपले कमजोर, क्षणिक उत्तरदायित्व मात्रै स्वीकार गर्न सक्षम, समाधानभन्दा समस्यालाई बढी महत्त्व दिने स्वभाव छ । यस्ता क्रियाकलापले कतै हाम्रो पारिवारिक तथा सामाजिक संस्कारमाथि नै प्रश्नचिह्न त लगाएको छैन ? हामी सजग हुने बेला भइसकेको छ । 

ज्ञान नभएको मान्छे अज्ञानी वा मूर्ख मात्रै हुन्छ भने अल्पज्ञान भएकाहरू महामूुर्ख हुन्छन् भन्ने उखान सबैलाई थाहा भएकै हो । आजका युवा तथा बालबालिका अध्ययनमा त्यति रुचि राख्दैनन्, तयारी अवस्थामा भएका सामग्री उपभोगमा रमाउँछन् । जस्तैः च्याट जीपीटी, एआई, जसले मानव मस्तिष्कलाई शिथिल बनाइदिन्छ । उनीहरूको सोच्न सक्ने र गर्न सक्ने क्षमतामा ह्रास आउँछ, साथै मानिस समाजमा भन्दा मेसिनमा आफूलाई व्यस्त राख्न मन पराउँछ । यसो भन्दैमा समयानुसारको प्रविधि प्रयोग नगर्न भनेको होइन, मात्रै उचित प्रयोग होस् ।

म पनि एउटा संस्थागत विद्यालयमा आबद्ध छु । म आबद्ध शैक्षिक संस्थामा किताबी ज्ञान सँगसँगै बालबालिकाको जीवनोपयोगी शिक्षालाई विशेष महत्त्व दिइन्छ । सीप, संस्कार र प्रविधिको अधिकतम प्रयोग गरी संस्कृतिको संरक्षणमा पनि उत्तिकै जोड दिइन्छ, जसले उनीहरूमा आत्मबल बलियो बनाउने, समूहमा काम गर्न सक्ने, सही निर्णय लिन सक्ने जस्ता सीप विकास हुन्छ । बालबालिकासँग घुलमिल भइरहँदा आधुनिकता र विकासको गतिलाई पछ्याइरहेको पाउँछु । 

त्यसैले आजको भीडले यसको अर्थ नबुझे ‘आजका बालबालिका भोलिका देशका कर्णधार’ हरू अन्योलमा पर्न सक्छन्, भौंतारिन सक्छन् । अब आधुनिकता र विकासको नाममा हुने गरेको विकृति हटाएर सभ्य र सबल बनौं, संयमित बनौं । सीप र संस्कारसहितको शिक्षालाई जोड दिएर आउँदा पुस्ताको भावी योजना पनि परिवार, समाज र देशकै हितका लागि प्राथमिकतामा परोस् न कि विदेशी मुलुकका लागि । यसरी मात्रै हामी आउँदा दिनमा विकासोन्मुख देशका विकासोन्मुख सोच परिवर्तन स्वरूप विकसित देशका विकसित नागरिक भनेर चिनिनेछौं । 

मान्छे नैतिकवान, चरित्रवान, इमानदार र कर्मशील हुन अति आवश्यक छ । जुन कुरा आजको पिँढीले महसुस गर्नु आवश्यक छ । आजको समाज यस्तै–यस्तै कुरामा पछाडि पर्दा पिँढी नै पछाडि परेको अनुभव हुन्छ । कतै यो पिँढीले हाम्रो संस्कार, आचरण, व्यवहारतिर नढल्की संस्कार, आचरण, व्यवहार र विकासका नाममा विकृति त अँगालेको छैन ? ठूलालाई आदर र सम्मान अनि सानालाई माया र स्नेह महत्त्वपूर्ण हुन्छ भनेर नयाँ पुस्तालाई सिकाउनु जरुरी छ । भेट हुँदा औपचारिक वा अनौपचारिक नमस्कारबारे सिकाउनु जरुरी छ । जुन हार्दिकतालाई विज्ञानले पनि स्वास्थ्यका हिसाबले उपयुक्त ठानेको छ । यस्ता संस्कारका धनी हाम्रो संस्कृति कतै ओझेल परेको त छैन ? हामी ठूला–ठूला कुरा गरिरहँदा साना–साना कुरा जीवनबाटै छुटाइरहेका छौं । त्यसैले अब ढिलो नगरौं– आफूले आफैंलाई फर्केर हेरौं अनि अवलोकन गरौं– म कस्तो छु ? विकासोन्मुख, सभ्य या विकासशील ?  
(पुरी स्कुल काउन्सिलर हुन्)

रूपा

Link copied successfully