वालेन्द्रज्यू, चमत्कार जहिल्यै अस्थिर हुन्छ !

चामत्कारिक नेतृत्व, अत्यधिक बहुमत र सञ्जालमा पोस्ट गरिने छोटा आदेशात्मक चञ्चले विचारले लोकतन्त्रलाई दरिलो बनाउँदैन 

चैत्र २७, २०८२

रोशन जागरी

Mr. Walendra, miracles are always unstable!

What you should know

काठमाडौं महानगरपालिकाको प्रमुखदेखि सिंहदरबारको प्रधानमन्त्री कुर्सीसम्मको वालेन्द्र शाह–यात्रा नेपाली राजनीतिकै सबैभन्दा छोटो, तर रोचक अध्याय हो । राष्ट्रिय स्वतन्त्र पार्टीमा तीन महिनाअघि मात्रै प्रवेश गरेका शाह आज देशकै कार्यकारी प्रमुख बनेका छन् । २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जित्दै नेपालको लोकतान्त्रिक इतिहासमा सबैभन्दा ठूलो एकल बहुमत हासिल गरेको छ ।

यो केवल शाहको व्यक्तिगत उपलब्धि नभई, दलगत राजनीतिको पुरानो एकाधिकार पन्छाउँदै ‘जनताको प्रत्यक्ष विश्वासले नयाँ दल र नेतृत्वलाई सत्तामा पुर्‍याउन सकिन्छ’ भन्ने उदाहरण पनि हो । तर, प्रधानमन्त्री शाह र रास्वपासामु अहिले धेरै कठिन चुनौती छन् । चमत्कार र ऐतिहासिक बहुमतले मात्रै संसद्, संघीय ढाँचा र बहुलवादी समाजको सञ्चालन सम्भव छैन । यही यथार्थमा उनको नेतृत्व–जाँच हुनेछ । 

सन् १९२२ मा ‘वैध प्रभुत्वका प्रकार’ भन्ने निबन्धमा जर्मन समाजशास्त्री म्याक्स वेबरले परम्परागत, कानुनी–तार्किक र चामत्कारिक गरी तीन प्रकारको नेतृत्वको उल्लेख गरेका छन् । नेपालको केन्द्रीय राजनीति लामो समयदेखि पारम्परिक दलगत वर्चस्व र संवैधानिक कानुनी प्रक्रियाबीच दोलायमान थियो । शाहको उदयले चामत्कारिक नेतृत्वको पुनर्जीवन भएको छ ।

जनताले अब पार्टीको झन्डा, पुरानो हैसियत वा आर्थिक स्रोत होइन, तीनवर्षे मेयरको कार्यकालमा उनले गरेका केही देखिने कामका जगमा बनेको चामत्कारिक छविलाई आधार बनाएका छन् । ‘जनयुद्ध’ को सेरोफेरोबाट उदाएका प्रचण्ड र उनलाई हाँक दिँदै नाकाबन्दीका बेला राष्ट्रवादी ‘बा’ को छवि बनाएका केपी ओली पक्कै पनि केही समयअघिका चामत्कारिक नेता थिए । लगभग दस वर्ष सेलिब्रेटी–मैत्री बनेका ओली र शाहबीच समानता र फरक धेरै भए पनि आममतदातामाझ एउटाको बोली र अर्काको कामले छाप छोडेको देखिन्छ । 

सहकारीसम्बन्धी मुद्दा–मामिलाले आफ्नो अनि पार्टीको छवि धमिलो भएको र भदौको जेन–जी आन्दोलनका बेला बढेको शाहको लोकप्रियताले रास्वपा सभापति रवि लामिछानेले उनलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए । कालान्तरमा रास्वपाले अत्यधिक बहुमत ल्यायो । यसले  व्यक्तिगत चमत्कार र संस्थागत संरचनाबीचको सम्बन्धलाई नयाँ आयाम प्रदान गरेको छ । तर, ‘कुनै पनि चमत्कार अस्थिर चरित्रको हुन्छ’ भनेर वेबर स्वयंले सावधान गराएका छन् । शासनको चमत्कार वा आकर्षण दैनिक प्रशासन तथा नियमित राजनीतिमा रूपान्तरण गर्न सकिएन भने यो आफैंमा संकट बन्न सक्छ । प्रधानमन्त्री शाहले स्वयंलाई अब काठमाडौं महानगरको ‘एकल निर्णयकर्ता’ को भूमिकाबाट बहुमतप्राप्त दलको नेताका रूपमा सहमति निर्माताको भूमिकामा प्रस्तुत गर्नुपर्नेछ । 

प्रधानमन्त्रीका रूपमा अब शाहले प्रतीकात्मक पुँजीलाई संस्थागत सुशासनमा रूपान्तरण गर्नुपर्नेछ । ‘अनलाइनमा देखिने इमानदारिता’ लाई ‘खरिद ठेक्काको पारदर्शिता’, ‘सडकमा देखिने सक्रियता’ लाई ‘मन्त्रालयहरूको प्रभावकारी समन्वय’ मा बदल्न सक्नु नै उनको सफलताको मापदण्ड हुनेछ । सुशासन र भ्रष्टाचारजस्ता गैरराजनैतिक र मध्यम–वर्गीय मुद्दाले दीर्घकालीन न्याय र आर्थिक रूपान्तरणमा खासै ठूलो भूमिका खेल्दैन । मुलुकको आर्थिक–सामाजिक असमानताका कारणको खोजी, सेरोफेरोको भूराजनीति र भू–अर्थशास्त्रको चुनौतीको पहिचान अनि अवसर प्रयोगले मात्रै दीर्घकालीन सम्भावनाको ढोका खुल्छ ।  

वालेन्द्र शाह र रास्वपाको विजय डिजिटल लोकतन्त्रको सबैभन्दा ठूलो प्रयोग हो । सामाजिक सञ्जालले नागरिक र शासकबीचको दूरी मेटाएको छ । परम्परागत पत्रपत्रिका र टीभीभन्दा अहिलेको सूचना–प्रविधि अनि सामाजिक सञ्जालको डिजिटल संवादले राजनीतिक सञ्चारको ढाँचा नै बदलेको छ । २३ र २४ भदौको ‘जेन–जी’ आन्दोलनमा शाहले पोस्ट गरेका विभिन्न बान्कीका विचार र त्यसले उनका समर्थकमाझ निम्त्याएको कौतुहल अनि आकर्षणले नयाँ डिजिटल संवादको संकेत गरेको थियो । 

भर्खरै बितेका जर्मन समाजशास्त्री हाबरमासका अनुसार, लोकतन्त्रको जीवन्तता समाजमा विद्यमान स्वतन्त्र, आलोचनात्मक र समावेशी सार्वजनिक विमर्शको गुणस्तरमा निर्भर हुन्छ । शाहको डिजिटल उपस्थितिले परम्परागत दलहरूको एकाधिकारबाट मुक्त ‘अर्को सार्वजनिक क्षेत्र’ सिर्जना गरेको छ, जहाँ नागरिक प्रत्यक्ष रूपमा शासकसँग जोडिन सक्छन् । तर, सञ्जालमा एकांकी रूपमा नेता बोलिराख्ने र जनताले सुनिराख्ने परिपाटीले सार्वजनिक संवादलाई ध्वस्त मात्रै होइन कुनै राजनैतिक निर्णयमा पुग्नुअघि हुनुपर्ने सार्वजनिक र संसदीय बहस अनि प्रशासनिक उत्तरदायित्वलाई पनि कमजोर बनाउँछ । चामत्कारिक नेतृत्व, अत्यधिक बहुमत र सञ्जालमा पोस्ट गरिने छोटा आदेशात्मक चञ्चले विचारले लोकतन्त्रलाई दरिलो बनाउँदैन । 

Mr. Walendra, miracles are always unstable!डिजिटल लोकप्रियतालाई संस्थागत शासनसँग जोड्ने काम जटिल हुन्छ । किनभने संरचनाहरूको इतिहास धेरै पुरानो हुन्छ र केही ठूला क्रान्तिमा बाहेक नयाँ नेतृत्व अनि पुरानो संरचनाबीचको तालमेल मिलाउन निकै कठिन हुन्छ । युक्रेनका राष्ट्रपति जेलेन्स्की पनि टेलिभिजनमा निर्मित ‘मोहनी छवि’ बाट राष्ट्रिय नेतृत्वमा पुगेका थिए । तर, आर्थिक–सामाजिक मुद्दालाई पछि पार्दै उनको कार्यकाल रुस र पश्चिमबीचको भूराजनीतिमा अड्किएको छ । शाहको हकमा पनि सामाजिक सञ्जालको ह्यासट्याग टिप्पणीले ठूला आर्थिक सुधार, संघीय निकायसँगको समन्वय र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रतिस्थापन गर्न सक्दैन । उनले प्रशासनिक नियमावली, संवैधानिक परिषद् र राज्यका संस्थागत संरचनासँग सहकार्य गर्न सिक्नैपर्छ । आवेग र आदेशको हुटहुटीलाई संवादले पातलो बनाउनुपर्नेछ । 

मेयरका रूपमा शाहले ‘एकल आदेश’ र ‘प्रत्यक्ष अनुगमन’ को मोडलबाट काम गरेका थिए । उनी प्रत्यक्ष निर्वाचित कार्यकारी थिए । तर, संघीय तहमा प्रधानमन्त्रीको भूमिका ‘प्रमुख प्रशासक’ भन्दा ‘समन्वयकर्ता’ को हुन्छ । सात वटा प्रदेश सरकार, ७५३ स्थानीय तह, संघीय मन्त्रालय र छुट्टै न्यायपालिका तथा संवैधानिक निकायबीच सहकार्य गराउनु अनिवार्य हुन्छ । 

हाबरमासको संरचना र आमजगत्को विश्लेषणले यहाँको जटिलता बुझ्न सघाउँछ । संरचना वा ‘प्रणाली’ राज्यको संस्थागत, कर्मचारी प्रशासन र कानुनी संरचना हो भने आमजगत् नागरिकको दैनिक जीवन, परिवार, सामुदायिक सम्बन्ध र प्रत्यक्ष आवश्यकताको क्षेत्र हो । शाहको स्थानीय सफलता मूल रूपमा आमजगत्मा केन्द्रित थियो र प्रणालीसँग उनको सिधा पहुँच थियो । यद्यपि मेयरका रूपमा पनि उनले कुन जगत्को पृष्ठपोषण गरे र कुन वर्गलाई उपेक्षा गरे भन्नेबारेमा ठूलो विवाद छँदै छ । तर, राष्ट्रिय शासनमा ‘प्रणाली’ सँग सहकार्य नगरी ‘आमजगत्’ को मात्र आवाज बोकेर हुँदैन । 

शाहको सबैभन्दा ठूलो चुनौती हो– संघीय ढाँचा र प्रशासनिक संरचनालाई नागरिकको प्रत्यक्ष अपेक्षासँग मेल खाने गरी पुनःसंरचना गर्नु । यसका लागि काठमाडौंमा जसरी उनले केन्द्रीय प्रशासनसँग ‘टकराव’ गरेर सडक विस्तार र संरचना निर्माण गरे, त्यही शैली प्रदेश र स्थानीय तहसँग दोहोर्‍याए सहकार्यको सट्टा द्वन्द्व सिर्जना हुन सक्छ । यसले प्रणाली–संरचना र आमआकांक्षाबीचको विकृत संवाद उत्पन्न हुन सक्छ । रास्वपाले उठाएको नवउदारवादी सुशासनको मुद्दाले पनि प्रणालीगत सुधारको त अपेक्षा गर्छ तर त्यो सुधारले अर्थराजनीतिबीच फाटो ल्याइदिएर आर्थिकलाई प्रश्रय दिने र राजनैतिक पाटोलाई नजरअन्दाज गर्ने सम्भावना प्रबल हुन्छ । यसले गर्दा समाजमा आर्थिक–सामाजिक असमानता अझ बढेर जाने हुन सक्छ । यसर्थ, नयाँ सरकारले समाज र राज्यका विभिन्न अवयवलाई मसिनो गरी केलाउनुपर्ने देखिन्छ । 

शाहको उदय नै ‘परिवर्तनको अधीरता’ बाट भएको हो । काठमाडौंमा उनले छिटो, देखिने र प्रत्यक्ष काम गरेर जनविश्वास एक हदसम्म जितेका थिए । तर राष्ट्रियस्तरमा अपेक्षाहरू असंख्य र विविध छन् । रास्वपाले जारी गरेको घोषणापत्र ‘प्रतिबद्धतापत्र २०८२’ मा भ्रष्टाचार नियन्त्रण, जनचेतनामूलक सुशासन, निजामती सेवाको राजनीतीकरण अन्त्य तथा रोजगारी सिर्जनाजस्ता महत्त्वाकांक्षी प्रतिबद्धता छन् । सीमित स्रोत र ठूला अपेक्षाबीच उनले ‘प्राथमिकीकरण’ को स्पष्ट दर्शन प्रस्तुत गर्नुपर्नेछ । राष्ट्रिय नीति निर्माण, विधेयकको संसदीय प्रक्रिया र अन्तर्राष्ट्रिय सम्बन्धको व्यवस्थापन ‘परियोजना व्यवस्थापन’ भन्दा धेरै फरक र जटिल हुन्छ ।  

यति धेरै चुनौती भए पनि शाहको प्रधानमन्त्रीत्वले ठूला सम्भावनाहरू बोकेको छ । पहिलो, यसले ‘राजनीति पेसा होइन, सेवा हो’ भन्ने सन्देश स्थापित गर्न सक्छ । दोस्रो, यसले दलगत संरचनाभन्दा माथि उठेर कार्यसम्पादनलाई केन्द्रमा राख्ने प्रवृत्ति प्रोत्साहित गर्न सक्छ । तेस्रो, डिजिटल पारदर्शिता, नागरिकको प्रत्यक्ष सहभागिता र सूचनाको खुलापनलाई शासनको मूल सिद्धान्त बनाउन सक्छ । 

रास्वपाको यो ऐतिहासिक बहुमतले पुरानो राजनीतिक संरचनालाई पूर्णरूपमा परिवर्तन गर्ने अवसर प्रदान गरेको छ । यदि शाहले प्रशासनिक सुधारमा व्यवस्थित ढंगले अघि बढ्न सक्ने र आफ्नो ‘मोहनी छवि’ लाई संस्थागत प्रणालीमा ढाल्न सक्ने हो भने नेपालको राजनीतिमा ‘वैकल्पिक नेतृत्व’ को द्वार सधैंका लागि खुल्न सक्छ । 

प्रधानमन्त्री शाहको उदय नेपाली लोकतन्त्रको ऐतिहासिक मोड हो । यस घटनाले के प्रमाणित गरेको छ भने जब राजनीतिक दलहरू जनअपेक्षालाई सम्बोधन गर्नबाट चुक्छन्, समाजले आफैं नयाँ पार्टी र नयाँ नेतृत्व जन्माउँछ । 

तर, प्रधानमन्त्रीका रूपमा शाहको सफलता चमत्कार र बहुमतमा टिक्दैन । यो तब मात्रै सार्थक हुन्छ, जब उनी ‘विरोधीको आवाज’ बाट ‘सर्वसम्मत नेतृत्व’ मा रूपान्तरित हुन सक्छन् । संसदीय राजनीतिको जटिलता, संघीय संरचनाको बन्धन, ठूलो बहुमतको व्यवस्थापन र विशाल प्रशासनिक निकायको सञ्चालन उनका अगाडि ठूला परीक्षा हुन् । तर, यी परीक्षाबाट सिक्दै, आफूलाई सुधार्दै र नागरिकसँगको विश्वासलाई पुँजीका रूपमा प्रयोग गर्दै जाने हो भने शाहले नेपाली राजनीतिलाई नै नयाँ दिशा दिन सक्ने सम्भावना प्रबल छ ।

रोशन जागरी समाजशास्त्रका अध्यापक हुन्

Link copied successfully