कांग्रेसको विघटन कि विनिर्माण ?

कांग्रेसलाई कन्जरभेटिभ होइन, थप लोकतान्त्रिक, उदार र प्रगतिशील पार्टीका रूपमा रूपान्तरण गरिनुपर्छ । यदि कन्जरभेटिभ धारतर्फ उन्मुख भयो भने थप असान्दर्भिक हुनेछ । 

चैत्र २७, २०८२

गेजा शर्मा वाग्ले

Dissolution or reconstruction of the Congress?

What you should know

सदाबहार शक्ति–संघर्ष, चिरस्थायी गुटबन्दी र अन्त्यहीन विवादको कारणले विभाजन र एकताको चक्रव्यूहबाट गुज्रिँदै आएको कांग्रेस अहिले पुनः सोही अभिशप्त नियतिको कठघरामा उभिएको छ । एकातिर, निर्वाचनमा रास्वपाको अभूतपूर्व विजय र कांग्रेसको लज्जास्पद पराजयले केन्द्रीय नेतादेखि स्थानीयस्तरका कार्यकर्ता पंक्तिसम्मलाई गम्भीर राजनीतिक तथा मनोवैज्ञानिक आघात परेको देखिन्छ । अर्कोतिर, शेरबहादुर देउवा–शेखर कोइराला समूह विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालत गएपछि सिर्जना भएको आन्तरिक संकट निर्वाचनपछि पनि समानान्तर बैठक र अस्वाभाविक गतिविधिलाई निरन्तरता दिएपछि थप गहिरिँदै गएको देखिन्छ । विवाद, विभाजन र एकता वंशाणुगत विशेषता भएको कांग्रेसमा यस्ता विवादित गतिविधिले एकता र अस्तित्वको दुवै दृष्टिले एकै पटक संशयपूर्ण प्रश्न खडा भएको छ । के कांग्रेस विभाजनतर्फ उन्मुख भएकै हो ? सैद्धान्तिक, वैचारिक र वर्गीय धरातल बलियो भएर पनि कांग्रेस किन यति कमजोर भयो ? कांग्रेस असान्दर्भिक भएको हो कि पूर्ववर्ती नेतृत्वको असफलता ? के कांग्रेसले पुनर्जीवन पाउने सम्भावना छ ? भन्ने जस्ता प्रश्न–प्रतिप्रश्नहरू राजनीतिक वृत्तमा बहसको विषय भएका छन् । 

केही राजनीतिशास्त्री र विश्लेषकहरूले केवल ‘कस्मेटिक’ सुधार, रूपान्तरण र पुनर्गठन मात्रै होइन, कांग्रेसलाई विनिर्माण वा पुनर्निर्माण नै गर्नुपर्ने सुझाव दिएका छन् । यदि विनिर्माण वा पुनर्निर्माण नगरे कांग्रेस विघटनको दिशातर्फ उन्मुख हुन सक्ने भविष्यवाणीसमेत गरेका छन् । २०औं शताब्दीमा फ्रान्सेली दार्शनिक ज्याक डेरिडाले प्रतिपादन गरेको विनिर्माण (डिकन्स्ट्रक्सन) सिद्धान्त मूलतः भाषा, साहित्य र दर्शनसँग सम्बन्धित छ । स्थापित वा पुरातन मूल्य–मान्यता, सिद्धान्त, अर्थ र संरचनालाई आलोचनात्मक आयामबाट विश्लेषण वा प्रश्न गरेर विकसित हुने नूतन सिद्धान्तलाई विनिर्माण भनिन्छ । अर्थात् विनिर्माण भन्नाले मौलिक रूपमा रूपान्तरण वा पुनःसंरचना वा पुनर्निर्माण हो । तर कांग्रेसलाई विनिर्माण कसरी गर्ने ? पपुलिजम, अनुदारवाद र राष्ट्रवादका कारणले लोकतान्त्रिक र मध्यमार्गी पार्टीलाई विश्वव्यापी रूपमा नै गम्भीर चुनौती सिर्जना भइरहेको घडीमा अहिलेको सबैभन्दा जटिल र अनुत्तरित प्रश्न यही हो ।

सैद्धान्तिक तथा वैचारिक पुनर्व्याख्या 
राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका मार्गदर्शक सिद्धान्त हुन् । २०औं शताब्दीको अन्त्यसम्म निश्चित राजनीतिक दर्शन, सिद्धान्त र वर्गीय आधारमा पार्टी स्थापित हुने प्रवृत्ति थियो । नेपालको कांग्रेस मात्रै होइन, अमेरिकाका डेमोक्रेटिक र रिपब्लिकन, बेलायतका कन्जरभेटिभ र लेबर, भारतका बीजेपी र कांग्रेसलगायतका पार्टी पनि सोही उद्देश्य र प्रक्रियाबाट स्थापित भएका थिए । तर २१औं शताब्दीको पाँचौं औद्योगिक क्रान्तिको युगमा परम्परागत वाद वा विचारधारा विशेषका आधारमा मात्रै पार्टी निर्माण हुने परम्परागत पद्धति तथा प्रवृत्ति परिवर्तन भएको छ । १९औं र २०औं शताब्दीभन्दा अहिलेका समस्या जटिल र चुनौतीपूर्ण छन् । आर्थिक असमानता, जलवायु परिवर्तन, तापक्रम वृद्धि, दिगो तथा हरित विकास, पर्यावरणीय असन्तुलन, बेरोजगारी, आर्टिफिसियल इन्टेलिजेन्स, गिग अर्थतन्त्र, डिजिटलाइजेसन, आप्रवासन जस्ता नयाँ समस्या र चुनौती सिर्जना भएका छन् । 

अहिले जनताका लागि परम्परागत दर्शन, वाद र सिद्धान्तभन्दा विचार, नीति र एजेन्डा प्रमुख प्राथमिकता हुन् । समाजवाद, उदारवाद, साम्यवाद जस्ता ठूला, कोरा र अमूर्त वादप्रति जनताको चासो छैन । प्रत्यक्ष र तत्काल अनुभूत गर्ने आर्थिक विकास, विधिको शासन, सुशासन, भ्रष्टाचार नियन्त्रण, सर्वसुलभ सेवा प्रवाह, गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, पारदर्शिता, उत्तरदायित्व जनताका प्रमुख एजेन्डा हुन् । अहिले जनताले शास्त्र र सिद्धान्तभन्दा पनि डेलिभरी खोजिरहेका छन् । शास्त्रीय चिन्तन, शास्त्रीय दृष्टिकोण र शास्त्रीय सोचको अर्थ छैन । यदि देश र जनताका समस्या समाधान गर्ने नीति र कार्यक्रममा रूपान्तरित नभए कोरा सिद्धान्त र अमूर्त विचारधाराको औचित्य छैन । त्यसैले शास्त्रीय सिद्धान्तवादीभन्दा गतिशील विचार र नीतिप्रधान कांग्रेस विनिर्माणको पूर्व सर्त हो । 

अहिले जनताका लागि परम्परागत दर्शन, वाद र सिद्धान्तभन्दा विचार, नीति र एजेन्डा प्रमुख प्राथमिकता हुन् ।उक्त वास्तविकतालाई आत्मसात् गर्दै हालसम्म अनुसरण गर्दै आएका वाद, विचारधारा र सिद्धान्तका बारेमा समीक्षा गरी कांग्रेसले अब स्पष्ट मार्गचित्र तय गर्नु अपरिहार्य छ । कांग्रेसले परिकल्पना गरेको लोकतान्त्रिक, समुन्नत र समन्यायिक समाज निर्माण गर्न आफ्ना विचार, सिद्धान्त र नीतिहरू समयानुकूल परिमार्जन, व्याख्या र पुनर्व्याख्या गर्नु आवश्यक छ । यो स्वाभाविक राजनीतिक प्रक्रिया हो किनभने कुनै पनि सिद्धान्त र विचार गतिशील र परिवर्तनशील हुन्छ । विशेषगरी लोकतान्त्रिक समाजवादलाई परिवर्तित आर्थिक–सामाजिक परिदृश्यमा पुनर्विचार वा समयानुकूल पुनःपरिभाषित गर्नु आवश्यक छ । कांग्रेसले समावेशी आर्थिक वृद्धिमा आधारित प्रगतिशील र उदारवादी अर्थनीति अनुसरण गर्नुपर्छ, जसले उत्पादनमुखी र रोजगारमूलक अर्थतन्त्र सुनिश्चित गर्नेछ । त्यसैले विनिर्माणको प्रारम्भ सैद्धान्तिक–वैचारिक स्पष्टताबाट गर्नुपर्छ ।

तर आसन्न १५औं महाधिवेशनको बन्दसत्रमा मात्रै होइन, यस्तो गम्भीर सैद्धान्तिक–वैचारिक विषयमा अहिलेदेखि नै घनीभूत छलफल, बहस र विमर्श गर्नु आवश्यक छ । नीति र नेतृत्व दुवै दृष्टिले संक्रमणकालबाट गुज्रिरहेको कांग्रेसको भविष्यका लागि १५औं महाधिवेशन ‘टर्निङप्वाइन्ट’ हुनेछ भने कांग्रेसजनहरूका लागि अग्निपरीक्षा । सभापति गगन थापाले विगत लामो समयदेखि सैद्धान्तिक–वैचारिक पुनर्व्याख्याको माग गर्दै आएका छन् र आफ्नो वैकल्पिक दृष्टिकोण पनि पेस गरेका छन् । थापाले उदारवादी, प्रगतिशील र बहुलवादी धारको नेतृत्व गरेको देखिन्छ, जुन उपयुक्त छ । त्यसैले कांग्रेसलाई कन्जरभेटिभ होइन, थप लोकतान्त्रिक, उदार र प्रगतिशील पार्टीका रूपमा रूपान्तरण गरिनुपर्छ । यदि कन्जरभेटिभ धारतर्फ उन्मुख भयो भने थप असान्दर्भिक हुनेछ । 

पार्टी पुनर्निर्माण 
कांग्रेसको संरचना परम्परागत र पार्टी प्रणाली मृतप्रायः छ । पार्टी संरचना अत्यन्त भद्दा र अनावश्यक छन् । केन्द्रदेखि गाउँसम्मका संरचनाहरू गतिशील र कार्यमूलक छैनन् । कांग्रेसका नेता–कार्यकर्ताले सिद्धान्तलाई भन्दा सत्तालाई र संस्थालाई भन्दा गुटलाई विशेष प्राथमिकता दिँदै आएको देखिन्छ । कांग्रेस नीतिप्रधान होइन, नेताप्रधान पार्टी भएको छ । कांग्रेसका कार्यकर्ताहरू पनि जनतामुखी होइन, नेतामुखी छन् । उनीहरू जनताको होइन, नेताहरूको घरदैलो गर्छन् । यो उनीहरूको जीवन पद्धति बनिसकेको छ । त्यसैले कांग्रेसका नेतादेखि कार्यकर्तासम्म सबै जनताबाट विमुख भएका छन् । पार्टीको आन्तरिक लोकतन्त्र कमजोर छ । निर्णय प्रक्रिया पनि विधिसम्मत, सहभागितामूलक र समावेशी हुँदैनन् । त्यसैले कांग्रेसका अधिकांश निर्णयहरू विवादित हुँदै आएका छन् । कांग्रेसको सान्दर्भिकता र भविष्यका लागि एक दशक अगाडि नै मौलिक रूपमा पुनर्गठन वा रूपान्तरण गर्नुपर्ने थियो । विगत दुई दशकदेखि यो एजेन्डा बौद्धिक समुदाय, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र नागरिक समाजले सशक्त रूपमा उठाउँदै आएको छ । गगन थापा, प्रदीप गिरि, नरहरि आचार्यहरूले पनि कांग्रेसभित्रैबाट यो एजेन्डाको वकालत गर्दै आएका हुन् । तर नेतृत्वले कसैको विचार सुनेन । त्यसैले सांगठनिक दृष्टिले पनि अब कांग्रेसलाई विनिर्माण वा पुनर्निर्माण नै गर्नुपर्ने अपरिहार्य परिवेश सिर्जना भएको छ । होइन भने यथास्थितिमा कांग्रेसको भविष्य छैन ।

यदि कांग्रेसलाई पुनर्जीवन दिने हो भने अब लोकतन्त्रवादी पार्टीको आधारभूत सिद्धान्त र चरित्रअनुसार कार्यकर्तामा आधारित (क्याडर बेस्ड) होइन, जनतामा आधारित (मास बेस्ड) उदार र खुला पार्टीका रूपमा रूपान्तरित गर्नुपर्छ । नेताप्रधान होइन, नीतिप्रधान पार्टीको रूपमा रूपान्तरण गर्नुपर्छ । पार्टीका कार्यकर्ता नेताप्रति बफादार होइन, नेतादेखि कार्यकर्तासम्म सबै जनताप्रति उत्तरदायी हुने प्रणाली विकसित गर्नुपर्छ । सदस्यता प्रणाली पनि विवादित र नियन्त्रणमुखी छ । पार्टीको भविष्य, जनाधार र संगठन विस्तारको दृष्टिले होइन, गुटगत उद्देश्य, रणनीति र गणितीय जोड–घटाउका आधारमा सदस्यता वितरण गरिन्छ । तर लोकतन्त्रवादी पार्टीले संगठन र सदस्यता प्रणाली पनि लोकतान्त्रिक र उदार बनाउनुपर्छ । क्रियाशील र साधारण गरी दुई सदस्यता प्रणाली अन्त्य गरी एकल सदस्यता प्रणाली लागू गर्नुपर्छ । हालसम्म प्रतिनिधिमूलक रूपमा नेतृत्व चयन गरिँदै आएको छ । तर अब पार्टी सदस्यहरूबाटै प्रत्यक्ष प्रक्रियामार्फत वडादेखि केन्द्रसम्मको नेतृत्व चयन गर्नु उपयुक्त हुनेछ । यसैगरी विशेष महाधिवेशनबाट पारित भएअनुसार प्राइमरी निर्वाचनबाटै टिकट वितरण गर्नुपर्छ । 

यदि कांग्रेसलाई पुनर्जीवन दिने हो भने अब लोकतन्त्रवादी पार्टीको आधारभूत सिद्धान्त र चरित्रअनुसार कार्यकर्तामा आधारित (क्याडर बेस्ड) होइन, जनतामा आधारित (मास बेस्ड) उदार र खुला पार्टीका रूपमा रूपान्तरित गर्नुपर्छ । नेताप्रधान होइन, नीतिप्रधान पार्टीको रूपमा रूपान्तरण गर्नुपर्छ । बौद्धिक, व्यावसायिक र आफ्नो क्षेत्रमा स्थापित विज्ञ तथा विशिष्ट व्यक्तित्वलाई न्यायोचित स्थान र भूमिकाको व्यवस्था छैन । यही कारणले कांग्रेसप्रति आकर्षण छैन । बौद्धिक, व्यावसायिक तथा विज्ञहरूले सकारात्मक योगदान गर्न सक्ने भएकाले उनीहरूलाई ‘ल्याटरल इन्ट्री’ (विशेष प्रक्रियामार्फत पार्टीमा उचित स्थान र भूमिका सुनिश्चित गर्ने प्रणाली) प्रावधान लागू गर्नु आवश्यक छ । किनभने जहिलेसम्म सम्पूर्ण लोकतन्त्रवादीहरूको साझा मञ्च बन्न सक्दैन, तहिलेसम्म कांग्रेसले पुनर्जीवन पाउन सक्दैन । यसैगरी युवा, विद्यार्थी, महिला, मजदुर, आदिवासी–जनजाति, दलितबाहेकका भ्रातृ संस्थाहरूका बारेमा समेत पुनर्विचार गरी खारेज गर्नुपर्छ । कर्मचारी, प्राध्यापक, शिक्षक, चिकित्सक, कानुन व्यवसायी, इन्जिनियरिङ, पत्रकारिता जस्ता गैरराजनीतिक र व्यावसायिक क्षेत्रका शुभेच्छुक संस्था खारेज गर्नुपर्छ । अब कार्यकर्तामा आधारित पार्टी, पूर्णकालीन कार्यकर्ता तथा आजीवन नेतृत्व पंक्तिमा रहने अध्याय अन्त्य भइसकेको छ । पार्टी र सरकारको नेतृत्वका लागि दुई कार्यकाल र ६५ देखि ७० वर्षमा अनिवार्य अवकाश वा कार्यकारी भूमिकाका लागि स्वतः अयोग्य हुने वैधानिक प्रावधान गर्नुपर्छ । यस्तो व्यापक पुनर्गठन र रूपान्तरण प्रक्रियालाई वैधानिक रूपमै सुनिश्चित गर्न १५औं महाधिवेशनबाट विधान पनि संशोधन गर्नुपर्छ ।

भिजनरी नेतृत्व 
पार्टीमा विचार र संगठनको जति महत्त्वपूर्ण भूमिका हुन्छ, त्यत्तिकै निर्णायक भूमिका हुन्छ– नेतृत्वको । कांग्रेस यसरी कमजोर हुनुको प्रमुख कारण पूर्ववर्ती शेरबहादुर देउवाको असफल र अलोकप्रिय नेतृत्व हो । एकातिर करिब ४८ प्रतिशत मत हासिल गरी रास्वपाले बलियो सरकार बनाएको छ । अर्कोतिर कांग्रेसले भन्दा एमाले र नेकपाले हासिल गरेको संयुक्त मत बढी छ । बलियो रास्वपा र कम्युनिस्टसँग प्रतिस्पर्धा गरी कांग्रेसलाई पुनर्जीवन दिने चुनौती जटिल छ । तर भिजन, आत्मविश्वास र इच्छाशक्ति भएको नेतृत्वका लागि संकट भनेको अर्को अर्थमा अवसर पनि हो । यस्तो चुनौती सामना गर्न सक्षम भिजनरी, लोकप्रिय र ऊर्जाशील नेतृत्व आजको आवश्यकता हो । त्यस्तो नेतृत्व हो, गगन थापा । अहिले थापाको विकल्प छैन । थापाप्रति जनताको आशा छ र कार्यकर्ताको विश्वास । त्यसैले ‘थापाको नेतृत्वमा नयाँ कांग्रेस निर्माण’ अहिलेको उपयुक्त रणनीति हो ।

निर्वाचनमा पार्टी पराजित भएपछि सभापतिको हैसियतले नैतिक जिम्मेवारी लिनु स्वाभाविक हो । तर सभापतिका रूपमा थापाको नेतृत्वको परीक्षण भइसकेको छैन । त्यसैले आत्मसमीक्षा र आत्मचिन्तन गरी थप सैद्धान्तिक–वैचारिक स्पष्टता, थप आत्मविश्वास र दृढ संकल्पका साथ थापा जनतासँग जानु आवश्यक छ । कांग्रेस पुनर्जीवनको यो अन्तिम अवसर हो भने थापाका लागि अन्तिम परीक्षा । जेन–जी विद्रोहको मागमध्ये पुस्तान्तरणसहितको नयाँ नेतृत्व प्रमुख हो । अहिले केन्द्रदेखि वडासम्म जनता र जेन–जी पुस्ताको भावनाअनुसार पुस्तान्तरणसहितको नेतृत्व स्थापित गर्नुपर्ने समय हो । 

केवल पूर्वसभापति शेरबहादुर देउवा मात्रै होइन, विगत लामो समयदेखि नेतृत्व पंक्तिमा रहेका तथा पटक–पटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेका असफल दोस्रो र तेस्रो पुस्तालाई पनि अनिवार्य अवकाश दिनुपर्छ । विशेष महाधिवेशनदेखि निर्वाचन सम्पन्न भएपछिका विवादास्पद अभिव्यक्ति र लज्जास्पद गतिविधिका आधारमा विश्लेषण गर्दा यस्तो प्रवृत्तिबाट कांग्रेसलाई अविलम्ब मुक्ति दिनु आवश्यक छ । पार्टी विभाजनको त्रास देखाएर उक्त समूहले बार्गेनिङ गर्ने रणनीति अख्तियार गरेको देखिन्छ । तर वास्तविकता के हो भने यस्तो असफल र अलोकप्रिय पंक्तिको अब पार्टी विभाजन गर्न सक्ने हैसियतसमेत छैन ।

बेलायतको लेबर र भारतीय कांग्रेसको शिक्षा
कांग्रेसका बारेमा बहस गर्दा प्रायः दुइटा उदाहरण सान्दर्भिक लाग्छ । ती हुन्– बेलायतको लेबर र भारतीय कांग्रेस पार्टीको उत्थान र पतन । आजको घडीमा यी उदाहरण थप सान्दर्भिक र शिक्षाप्रद भएका छन् । नेपाली कांग्रेसको भन्दा पनि सुनौलो र गौरवशाली इतिहास भारतीय कांग्रेसको छ । नेपाली कांग्रेसले निरंकुशतन्त्रको विरुद्धमा तथा लोकतन्त्र र जनताका अधिकारका लागि संघर्ष गर्‍यो । तर भारतीय कांग्रेसले एकातिर बेलायती उपनिवेशवाद र स्वतन्त्रताका लागि सम्झौताहीन लामो र कठोर संघर्ष गर्‍यो भने अर्कोतिर लोकतन्त्र स्थापनाका लागि । बेलायती उपनिवेशबाट स्वतन्त्रता हासिल गरी लोकतान्त्रिक पद्धतिलाई संस्थागत विकास गर्न मात्रै होइन, विकसित र आधुनिक भारतको आधारशिला खडा गर्न भारतीय कांग्रेसले युगान्तकारी भूमिका निर्वाह गरेको थियो । तर यस्तो गौरवपूर्ण र सुनौलो इतिहास भएको तथा उदार लोकतन्त्र पक्षधर भारतीय कांग्रेस किन विगत एक दशकभन्दा लामो समयदेखि इतिहासमा नै सबैभन्दा कमजोर भयो ? 

भारतीय कांग्रेसको नीति समयानुकूल प्रगतिशील र नेतृत्व गतिशील हुन सकेन । भारतीय कांग्रेस कमजोर र अलोकप्रिय हुनुमा तपसिलका अन्य भए पनि प्रमुख कारण वंशजका आधारमा नेतृत्वमा आएका राहुल गान्धी हुन् । भारतीय कांग्रेसमा नेतृत्वको स्वाभाविक विकास भएन । भिजन, योग्यता र क्षमताका आधारमा लोकतान्त्रिक, सहभागितामूलक र पारदर्शी रूपमा होइन, वंशजका आधारमा नेतृत्व हस्तान्तरण गरिँदै आएको छ । नेहरू–गान्धी परिवारकी बुहारी सोनिया गान्धीले वंशजका आधारमा छोरा राहुल गान्धीलाई नेतृत्व हस्तान्तरण गरिन् । वंशजमा आधारित नेतृत्व र राहुल गान्धीको असफलता नै भारतीय कांग्रेसको असफलता र अलोकप्रियता हो । यसैगरी भारतीय कांग्रेसले पार्टीको आदर्श, सिद्धान्त र नीतिलाई पनि समयानुकूल पुनःपरिभाषित तथा अद्यावधिक गर्न सकेन । त्यसैले यस्तो नीतिगत तथा नेतृत्वको कमजोरीको अधिकतम राजनीतिक लाभ बीजेपीले लिँदै आइरहेको छ । 

भारतीय कांग्रेसको नीति समयानुकूल प्रगतिशील र नेतृत्व गतिशील हुन सकेन । भारतीय कांग्रेस कमजोर र अलोकप्रिय हुनुमा तपसिलका अन्य भए पनि प्रमुख कारण वंशजका आधारमा नेतृत्वमा आएका राहुल गान्धी हुन् । बेलायतको कन्जरभेटिभभन्दा लेबर पार्टी उदार र प्रगतिशील मानिन्छ । तर इतिहासको कुनै कालखण्डमा कन्जरभेटिभभन्दा पनि लेबर पार्टीको नीति र नेतृत्व कन्जरभेटिभ थियो । त्यसैले सन् १९८० को दशकमा लेबर पार्टी सबैभन्दा कमजोर र अलोकप्रिय भयो । विशेषगरी परिवर्तित परिदृश्यमा अर्थतन्त्र तथा अर्थनीतिप्रति कन्जरभेटिभ दृष्टिकोण भएको कारणले लेबर पार्टी असान्दर्भिक हुँदै गएको थियो । लेबर पार्टीले राज्य नियन्त्रित समाजवादी अर्थनीति अनुसरण गर्दै आएको थियो । तर सन् १९९४ को महाधिवेशनबाट टोनी ब्लेयर नेतृत्वमा आएपछि लेबर पार्टीलाई मौलिक रूपमा रूपान्तरण गरे । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश बुझेका भिजनरी नेता ब्लेयरले शास्त्रीय लेबरलाई ‘न्यु लेबर’ पार्टीका रूपमा रूपान्तरण मात्रै गरेनन्, संगठन प्रणालीसमेत आमूल परिवर्तन गरे । ब्लेयरले परम्परागत लोकतान्त्रिक समाजवादी लेबरलाई सामाजिक लोकतन्त्रवादी पार्टीका रूपमा रूपान्तरण गरे । त्यसैले लेबरले परम्परागत समाजवादी अर्थनीति त्यागेर उदार अर्थनीति अनुसरण गर्‍यो । यसरी उदार र प्रगतिशील नीति अख्तियार गरेपछि तथा ब्लेयर जस्तो भिजनरी नेतृत्व पाएपछि सन् १९९७ को निर्वाचनमा लोकप्रिय जनमतका साथ लेबर पार्टीले विजय हासिल गर्‍यो । लेबरले अनुसरण गरेको नयाँ अर्थनीति र संगठन प्रणालीका कारण लगातार तीन पटक विजय भई प्रधानमन्त्री भएका ब्लेयरले बेलायतको अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएका थिए । 

निष्कर्ष 
उपरोक्त सन्दर्भमा विश्लेषण गर्दा कांग्रेस विनिर्माण गर्ने कि विघटन ? त्योभन्दा तेस्रो विकल्प छैन । पहिलो विकल्प हो, पूर्वउल्लिखित सिद्धान्तका आधारमा अविलम्ब कांग्रेसलाई विनिर्माण वा पुनर्निर्माण गर्ने, जसरी ब्लेयरले लेबर पार्टी गरेका थिए । होइन भने कांग्रेस क्रमिक रूपमा विघटनको दिशातर्फ उन्मुख हुनेछ, जसरी भारतीय कांग्रेस भइरहेको छ । यस्तो निष्कर्ष कांग्रेसजनलाई कटु पनि लाग्न सक्छ । तर वास्तविकता यही हो । नेपाली कांग्रेसलाई भारतीय कांग्रेस बनाउने कि लेबर पार्टी ? आजको यक्ष प्रश्न यही हो । कांग्रेसको पुनर्गठन र पुनर्निर्माण थापाको एजेन्डा हो । विशेष महाधिवेशनबाट सभापति भएपछि थापाले ब्लेयरले नयाँ लेबर बनाए जस्तै कांग्रेसलाई पनि नयाँ कांग्रेस बनाउने घोषणा गरेका थिए । त्यसैले इतिहास, बीपी कोइराला र ब्लेयरबाट शिक्षा लिएर थापाले नयाँ कांग्रेस बनाउने युगान्तकारी अभियानको नेतृत्व गर्नुपर्छ । आजको आवश्यकता पनि यही हो र इतिहासले सुम्पिएको जिम्मेवारी पनि यही हो ।  @GejaWagle 

गेजा गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully