सुरक्षित यात्राका लागि हेल्मेट

मोटरसाइकल वा स्कुटी चालकले हेल्मेट लगाउनु नपर्ने प्रचलन सायद नेपालमा मात्रै हो ।

चैत्र १३, २०८२

सुमनराज ताम्राकार

Helmet for safe travel

What you should know

 आफ्नै टाउको फलामझैं बलियो छ नि ! किन झन्झट गरी हेल्मेट लगाइराख्नु’ भन्ने धेरै मोटरसाइकल वा स्कुटी चालकको मनमा हुँदो हो । त्यसैगरी ‘हेल्मेट त ट्राफिक प्रहरीका लागि लगाउने हो वा ट्राफिक कारबाहीमा परिएला कि भनेर पो लगाउने, कहाँ आफ्नो टाउको वा मस्तिष्क बचाउन लगाउने हो र ?’ भन्ने सोच पनि आउँदो हो ।

त्यसैले मूल बाटो वा ट्राफिक प्रहरी भएका ठाउँमा अधिकतर चालकले हेल्मेट लगाए पनि भित्री बाटो, चोक, गल्लीमा यत्रतत्र हेल्मेट नलगाईकनै बाइक वा स्कुटी कुदाइरहेको देख्न पाइन्छ । मोटरसाइकल वा स्कुटी चालकले हेल्मेट लगाउनु नपर्ने प्रचलन सायद नेपालमा मात्रै हो । तर, धेरै न्युरो सर्जन वा सवारी दुर्घटनापछि उपचार गर्ने शल्यचिकित्सकको भनाइ मान्ने हो भने राम्रो गुणस्तरको हेल्मेटले धेरै हदसम्म जीवनदान दिने गरेको पाइएको छ । हेल्मेटले कसरी टाउको वा मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ ?

यो थाहा पाउन एउटा उदाहरण हेरौं । तपाईंले एउटा काँचो अन्डालाई करिब दुई, तीन फिटको उचाइबाट भुइँमा खसाल्नुस् अनि त्यस्तै अन्डालाई प्लास्टिक, परालका झिंजा, फोम वा नरम खालका कपडाले बेरबार पारेर उत्ति नै उचाइबाट भुइँमा खसाल्नुस् ।

परिणाम ठ्याक्कै थाहा पाउनुहुन्छ– जब अन्डा खुल्लै खस्छ, ठाउँको ठाउँ फुट्छ । तर, जब अन्डा बेरबार पारेर खसालिएको हुन्छ, निकै उचाइबाट खसाले पनि फुट्दैन वा सुरक्षित हुन्छ । त्यसैगरी हेल्मेट लगाएका बेला सवारी दुर्घटना भइहालेको खण्डमा टाउको भुइँमा ठोक्किँदा वा बजारिँदा सडक (जमिन) जस्तो कडा सतहबाट जोगाउँछ नै ।

भुइँमा बजारिने क्रममा त्यसमा पर्न जाने प्रभाव (फल इनर्जी इफेक्ट) फिँजिन गई असर पनि कम हुन्छ । र, हेल्मेटभित्र राखिएको फोम (नरम पदार्थ) ले प्रभाव अवधि (इम्प्याक्ट ड्युरेसन) पनि बढाई क्षति कम गराउँछ । यसले कम गतिमा टाउको रोक्न मद्दत गर्छ ।  हेल्मेटको बाहिरी आवरणका कारण सानो सतहमा केन्द्रित हुने प्रभावलाई फैलाएर कुनै एक स्थानमा धेरै बल पर्ने अवस्थालाई कम गराउँछ ।

र, हेल्मेटभित्रको फोम लचकदार हुने, थिच्न मिल्ने खालको हुनाले दुर्घटना हुँदा सवारीको स्पिड (गति) अनुसारको ऊर्जा प्रभाव (इनर्जी इम्प्याक्ट) खेर फाली चालकको टाउको सुरक्षित राख्छ ।  हेल्मेटले सवारीचालकलाई सम्पूर्णतः सुरक्षित बनाउँछ भन्न खोजेको होइन, तर मस्तिष्क कुनै पनि जीवको महत्त्वपूर्ण अंग हुनुका साथै मस्तिष्कबाट शरीर प्रक्रिया पूरै सञ्चालन एवं नियन्त्रण हुने हुँदा टाउको बच्यो भने त्यसलाई धेरै उपलब्धि मान्न सकिन्छ ।

टाउकोजस्तो निश्चित कडा कवचभित्र रहेको बनावट (मस्तिष्क) मा झट्का पर्दा चोट लागेकै बेला प्रत्यक्ष असर पर्नुका साथै ब्याकफोर्सले फेरि एक पटक प्रतिअसर पनि पर्न जान्छ, भूकम्प गएपछिको पराकम्पन भनेजस्तै ।  हेल्मेट किन लगाउनुपर्छ ? सरल उत्तर छ– यसको सही प्रयोगले सवारीचालकलाई मृत्युबाट बचाउँछ । एक अध्ययनअनुसार, मोटरसाइकल दुर्घटनामा हेल्मेटको प्रयोगले मृत्युको  जोखिम करिब ४२ प्रतिशतसम्म घटाउँछ, किनभने मुख्यतः टाउकाको चोटबाट हुने मृत्युदर घटाउन हेल्मेट अत्यधिक प्रभावकारी मानिएको छ । हेल्मेट प्रयोगले गम्भीर खालको चोट वा मस्तिष्कभित्रको रक्तश्राव घटाउँछ । 

अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार, हेल्मेट लगाउने चालकमा हुन सक्ने टाउकाको गम्भीर चोटमा करिब ७० प्रतिशत कमी आएको थियो । एक अफ्रिकी रिपोर्टअनुसार, हेल्मेटले ८८ प्रतिशतसम्म टाउको चोटको जोखिम न्यून भएको पाइयो । त्यसैगरी अस्पताल बसाइ, औषधोपचार खर्च र प्रभावितको समय बचत पनि हुन्छ ।

हेल्मेट लगाएका घाइतेहरू औसतमा तीन दिन चाँडो अस्पतालबाट डिस्चार्ज हुने गर्छन् भने आईसीयू र कृत्रिम श्वासप्रश्वासका लागि मेकानिकल भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता कम हुन्छ । अस्पताल खर्चमा लाखौं बचत हुन्छ । नेपालको सवारी तथा यातायात व्यवस्था ऐन– २०४९ अनुसार, मोटरसाइकल चालक र यात्रुले हेल्मेट लगाउनु जरुरी छ भन्ने व्यवस्था राखिएको छ ।

नयाँ विधेयक (२०८१) अनुसार पनि पछाडि बस्ने यात्रुले समेत हेल्मेट लगाउनुपर्ने स्पष्ट प्रावधान छ । तर, व्यवहारमा चालकले मात्रै करैले लगाएका छन् । स्वास्थ्य सुरक्षामा केन्द्रित कानुनको हिसाबले मोटरसाइकल चालक र यात्रु दुवैले हेल्मेट लगाउनु भनेको समाजमा ट्राफिक सुरक्षा चेतना उच्च छ भन्ने बुझाउँछ ।  नियमित तवरमा हेल्मेट प्रयोग गर्दाको फाइदामा मस्तिष्क र टाउकोको रक्षा त भइहाल्यो, टाउकाको गम्भीर चोट पनि घट्छ (६५–७० प्रतिशतले) । मृत्युको जोखिम कम हुन्छ ।

आकस्मिक मृत्युमा करिब ५० प्रतिशतले सुधार आउँछ । ट्राफिक सुरक्षा सचेतना एवं संस्कृति निर्माण हुन्छ ।  हेल्मेट कस्तो चयन गर्ने ? यो सवालमा स्ट्यान्डर्ड वा सर्टिफाइड हेल्मेट मात्रै प्रयोग गर्नुपर्छ । आईएसआई (भारत), ईसीई (इकोनोमिक कमिसन अफ युरोप), डट वा स्नेल (अमेरिका) जस्ता वैज्ञानिक परीक्षण पास भएका हेल्मेट प्रयोग गर्नुलाई राम्रो मानिन्छ ।

अर्थात् सानोतिनो झट्कामै हेल्मेट नउछिट्टिने तथा कच्याककुच्चुक नहुने खालको हुनुपर्छ । सही हेल्मेट छान्ने सवालमा हाफ–हेल्मेटभन्दा पूरै टाउको ढाक्ने अनि बङ्गारा, आँखा, कान र अनुहारलाई पनि यथेष्ट सुरक्षा दिने र फित्ता कस्न मिल्ने हुनुपर्छ । हेल्मेटको फोम नरम एवं भरपर्दो हुनुपर्छ । हावा चलखेल हुने, पसिना सोसिने तथा छिट्टै गन्ध नआउने खालको हेल्मेट रोज्नुपर्छ । अगाडिको भाइजर पनि परावैजनी किरणबाट जोगाउने र छिट्टै बाफ नलाग्ने किसिमको हुनुपर्छ ।

हेल्मेटभित्रको फोम समयसँगै पुरानो हुँदै जान्छ र त्यस्तो संरचनाले सुरक्षा कमजोर पार्न सक्छ । हेल्मेट पुरानो हुँदै जाँदा सुरक्षा घटाउँछ । त्यसैले नियमित अन्तरालमा हेल्मेट बदल्नुपर्छ । त्यसैले, दुर्घटनापछि वा ५ वर्षको अवधिमा हेल्मेट प्रतिस्थापन गर्नु आवश्यक हुन्छ । हेल्मेटले सबै प्रकारका चोटबाट पूर्ण सुरक्षा दिन सक्दैन, विशेषगरी हल्कादेखि मध्यमखालको प्रभावबाट हुने चोटबाट बचाउँछ । हेल्मेटको आकार र फिट सही हुनु आवश्यक छ । गलत खालको हेल्मेटले प्रभावकारिता घटाउँछ ।

हेल्मेटको बाह्य खोलले मात्रै टाउकाको हड्डीलाई सुरक्षा गर्छ, मस्तिष्कको गहिराइमा हुने चोटबाट बचाउन ईपीएस फोम र नयाँ प्रविधि महत्त्वपूर्ण हुन्छ । हेल्मेटले टाउकाको संरचनात्मक सुरक्षा मात्रै होइन, मस्तिष्कको सुरक्षा पनि गर्छ । यसको सही प्रयोग र नियमित प्रतिस्थापनले दुर्घटनामा हुने गम्भीर चोटको जोखिम कम गर्न मद्दत पुर्‍याउँछ । ‘छोटो दूरी त हो नि, ट्राफिक प्रहरी छैन वा केही हुँदैन होला’ भन्ने जस्ता हेल्मेट नलगाउने बहाना बनाउनु घातक हुन्छ ।

सुमनराज

Link copied successfully