अब रास्वपा र विशेशगरी सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनलाई पार्टीबाट स्वतन्त्र निर्णय गर्न दिएमा मात्र प्रचण्ड बहुमतको भविष्य निर्धारण गर्ने निश्चित।
What you should know
देशको राजनीतिक इतिहासमा पछिल्लो निर्वाचनले सबै प्रकारका मानकमा रेकर्ड बनाएको छ । यो निर्वाचनले पुराना नालायक शासकहरूलाई सम्पूर्ण रूपले तिरस्कार गर्दै बालेन शैलीलाई अनुमोदन गरेको छ । थोत्रा भूतपूर्व शासकहरूलाई रोक्न सक्ने एक मात्र ‘मसिहा’ का रूपमा बालेनलाई ताज भिराइदिएको मान्न सकिन्छ ।
शासन सञ्चालन र जनआकांक्षा सम्बोधन गर्नका लागि मतदातामा समस्या हुँदैन, बरु ‘टाउको गनेर’ निर्णय गर्ने अवैज्ञानिक विधिमा हुन्छ । जब विधि नै तर्कसंगत र वैज्ञानिक हुँदैन, तब नतिजा र्यान्डम, अतार्किक र पपुलिस्ट बन्नु त छँदै छ । बहुमतले सधैं ‘सही/गलत’ वा ‘राम्रो/नराम्रो’ निर्धारण गर्न सक्दैन ।
पपुलिजम, भीडतन्त्र र अल्पसंख्यक दमनलाई उद्वेलित गर्ने सिलसिलालाई (अ)सामाजिक सञ्जालले सबैभन्दा भद्दा बानी, आदत र शासकीय प्रवृत्ति बनाइरहन्छ भन्ने सन्दर्भका लागि अमेरिका नै अब्बल उदाहरण बनिरहेको छ । नजिकमा हेर्नुपरे भारत पनि उदाहरण हो, जहाँ भारतीय लोकतन्त्रले मोदीलाई शिरमा राखेकै छ ।
बालेनको निकट विगत शैली, स्वभाव र प्रतिक्रिया जति ‘पब्लिक डोमेन’ मा छन्, त्यसकै आधारमा समेत आममानिसमा मतदान रुझान जत्तिकै बलिया आशंका छैनन् भन्न सक्ने अवस्था छैन । त्यसमाथि रास्वपाकै संघीय लोकतान्त्रिक गणतन्त्र र उदार लोकतन्त्रको बृहत्तर दायराबारेको अस्पष्टताले समेत गम्भीर शंका गर्ने ठाउँ छोडिदिएकै छ ।ऐतिहासिक शासकीय अस्थिरता, अविकास, कुशासन र शासकीय दम्भका विरुद्ध मतदाताले चामत्कारिक मत विद्रोहको शंखनादको शक्ति प्रदर्शन गरेका छन् । भदौरै विद्रोहको जगमा त्यसको एक मात्र लाभग्राही रास्वपा र विशेषगरी बालेनको चेहरा बन्न पुग्यो । यो राजनीतिक विकासक्रमले नेपाली राजनीतिमा बालेन फ्याक्टरको वर्चस्वको उदय भएको छ । दलीय व्यवस्थापनको दुरुह अवस्थालाई बदल्न सफल भएमा उनी नेतृत्वको सरकार असफल हुने खतरा खासै छैन ।
तर नेपालको शासकीय कुशासनको मुख्य तत्त्व नै दलीय अव्यवस्था र व्यक्तित्व अहंले निम्त्याउने डरलाग्दो भविष्यको आकलनबाट बालेन प्रधानमन्त्रीका रूपमा सबैभन्दा बढी पीडित हुनुपर्ने देखिनु अन्यथा होइन । यसखाले बुझिने गरी संकेतका बाछिटाहरू मतपरिणामको अभूतपूर्व रुझानकै बीचबाट सुरु भइसकेको छ । यस्तो आशंकालाई अहिले देवत्वकरण गरिरहेको त्यही सामाजिक सञ्जालको कोलाहलले नै अधिकतम योगदान गर्ने यथार्थलाई कसैले पनि पन्छाउन सक्दैन । समाजशास्त्री सुधिन्द्र शर्माले कतै भनेका छन्, ‘यस्तो लोकप्रियता भत्कन कुनै क्षण कुरिरहन पर्दैन ।’
बालेनको निकट विगत शैली, स्वभाव र प्रतिक्रिया जति ‘पब्लिक डोमेन’ मा छन्, त्यसकै आधारमा समेत आममानिसमा मतदान रुझान जत्तिकै बलिया आशंका छैनन् भन्न सक्ने अवस्था छैन । त्यसमाथि रास्वपाकै संघीय लोकतान्त्रिक गणतन्त्र र उदार लोकतन्त्रको बृहत्तर दायराबारेको अस्पष्टताले समेत गम्भीर शंका गर्ने ठाउँ छोडिदिएकै छ । यही बिन्दुमा प्राप्त अकल्पनीय मानिएको प्रचण्ड बहुमतले उत्पादन गर्ने राजनीतिक हर्मोनको उत्पातले स्वतन्त्रता खुम्चिने पनि उत्तिकै खतरा रहन सक्छ ।
यद्यपि सरकार नबन्दै यसखाले शंका गरिनु हतारो हुन सक्छ । तर पनि बृहत्तर र वैश्विक सन्दर्भमा तथा ऐतिहासिक कालखण्डमा बहुमतावादी वर्चस्वको जुवामुनि नागरिक अधिकारहरू कुल्चिएका दृष्टान्तले वैश्विक रूपमै उदार तथा ‘कम्प्रिहेन्सिभ’ लोकतन्त्रमाथि डरलाग्दा परिणामहरू दिइरहेको अवस्था छ । त्यसमाथि नेपालकै बारेमा अधिक चर्चा भएको भूराजनीतिक जोखिम साँच्चिकै बालेन सरकारको उद्घाटन हुँदै गर्दा उही ढोकामा खडा हुन आइपुगेको छ । यी दुबै खाले खतरा र रुझानले गर्ने पहिलो प्रहार नै नागरिक स्वतन्त्रामाथि हो । यसखाले अधारभूत चुनौतीलाई कुनै पनि अर्थमा अवमूल्यन गर्न मिल्दैन ।
लोकतन्त्रलाई ‘जनताको, जनताद्वारा, जनताका लागि’ शासन भनिए पनि आजको विश्वमा यो प्रणालीले नै गम्भीर संकट निम्त्याइरहेको छ । हाम्रो ताजा निर्वाचनमा देखिएको नालायकीप्रतिको मत विस्फोटसम्म आइपुग्ने परिघटनाको जननी अमेरिकामा ट्रम्पको उदययताको एक दशक लामो कालखण्डको गज्जब प्रयोग बन्न पुगेको छ । जब हामी भन्छौं, ‘खास समस्या मतदाताको होइन, हाम्रो परीक्षण विधिको हो ।’ प्लेटोले ‘द रिपब्लिक’ मा दिएको सारजस्तै ‘लोकतन्त्रमा अत्यधिक स्वतन्त्रता अत्यधिक दासत्वमा परिणत हुन्छ’ भन्ने चेतावनीलाई नै हामीले रुचाउन थालेको त होइन ? प्लेटोको निहितार्थ थियो बहुमतले सधैं ज्ञान र सद्गुणको प्रतिनिधित्व गर्दैन, बरु भावना र स्वार्थबाट निर्देशित गर्छ ।
बहुमतवादको संरचनात्मक सीमा
बहुमतवादी लोकतन्त्रको आधार मान्यता नै व्यक्तिगत मतहरूको योगले समाजका लागि उत्तम निर्णय दिन्छ भन्ने हो । तर प्रसिद्ध राजनीतिक दर्शनशास्त्री गुस्ताभ ले बोँले आफ्नो पुस्तक ‘द क्राउड अ स्टडी अफ द पपुलर माइन्ड (१८९५)’ मा उतिबेलै सविस्तार व्याख्या गरेका छन्– ‘भीड सधैं एकल व्यक्तिभन्दा बौद्धिक रूपमा कमजोर हुन्छ, भीडमा व्यक्तिगत विवेक हराउँछ, भावना सङ्क्रामक हुन्छ र तर्कभन्दा उत्तेजना हावी हुन्छ (पृ.२४) ।’
जोन स्टुअर्ट मिलले ‘अन लिबर्टी (१८५९)’ मा ‘बहुमतको अत्याचार’ बारे पौने दुई सय वर्षअघि नै चेतावनी दिएका थिए, ‘समाजले आफ्नै आदेश कार्यान्वयन गर्छ र यदि गलत आदेश दिन्छ भने त्यो राजनीतिक दमनभन्दा पनि डरलाग्दो सामाजिक अत्याचार हो ।’ यही प्रवृत्ति समकालीन दुनियाँका चुनावी लोकतन्त्रमा ‘मास–हिस्टेरियाका’ रूपमा पपुलिजमको रूपमा प्रदर्शित भएर अल्पसंख्यकलाई दबाउने प्रवृत्ति बढ्दो छ । त्यसको गज्जब ट्रेलर हाम्रो ताजा चुनावमा प्रदर्शित भएको मान्न सकिन्छ ।
अमेरिकामा दास प्रथालाई यदि भोटबाट हटाउने प्रयास गरिएको भए गृहयुद्ध नभईकन दास प्रथा नै कायम रहन्थ्यो भन्नु अतिशयोक्ति हुँदैन ।पपुलिजम मान्छेको ‘सर्भाइभल इन्स्टिक्ट’ सँग जोडिन्छ । रोबर्ट फ्र्यांकको विश्लेषणमा पपुलिस्टहरूले आफ्नो विश्वसनीयता देखाउन अतार्किक व्यवहार गर्छन्, जसले मतदाताको प्राचीन समूह–संरक्षण प्रवृत्तिलाई आकर्षित गर्छ । कतिसम्म भने उच्च साक्षरता भएका देशहरू (अमेरिका, अस्ट्रेलिया– ९९ प्रतिशत साक्षरता) मा समेत यसखाले आवेग डरलाग्दो भएबाट शिक्षाको स्तरसँग राजनीतिक लोकप्रियतावादको विस्फोटको साइनो नकारात्मक रूपले गाँसिन पुगेको देखिन्छ । तसर्थ, यो प्रवृत्ति अर्थात् अलौकिक मसिहाको खोजी गर्ने मास–हिस्टेरिया शिक्षाको स्तरले नभएर बरु प्राकृतिक प्रवृत्तिको निरन्तरतामा रहेको स्पष्ट हुन्छ ।
अमेरिकामा दास प्रथालाई यदि भोटबाट हटाउने प्रयास गरिएको भए गृहयुद्ध नभईकन दास प्रथा नै कायम रहन्थ्यो भन्नु अतिशयोक्ति हुँदैन । अनुसन्धानहरूले त केसम्म चेतावनी दिएका छन् भने चीनले यदि बहुमतवादी लोकतन्त्र अपनाएको भए आज भारतकै स्तरमा रहन्थ्यो । यसको अर्थ उदार लोकतन्त्र खराब भन्ने होइन । जेसन ब्रेननले ‘अगेन्स्ट डेमोक्रेसी (२०१६)’ मा भन्छन् ‘लोकतन्त्रले व्यक्तिलाई सशक्त बनाउँदैन, बरु बहुमतको क्षणिक इच्छालाई सशक्त बनाउँछ ।’ कतै दुनियाँभरको लोकतान्त्रिक अधोगतिलाई समकालीन चुनावी लोकतन्त्रले आदर्श मान्न थालेको त होइन भन्ने सन्त्रासका बीच सम्पन्न हाम्रो निर्वाचनले दुनियाँभरका सबैखाले मानकलाई तोडेको छ । सर्वत्र विजयको उन्मादले सन्त्रास, विजेता दलभित्रै अराजकता र अत्यासलाई जन्म दिँदै गरेका संकेतले डराउनुपर्ने त होइन भन्ने प्रश्न उब्जाएको छ ।
ज्ञानतन्त्र र विमर्शात्मक लोकतन्त्र
बहुमतवादको विकल्प तानाशाही मात्र होइन । जेसन ब्रेननले ज्ञानतन्त्र प्रस्ताव गर्दै भन्छन्, ‘नीति निर्माणको अधिकार ज्ञान र विशेषज्ञता भएकाहरूलाई दिनुपर्छ ।’ पूर्वमुख्तियार केपी शर्मा ओलीले सबैभन्दा बढ्ता हुर्मत लिएको पक्ष नै यही हो । मतको संख्याभन्दा योग्यता आधारित निर्णय प्रक्रियाको पैरवी गर्ने दलले अधिकतम बहुमत प्राप्त गरेको सन्दर्भमा संख्याको शंखनादभन्दा विमर्शको बाटो अवलम्बन गर्न सक्नुपर्दछ । समाजशास्त्री जुर्गेन हाबर्मासले विमर्शात्मक लोकतन्त्र (डेलिबरेटिभ डेमोक्रेसी) को वकालत गर्ने क्रममा ‘वैधता बहसको तर्कसंगतताबाट आउँछ, मत संख्याबाट होइन’ भन्दै दिएको निष्कर्षतर्फ विश्वभरका राजनीतिक प्रणालीबारेका अनुसन्धान प्रवृत्ति बढ्दो छ ।
यसको सामान्य अर्थ के हो भने, ‘कति जनाले भोट हाले’ भन्दा ‘कति तार्किक बहस भयो’ भन्ने विधि अपनाउने भन्ने हो । यसका लागि बालेन शाहले रास्वपाकै घोषणापत्रमा भनिएजस्तै गरी मन्त्रिपरिषद्को छनोट र नियुक्ति प्रक्रिया सुरु गर्न कोसिस गरेको देखिन्छ । यदि यसो गर्न सकेमा संसद्को प्रचण्ड बहुमत सत्ताको खेलमा नभएर विधि विधान बनाउन केन्द्रित गराउन सकिन्छ । तब मात्र राजनीतिक स्थिरता र विकास निर्माणलाई तीव्र वेगमा अघि बढाउन सहज हुन्छ । विज्ञहरूलाई कार्यकारी बनाउने प्रणाली बसाल्न सकेमा ‘कसैलाई रूखमा बाँध्नु’ पनि पर्दैन, ‘बाटोमा लडाउने’ तमासा गरेर आफैं लड्ने गल्ती पनि गर्नै पर्दैन ।
इतिहासले प्रमाणित गरेको सत्य र तथ्य नै मानव सभ्यताका ठूला उपलब्धिहरू (विज्ञान, मानवअधिकार, संविधानवाद) भीडले नभई बौद्धिक अल्पसंख्यक (सुकरात, ग्यालिलियो, अमेरिकी फाउन्डिङ फादर्स) हरूले गरेका हुन् । बहुमतवादी लोकतन्त्रले स्वार्थको प्रतिनिधित्व त गर्न सक्छ, तर ‘सही/गलत’ को प्रतिनिधित्व गर्न सक्दैन । नेपालमा कांग्रेस, कम्युनिस्ट जस्ता पुराना विचारधाराहरू अब अपर्याप्त छन् ।
अब हामीले चुनाव जित्ने मात्र होइन, समाज रूपान्तरण गर्ने नयाँ प्रणाली खोज्नुपर्छ । यसका लागि ज्ञान, तर्क र विमर्शलाई केन्द्रमा राखेर अघि बढ्ने शैली अपनाउनु अनिवार्य छ । यदि समयमै विकल्प नखोजेमा पपुलिजमको यो लहरले विश्वलाई आणविक संकटमा पुर्याउने चेतावनी पाइरहेका बेला हामी भूराजनीतिक भुमरीमा पर्ने खतरालाई केवल बौद्धिक विलास मानिने सिलसिला तोडिने निश्चित छ । प्रगतिशील शक्तिहरूले अब गम्भीर भएर सोच्ने बेला आएको छ– स्वार्थको प्रतिनिधित्व भीडबाटै होस्, तर विचार र सत्यको प्रतिनिधित्व विशेषज्ञता र विमर्शबाट । यसले मात्र नयाँ युगको ढोका खोल्न सक्छ ।
चुनावमा लगाइएको नाराजस्तै अब पालो रविको हो– ‘चुपचाप बालेनलाई समर्थन ।’ यसमा किन्तु–परन्तु भएको खण्डमा त्यही दुत्कारिएको विरासत ‘भट्टराई–कोइराला, कोइराला–देउवा, नेपाल–ओली, प्रचण्ड–बाबुराम, ओली–प्रचण्ड र ओली–देउवा–प्रचण्ड’ को म्युजिकल चेयरको पुनरावृत्तिको सुविधा बालेन–रविले भदौरै विद्रोहपछि पुरानाहरूले पाएको सहुलियत पनि नपाउन सक्छन् । यसमा हेक्का राख्नै पर्छ ।प्रचण्ड बहुमत प्राप्त गरेको अवसरलाई रास्वपा विशेषगरी सभापति रवि लामिछानेले असुरक्षाभाव नपालीकन पार्टीका घोषणा र वाचालाई संवैधानिक रूपले अघि बढाउन आवश्यक छ । संयोगले रास्वपाको वाचासँग समानता राख्ने अर्को स्वघोषित क्रान्तिकारी मानिएको सानो तर रास्वपाको बहुमतलाई निर्णायक बनाउन उपयोगी बन्ने दल पनि उपस्थित छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, विज्ञहरूको मन्त्रिपरिषद्, पूर्ण समानुपातिक संसद् र गैरदलीय स्थानीय तह र आगामी प्रधानमन्त्री बालेन शाहको जनकपुर घोषणाअनुसार संघीयताको मजबुतीकरणलाई साकार पार्न रास्वपालाई नेकपाले पूर्णरूपले सघाउनुपर्छ । यो अवस्थाले राष्ट्रिय सभा र प्रतिनिधिसभाबीचको असन्तुलनलाई सन्तुलनमा राख्ने मात्र होइन, परिणाम पनि निकाल्न सम्भव छ । भलै प्रचण्डले शेरबहादुर देउवा र केपी शर्मा ओलीको कुशासकीय विरासतको भारी बोकिरहनुपरेको विडम्बना भए पनि संसद्भित्रको अंकगणित र स्वयं नेकपा सुप्रिमोको सार्वजनिक घोषणाको वास्तविक परीक्षण गर्न पनि बालेन–रविको पहलकदमी अनिवार्य देखिन्छ ।
संवैधानिक सुधार र परिमार्जनको आवश्यकता र हुटहुटी जुन मात्रामा छ, त्यसभन्दा कैयौं गुना बढी मतदाताको आशा, आकांक्षा र अपेक्षाको पारो मापनभन्दा माथि देखिन्छ । यसका लागि सामाजिक तथा आर्थिक सुधारका समग्र एजेन्डालाई पहिचान गर्नु अनिवार्य छ । अर्कातिर बालेन–रविले चुनावी अभियानकै क्रममा देश बनाउने रटानको एकोहोरो पैरवीलाई कसरी सम्बोधन गर्ने ? देश बनाउने भनेको के हो ? आफ्ना छोरा, छोरी, बुहारी वा दिदी, बहिनी या भाइ र भतिजो स्वदेश फर्कनेछन् भनेर मतदान गर्नेहरूको सम्भवतः सबैभन्दा ठूलो हिस्सा हुनुपर्छ । सहकारीपीडितलाई एक सय दिनमा बचत फिर्ता गरिदिने वाचादेखि स्वदेशमै रोजगारी दिने कसमलाई कसरी कार्यान्वयन गरिन्छ भन्ने डरलाग्दो चुनौती बालेन सरकारले सामना गर्नुपर्ने नै छ ।
त्यसका लागि बालेनलाई जबाफदेहितासहित ‘फ्रिह्यान्ड’ काम गर्न दिने वातावरण तयार पार्ने जिम्मेवारी रवि लामिछानेको हो । चुनावमा लगाइएको नाराजस्तै अब पालो रविको हो– ‘चुपचाप बालेनलाई समर्थन ।’ यसमा किन्तु–परन्तु भएको खण्डमा त्यही दुत्कारिएको विरासत ‘भट्टराई–कोइराला, कोइराला–देउवा, नेपाल–ओली, प्रचण्ड–बाबुराम, ओली–प्रचण्ड र ओली–देउवा–प्रचण्ड’ को म्युजिकल चेयरको पुनरावृत्तिको सुविधा बालेन–रविले भदौरै विद्रोहपछि पुरानाहरूले पाएको सहुलियत पनि नपाउन सक्छन् । यसमा हेक्का राख्नै पर्छ ।
पार्टीको सभापतिले पार्टीको वैचारिक, संगठनात्मक र जनसमर्थनलाई प्राथमिकता दिने र प्रधानमन्त्रीले राज्यको संवैधानिक जिम्मेवारी, प्रशासनिक स्थिरता र अन्तर्राष्ट्रिय दबाब र आवश्यकतालाई सम्बोधन गर्ने शैली र अभ्यासलाई भयरहित बनाउने विषयमा मतदाताको आकांक्षा प्रतिबिम्बित हुने निश्चित छ । यसखाले द्वन्द्वलाई ‘प्रिन्सिपल–पार्टी, एजेन्ट–प्रधानमन्त्री’ का रूपमा हेर्ने गरिन्छ । निकट विगत हेर्दा बेलायतमा टोनी ब्लेयरले पार्टी अध्यक्षको भूमिकालाई कमजोर बनाएर राष्ट्रपतीय शैली अपनाएको विवादले पार्टीभित्र ‘न्युलेबर’ बनाम पुराना कार्यकर्ताबीच विद्रोह निम्त्याएको घटना उल्लखेनीय छ ।
भारतमा सोनिया गान्धी र मनमोहन सिंह सम्बन्ध र जिम्मेवारीबारेको ‘एक्सिडेन्टल प्रधानमन्त्री’ नामक फिल्म र पुस्तकले धेरै सन्दर्भ देखाएको छ । व्यवहारतः नेपालको ताजा निर्वाचनले अप्रत्यक्ष रूपमा प्रत्यक्ष कार्यकारी शैलीलाई अनुमोदन गरेको छ । अब रास्वपा र विशेषगरी सभापति रविले प्रधानमन्त्री बालेनलाई पार्टीबाट स्वतन्त्र निर्णय गर्ने अधिकार दिएमा मात्र प्राप्त प्रचण्ड बहुमतको भविष्य निर्धारण गर्ने निश्चित छ । यदि यस्तो तनाव नियन्त्रण नभएमा पार्टीमा फुट, सरकारमा अस्थिरता र जनमत गुम्ने दुर्घटना बारम्बार दोहोरिएको बद्नामीको डरलाग्दो विस्फोट हुनेतर्फ हमेशा सजग हुन जरुरी छ ।
पार्टी सभापति र प्रधानमन्त्रीको द्वैध भूमिका संसदीय प्रणालीको आन्तरिक कमजोरी हो । यसलाई अलग गर्ने वा स्पष्ट नियम बनाउने देशहरूमा स्थिरता भएको देखिन्छ । नेपालले भारत र जर्मनीको मोडलबाट सिक्न सक्छ, अन्यथा यो तनावले पार्टी र सरकार दुवैलाई कमजोर बनाइरहनेछ । फ्रान्सेली राजनीतिशास्त्री तथा राजनीतिक दलसम्बन्धी विषयका पितासमेत मानिने मौरिस डुभर्जेले राजनीतिक दलहरूको आधुनिक जग, निर्वाचन प्रणालीले दलको संख्यालाई कसरी प्रभाव पार्छ भन्ने नियमदेखि पार्टी र सरकारबीचको द्वन्द्वलाई वैज्ञानिक रूपमा व्याख्या गरेका छन् ।
डुभर्जर्र्को अनुसार ‘पार्टी भनेको सबैभन्दा पहिले जनताको बीचमा रहेको संगठन हो, जसले विचार र विश्वासलाई एकताबद्ध गर्छ । पार्टीले जब सत्ता प्राप्त गर्छ, तब यो ‘पार्टी इन पब्लिक अफिस’ बन्छ, जसको मुख्य काम राज्य सञ्चालन गर्नु र नीति कार्यान्वयन गर्नु हो ।’ तर पार्टीको ‘जमिनमा रहेको तह’ ले सरकारलाई नियन्त्रण गर्न खोज्छ, भने ‘सार्वजनिक पदमा रहेको तह’ ले पार्टीबाट स्वतन्त्र भएर निर्णय गर्न चाहन्छ । यसखाले द्वन्द्वले पार्टी फुट्ने, सरकार अस्थिर हुने वा नेतृत्वको संकट निम्त्याउँछ ।’ यही अवस्था दुनियाँभरका राजनीतिक प्रणालीहरू विशेषगरी संसदीय प्रणालीहरूले व्यहोरिरहेका छन् । अब यसबारेमा सबैभन्दा सचेत र गम्भीर हुने दायित्व रास्वपा र विशेषगरी रवि र बालेनको काँधमा आइपुगेको छ । आशा गरौं, त्यो दुर्भाग्य आउने छैन, नेपाल बन्नेछ ।
