प्रतिपक्षविहीन राजनीतिको आकांक्षा 

के स्थिरताको आवरणमा बहुलता र आलोचनाको स्वरलाई मौन राख्ने मानसिकता लोकतान्त्रिक हो? निर्वाचनोत्तर राजनीतिमा विचित्र र चिन्ताजनक प्रवृत्ति देखिँदै छ। यसप्रकारको आकांक्षा त्यो समाजको पहिचान बन्छ, जो तुरुन्तै तृप्त हुने मनोदशामा छ।

चैत्र ५, २०८२

चन्द्रकिशोर

The aspiration for opposition-free politics

What you should know

भीडको मनोविज्ञान र मतको मनोविज्ञानको दुर्लभ संगमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अचानक किनाराको शक्तिबाट मुख्य शक्तिमा पदोन्नति गरिदियो । तर, यसले विश्वसनीय लोकतान्त्रिक विकल्प बन्न अनेक खुड्किला अझै उक्लिनुपर्छ । निर्वाचनको पूर्वसन्ध्यामा स्वतन्त्र राजनीति गरिरहेका बालेन्द्र शाहले दलीय आबद्धता स्वीकार गरे । र, रास्वपाले पनि उनको ‘ब्रान्ड’लाई दलीय ऊर्जामा रूपान्तरित गर्‍यो । यही परीक्षणको साहसले अकल्पनीय शक्ति निर्माण गरिदियो । 

रास्वपामा यसरी ल्याइएर गरिएको प्रयोगको अपार सफलतापछि उनीहरूबीच मेलजोल र दलीय संरचनामा घुलमिल गराउनु अपरिहार्य थियो । बहुदलीय व्यवस्थामा दलको अस्तित्व स्वीकार गर्नु र दलीय संरचनालाई उकास्ने प्रयत्न स्वाभाविक मानिन्छ ।‘नयाँ’ भन्ने भावको जादुयी प्रचारले मतदातालाई आफ्ना प्रत्याशीको पृष्ठभूमितर्फ चियाउने भेउ नै भएन । उसो त चुनावमा प्रत्याशी खोज्न रास्वपाले लामो खोज–शोध गर्न सकेन । बरु हतार–हतारमा यताउताबाट उम्मेदवारहरू टिपे । जो जहाँबाट आए पनि अब सबैले नयाँ शक्ति भनिने ‘घण्टी’ समाएका छन् । एउटा लोकोक्ति छ, ‘कहीं का इँट, कहीं का रोडा, भानुमती ने कुनबा जोडा’ । यसको सोझो अर्थ हो– अलग–अलग स्थानबाट बेमेल चीजहरू बटुलेर काम फत्ते गर्नु । रास्वपामा यसरी ल्याइएर गरिएको प्रयोगको अपार सफलतापछि उनीहरूबीच मेलजोल र दलीय संरचनामा घुलमिल गराउनु अपरिहार्य थियो । बहुदलीय व्यवस्थामा दलको अस्तित्व स्वीकार गर्नु र दलीय संरचनालाई उकास्ने प्रयत्न स्वाभाविक मानिन्छ । रास्वपाको नयाँ अध्याय सुरु भएको छ । यात्रा प्रारम्भ हुने बखत ‘शुभ–शुभ’ बोलिने परम्परा जो छ हामीकहाँ । जब कुनै दल प्रचण्ड बहुमत पाएर शासकीय यात्रामा निस्किन्छ तब ऊ सामुन्ने अनिश्चितता र जोखिम रहन्छ । शुभ–शुभ भनिनु वास्तवमा यो संकेत हो कि अबको यात्रा सुरक्षित, सफल र सुखद होस् । रास्वपाले प्रतिनिधिसभाको बैठक आह्वान हुनुअघि नै आफ्ना सांसदहरूको अभिमुखीकरण कार्यक्रम आयोजना गर्‍यो । यो कार्यक्रमको स्वरूप र शैलीलाई मसिनो तरिकाले नियालिँदै छ । रास्वपा अबको शक्तिशाली सरकार निर्माणको प्रक्रियामा छ, त्यसैले उसका प्रत्येक गतिविधिमाथि जन–आँखा लागेको छ । उसका नेताहरूका हाउभाउ, उठबस, तौर–तरिका, बोली–व्यवहार सबैमाथि नजर छ किनभने आगतमा हुन सक्ने पदचापको अनुमान त्यसैबाट हुन सक्छ ।

अभिमुखीकरण कार्यक्रममा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले ‘अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्ने गरी काम गर्नुपर्ने’ बताएका छन् । रास्वपाभित्र अर्याल एक प्रभावशाली नेता हुन् । अर्को निर्वाचनमा प्रतिपक्षविहीनको सपना छ उनीसँग । दललाई विगतका अनेकौं झन्झावातबाट निकाल्न इमानदार प्रयत्न गर्ने अग्रणीमध्येका एक हुन् उनी । त्यसैले उनको भनाइको अन्तर्य पहिल्याउनुपर्छ । उसो त यो पनि तर्क गर्न सकिएला– निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई उत्प्रेरित गर्न उनले यो भनाइ राखेका हुन् । तर, अर्को निर्वाचनमा ‘प्रतिपक्षीविहीन अवस्था’ को सपना र सम्भावनाको खोजी उनको मानसमा कसरी फुर्‍यो ? ‘अरे कहां कहां से तू आइडिया लाता है ?’ हामीकहाँ मान्यता नै छ– जस्तो आरम्भ त्यस्तो परिणाम ! सामान्य अवस्थामा पाँच वर्षपछि हुने निर्वाचनलक्षित ध्येय यतिखेर नै किन प्रकट गरियो ? के भावी सरकारले प्रतिपक्षविहीनताको सोचमा आधारित काम गर्नेवाला छ ?

लोकतन्त्र फगत निर्वाचनको प्रक्रिया अवलम्बन वा शान्तिपूर्ण सत्ता हस्तान्तरणको व्यवस्था मात्रै होइन । यो मूलतः विचारहरूको बहुलता, असहमतिहरूको स्वीकृति र शक्ति सन्तुलनको नैतिक ढाँचा हो । सत्ताको स्वभाव नै हुन्छ थिचोमिचो गर्ने । उसले यदाकदा प्रक्रियालाई ओझेलमा राख्दै केवल परिणामतर्फ अर्जुनदृष्टि राख्छ । सत्ताको स्वभाव नै अतिक्रमण गर्ने, विस्तारित गर्ने हुन्छ । प्रतिपक्षले उसमाथि तार्किक अवरोध र नैतिक संयमको काम गर्छ । प्रतिनिधित्व वा शासन सञ्चालन एकपक्षीय घोषणा मात्रैले प्रक्षेपित हुँदैन, यो त वादविवादको प्रक्रियाबाट विकसित हुन्छ । विपक्षले केवल आलोचना गर्ने, खुट्टा तान्ने काम गर्दैन । एक जवाफदेही बोकेको विपक्ष वैकल्पिक दृष्टिको सृजक पनि हुन्छ । 

विपक्षले सरकारका कमीकमजोरी देखाएर त्यसलाई सुधार्ने अवसर दिन्छ । यदि सत्तालाई चुनौती दिने आवाज मजबुत रह्यो भने शासन अधिक जवाफदेह र सन्तुलित रहन्छ । असहमति र आलोचनालाई उपेक्षा गर्ने, विपक्षको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति यदि भोलिको सरकारमा देखियो भने त्यसले लोकतन्त्रको मर्मलाई कुल्चिदिन्छ ।लोकतन्त्रमा बहुलतावादलाई संस्थागत आकार दिन विपक्षले सघाउँछ । समाजमा सत्य, हित र न्यायका अनेक रूप मौजुद रहन्छ । एक सशक्त विपक्षले लोकतन्त्रलाई एकरूपताको ठाउँमा र विविधताको दिशामा अग्रसर गराउँछ । विपक्ष अनुपस्थिति हुनु भनेको संवादको साटो आदेश, सहमतिको साटो प्रभुत्वको बाटोतर्फ हिँड्न सरकारलाई सहज हुने अवस्थाको चाहना हो । विपक्षलाई राजनीतिक बाधा मान्ने भाष्यबाट रास्वपा मुक्त हुन सक्नुपर्छ । विपक्षप्रति उसको रवैया मूलतः उदार, लोकतान्त्रिक र बौद्धिक सहिष्णुतामा आधारित देखिनुपर्छ । लोकतन्त्रमा असहमतिको संरक्षण पनि जरुरी छ । हो, यतिखेर रास्वपा जुन परिस्थिति र जसरी विराट रूपमा उदायो, त्यहाँ उसको प्रभुत्व नै यति व्यापक छ कि विपक्षी कित्ता स्वतः कमजोर छ । 

एउटै स्वरले राजनीतिमा सत्य च्यापिन पुग्छ, त्यही बहुस्वरले राजनीतिमा त्यो सत्य चम्किन्छ । विविध मतले लोकतन्त्रलाई जीवन्त बनाउँछ । विपक्षले सरकारका कमीकमजोरी देखाएर त्यसलाई सुधार्ने अवसर दिन्छ । यदि सत्तालाई चुनौती दिने आवाज मजबुत रह्यो भने शासन अधिक जवाफदेह र सन्तुलित रहन्छ । असहमति र आलोचनालाई उपेक्षा गर्ने, विपक्षको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति यदि भोलिको सरकारमा देखियो भने त्यसले लोकतन्त्रको मर्मलाई कुल्चिदिन्छ । भीड र मत जब एउटै मनोवैज्ञानिक प्रक्रियाबाट सञ्चालित हुन थाल्छ तब लोकतन्त्र बिस्तारै–बिस्तारै नाटकीय प्रदर्शन (पोलिटिकल स्पेक्टकल) मा बदलिन पुग्छ । बिनाविपक्षको संसद् औपचारिक ढाँचा मात्रै देखिन्छ । आखिर जस्तोसुकै उच्च आदर्श बोकेको राजनीतिक दल पनि आफैंमा सिंगो मुलुकको प्रतिनिधि हुन सक्दैन । 

सयौं फूलका थुँगालाई एउटै चमेलीको सुवासमा अनूदित गर्ने बुझाइ ‘महेन्द्रमाला’ को नयाँ संस्करण नै मानिन्छ । संविधानले एकदलीय प्रणालीको परिकल्पना गरेको छैन । नयाँ पुस्तालाई यो थाहा नहुन पनि सक्छ कि यही बहुदलीय व्यवस्थाका लागि कत्रो संघर्ष गर्नुपरेको थियो । भीडले राजनीतिक तागत दिन्छ । प्रखर रूपमा प्रकट राजनीतिक संगठनले सबैभन्दा ठूलो पुँजी जनऊर्जालाई संरचना, विचार र मूल्यमा रूपान्तरित गर्न सक्नुपर्छ । तब नै त्यो विश्वसनीय विकल्प बन्न पुग्छ ।

हो, नेपालमा गठबन्धन संकट, सरकार हेरफेर, म्युजिकल चेयरको कथा र अस्थिरताको कहालीलाग्दो इतिहास छ । अहिलेको रास्वपा उभार त्यही विकर्षणको परिणति हो, यसमा दुईमत छैन । यस्तोमा रास्वपाभित्र यस्तो विश्वास जाग्नु उही ‘जनइच्छा’ को वास्तविक प्रतिनिधि हो । विपक्ष अनावश्यक वा नकारात्मक शक्ति हो । यस प्रकारको बुझाइले सघन रूप लिन थाल्यो भने सत्ता स्वयंलाई राष्ट्र, राज्य र जनभावनाको पर्याय मान्ने स्थायी मानस बन्न पुग्छ । 

बिस्तारै–बिस्तारै लोकतन्त्रको प्रतिस्पर्धात्मक स्वरूप प्रभुत्ववादी लोकतन्त्रमा कायान्तर हुन पुग्छ । यतिखेर संसद्मा रुग्ण रूपमा उपस्थित भएका पुराना दलहरू वा बाहिर रहेका मधेशी शक्तिलाई ‘भ्रष्ट अभिजात वर्ग’ भनेर कित्ताकाट गर्दै केवल रास्वपा नै ‘जनताको असली आवाज’ भनी संकथन निर्माण गर्न हालका लागि सहज र सुपाच्य पनि होला । यो अबको सत्ताको अस्तित्वका लागि अनुकूल मौसम नै हो । यस्तोमा विपक्षविहीनता सत्ताका लागि ‘राजनीतिक बिमा’ जस्तो नै हुने भयो । हालका लागि विपक्षविहीन स्थितिले अल्पकालिक स्थिरता दिन्छ तर दीर्घकालमा यसले संस्थागत क्षरण, अधिनायकवादी उभार र नागरिक स्वतन्त्रताको संकटलाई जन्म दिन सक्छ ।

तर, जहाँ कहीँ पनि बेलाबखत समाजमा एक यस्तो राजनीतिक आकांक्षा मौलाउँछ, जो प्रतिपक्षविहीन व्यवस्थाको स्वप्न हेर्छ ।ताजा मतादेशले राजसंस्थाका याचकहरूलाई अस्वीकार गरेको छ । सेनाका लागि एउटा निर्वाचित सरकार होइन कि निर्वाचित सरकारका सहयोगी नागरिकमैत्री सेनाको पक्षमा मत जाहेर भएको छ । भद्रकाली मुख्यालयलाई होइन, प्रतिनिधिसभा नै आधारभूमि हो भन्ने परिभाषित भएको छ । पुराना दललाई सच्चिन र सप्रिएर आउन दिशानिर्देश आएको छ । शासन अझ विवेकी, पारदर्शी र जवाफदेह भएर आउन आह्वान भएको छ । तर, अपार बहुमतबाट सत्तारूढ हुने दलले विपक्षविहीनताको परिकल्पना यस कारणले गर्छ कि ऊ स्थिर शासन, द्रुत विकास र सत्ता–सुरक्षा चाहन्छ भनेर मात्रै अर्थ्याउन सकिँदैन । यसमा प्रभुत्व र वैचारिक नियन्त्रणको आकांक्षा पनि उसमा टुसाएको आशंका गर्ने प्रशस्त ठाउँ देखिन्छ, यो चुनावी सन्देश किमार्थ होइन । 

दलभित्र पनि असहमति हुन्छ । निकट अतीतलाई सम्झिराख्ने हो भने दलभित्र आन्तरिक लोकतन्त्रको अभाव देखियो । दलपतिले आफूलाई विकल्पहीन ठाने । असहमत पक्षलाई तेजोबध गरे । दलपतिले आफूलाई नै सर्वज्ञाता ठाने । यतिखेर पनि व्यक्तिकेन्द्रित ब्रान्डिङबाट सफलता हासिल गर्न पुगेका सांसदहरूलाई रास्वपाले भन्न सक्छ, ‘दलले गर्दा नै तिम्रो हैसियत बन्यो । हेर फलानो यो दलमा बसेन, ऊ हार्‍यो । अमूकहरू उम्मेदवारी दर्ता दिने दिन आयो, फेरि पनि बाजी मार्‍यो ।’ यस प्रकारको सोच टुसायो भने रास्वपाभित्र केन्द्रीकरणको प्रवृत्ति हौसिन्छ र सांसदहरूले फगत आलंकारिक गरिमा पाउँछन् । दलको आन्तरिक संरचनामा समेत विपक्ष हुनु जरुरी मानिएको छ । अल्पसंख्यक अधिकार र विचारप्रति गम्भीर हुनु लोकतन्त्रको सौन्दर्य हो । नीतिहरूमा सुधार तब सम्भव हुन्छ जब विपरीत दृष्टिकोण सामुन्ने आउँछ ।

लोकतन्त्रको कल्पना मूलतः संवाद, मतभेद र सहअस्तित्वको कल्पना हो । यो एक यस्तो व्यवस्था हो, जसमा सत्ता र समाजबीच निरन्तर प्रश्न–उत्तरको प्रक्रिया चल्दै रहन्छ । तर, जहाँ कहीँ पनि बेलाबखत समाजमा एक यस्तो राजनीतिक आकांक्षा मौलाउँछ, जो प्रतिपक्षविहीन व्यवस्थाको स्वप्न हेर्छ । प्रायः यस्तो आकांक्षा त्यसबखत सलबलाउँछ जब जनता लामो समयसम्म अस्थिरता, भ्रष्टाचार, नीतिगत गतिरोध र नेतृत्वहीनताबाट गुज्रिएका हुन्छन् । यस्तोमा एक सशक्त, एकीकृत र निर्विरोध सत्ताको विचारले एकातिर आमजनलाई लोभ्याउँछ, त्यही दलविशेषमा एकलौटी 

संसद्को सपना जाग्छ । आमजनमा स्थिरता र विकासको चाहना अनुचित हुँदै होइन । प्रश्न केवल यति छ कि के स्थिरताको आवरणमा बहुलता र आलोचनाको स्वरलाई मौन राख्ने मानस लोकतान्त्रिक हो ? निर्वाचनोत्तर राजनीतिमा यो एक खालको विचित्र र चिन्ताजनक प्रवृत्ति देखिँदै छ । यस प्रकारको आकांक्षा त्यो समाजको पहिचान बन्न पुग्छ जो तुरुन्त तृप्त हुने मनोदशामा छ । प्रतिपक्षविहीन प्रतिनिधिसभाको परिकल्पनालाई एक सुव्यवस्थित निरंकुशतामा परिवर्तित हुने लुप्त चाहनाको प्रकट रूप किन नमान्ने ? बहुमतको मदमा आफूलाई वैधताको मिथक मान्दै अल्झिरहने सोच लोकतन्त्रको सबैभन्दा सूक्ष्म र खतरनाक विकृति हो । प्रतिपक्षविहीन आकांक्षाले अन्ततः लोकतान्त्रिक संस्थालाई कमजोर र नेतृत्वलाई शक्तिशाली बनाउँछ । 

संसद्, न्यायपालिका, मिडिया र प्रशासनजस्ता स्तम्भ बिस्तारै–बिस्तारै सत्ताको विस्तारित माध्यम बन्न सक्छ । प्रतिपक्षविहीन प्रतिनिधिसभाको आकांक्षा मूलतः एक सामूहिक चुप्पीको आकांक्षा हो । यो चुप्पीलाई सुरुवातमा व्यवस्था र स्थिरताको प्रतीक लाग्न सक्छ तर दीर्घकालमा यसले समाजको रचनात्मक ऊर्जालाई क्षीण बनाउँछ । अहिलेदेखि नै स्थिरताको इच्छा र स्वतन्त्रताको मूल्यबीच सन्तुलन 

स्थापित हुँदै गरेको छ कि छैन ? अबको सरकारलाई त्यत्रो बहुमत हुँदाहुँदै किन सम्पूर्ण संसद् नै चाहियो ? आखिर मुलुक पूर्वाधार निर्माण, जनजीविकामा सुधार मात्रैले उँभो लाग्दैन । यो त प्रश्न सोध्ने संसद् र सडक तथा उत्तर दिन विवश सत्ताले बन्छ ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully