प्राथमिकतामा सीमा व्यवस्थापन

बुद्धिनारायण श्रेष्ठ लेख्छन् - देशको सीमा संकुचन भए मुलुकको अस्तित्व नै खतरामा पर्छ, त्यसैले भौगोलिक अखण्डता कायम राख्दै देशमा रोजिरोटीको सुव्यवस्था गरिनुपर्छ

चैत्र ४, २०८२

बुद्धिनारायण श्रेष्ठ

Border management a priority

जेन–जीले गरेको विद्रोहको परिणामले ल्याएको फागुन २१ को निर्वाचनमा २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकबाट ५७ गरी जम्मा १८२ सिट (६६.२ प्रतिशत अर्थात् झन्डै दुईतिहाइ) हासिल गरेको छ ।

जेन–जीले नयाँ सरकारद्वारा भ्रष्टाचारको अन्त्य र सुशासनको बढोत्तरी चाहेका छन् । यसका साथै अबको सरकारले राष्ट्रको भौगोलिक अखण्डता तथा सीमा व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्छ । देशको क्षेत्रफलमध्ये १ हजार वर्गकिलोमिटर भूभाग मिचियो भने २ लाख जनता विदेशी बासिन्दा हुन पुग्छन् । आधा क्षेत्रफल मिचिए नेपालको डेढ करोड नागरिक अन्य मुलुकका नागरिक हुन्छन् । यसैगरी देशको सीमा संकुचन हुँदै गए एक दिन मुलुकको अस्तित्व नै खतरामा पर्न जान्छ । त्यसैले भौगोलिक अखण्डता कायम राख्दै देशमा रोजीरोटीको सुव्यवस्था गरिनुपर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्रको दफा ९७ मा लेखेको छ, ‘नेपालको भौगोलिक अखण्डता अक्षुण्ण राख्न र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई आधुनिक प्रविधि, पर्याप्त जनशक्ति र उच्च क्षमताको सीमा सुरक्षा बलका रूपमा परिचालन गर्नेछौं । सीमा नाकाहरूमा नाइटभिजन क्यामेरा, ड्रोन निगरानी र डिजिटल इन्ट्री–एक्जिट रेकर्ड प्रणाली लागू गरी तस्करी, अवैध ओसारपसार र क्रस–बोर्डर अपराधलाई शून्यमा झार्नेछौं । सीमा विवाद र पुराना सन्धि–सम्झौताहरूलाई प्रमाणका आधारमा संस्थागत संवादमार्फत स्थायी रूपमा टुंग्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्नेछौं । सीमाको पहिलो पहरेदारका रूपमा रहेका सीमावर्ती बासिन्दाहरूलाई सीमा परिचयपत्र वितरण गर्नेछौं ।’ प्रश्न छ– यी वाचालाई कसरी कार्यान्वयनमा ल्याउने ?

नेपाल र भारतबीच प्रचलनमा रहेको खुला सीमाको वैकल्पिक व्यवस्थाका रूपमा कस्तो किसिमको सीमा व्यवस्था आवश्यकता पर्छ भन्ने सम्बन्धमा दुवै देशको जनस्तरमा सयौं वर्षदेखि आपसी सम्बन्ध छ । त्यसैले समय, अवस्था र परिस्थितिअनुसार खुला सीमा प्रणालीको बदलामा नियमन (रेगुलेटेड) अथवा नियन्त्रित पद्धति नै एक मात्र उपाय हो ।

नेपाल–भारतबीचको खुला सीमा नियमन गर्न कुनै तामझाम गरिरहनु पर्दैन । दुई देशबीच अहिले २४ मूल भन्सार/अध्यागमन र १३५ छोटी भन्सार नाका छन् । पहिलो चरणमा २४ मूल नाकाको दशगजा क्षेत्रमा प्रिफ्याबका करिडोर कोठा बनाई त्यसको भित्तामा सीसीटीभी जडान गर्नुपर्छ । बेल्ही–सुनौलीजस्ता भीडभाड हुने सीमा नाकामा पाँच डेस्क राखियो भने एक घण्टामा ३ सय जना अर्थात् १० घण्टामा ३ हजार यात्रु आवागमन गर्न सक्ने हुन्छन् ।

खुला सीमा नियमन गर्न सर्वोच्च अदालतबाट १२ वैशाख २०७८ मा परमादेश जारी भएको छ ।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गर्ने काममा दत्तचित्त लगाएको छ । सुरक्षा बलका जवानलाई लजिस्टिक सुविधामा वृद्धि गरिनुपर्छ । छाङ्रु, हिल्सा, किमाथांका, ओलाङचुङगोलाजस्ता उत्तरी (बीओपी) मा कार्यरत जवानलाई न्यानो लत्ताकपडा, सर्वसुलभ रासनपानी, जाडो नछिर्ने भवन कोठा आदि आवश्यक पर्छ । हिजोआजको जमानामा सशस्त्र प्रहरी बलले जमिन सीमा मात्रै होइन, आकाशीय सीमाको पनि रखवारी तथा सुरक्षा गर्नुपरेको छ । बेलामौकामा छिमेकी देशले ड्रोन उडाएर संवेदनशील क्षेत्रको सुरक्षामा चुनौती दिन सक्छन् । त्यसैले सीमा सुरक्षा बललाई प्रोत्साहन गर्ने कार्यनीति बनाइनुपर्छ ।

नेपालले कहिल्यै बिर्सनु हुँदैन– कालापानी मामिला समाधानबारे आपसी वार्ता तथा नेगोसिएसन नै ठूलो उपाय हो । नेगोसिएसन गर्दा पुराना नक्सा, ऐतिहासिक दस्ताबेज, कागजातअनुसार काली/महाकाली नदीको मुहान लिम्पियाधुरा हो । यो नेपालको सम्प्रभुताभित्रको भूमि हो भन्दै सधैंका लागि मुद्दाको छिनोफानो गरिनुपर्छ । नेगोसिएसनअन्तर्गत भारत र बंगलादेशले इन्क्लेभमा रहेको जमिन सन् २०१५ अगस्टमा सट्टापट्टा गरेको उदाहरण छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० साउन २०७१ मा नेपालको प्रथम पटक भ्रमण गर्दा दुवै देशका प्रधानमन्त्रीको सहमतिमा कालापानी र सुस्ता समस्यामा ‘बोर्डर ओर्किङ ग्रुप’ बाट प्राविधिक जानकारी लिई अध्ययन गरेर आ–आफ्ना सरकारसमक्ष प्रतिवेदन बुझाउने अभिभारा दिइएको थियो । दुवै देशका परराष्ट्र सचिवस्तरीय संयन्त्र बनेको थियो । तर, त्यो संयन्त्रको बैठक बस्न सकेको छैन । अब नयाँ सरकारले एघार वर्षअघि बनेको परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई सौहार्दपूर्ण तरिकाले ब्युँताएर आपसी संवादको ढोका खोल्नु व्यावहारिक हुन्छ ।

नयाँ सरकारले भौगोलिक अखण्डता जोगाउन नेपालको पूर्व र पश्चिमको दुई स्थानमा (जहाँ नेपाल, चीन र भारतको भूमि जोडिन्छ) त्रिदेशीय विन्दु स्थापना गर्न र त्रिदेशीय समिति बनाउन चीनलाई प्रस्ताव राख्नुपर्छ । संयुक्त रूपले त्रिदेशीय विन्दु खडा गरिएपछि लिपुलेक–कालापानी–लिम्पियाधुरा सीमा समस्या सदाका लागि हल हुन्छ ।

सीमा संवादमा कूटनीतिक कौशलता, परिपक्वता, चातुर्यता र चाप्लुसीपूर्ण ढंगबाट अघि बढ्नु आवश्यक छ । वार्ताको ढोकाभित्र पसेर निस्किएपछि पछुताउनु नपर्ने तरिका के कस्तो अवलम्बन गर्न आवश्यक पर्छ भन्ने महत्त्वपूर्ण हुन्छ । यसका लागि पुराना दस्ताबेजको गहन अध्ययन, प्रशस्त आन्तरिक छलफल र सशक्त गृहकार्य आवश्यक पर्छ । यो कुरा नयाँ सरकारले बिर्सनु हुँदैन ।

बुद्धिनारायण सीमाविद् बुद्धिनारायण श्रेष्ठ नापी विभागका पूर्वमहानिर्देशक हुन् । नापी, सिमाना र सीमा व्यवस्थापन विषयमा उनका आधा दर्जन भन्दा धेरै पुस्तक प्रकाशित छन् ।

Link copied successfully