राष्ट्रिय स्वतन्त्र पार्टीका चुनौती

जनादेशलाई सुशासन, आर्थिक सुधार र समावेशी विकासमा रूपान्तरण गर्न सकियो भने यो नेपालको राजनीतिक र आर्थिक भविष्यका लागि नयाँ अध्याय बन्न सक्छ ।

चैत्र ३, २०८२

रविभक्त श्रेष्ठ

Challenges of the National Independence Party

What you should know

नेपालको हालै सम्पन्न निर्वाचनले नयाँ सरकार गठनको मार्ग मात्रै प्रशस्त गरेको छैन, देशको राजनीतिक संस्कृतिमा परिवर्तनको पनि स्पष्ट सन्देश दिएको छ । मतदाताले स्थिरता, सुशासन र आर्थिक रूपान्तरणको पक्षमा बलियो जनादेश दिएका छन् । अब यो जनादेशलाई नीतिगत सुधार, पारदर्शी शासन र तीव्र आर्थिक विकासमार्फत परिणाममा रूपान्तरण गर्ने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा आएको छ ।

जनताले यस पटक परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएका छन् । नागरिकहरूले अब केवल राजनीतिक परिवर्तन होइन– शासन शैली, विकासको गति र आर्थिक अवसरमा पनि वास्तविक सुधार देख्न चाहेका छन् । नेपाली जनताको अपेक्षा स्पष्ट छ– देशमा सुशासन स्थापना होस्, पारदर्शिता र जवाफदेहिता सुदृढ होस् र युवाहरू रोजगारीका लागि विदेश जान बाध्य नहून् । साथै आगामी पाँच वर्षसम्म स्थिर सरकारमार्फत दीर्घकालीन विकासका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास जनताले गरेका छन् ।

निर्वाचन अभियानका क्रममा देशैभर व्यक्त गरिएका प्रतिबद्धता अब कार्यान्वयनमा लैजाने समय आएको छ । विगतका सरकारका कार्यकालमा भएका अनियमिततामाथि निष्पक्ष छानबिन र कानुनी कारबाही, सुशासनको प्रभावकारी स्थापना तथा प्रशासनिक सुधारमार्फत उत्तरदायी शासन प्रणाली निर्माण गर्नुपर्ने अपेक्षा गरिएको छ । आवश्यक परे विद्यमान कानुनहरूमा समयानुकूल संशोधन गरी पारदर्शी र प्रभावकारी प्रशासन सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ ।

नेपालको आर्थिक रूपान्तरणका लागि अब स्पष्ट प्राथमिकता तय गर्न आवश्यक छ । कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्रले नेपालको आर्थिक विकासमा निर्णायक भूमिका खेल्न सक्छन् । यी क्षेत्रलाई केन्द्रमा राखेर दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन गर्न सकियो भने रोजगारी सिर्जना, निर्यात वृद्धि र समग्र आर्थिक विस्तार सम्भव छ ।

निजी क्षेत्रको दृष्टिकोणबाट हेर्दा वर्तमान परिस्थिति आशाजनक छ । नयाँ सरकारले आर्थिक एजेन्डालाई प्राथमिकता दिने अपेक्षामा निजी क्षेत्र उत्साहित छ । निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि वृद्धि गर्न पूर्ण तयार छ । सरकार र निजी क्षेत्रबीच विश्वास, संवाद र सहकार्यको वातावरण निर्माण हुन सके नेपालको आर्थिक विकासलाई नयाँ गति दिन सकिन्छ ।

यससँगै सरकारले इमानदार र नैतिक व्यवसायलाई प्रोत्साहन गर्ने नीति अपनाउनु आवश्यक छ । देशको आर्थिक विकासमा योगदान गर्ने व्यवसायीलाई सम्मान र सहयोग मिल्नुपर्छ भने बजार प्रणालीलाई विकृत बनाउने तथाकथित ‘बिचौलिया’ प्रवृत्ति निरुत्साहित गर्नुपर्छ । पारदर्शी र प्रतिस्पर्धात्मक व्यावसायिक वातावरण निर्माण नगरी दिगो आर्थिक विकास सम्भव हुँदैन ।

नेपाल वास्तवमै सम्भावनाले भरिएको देश हो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले एक भाषणमा भनेका थिए, ‘प्राकृतिक सौन्दर्य हेर्न किन स्विट्जरल्यान्ड जानुपर्छ ? नेपालमै त्यस्तै अद्भुत गन्तव्यहरू छन् । फरक केवल हाम्रो सोच, नीति र कार्यान्वयनमा छ । नेपाल प्राकृतिक सौन्दर्य, जलस्रोत, उर्वर भूमि र अनुकूल मौसमले सम्पन्न ईश्वरदत्त देश हो ।’ उनले भनेझैं सही नीति र लगानीले पर्यटन क्षेत्रलाई विश्वस्तरमा विस्तार गर्न सकिन्छ ।

यसका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक कनेक्टिभिटी विस्तार अत्यन्त महत्त्वपूर्ण छ । हवाई र सडक सञ्जालको विकास, आधुनिक पूर्वाधार निर्माण तथा व्यवस्थित सहरी योजना देशको समग्र विकासका लागि अपरिहार्य छन् । पूर्वाधार विकासबिना आर्थिक प्रगति सम्भव हुँदैन ।

नेपालको विकास यात्रामा सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध पनि अत्यन्त महत्त्वपूर्ण पक्ष हो । नेपालले सधैं स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको अभ्यास गर्दै आएको छ । आगामी सरकारले छिमेकी राष्ट्रहरू भारत र चीनसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै अन्य मित्रराष्ट्रसँग पनि विश्वास र सहकार्यमा आधारित सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । स्थिर राजनीतिक वातावरण, स्पष्ट आर्थिक नीति र विश्वसनीय शासन प्रणालीले अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न र नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यस निर्वाचनको अर्को सकारात्मक पक्ष हो– राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसद्मा प्रवेश गरेका ऊर्जाशील, सक्षम र बौद्धिक सांसदहरूको उपस्थिति । अब पार्टीले ‘सही मन्त्रालयमा सही व्यक्ति’ नियुक्त गर्ने दूरदर्शिता देखाउनुपर्छ । योग्य र सक्षम नेतृत्वले मात्रै जनअपेक्षालाई परिणाममा रूपान्तरण गर्न सक्छ ।

यद्यपि सुधारको यात्रामा चुनौती पनि आउन सक्छन् । विगतका राजनीतिक संरचनाबाट लाभान्वित भएका केही प्रशासनिक प्रवृत्तिबाट अपेक्षित सहयोग नपाइने सम्भावना रहन्छ । तर, दृढ राजनीतिक इच्छाशक्ति, पारदर्शिता र स्पष्ट नेतृत्वले यस्ता अवरोध पार गर्न सक्छ ।

आजको समय राष्ट्रिय स्वतन्त्र पार्टीका लागि स्वर्णिम अवसर मात्रै होइन, महत्त्वपूर्ण परीक्षा पनि हो । यदि यस जनादेशलाई सुशासन, आर्थिक सुधार र समावेशी विकासमा रूपान्तरण गर्न सकियो भने यो नेपालको राजनीतिक र आर्थिक भविष्यका लागि नयाँ अध्याय बन्न सक्छ ।

(लेखक नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्) 

रविभक्त

Link copied successfully