पुराना पिँढीहरूको अनुभव र युवाको नवीनतम विचार र ऊर्जा भयो भने देश अगाडि बढ्न सक्दछ । देशप्रति जिम्मेवार बन्ने युवा पुस्ता नै साँचो अर्थमा राष्ट्र निर्माता हो ।
What you should know
कुनै पनि देशको विकासका लागि आवश्यक आधारहरूमध्ये दक्ष जनशक्ति पनि एक हो । जब देशमा दक्ष जनशक्तिको अभाव हुन्छ, तब त्यहाँको राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक, वातावरणीय पक्षको विकास हुन पनि कठिन हुन्छ । त्यसैले दक्ष जनशक्ति हरेक देशको सम्पत्ति हो । नेपालमा पनि जम्मा जनसंख्याको ४२.५६ प्रतिशत युवा छन् ।
हिस्सा ठूलो भए पनि पछिल्ला वर्षमा नेपालका युवाको विदेश पलायन तीव्र बन्दै गएको छ । दैनिक औसत दुई हजार युवा विदेशिने बताइन्छ । पढाइ वा रोजगारका लागि विदेश जाने गरेको भए पनि, खाडी देशभन्दा बाँकी देशबाट फर्किने सम्भावना कमै हुन्छ । सबै युवा आर्थिक बाध्यताले मात्र विदेश पलायन भएका हुन् भन्नचाहिँ भन्न सकिँदैन । कैयौं त महत्त्वाकांक्षाका कारणले पनि गएका छन् । विदेशको बसाइ, रमझम, पैसा तथा सामाजिक प्रतिष्ठाका कारण पनि विदेश जान प्रेरित भइरहेका छन् । करोडपतिका छोराछोरी पनि विदेश जान चाहिरहेको देखिन्छ, यसमा के आर्थिक बाध्यता भन्न मिल्ला र ?
आफ्नै देशका खाली जमिनमा सुन फलाउन सकिन्छ । स्वरोजगार भएर अरूलाई रोजगार दिन सकिन्छ । खोइ त युवामा त्यस्तो सपना ? धेरैले नेपालमा सामान्य श्रम पनि नगर्ने तर विदेशमा गएर भने जे पनि काम गर्न तयार हुने स्थिति छ । त्यसैले विदेश पलायन युवाको बाध्यता मात्र नभएर सपना पनि बनिसकेको छ । युवा मुलुकका आशा र भरोसा हुन् । देशमा केही छैन र हुँदैन भनेर विदेश पलायन हुने युवालाई छुट छैन । विदेशमा गएर खियाउने हात यही देशमा खियाउनुपर्छ । मातृभूमिभन्दा ठूलो केही हुन सक्दैन ।
राज्य संयन्त्रमा बेरोजगार, योग्यताअनुसारको सुविधा नहुनु, राजनीतिक अस्थिरता, भ्रष्टाचार, भविष्यप्रति अनिश्चितता, परिवारको आर्थिक दबाबजस्ता पक्ष पनि छन् । तर युवाको काम स्थितिमा सुधार ल्याउने हो । देशमा राम्रो हुँदै गएको विषयलाई स्वीकार गर्नुपर्छ । युवा जति बाहिर जाने अनि त्यहाँ बसेर देशका नेतालाई गाली गरेर मात्रै सुधार होला र ? त्यसैले युवाहरूले देशमै नेतृत्व परिवर्तन गर्ने, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउने हो । देशलाई नै राम्रो बनाउने हो । उत्पादन, उद्यम र नवप्रवर्तन गर्ने हो ।
युवाको सक्रियता र सहभागिताले लोकतन्त्र बलियो हुन्छ । नेपालमा अधिकांश परिवर्तन युवाको नेतृत्वबाट भएको पाइन्छ । पृथ्वीनारायण शाह, बीपी कोइराला, पुष्पलाल श्रेष्ठहरूले आफ्नो पहलकदमी सुरु गर्दा युवा नै थिए । धेरै युवाहरू सहिद भएका छन् । उनीहरूले पनि देशको अवस्था ठीक छैन, बस्नलायक छैन भनेर पलायन भएको भए देश कस्तो हुन्थ्यो होला ?
नेपालमा मात्रै होइन । विश्वको इतिहास हेर्ने हो भने पनि चिनियाँ क्रान्ति, बेलायतको औद्योगिक क्रान्ति, रसियाली क्रान्ति जस्ता महत्त्वपूर्ण क्रान्तिमा पनि युवाको नेतृत्व नै बढी देखिन्छ । दक्षिण अफ्रिकाका नेल्सन मण्डेलाले युवाकालमै रंगभेदविरुद्ध राजनीतिक संघर्ष सुरु गरेका थिए । चे ग्वेभारा पनि युवा अवस्थामै क्युवाको क्रान्तिमा होमिएका थिए । महात्मा गान्धीले पनि युवा अवस्थामै ब्रिटिस शासनविरुद्ध राजनीति सुरु गरेका थिए ।
युवाले गरे के हुँदैन ? महान् दार्शनिक लेनिनले पनि भनेका छन् कि, ‘मलाई युवाको एक पुस्ता देऊ, म संसारलाई नै रूपान्तरण गरिदिन्छु ।’ त्यसैगरी चे ग्वेभाराले भनेका थिए, ‘युवाहरू क्रान्तिका इन्धन हुन् ।’ विश्वमा जति पनि चामत्कारिक विकास भएका छन्, त्यहाँ युवाहरूको ठूलो योगदान छ । नेपालीको समृद्धि सपना पूरा गर्न पनि युवाले देशमै रहेर उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्छ । प्राविधिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रान्ति ल्याउन युवाको भूमिका खेल्नुपर्छ ।
पुराना पिँढीहरूको अनुभव र युवाको नवीनतम विचार र ऊर्जा भयो भने देश अगाडि बढ्न सक्दछ । देशप्रति जिम्मेवार बन्ने युवा पुस्ता नै साँचो अर्थमा राष्ट्र निर्माता हो । युवाको कर्तव्य स्थानले होइन, सोच र कर्मले निर्धारण गर्छ । राजनीतिमा लागेका युवाहरू पनि पार्टीभन्दा माथि रहेर सहीलाई सही र बेठीकलाई बेठीक भन्ने हो भने पार्टी पनि सुदृढ हुँदै जान्छ । त्यसैले युवा दर्शक होइन, नेतृत्वकर्ता हुनुपर्छ ।
सही दृष्टिकोण, साहस र प्रतिबद्धता भएमा युवाले राजनीतिमार्फत क्रान्ति, सुधार र राष्ट्र निर्माण गर्न सक्दछन् । सचेत युवा नै सचेत समाजको आधार पनि हो । त्यसैले देश विकासका लागि युवाको अग्रसरताको कुनै विकल्प छैन । विदेशमा गएर कमाउने र रमाउनेभन्दा यही देशलाई जमाउने प्रयास गर्नुपर्छ ।
