आमाबाले कहिले सोच्ने- छोरो बलात्कारी पो बन्छ कि ?

बलात्कार र हिंसाको पीडाले महिलाको जीवनमा घाउ मात्र होइन, भय र असुरक्षाको गहिरो छाप छोडेको छ ।

चैत्र १, २०८२

तारा चापागाईं

When will parents think - will their son become a rapist?

What you should know

हरेक आमाबाले सोच्छन्– छोरी ठूली भई । कसैको खराब नजर उसमाथि पर्ला कि  ? कसैले गलत तरिकाले पो हेर्ला कि  ? छोरी असुरक्षित हुन्छे कि  ?

तर कति आमाबाले सोच्छन्– मेरो छोरो बलात्कारी पो बन्छ कि  ?

हामी अधिकांश यस्तो सोच्दैनौं । किनकि, हाम्रो समाज अझै पितृसत्तात्मक छ । यहाँ चिन्ता छोरी बलात्कृत हुन्छे कि भन्ने हुन्छ । छोरा बलात्कारी बन्छ कि भन्ने चिन्ता हुँदैन ।

अन्तर्राष्ट्रिय महिला दिवस होस् वा महिला हिंसाविरुद्धको १६ दिने अभियान– हरेक वर्ष कार्यक्रम हुन्छन् । नारा लाग्छन् । प्रतिबद्धता दोहोरिन्छ । तर वास्तविकता बदलिएको छैन । महिला असुरक्षा झन् पछि झन् बढेको छ । 

हामी घरको ढोकामा स–साना छोरी छोडेर बाहिर निस्कन्छौं । तर, के हामीलाई थाहा छ, आज पनि त्यो छोरी सडकमा, स्कुलमा, घरकै कोठामा वा कुनै गल्लीमा खतरा पो झेल्दै छ कि ? बालिका, किशोरी, युवती, वृद्धा– जुनसुकै उमेर समूहका भएपनि गिद्धे दृष्टिवालाको आपराधिक हर्कतमा पर्दै छन् कि ? 

यो केवल कथा होइन, वास्तविकता हो । निर्मला पन्तदेखि इनिशा विकसम्म, हजारौं पीडित महिलाको व्यथा । हरेक पलका समाचारले यही कुरा दोहोर्‍याउँछन् । हामी हेर्छौं, पढ्छौं, सुन्छौं र बिर्सिन्छौं । 

बलात्कार एउटा जघन्य अपराध हो । यसले महिलाको अस्मिता मात्र लुट्दैन, मानवताको पनि अपमान गर्छ । यो समाजले धेरै कुरा सिकाएको छ– तर सिकाएको सत्य अन्धकारमै छ । बलात्कार र हिंसाको पीडाले महिलाको जीवनमा घाउ मात्र होइन, भय र असुरक्षाको गहिरो छाप छोडेको छ । 

१६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको छ । सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा पढ्ने उनको परिवार अझै न्याय खोजिरहेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना वर्षौंदेखि न्यायको पर्खाइमै छ । इनिशा र निर्मला जस्तै सयौं पीडितले अझै न्याय पाएका छैनन् ।

यस्ता निर्मम अपराधीलाई सजायको दायरामा ल्याउने कानुन नभएको होइन । बलात्कार र यौन हिंसाका घटनालाई नियन्त्रण गर्न कडा कानुन बनेका छन् । मुलुकी अपराध संहिता, महिला हिंसा ऐन, बालिका तथा बालबालिकाको यौन दुरुपयोग निवारण ऐन जस्ता कानुनले बलात्कारीलाई ठेगान लगाउने स्पष्ट व्यवस्था गरेका छन् । यस्ता कानुनले बलात्कारीलाई जेल सजाय, आर्थिक जरिवाना र कडा दण्डसम्मको व्यवस्था गरेका छन् ।

बलात्कारको घटनामा दोषी पाएमा कानुनले न्यूनतम ५ वर्षदेखि अधिकतम १५ वर्षसम्म कैदको व्यवस्था गरेको छ । यदि अपराध बालिका वा वृद्धावस्थाकी महिलामाथि भएको छ भने सजाय दोब्बर हुन्छ । साथै, बलात्कारीलाई जेल सजायसँगै सामाजिक प्रतिकार पनि हुने गरेको छ । 

विशेष कानुनले महिलालाई आत्मरक्षाको अधिकार पनि दिएको छ । यदि बलात्कारको प्रयासमा महिला प्रतिकार गर्दा अपराधीको मृत्यु हुन्छ भने कानुनले अपराधीको मृत्युमा महिला दोषी नमान्ने व्यवस्था गरेको छ । यस्ता कानुन र सजायले मात्र बलात्कार घटाउने प्रयत्न गर्छन् । तर वास्तविकतामा कानुनको कार्यान्वयन र समाजको सचेतता आवश्यक छ । तर कानुन बनाउनु मात्रै पर्याप्त हुँदैन । त्यसको कडाइका साथ कार्यान्वयन पनि हुनुपर्छ । दुर्भाग्य, यहाँ धेरै पटक कानुनको पूर्ण पालना हुँदैन । कहिलेकाहीँ पीडकलाई जोगाउने खेलसमेत चल्छ ।

मुलुकमा अहिले तीन तहका सरकार छन् । ती सबै तहमा विभिन्न संरचनागत कानुन बनिरहेका छन् । नयाँ कानुनले पुराना व्यवस्थालाई पनि प्रतिस्थापन गर्दै आएका छन् । विडम्बना के छ भने, अधिकांश महिलालाई यो अधिकारबारे जानकारी नै छैन । बलात्कार एउटा जघन्य अपराध हो । यसले महिलाको अस्मिता मात्र लुट्दैन, मानवताको पनि अपमान गर्छ । यौन पिपासुहरूले जबर्जस्ती गरेर आफ्नो विकृत इच्छा पूरा गर्ने यस्तो घृणित घटना समाजमा बारम्बार दोहोर्‍याइरहेका छन् । 

अहिलेसम्मका धेरै घटनाले के देखाउँछन् भने, प्रतिकार गर्न नसक्नेहरू बढी पीडित बन्छन् । बालिका र वृद्धा महिलामाथि हुने बलात्कारका घटना त्यसैको उदाहरण हुन् । किशोरीमाथि हुने बलात्कारका घटनामा भने अर्को समस्या पनि देखिन्छ । हाम्रो समाजले धेरै पटक दोष पीडितलाई नै दिन्छ । महिलामाथि नै प्रश्न उठाइन्छ । विभिन्न टिप्पणी गरिन्छ । अपराधीभन्दा पीडित नै कठघरामा उभ्याइन्छ । यही सोच नै सबैभन्दा ठूलो समस्या हो ।

बलात्कारी खुलेआम घुम्छन् । तर बलात्कृत महिला समाजिक बहिष्कारमा परेका धेरै उदाहरण हाम्रो समाजमा छन् । समाजले बलात्कृत महिलामाथै दोष देखाउँछ । बलात्कारको कारण खोज्न चाहँदैन । कतिपय परिवारले घटनालाई ढाकछोप गर्छन् । यसले अपराधीलाई कानूनी सजायबाट टाढा राख्छ ।

संवेदनहीन समाजमा अपांगता भएका र अशक्तहरू पनि सुरक्षित छैनन् । आधुनिकताले गाँजेर स्वार्थी बनाएको हाम्रो समाजमा अपराध दिनदिनै बढिरहेका छन् ।प्रश्न यो पनि छ– समाज वा परिवार महिलामैत्री कहिले बन्ने  ? अनि, किन हुन्छ बलात्कार ? फितलो कानुनले वा दोषीलाई उन्मुक्ति दिइएकाले ? वा पुरुषको हेप्ने प्रवृत्तिले ?

यी प्रश्नले उत्तर पाइरहेका छैनन् । कारण जे भए पनि महिलाहरु हरेक दिन दानवको सिकार छन् । हाम्रो सोचकै कारण महिलाले ‘म सुरक्षित छु’ भन्ने महसुस गर्न सक्दिनन् । त्यसैले हरेक आमाबाले छोरीको मात्र होइन, छोराको पनि चिन्ता लिनुपर्छ– कतै बलात्कारी त बन्ने होइन  ?

किनकि, यहाँ तोतेबोलीका बालिकासमेत बलात्कारका सिकार भएका छन्– आफ्नै बाबु, हजुरबा वा नजिकका नातेदारबाट । घटना हुने र सेलाउने सिलसिला निरन्तर छ । संवेदनहीन समाजमा अपांगता भएका र अशक्तहरू पनि सुरक्षित छैनन् । आधुनिकताले गाँजेर स्वार्थी बनाएको हाम्रो समाजमा अपराध दिनदिनै बढिरहेका छन् ।

यसलाई रोक्ने वा न्यूनीकरण गर्ने अन्तिम उपाय कानुननुसार अपराधीलाई दण्ड दिनु हो । कडा कारबाहीले अरूलाई यस्ता अपराध गर्न निरुत्साहित गर्छ । बिडम्बना, यस्ता अपराध जोगाउनमा समेत सत्ता र शक्तिको प्रयोग हुन्छ । कडा कारबाही त परैको कुरा, उन्मक्ति दिलाएका घटना धेरै पाइन्छन् । 

महिलामाथि हुने हिंसा र विभेद न्यूनीकरणका लागि प्रयास नभएका होइनन् । चर्चा र छलफल भए । कोठे सभादेखि ओठे भाषणसम्म, सडकदेखि सदनसम्म– थुप्रै चर्चा भए । तर समाधान कम छ । घटना हुन्छन्, विरोध हुन्छ । महिला अधिकारका नारा लाग्छन् । तर समस्या ज्युँका त्युँ छ । 

सार्वजनिक स्थल, जंगल, होटल, स्कुल मात्र होइन, प्रहरी हिरासतमा पनि महिलाहरू बलात्कृत भएका छन् । बलात्कारपछि पोल खुल्ने डरले हत्याका घटना बढेका छन् । हाम्रो समाज विकृत हुँदै छ । हिंसा, हत्या, बलात्कारका धेरै घटनामा कतिपय अवस्थामा लागुपदार्थ, मदिरा, गाँजा र अन्य नशालु पदार्थ सेवन गर्ने व्यक्ति संलग्न पाइन्छ । गाउँ–सहरका पसलमा मदिरा सजिलै पाइन्छ । धेरै गाउँघरमा इजाजतबिनै बिक्री–वितरण भइरहेका छन् । त्यसको नियन्त्रण जरुरी छ । 

सरकारले हरेक महिलाको सुरक्षा ग्यारेन्टी गर्नुपर्छ । साथै हरेक विद्यालयमा सामाजिक र नैतिक शिक्षा अनिवार्य हुनुपर्छ । समाजले युवालाई नैतिकवान् बनाउने जिम्मेवारी लिँदै सचेत हुनुपर्छ । जब हामी सानादेखि ठूलासम्म सचेत र जिम्मेवार बन्छौं, तब मात्र निर्मला र इनिसाजस्ता पीडितले न्याय पाउनेछन् । तब मात्र हामी भन्न सक्नेछौं– ‘तिमी सुरक्षित छौ, तिमी स्वतन्त्र छौ ।’

तारा चापागाईं पत्रकार हुन् ।

Link copied successfully