बालेन नेतृत्वको प्रतीक्षा 

हामीकहाँ विधिवत् गठन भएका सरकार छन्, उमेर र अनुभवले खारिएका प्रधानमन्त्री थिए, मन्त्री थिए। तर, जनताको नजरमा उनीहरुको विश्वसनीयता कहिल्यै स्थापित हुन सकेको थिएन।

चैत्र १, २०८२

किशोर नेपाल

Waiting for Balen leadership

‘फौजी’ तीव्रताका साथ सम्पन्न भएको छ, मध्यावधि चुनाव । चुनाव कुन राजनीतिक पृष्ठभूमिमा भएको थियो ? यतिबेला यो प्रश्न सन्दर्भमा मात्रै उठाइएको हो । सामाजिक सञ्जालमा राजनीतिक विवेचना गरेर चुनावलाई प्रभावित गर्ने बुद्धिजीवी र चिन्तकहरू अप्रासंगिक बनेका छन् ।

चुनाव कसरी सम्पन्न भयो ? त्यो सबैको आँखा अगाडि छर्लङ्ग भएको हुनुपर्छ । देशका कुनै पनि प्रदेशका मतदान केन्द्रहरूबाट ‘धाँधली’ का खबर आएनन् । कुनै बुथ लुटिएन । कतै गडबड भएन । निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीहरूले आफूलाई ‘कर्तव्य परायण’ सावित गरे । मतदानका लागि लाम लागेर उभिएका मतदाता निर्वाचन आयोगको ‘कार्य–कुशलता’ देखेर खुसी भए । कथित बौद्धिक वर्गको अनेकौं शंका, उपशंका र आशंकाका प्रत्युत चुनाव ‘स्वच्छ’ र ‘निष्पक्ष’ भयो । यी पंक्तिहरू लेखिँदासम्म चुनावमा ‘धाँधली’ भएको आरोप कुनै पार्टीले लगाएको छैन । चुनावको पृष्ठभूमिका बारे चेतनशील नेपाली जनता सजग र सचेत थिए । नेपाली सेनाको विशेष संरक्षणमा भएको चुनावको भाषा र संकेत मतदाताले राम्ररी बुझेको देखियो ।

चुनावको पृष्ठभूमिका बारे चेतनशील नेपाली जनता सजग र सचेत थिए । नेपाली सेनाको विशेष संरक्षणमा भएको चुनावको भाषा र संकेत मतदाताले राम्ररी बुझेको देखियो ।यो सत्य हो, चुनाव सम्पन्न गराउन लागेको निर्वाचन आयोग र संवैधानिक विषयहरूको व्याख्या गर्ने सर्वोच्च अदालतले सुशीला कार्की नेतृत्वको चुनावी सरकारलाई ठूलो सहयोग गरे । निर्वाचनका सन्दर्भमा सर्वोच्च अदालतमा परेका रिट निवेदन थन्किए । ‘विशेष अधिवेशन’ बाट आफूलाई नेपाली कांग्रेसको सभापतिमा ‘स्थापित’ गर्ने गगन थापाको प्रयत्न सफल भयो । थापाले निर्वाचन आयोगबाट ‘आधिकारिक’ कांग्रेसको मान्यता पाए । उनको नेतृत्वमा कांग्रेस ‘विजय’ अभियानतिर लम्कियो । दुर्भाग्यवशः उनको यो अभियान कांग्रेसका लागि आत्मघाती सावित भयो । 

चुनाव सम्पन्न गराउन अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले निकै कडा मिहिनेत गर्नुपर्‍यो । जेन–जी आन्दोलनका नायक र खलनायकहरूसँग कहिले छोराको नाता जोडेर, कहिले रिसाएर, कहिले पुल्पुल्याएर सरकार ‘चलाउनु’ प्रधानमन्त्री कार्कीको खुबी थियो । केही मन्त्रीहरू प्रधानमन्त्री कार्कीलाई बीच बाटोमा छाडेर चुनाव लड्न हिँडे । जो मन्त्रीहरू प्रधानमन्त्रीका साथ रहे, तिनैको सहयोगमा चुनाव सम्पन्न भयो । यो प्रधानमन्त्री कार्कीको ‘विजय’ थियो ।

चुनाव सफलतापूर्वक सम्पन्न भयो । यसका लागि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका सदस्यहरू, निर्वाचन आयोगका अधिकारीहरू, नेपाली सेनाका प्रभावशाली पदाधिकारीहरू, नेपाल प्रहरीका पदाधिकारी र जवानहरूलाई बधाई दिनैपर्छ । सधैं आफूलाई राजनीतिबाट अप्रभावित र अलग देखाउँदै आएको नेपाली सेनाले राम्रै सुझबुझ देखायो । नेपाली सेनाका जर्साहेबहरू राजनीतिक हिसाबले दक्ष रहेको कुरा त माओवादी जनयुद्धपछि तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवालले देखाउनुभएकै हो ।

नेपाली जनता चुनावका बेला खासै तात्दैनन् । उनीहरू चुनावलाई आफ्नो हतियार मान्छन् । चुनावलाई परिवर्तनको समयका रूपमा लिने गरेका छन्, जनताले । उनीहरूले बुझेका छन् ःलोकतन्त्रमा मतपत्र जनताको एक मात्र प्रभावशाली हतियार हो । चुनावमा सक्रिय भागीदारीले नेपाली जनताको ‘परिपक्व’ विवेकको परिचय दिन्छ । यो नै सन्तोषको विषय हो ।

असामान्य परिस्थितिमा हुन लागेको चुनावको घोषणापछि महाधिवेशन गर्ने विन्दुमा सहमति खोजिएको भए कांग्रेसले यति ठूलो अपमानजनक पराजय बेहोर्नुपर्ने थिएन ।चुनावका परिणामहरू आइसकेका छन् । जनताले बडो उत्साहका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बजाएका छन् । काठमाडौं महानगरपालिकाको नेतृत्व त्यागेर वरिष्ठ नेताको हैसियतले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व तहमा पुगेका बालेन्द्र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीलाई उनको आफ्नै निर्वाचन क्षेत्रमा पराजित गरेर संसदीय राजनीतिमा होमिएका हुन् । चुनावमा होमिनेबित्तिकै उनले आफ्नो थरलाई पातलो ‘स’ बाट मुक्त गरेर मोटो ‘श’ मा उकालेका छन् । उनले मोटो ‘श’ को प्रयोग नेपालको पहाडी क्षेत्रका जनताका बीच आफ्नो परिचय र पहिचान स्थापित गर्न गरेका हुन् । यसले मधेशमा उनलाई खासै फरक पर्दैन । प्रधानमन्त्रीको ‘उम्मेदवार’ का रूपमा प्रस्तुत भएदेखि नै उनी मधेशका जनताको ‘चहेता’ बनिसकेका छन् । ‘शाह’ भने पनि, ‘साह’ भने पनि मधेशका जनताका बीच उनको लोकप्रियता ह्वात्तै बढेको छ । 

जेन–जीले देशमा फैलिएको भ्रष्टाचार र कुशासनका विरुद्ध गरेको शान्तिपूर्ण विद्रोह अराजक र असामाजिक तत्त्वको हातमा परेपछि देशमा शान्ति सुरक्षाको अवस्था भताभुंग भयो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकार देशमा फैलिएको विध्वंसक स्थितिलाई नियन्त्रणमा लिन पूर्णरूपले असफल भयो । अन्ततः प्रधानमन्त्री ओलीले राजीनामा बुझाएपछि उनको ज्यान जोगाउन नेपाली सेनाले उनलाई बालुवाटारमा रहेको प्रधानमन्त्री निवासबाट ‘रेस्क्यु’ गरेर हेटौंडास्थित सैनिक ब्यारेकमा सुरक्षित पुर्‍यायो । 

चुनावले नेपालको राजनीतिक परिदृश्यलाई पूरै बदलिदिएको छ । नेपालमा प्रजातन्त्रको जग बसाउने नेपाली कांग्रेस पार्टीको आकार आफ्नै कारणले खुम्चिएको छ । सम्पन्न चुनावको भूगोल र आकारलाई हेर्दा नेपाली कांग्रेस नेपाली जनताबाट टाढिएको छैन । तर, निर्णायक तहमा रहेका पार्टीका उत्साही नेताहरूको अनावश्यक उत्साहमा पार्टीको जनमत खुम्चिएको छ । संसदीय राजनीतिमा नवागन्तुक राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनबीच सहकार्य नभएको भए नेपाली सत्ताको परम्परावादी चरित्र भत्किने थिएन । सत्ता हाँक्न आफैं मात्र समर्थ रहेको धारणामा लिप्त कांग्रेसका नयाँ र पुराना नेताहरूको अनावश्यक अहंकार र सैद्धान्तिक विचलनले विपरीत राजनीतिक ध्रुवका पार्टीसँग सिद्धान्तविपरीतको गठबन्धनले पार्टीको साखमा धमिरा लाग्यो । गगन थापाजस्ता नेताले आफ्नो महत्त्वाकांक्षालाई अघि बढाउन चुनावको मुखमा विशेष अधिवेशन गराएपछि कांग्रेसको साख स्वात्तै गिरेको हो । असामान्य परिस्थितिमा हुन लागेको चुनावको घोषणापछि महाधिवेशन गर्ने विन्दुमा सहमति खोजिएको भए कांग्रेसले यति ठूलो अपमानजनक पराजय बेहोर्नुपर्ने थिएन ।

सरकार प्रमुखको पदमा एमालेका अध्यक्ष केपी ओलीलाई समर्थन दिनु कांग्रेसको भूल थियो । कांग्रेसले माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता किन लियो ? त्यसका कारणहरू अहिलेसम्म स्पष्ट भएका छैनन् । खुला राजनीतिमा स्पष्टताको आवश्यकता हुन्छ । तर, सत्तासुखको पछि लागेर विचारहीन हुँदै गएको पार्टीले पछिल्लो समयमा कहिल्यै स्पष्ट विचार राख्न सकेन र विपक्षसँग प्रतिस्पर्धा गर्न पनि सकेन । कांग्रेसका नेताहरू आफैंभित्र आफैंसँग प्रतिस्पर्धा गर्न थाले । नयाँ हुन् वा पुराना, कांग्रेस पार्टीलाई सबल र संगठित बनाउने चिन्ता कसैमा देखिएन । कांग्रेसीहरूले महामन्त्री गगन थापाले पार्टीलाई आधुनिकीकरण गर्ने आशा राखेका थिए । तर, उनी आफ्नै स्वार्थको परिपूर्तिमा लागे । चुनावको मुखमा ‘विशेष अधिवेशन’ बोलाएर उनले आफ्नै नेता र सहयोगीहरूको हुर्मत लिन खोजे । राजनीति गर्ने मानिसमा सत्ताको शीर्षमा पुग्ने आकांक्षा हुन्छ । तर, त्यो आकांक्षाले अनावश्यक विस्तार लियो भने सर्वनाश हुन्छ । 

प्रधानमन्त्री केपी ओलीको टेको बनेर कांग्रेसले आफ्नो हैसियत गुमाएको कुरामा कुनै शंका छैन । त्यो टेको भत्किएपछि, अहिलेको समयमा कांग्रेसले आफ्नो गन्तव्य हराएको छ । नेपालको राजनीतिमा लोकतान्त्रिक समाजवादी विचारको संवाहक बनेको पार्टीका अधिकांश नेताहरू अहिले पुँजीवादी सपना बोकेर हिँडेका छन् । उनीहरूको आँखा देशमा बढ्दै गएको बेथिति र अराजकतामा परेको छैन । पार्टीका भोट बैंकका रूपमा रहेका नेपाली ग्रामीण समाज निरन्तर अभावमा पिल्सिइरहेका छन् । यो कुरालाई कांग्रेसले मात्रै होइन, अन्य कुनै पनि दलले आत्मसात् गर्न सकेको देखिएको छैन ।

निश्चय पनि, शासन व्यवस्थामा विश्वसनीयता नहुनु जनताका लागि सबभन्दा ठूलो विपत्ति हो । यो कुरा भन्न अलिकति पनि धक मान्नु पर्दैन– हामीले आज जे भोग्नुपरेको छ त्यसले हाम्रो राजनीतिक दलहरू र जनताका बीच विश्वासको संकट बढाएको छ । जेन–जी विद्रोहमार्फत तन्नेरी पुस्ताले देशको दयनीय अवस्थाका बारेमा नेताहरूको ध्यानाकर्षण गर्न खोजेका थिए । देशको अवस्था विदीर्ण छ । देशमा काम छैन । विदेशको काममा सधैं भरोसा गर्न सकिँदैन । देशमा अन्न उब्जिने भनेर चिनिएका र चारै दिशामा अलमस्त फैलिएका फाँटहरू प्लटिङमा परेका छन् । काम गर्ने तन्नेरी हातहरूमा विदेशको लड्डु देखाएर फाइदा लिनेहरूलाई जनताकै सरकारले सुरक्षा दिएको छ । स्वदेशमा काम नपाएपछि विदेशमा काम गरेर भए पनि आफ्नो परिवार पाल्दै आएका थिए, नेपाली । नेपाली केटो लाहोर जान्थ्यो, कलकत्ता घुम्थ्यो, बम्बई चाहर्थ्यो, बेलायत जान्थ्यो । अर्थात् कि, वैदेशिक रोजगारीमा नेपालीहरूका लागि नयाँपन थिएन । 

वैदेशिक रोजगारीमा भारत, पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, बर्मा, फिलिपिन्स– संसारका सबै देशहरूबाट हूलका हूल मानिसहरू गइरहेका छन् । नेपाल मात्र त्यसको अपवाद होइन । दुःखको कुरा, हामीचाहिँ वैदेशिक रोजगारीमा जानुलाई नै ठूलो विषय ठहर्‍याइरहेका छौं । यसमा न सरकारले सरोकार राखेको छ, न वैदेशिक रोजगारको बाटो खोज्नेहरूले नै ध्यान दिएका छन् । सरकारको काम बिहान दस बजे अफिस खोल्नु र साँझ पाँच बजे अफिस बन्द गर्नुमा सीमित रहेको छ । यो छ, हाम्रो चेतना र विकासको स्तर । 

निश्चय पनि, शासन व्यवस्थामा विश्वसनीयता नहुनु जनताका लागि सबभन्दा ठूलो विपत्ति हो । यो कुरा भन्न अलिकति पनि धक मान्नु पर्दैन– हामीले आज जे भोग्नुपरेको छ त्यसले हाम्रो राजनीतिक दलहरू र जनताका बीच विश्वासको संकट बढाएको छ । हामीकहाँ विधिवत् गठन भएका सरकार छन्, उमेर र अनुभवले खारिएका प्रधानमन्त्री थिए, मन्त्री थिए । तर, जनताको नजरमा उनीहरूको विश्वसनीयता कहिल्यै स्थापित हुन सकेन । देशमा हरेक पदाधिकारीका सुविधाका लागि बेग्लाबेग्लै नियम बनाउने चलन छ । त्यो नियम बनाउने चलनलाई हटाउन कसैले मान्दैन । पुर्खाको पालादेखि चलेको चलन भत्काए अलच्छिन लाग्दछ भन्ने सामाजिक मान्यतामा सामान्य परिवर्तनसमेत ल्याउन सकिएको छैन । रुढीग्रस्त मानसिकताले जरो गाडेको छ, देशमा । यस्तो मान्यतालाई अहिलेसम्म न राष्ट्रपतिले तोड्ने आँट गरेका छन्, न प्रधानमन्त्रीले ।

यतिबेला, कुनै अरू ‘अन्यथा’ भएन भने सरकारको नेताका रूपमा बालेन्द्र शाह प्रधानमन्त्री बन्ने निश्चित छ । उनले सामान्य मानिसका दुःख र पीडालाई आत्मसात् गरेर शासन व्यवस्थामा सुधार गर्ने र बहुआयामिक आर्थिक सुधारको बाटो फराकिलो पार्ने काम गरे सरकारको सार्थकता बढ्नेछ । होइन भने, परिवर्तन ‘चमेलीको गीत’ को वरिपरि रुमल्लिइरहनेछ । 

किशोर किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully