कांग्रेसको भविष्य र गगनको भूमिका

विगत लामो समयदेखि कठोर राजनीतिक संघर्ष गरी हरेक राजनीतिक अग्निपरीक्षामा सफल हुँदै आएका थापामाथि नियतिले अहिले अर्को कठिन अग्निपरीक्षा लिइरहेको छ।

फाल्गुन २९, २०८२

गेजा शर्मा वाग्ले

The future of Congress and Gagan's role

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि कांग्रेस र सभापति गगन थापाको भविष्यबारे राजनीतिक वृत्तमा गम्भीर बहस प्रारम्भ भएको छ । एकातिर, अप्रत्याशित निर्वाचन परिणामको समीक्षा गरिरहेको घडीमा थापाले राजीनामा गर्ने मनसाय सार्वजनिक भएपछि कांग्रेस वृत्तमा गम्भीर तरंग सिर्जना भएको छ ।

अर्कोतिर, ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने मुख्य नारासहित निर्वाचनमा गएको पार्टी पराजित भएपछि संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा पक्षका बीचमा आरोप–प्रत्यारोपको पुनः अर्को धारावाहिक शृंखला सुरु भएको छ । थापा नेतृत्वको संस्थापन पक्षले विगतमा देउवाको असफलता र अलोकप्रियताका साथै निर्वाचनमा अन्तर्घात भएको कारण पराजित भएको तर्क गरेका छन् । तर देउवा समूहले पराजयको प्रमुख कारण थापा असफल भएको आरोप लगाउँदै विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको दाबी गरेको छ । 

यद्यपि, केवल कांग्रेस मात्रै होइन, एमाले, नेकपालगायत चलनचल्तीको भाषामा पुराना पार्टीहरू पनि लज्जास्पद रूपमा पराजित भएका छन् । तर २००७ देखि २०६२/६३ सम्म तीन–तीन वटा सफल राजनीतिक क्रान्ति तथा आन्दोलनको नेतृत्व गरेको प्रमुख लोकतन्त्रवादी पार्टी कांग्रेस किन यसरी पराजित भयो ? यो कांग्रेस पार्टीकै असफलता हो कि देउवा समूहको आरोपजस्तै थापाको असफलता हो ? अब कांग्रेस र थापाको भविष्य के हुन्छ ? थापाले राजीनामा दिनुपर्छ कि पर्दैन ? पराजयका कारण के–के हुन् ? के कांग्रेसले पुनर्जीवन पाउने सम्भावना छ ? भन्नेजस्ता प्रश्न, प्रतिप्रश्न र यक्ष प्रश्नहरू उठेका छन् । त्यसैले कांग्रेसको भविष्यका लागि पनि यस्ता प्रश्न, प्रतिप्रश्न र यक्ष प्रश्नहरूका बारेमा वस्तुनिष्ठ रूपमा समीक्षा गरी ठोस निष्कर्षमा पुग्नु अपरिहार्य छ ।

कांग्रेस किन पराजित भयो ?

करिब तीन दशकदेखिका विकृति–विसंगति, यसले कांग्रेसलाई पारेको प्रभाव र निर्वाचन परिणामको विस्तृत विश्लेषण र समीक्षा यो छोटो आलेखमा सम्भावना छैन । यदि विस्तृत र वस्तुनिष्ठ रूपमा पराजयका कारणहरूको फेहरिस्त तयार गर्ने हो भने एउटा खण्डकाव्य नै बन्न सक्छ । तर बुँदागत रूपमा उल्लेख गर्दा प्रमुख सात कारण छन् । 

पहिलो, २०४६ मा लोकतन्त्र स्थापना भएपछि पटक–पटक सत्तामा जाने अवसर पायो । तर २०४८ देखि २०५१ सम्मको अवधिबाहेक जनभावनाअनुसार राज्य सञ्चालन गरी जनतालाई परिवर्तनको अनुभूति गराउन असफल भयो । न कांग्रेसको सरकारले आर्थिक विकासको नेतृत्व गर्न सक्यो, न डेलिभरी गरी जनताको मन जित्न सक्यो । कांग्रेस भनेको सत्ताको दलाली गर्ने र सत्तामा गएर राज्यको दोहन गर्ने दोहनकारी पार्टी भएको भाष्य जनतामा स्थापित भयो ।

दोस्रो, भ्रष्टाचार नियन्त्रण र सुशासन जनताको चाहना थियो । तर भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति गर्न नसकेको मात्रै होइन, कांग्रेसकै सरकारको पालामा भ्रष्टाचार र कुशासनका नयाँ–नयाँ काण्डहरू पर्दाफास भए । कांग्रेसकै नेता, मन्त्री र सांसदहरू भ्रष्टाचार र अख्तियार दुरुपयोगको एकपछि अर्को काण्डमा फस्दै गएपछि कांग्रेसको छवि नै थप नकारात्मक भयो । 

तेस्रो, मूल्यको राजनीति र सिद्धान्तलाई तिलाञ्जली दिएर सत्ता र शक्तिका लागि अप्राकृतिक गठबन्धन र सम्झौता गर्ने चरम सत्तामुखी प्रवृत्ति पराजयको अर्को प्रमुख कारण हो । कांग्रेस, एमाले, माओवादी गरी तीन पार्टीका तीन नेताहरू देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ताको सिन्डिकेट र ‘म्युजिकल चेयर’ को खेलका कारणले केवल तीन पार्टी र तीन नेताहरू मात्रै होइन, लोकतान्त्रिक प्रणाली र संविधानसमेत विकृत र बदनाम भएको थियो ।

चौथो, संवैधानिक निकाय, न्यायालय, निजामती प्रशासन, सुरक्षा निकाय, विश्वविद्यालय, कूटनीतिक निकाय तथा राज्यका निकायहरूको अति दलीयकरण गरिएको थियो । जनता यस्तो अवाञ्छित दलीयकरणको विपक्षमा थिए । पाँचौं, यी समग्र विकृति–विसंगति तथा २३–२४ भदौको जेन–जी विद्रोहका क्रममा सरकारले हत्या र दमन गरेपछि जनता कांग्रेस–एमालेको विपक्षमा थिए र परिवर्तनको पक्षमा थिए । त्यसैले जनताले कांग्रेस, एमालेको विरुद्धमा मतदान गरे र बालेन शाहको छवि र लोकप्रियताका कारणले परिवर्तनकारी पक्षधरले समर्थन गरेपछि रास्वपाले अप्रत्याशित रूपमा ऐतिहासिक सफलता हासिल गर्न सफल भयो । 

छैटौं, पराजयको अर्को महत्त्वपूर्ण कारण अन्तर्घात हो । पूर्वसभापति कृष्णप्रसाद भट्टराई उम्मेदवार भएको उपनिर्वाचनदेखि नै हुँदै आएको घात, अन्तर्घात र प्रतिघातको सिकार कांग्रेस यस पटक पनि भयो । निर्वाचन सम्पन्न भएर परिणाम पनि सार्वजनिक नहुँदै देउवा समूहबाट थापाविरुद्धका सार्वजनिक अभिव्यक्ति र आरोपको शृंखलाका आधारमा विश्लेषण गर्दा कुन तहसम्मको असहयोग र अन्तर्घात भएको रहेछ भन्ने घामजत्तिकै छर्लङ्ग भएको छ । देउवाले औपचारिकताका लागि भए पनि रुखमा मतदान गर्न अपिलसमेत जारी गरेनन् । उल्टै मतदानसमेत बहिष्कार गरेर उनी सिंगापुर गए । पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइरालालगायत देउवा समूहका कुनै पनि नेताहरू चुनाव प्रचारमा देखिएनन् । कांग्रेसका लागि योभन्दा ठूलो विडम्बना के हुन सक्छ ?

सातौं, समय छोटो भएका कारणले कांग्रेस बदलिएको सन्देश प्रभावकारी रूपमा जनता र कार्यकर्तासमक्ष पुग्न सकेन । त्यसको सबैभन्दा ठूलो क्षति कांग्रेस र थापालाई भयो । उपरोक्त तथ्य र तथ्यांकका आधारमा विश्लेषण गर्दा पराजयको कारण थापाको नेतृत्व र नीति होइन, देउवा समूहको नेतृत्व पंक्तिको असफलता, अलोकप्रियता, कुशासन र भ्रष्टाचार भएको घामजत्तिकै छर्लङ्ग छ । त्यसैले अब केन्द्रीय समितिले निर्वाचनको वस्तुनिष्ठ आत्मसमीक्षा र आत्मचिन्तन गरी विगतमा भएका त्रुटि र कमजोरी सच्याउनुपर्छ र अविलम्ब महाधिवेशनको मिति तोक्नुपर्छ । त्यसपछि बल्ल नयाँ कांग्रेस निर्माणको वास्तविक नवीन यात्रा प्रारम्भ हुनेछ ।

राजीनामा कि नयाँ कांग्रेसको रोडम्याप ?

कांग्रेस अत्यन्त अलोकप्रिय र संगठन अत्यन्तै कमजोर भएको प्रतिकूल घडीमा करिब २ महिना अगाडि थापा नेतृत्वमा आएका थिए । सभापति भएको ५० औं दिनमा यति कमजोर र अलोकप्रिय पार्टीको नेतृत्व गरेर निर्वाचनमा जानुपर्ने विडम्बनापूर्ण अवस्था थियो । यदि थापा नेतृत्वमा नआएको भए जनतासँग भोट माग्न जाने आधारसमेत कांग्रेससँग हुने थिएन । यदि देउवाकै नेतृत्वमा गएको भए निर्वाचन परिणाम एमालेको भन्दा पनि कमजोर मात्रै हुने थिएन, कांग्रेस जनताबाट नै बहिष्कृत हुने थियो । त्यसैले थापाका बारेमा आलोचना र नकारात्मक टिप्पणी गर्नुभन्दा पहिले कांग्रेसजनहरूले यो राजनीतिक वास्तविकतालाई आत्मसात् गर्नु आवश्यक छ । 

विगत लामो समयदेखि कठोर राजनीतिक संघर्ष गरी हरेक राजनीतिक अग्निपरीक्षामा सफल हुँदै आएका थापामाथि नियतिले अहिले अर्को कठिन अग्निपरीक्षा लिइरहेको छ । सपना, संकल्प र संघर्षका कारणले सफलता हासिल गर्दै आएका थापालाई अहिले असफल हुने छुट पनि छैन र र निराश हुने छुट पनि छैन । यदि उनी असफल र निराश भए भने एउटा पुस्ता नै राजनीतिमा असफल हुनेछ र राजनीतिबाट निराश हुनेछ । 

थापाजस्तो मूल्य, नैतिकता र सिद्धान्तको राजनीति गर्दै आएको नेताले पार्टी पराजित भएपछि नैतिक जिम्मेवारी लिएर राजीनामा दिने सोच्नु स्वाभाविक हो । यो उच्च लोकतान्त्रिक संस्कार हो, उत्तरदायित्वको अनुभूति हो र नैतिकताको कसी हो । यस्तो नजिर र संस्कारले नेतृत्वलाई थप लोकतान्त्रिक, उत्तरदायी र नैतिक बनाउँछ । तर नेतृत्वको परीक्षण केवल ५० दिनमा हुँदैन । सभापतिका रूपमा थापाको नेतृत्वको परीक्षण भएकै छैन । यदि सभापतिको एक कार्यकाल पूरा भएपछि भएको चुनावमा पराजित भएको भए राजीनामा स्वाभाविक हुन्थ्यो । त्यसैले आफूले नगरेको अपराधको सजाय भोग्नु वा आफैंले आफैंलाई दण्डित गर्नु राजनीतिक, नैतिक र कानुनी कुनै पनि दृष्टिले उपयुक्त होइन । 

जतिसुकै कुशल र सफल खेलाडी भए पनि ९० मिनेट सकिएपछिको अतिरिक्त समयमा खेल मैदानमा प्रवेश गर्दा गोल नगर्न सक्छन् । त्यस्तो समयमा प्रवेश गरेर विश्व चर्चित खेलाडीहरू मेसी र रोनाल्डोले पनि गोल नगर्न सक्छन् । त्यसैले ‘इन्जुरी’ समयमा प्रवेश गरेको कुशल खेलाडीले गोल गरेन भनेर आलोचना गर्नु कति न्यायसंगत होला ? अहिले थापाप्रति गरिएको टिप्पणी वा आलोचना फुटबलको त्यही घटनाजस्तै हो । 

अन्तर्घात, आत्मघात र आत्मनिन्दा कांग्रेसको अभिशप्त नियति हुँदै आएको छ । तर यो आरोप–प्रत्यारोप, अन्तरकलह र आत्मनिन्दा गर्ने होइन, सम्पूर्ण कांग्रेसजनहरूले आत्मसमीक्षा, आत्मचिन्तन र आत्मालोचना गरी आत्मविश्वास हासिल गर्ने समय हो । यो थापाले राजीनामा दिने समय होइन, नयाँ कांग्रेस बनाउन इतिहासले सुम्पिएको ऐतिहासिक जिम्मेवारी पूरा गर्न दृढसंकल्प गर्ने घडी हो । थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण, शुद्धीकरण र पुनर्गठनको प्रक्रिया बल्ल प्रारम्भ भएको छ । यदि उनले राजीनामा गरे भने यो समग्र प्रक्रिया अवरुद्ध हुनेछ । 

कांग्रेसजस्तो परम्परागत र नेतातन्त्र हाबी भएको पार्टीको रूपान्तरण र पुनर्गठनको प्रक्रिया अपेक्षाकृत लामो र जटिल हुने भएकाले परिणाम आउन पनि समय लाग्ने देखिन्छ । तीन दशकदेखिका विकृति–विसंगति अन्त्य गरी कांग्रेसमा परिवर्तन भएको सन्देश जनतासमक्ष पुर्‍याउन समय कम भयो । पुसमा भएको विशेष महाधिवेशनबाट नेतृत्व मात्रै परिवर्तन भएको थियो । अब सैद्धान्तिक–वैचारिक दृष्टिले मौलिक रूपमा पुनर्व्याख्या तथा सांगठनिक दृष्टिले व्यापक पुनर्गठन गरी नयाँ कांग्रेसका रूपमा रूपान्तरण गर्न आवश्यक छ । यस्तो कांग्रेसको सोच, संस्कार र कार्यशैली पनि लोकतान्त्रिक र उत्तरदायी हुनुपर्छ । 

सन् १९९४ मा बेलायतको लेबर पार्टीको नेतृत्वमा आएपछि जसरी टोनी ब्लेयरले पनि सैद्धान्तिक, वैचारिक तथा सांगठनिक दृष्टिले रूपान्तरण गरी नयाँ लेबर पार्टी बनाएका थिए । त्यसरी नै अब थापाले पनि पुरातन कांग्रेसलाई रूपान्तरण गरी नूतन कांग्रेस बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने घडी हो । यो वास्तविकतालाई आत्मसात् गरी थापाले नयाँ कांग्रेस बनाउने ठोस मार्गचित्र तय गर्न आवश्यक छ । आजको आवश्यकता पनि यही हो र थापाको भूमिका पनि यही हो । होइन भने, कांग्रेसको भविष्य मात्रै होइन, औचित्यमाथि समेत गम्भीर प्रश्नचिह्न खडा हुनेछ ।

चर्चिल र गान्धीको विजय–पराजयको इतिहास

बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिल र भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको विजय–पराजयको इतिहास निर्वाचन परिणामका दृष्टिले सर्वाधिक सान्दर्भिक र बहुउल्लिखित प्रसंग हो । दोस्रो विश्वयुद्धमा जर्मनीका तत्कालीन चान्सलर एडोल्फ हिटलर पराजित नभएको भए अहिले विश्वको मानचित्र नै फरक हुने थियो । तर विपरीत ध्रुवका शक्तिशाली नेता मानिने अमेरिकाका राष्ट्रपति फ्र्यांकलिन रुजवेल्टदेखि तत्कालीन सोभियत संघका प्रधानमन्त्री जोसेफ स्टालिनसँग समेत सैन्य साझेदारी गरी हिटलरलाई पराजित गर्न चर्चिलले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

उक्त नीतिका रणनीतिकार चर्चिलको उच्च कूटनीतिक कौशलका कारण उक्त रणनीति र सैन्य साझेदारी सफल भएको थियो । नोबेल शान्ति पुरस्कारसमेत पाएका चर्चिलको रणनीति, कूटनीति र सफलतालाई विश्वभरिका इतिहासकारहरूले उच्च प्रशंसा गरेका छन् । तर मानव इतिहासकै कलंक मानिने दोस्रो विश्वयुद्ध समाप्त भएपछि सन् १९४५ भएको बेलायतको आमनिर्वाचनमा दोस्रो विश्वयुद्धका हिरो मानिने चर्चिलको कन्जर्भेटिभ पार्टी पराजित भएको थियो । तर चर्चिल निराश पनि भएनन् र राजनीतिबाट संन्यास पनि लिएनन् । सन् १९५१ मा भएको आमनिर्वाचनबाट कन्जर्भेटिभ पार्टीले बहुमत हासिल गरेपछि चर्चिल पुनः प्रधानमन्त्री भएका थिए ।

भारतको इतिहासमा आइरन लेडी मानिने इन्दिरा गान्धीको राजनीतिक इतिहास पनि उत्तिकै उतार–चढावपूर्ण देखिन्छ । भारतको आन्तरिक राजनीतिक विवाद र द्वन्द्वका कारणले तत्कालीन प्रधानमन्त्री गान्धीले सन् १९७५ देखि ७७ सम्म २१ महिना लामो बहुविवादास्पद संकटकाल लागू गरिएको थियो । संकटकालमा लोकतान्त्रिक अधिकारमाथि नियन्त्रण गरिएको थियो भने प्रतिपक्षी पार्टी, नेता र कार्यकर्तामाथि व्यापक रूपमा दमन गरिएको थियो । त्यसैले सन् १९७७ मा भएको निर्वाचनमा उनी पराजित भइन् । तर सन् १९८० मा भएको निर्वाचनमा लोकसभाका ५४३ मध्ये कांग्रेसले ३५३ सिटमा विजय हासिल गरी गान्धीले सानदार रूपमा राजनीतिक पुनरागमन गरेकी थिइन् । त्यसैले एउटा निर्वाचनमा पराजित हुँदैमा राजनीति समाप्त पनि हुँदैन र विजय हासिल गर्दैमा राजनीति सदाका लागि स्थापित पनि हुँदैन । यो राजनीतिशास्त्रको सर्वमान्य सिद्धान्त हो । यस्तो सिद्धान्तबाट शिक्षा लिनु स्वयं कांग्रेस र थापाको राजनीतिक स्वास्थ्यका लागि लाभदायक हुनेछ ।

कांग्रेसको भविष्य के होला ?

लोकतन्त्र र जनताका अधिकारका लागि करिब आठ दशकदेखि सम्झौताहीन संघर्ष गर्दै आएको कांग्रेसजस्तो लोकतन्त्रवादी, प्रगतिशील र मध्यमार्गी पार्टीको सैद्धान्तिक–वैचारिक आधार बलियो छ । २०४६ मा लोकतन्त्र स्थापना भएपछि विकसित भएको उदारवादी लोकतन्त्र, खुला समाज, स्वतन्त्र प्रेस, सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको भूमिकाको कारणले नेपालमा बौद्धिक समुदाय र ‘क्रिटिकल मास’ को विकास र प्रभाव पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ । आलोचनात्मक चेत भएको बौद्धिक समुदाय, मध्यम वर्ग, नागरिक समाज र क्रिटिकल मास स्वार्थ, सिद्धान्त र स्वभाव तीन वटै दृष्टिले लोकतन्त्रप्रति प्रतिबद्ध र लोकतन्त्रवादी पार्टी समर्थित हुन्छन् । आलोचनात्मक नै भए पनि यो समुदायले हालसम्म कांग्रेसलाई नै समर्थन र सहयोग गर्दै आइरहेका छन् । 

करिब २५ प्रतिशत मध्यम वर्ग र करिब १५ प्रतिशत निम्न मध्यम वर्ग गरी करिब ४० प्रतिशत मध्यम तथा निम्न मध्यम वर्ग भएकाले वर्गीय आधार पनि कमजोर छैन । यो वर्ग स्वाभाविक रूपमा लोकतन्त्र तथा लोकतन्त्रवादी पार्टीप्रति प्रतिबद्ध हुन्छन् । त्यसैले २०६४ को संविधानसभा र २०७९ तथा यो निर्वाचनबाहेक कांग्रेसले सधैं ३० देखि ३८ प्रतिशत मत हासिल गर्दै आएको छ । अर्को विश्वसनीय लोकतन्त्रवादी पार्टी नभएका कारणले हालसम्म कांग्रेसले बौद्धिक तथा व्यावसायिक समुदाय, मध्यम तथा निम्न मध्यम वर्ग र लोकतन्त्रवादी मतदाताको एकल समर्थन र यो समूहको उच्चतम राजनीतिक लाभांश पाउँदै आएको थियो ।

तर यो निर्वाचनमा रास्वपाले करिब दुईतिहाइ मत हासिल गरेपछि कांग्रेसको सैद्धान्तिक, वैचारिक तथा वर्गीय आधार केही हदसम्म संकुचित भएको छ । परम्परागत आधार क्षेत्र मानिने बौद्धिक तथा व्यावसायिक समुदाय, मध्यम तथा निम्न मध्यम वर्ग र लोकतन्त्रवादी मतदाताले समेत यो निर्वाचनमा कांग्रेसको विकल्पमा रास्वपालाई सहयोग र समर्थन गरेको देखियो । त्यसैले यो निर्वाचनपछि कांग्रेसलाई सैद्धान्तिक, वैचारिक र वर्गीय सबै दृष्टिले केही हदसम्म चुनौती सिर्जना भएको देखिन्छ । 

राजनीतिक विचारधाराका दृष्टिले विश्लेषण गर्दा कांग्रेस र कम्युनिस्टजस्तो रास्वपा स्पष्ट छैन । तर हालसम्म प्रकाशित राजनीतिक दस्ताबेजका आधारमा रास्वपा गैरकम्युनिस्ट र लोकतन्त्रवादी पार्टी हो । तर गैरकम्युनिस्ट र लोकतन्त्रवादी भए पनि यसको सैद्धान्तिक रुझान पपुलिस्ट, मध्य–दक्षिणपन्थी र अनुदारवादी हुने सम्भावना बढी देखिन्छ । त्यसैले सैद्धान्तिक–वैचारिक दृष्टिले कांग्रेस रास्वपाभन्दा थप लोकतन्त्रवादी, उदारवादी, मध्यमार्गी, प्रगतिशील, समावेशीकरणवादी र सामाजिक न्याय पक्षधर हुनु आवश्यक छ । कांग्रेसको भविष्य पनि यसैमा निर्भर छ । यदि सैद्धान्तिक, वैचारिक तथा वर्गीय रूपमा रास्वपाभन्दा पृथक् भएन र उक्त सन्देश प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउन सकेन भने तत्कालीन र दीर्घकालीन दुवै दृष्टिबाट कांग्रेसलाई क्षति हुनेछ ।

लोकतान्त्रिक प्रणालीमा कुनै पनि पार्टी र नेतृत्व चुनौतीरहित पनि हुँदैनन् र प्रश्नविहीन पनि हुँदैनन् । तिनै चुनौती र प्रश्नले पार्टी र नेतृत्वलाई लोकतान्त्रिक, उत्तरदायी र जनमुखी बनाउँछन् र ती चुनौती र प्रश्नको सामना गर्न सक्षम पार्टी र नेतृत्व मात्रै सान्दर्भिक रहन्छन् । यो राजनीतिक वास्तविकतालाई गम्भीर रूपमा आत्मसात् गरी थापाले नयाँ कांग्रेस बनाउने संकल्पसहित नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक छ । त्यसैले आरोह–अवरोहपूर्ण राजनीतिक इतिहासबाट शिक्षा तथा भविष्य र जनताबाट प्रेरणा लिएर थापाले अख्तियार गर्ने मार्गचित्र, नीति र नेतृत्वमा नै कांग्रेसको भविष्य अन्तर्निहित छ ।

गेजा गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully