सन् १९७७ मा जनता गठबन्धनले भारतकी शक्तिशाली प्रधानमन्त्री इन्दिरा गान्धीलाई बिदा गरेर पहिलो गैरकांग्रेसी सरकार बनाएको थियो, ‘चुपचाप घण्टी छाप’ नारा पछ्याउादै नेपालमा पनि जनताले ‘अघोषित गठबन्धन’ मार्फत कांग्रेस–कम्युनिस्ट बिदा गरी रास्वपालाई सत्ता सुम्पिएका छन्
What you should know
२० मार्च १९७७, दिल्ली मिडियाका न्युज रुमहरूमा विशेष चहलपहल थियो । अघिल्लो दिन सम्पन्न लोकसभा निर्वाचनको मतगणना प्रारम्भ भएकाले त्यसकै रिपोर्टिङमा समाचार कक्ष जुटिरहेको थियो । रात परेसँगै मतगणनाको रुझान आउन थालेपछि अखबारहरूको सम्पूर्ण समाचार कक्ष आश्चर्यमा पर्दै थियो । आएका समाचारहरू नपत्याएर पटक–पटक ‘क्रस चेक’ को काम भइरहेको थियो ।
त्यसबेलाकी शक्तिशाली प्रधानमन्त्री इन्दिरा गान्धी नेतृत्वको कांग्रेस पार्टी एकपछि अर्को सिटमा पछाडि पर्दै थियो । विपक्षी जनता पार्टीले धेरैतिर अग्रता बनाएको थियो । इन्टरनेटको युग आइसकेको थिएन । संवाददाताले फोनमार्फतै दिएको तथा न्युज–एजेन्सीबाट टेलिप्रिन्टमार्फत आइरहेका सूचना अपत्यारिला थिए ।
त्यसको एक कारण थियो– तीन महिनाअघि मात्रै जन्मिएको ‘जनता पार्टी’ ले राजनीतिक विरासत बोकेको कांग्रेस पार्टीमाथि अग्रता हासिल गर्दै थियो । त्यो त्यही कांग्रेस थियो, जुन पण्डित जवाहरलाल नेहरूले सिञ्चित गरेका थिए । सत्ताको बागडोर नेहरू–पुत्री इन्दिराको हातमा थियो । सरकारी रेडियो तथा टेलिभिजनले मतगणनाको समाचार दिन ढिलाइ गरिरहेको थियो । मतको सूचना प्राप्त गर्न दिल्लीको बहादुर शाह जफरमार्गमा आममानिसको भीड लागिसकेको थियो । प्रायः पत्रपत्रिकाको कार्यालय जफरमार्गमै थियो । ‘टाइम्स अफ इन्डिया’ ले अखबारमा समाचार छाप्नुपूर्व नै कार्यालयबाहिर सार्वजनिक रूपमै साइनबोर्डमा लेखेर मतगणनाको सूचना दिने व्यवस्था मिलाउनुपरेको थियो । ‘जनता पार्टी’ को अग्रता र जितको सूचनाले त्यहाँको भीडलाई असाध्यै उत्साहित बनाउँथ्यो । त्यो क्रम केही दिनसम्म चल्यो ।
उत्तर प्रदेशको रायबरेली जस्तो परम्परागत र सुरक्षित सिटबाटै इन्दिरा गान्धीले हारेको खबर बाहिरिएसँगै मानिसले दिल्लीको सडकमा खुसियाली मनाएका थिए । अमेठी सिटबाट उठेका इन्दिराका छोरा सञ्जय गान्धीको हारको खबरले मानिसमा झन् उन्माद थपेको थियो । सञ्जयलाई ‘जनता पार्टी’ का एक सामान्य विद्यार्थी नेताले पराजित गरेका थिए ।
नेपालको चुनावमाथि विमर्श गरौं । नेपालमा बहुमत ल्याएर पनि कुनै प्रधानमन्त्रीले पाँच वर्षको पूरा कार्यकाल सरकार चलाउन पाएको इतिहास छैन । २०१५ मा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो ।सन् १९७७ को त्यो चुनावी याममा भारतीय राजनीति तरंगीत थियो– सबैभन्दा शक्तिशाली राजनीतिज्ञ आमा र छोराले हार बेहोर्नुपरेको खबरले । भोट बैंक मानिएका क्षेत्रले नै कांग्रेसलाई निराश बनाएको थियो । चुनावको मिति घोषणापछि खुलेको ‘जनता पार्टी’ को पक्षमा जनताले खुलेरै मतदान गरेका थिए । ‘भारत नेहरूके बाद’ पुस्तकमा इतिहासकार रामचन्द्र गुहाले लेखेका छन्, ‘देशको इतिहासमा ३१ सालमा कुनै पहिलो गैरकांग्रेसी सरकार सत्तासीन हुँदै थियो । चुनावको नतिजाले हरेक मानिसलाई आश्चर्यमा पारेको थियो । विश्लेषक र मिडियाहरूले चुनावी नतिजालाई ‘जनता लहर’ वा ‘जनक्रान्ति’ को नामले सम्बोधन गरेका थिए ।’
मार्च १९७७ को आमचुनावको त्यो परिणाम आश्चर्यजनक मात्रै थिएन, ऐतिहासिक थियो । पूरै उत्तर भारतमा सत्तारूढ कांग्रेस सफाया हुन पुग्यो । मतदाताले एकै मतले कांग्रेसको विरोधमा मतदान गरेका थिए । भारत स्वतन्त्रतापछि सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई जनताको मतको शक्तिले नै उखेलेर किनारमा पुर्याइदिएको थियो । ५४२ सदस्यीय लोकसभामा ‘जनता पार्टी’ र उसको सहयोगी दलले २९८ सिट जित्यो । ‘जनता पार्टी’ ले सुविधाजनक बहुमत ल्याएको थियो । कांग्रेस १५३ सिटमा खुम्चिन पुग्यो । त्योभन्दा अघिल्लो चुनावमा कांग्रेसको ३५० सिट थियो । उत्तर प्रदेशको ८४, बिहारको ५३, पञ्जाबको १३, हरियाको ९ र दिल्लीको ७ मा एक सिट पनि कांग्रेसले पाएन । सबै सिट ‘जनता पार्टी’ को खातामा पुग्यो । उत्तर भारतमा ‘जनता पार्टी’ को प्रचण्ड लहर थियो । त्यहीँ दक्षिण भारतले भने कांग्रेसलाई जोगाएको थियो ।
१२ जुन, १९७५ मा इलाहाबाद हाईकोर्टले एक फैसलामा ‘१९७१ को चुनावमा रायबरेलीबाट इन्दिरा गान्धीको निर्वाचनमा धाँधली भएको’ भन्दै त्यो निर्वाचनलाई रद्द गरिएको फैसला सुनाएको थियो । अदालतले आगामी ६ वर्षसम्म कुनै पनि संवैधानिक पदका लागि उनी अयोग्य हुने फैसला दिएको थियो ।
त्यो फैसलापछि विपक्षीहरूले गान्धीको राजीनामा माग्न थालेका थिए, गान्धीले सुनिनन् । ‘राष्ट्रिय सुरक्षाको खतरा’ भन्दै देशैभर संकटकाल (इमर्जेन्सी) लगाइदिइन् । विपक्षी नेताहरू पक्राउ गरिए । मिडियामा सेन्सरसिप लगाइयो । ‘आरएसएस’ सहित १३ संगठनमाथि प्रतिबन्ध लगाइयो ।
२५ जुन, १९७५ को मध्यरात इन्दिरा गान्धीले देशमा संकटकाल लागू गरेकी थिइन् । इन्दिरा र उनका छोरा सञ्जयले सजिलै देशको सम्पूर्ण प्रशासनतन्त्रमाथि नियन्त्रण लिएका थिए । अपवादबाहेकका सञ्चार जगत्ले पनि सरकारअघि घुँडा टेकिसकेको थियो ।
इन्दिरा गान्धीले ‘निर्देशित प्रजातन्त्र’ को नयाँ ढाँचा विकास गरेकी थिइन्, जसले बिस्तारै स्थायी रूप लिँदै थियो । पत्रकार कुलदीप नैयरले आफ्नो पुस्तक ‘एक जिन्दगी काफी नहीं’ मा लेखेका छन्, ‘प्रेस स्वतन्त्रता खुम्च्याइएको थियो । सेन्सरसिप अधिकारीले सम्पादकीय भूमिका निर्वाह गर्थे ।’ नोभेम्बर १९७६ मा लोकसभाको पाँचवर्षे कार्यकाल पूरा हुँदै थियो । तर, संकटकाल देखाएर चुनाव गरिएन । संविधान संशोधन गरेर लोकसभाको कार्यकाल थपियो ।
त्यसको एक वर्षपछि १८ जनवरी, १९७७ मा गान्धीले चुनाव घोषणा गरिन् । भारतको ‘खुपिया ब्युरो’ ले चुनाव गराउने उपयुक्त समय रहेको र अहिले चुनाव भए कांग्रेसको बहुमत आउने विश्वास गान्धीलाई दिलाएका थिए । र, संकटकालमा सरकारबाट पीडित बनेका विपक्षी दलले चुनावलाई अवसरका रूपमा लिए ।
सशस्त्र द्वन्द्वबाट खुला राजनीतिमा आएका माओवादीलाई २०६४ को पहिलो संविधानसभा चुनावमा जनताले अपार मत दिएको थियो । बहुमतको नजिक लोकप्रिय मत पाए पनि सेनापति हटाउनेजस्ता अपरिपक्व निर्णयका कारण ९ महिनामै सरकार ढल्यो । १९ जनवरीमा विपक्षी नेता मोरारजी देसाईको दिल्लीस्थित निवासमा चार विपक्षी पार्टीको बैठक बस्यो । बैठकमा जनसंघ, भारतीय लोकदल, सोसलिस्ट पार्टी र कांग्रेस (ओ) सामेल थियो । उनीहरूको निर्णय आयो– आगामी चुनाव एकै चुनाव चिह्न र एकै पार्टीको झन्डामुनि लड्ने । त्यही पृष्ठभूमिमा ‘जनता पार्टी’ को जन्म भएको थियो । नयाँ पार्टी गठन भएलगत्तै इन्दिरा गान्धीको मन्त्रिमण्डलका प्रभावशाली मन्त्री जगजीवन रामले गान्धीको साथ छाडे । उनको बहिर्गमनले कांग्रेसलाई थप अप्ठ्यारो स्थितिमा पुर्यायो । रामले ‘कांग्रेस फर डेमोक्रेसी पार्टी’ गठन गरे, जसले ‘जनता पार्टी’ सँग चुनावी तालमेल गर्यो ।
मार्च तेस्रो सप्ताहमा चुनाव हुँदै थियो । ६ मार्चमा विपक्षी पार्टीले दिल्लीको रामलीला मैदानमा विशाल जनसभा आयोजना गरेको थियो । सभा कमजोर पार्न सरकारले त्यही समयमा सरकारी टेलिभिजन ‘दूरदर्शन’ बाट त्यसबेलाको चर्चित फिल्म ‘बाँबी’ प्रसारण गराएको थियो । तर, त्यस बाबजुद विपक्षीको सभामा १० लाख मानिस जम्मा भएको इतिहासकार गुहाले पुस्तकमा लेखेका छन् । जगजीवन राम र जयप्रकाश नारायणलाई सुन्न लाखौं मानिस रामलीला मैदान पुगेका थिए । त्यही सभाले चुनावी परिणामको संकेत गरिसकेको थियो । सभामा जयप्रकाशले नारा दिएका थिए, ‘कांग्रेसलाई भोट दिनु तानाशाहीको समर्थन हो र विपक्षीलाई भोट दिनु स्वतन्त्रताको पक्षधरता ।’ चुनावको मुख्य प्रचारक नै जयप्रकाश थिए । आफ्नो उमेर र खराब स्वास्थ्यका बाबजुद उनी देशैभरि चुनावी प्रचारमा थिए ।
राजनीतिक विश्लेषक तथा पूर्वपत्रकार रसिद किदवईले आफ्नो पुस्तक ‘भारत के प्रधानमन्त्री’ मा ‘१९७७ को चुनावमा आपत्काल (इमर्जेन्सी) विरोधी हावाले नै इन्दिरा गान्धीलाई चुनावमार्फत उखेलेर फ्यालेको’ लेखेका छन् । त्यसबेला कांग्रेसले शर्मनाक हार बेहोर्नुपरेको थियो ।
पत्रकार नैयरले लेखेअनुसार, इन्दिरा गान्धीको हारले देश र प्रजातान्त्रिक ढाँचालाई ध्वस्त हुनबाट बचाएको थियो । इन्दिरा नहारेकी भए उनलाई लाग्न सक्थ्यो, उनी ठीक बाटोमा हिँडिरहेकी छन् । त्यसपछि बहुमतका साथ गैरकांग्रेसी सरकार बन्दै थियो ।
‘जनता पार्टी’ ले कुनै एक नेताको नेतृत्वमा चुनाव लडेको थिएन । त्यसैले चुनावी नतिजासँगै ‘प्रधानमन्त्री को हुने ?’ भन्ने विषयको विवादले पार्टीमा स्थान पायो । चरण सिंह, जगजीवन राम र मोरारजी देसाई उक्त पदका दाबेदार देखिए । प्रधानमन्त्री छान्ने जिम्मा जयप्रकाश नारायण र जेबी कृपालनीलाई दिइयो । देसाई प्रधानमन्त्री, राम रक्षा र सिंह गृहमन्त्री बनाइए । एचएम पटेल वित्त र अटलबिहारी बाजपेयी विदेशमन्त्री बने । ३१ वर्षमा देसाई पहिलो गैरकांग्रेसी प्रधानमन्त्री बनेका थिए ।
२३ मार्च, १९७७ को शपथग्रहण समारोहसँगै मोरारजी देसाई र चरण सिंहबीच दरार पैदा हुन थालेको थियो । त्यसको प्रभाव पार्टीमा पनि पर्न थालेको थियो । ‘जनता पार्टी’ नेतृत्व सरकारको कामकाजको तरिका पनि कांग्रेसभन्दा खासै भिन्न देखिन छाडेको थियो । इमर्जेन्सी बेलाको ज्यादती छानबिन गर्न आयोग बनाउने विषयमै प्रधानमन्त्री देसाई र गृहमन्त्री सिंहबीच मतभिन्नता देखियो । केही नेताको ध्यान केन्द्रित थियो– इन्दिरा गान्धीसँग प्रतिशोध लिने । अक्टोबर १९७७ मा गृहमन्त्री चरण सिंहले गान्धीलाई पक्राउ गर्ने निर्णय गरेका थिए । अस्पष्ट भ्रष्टाचार आरोपमा इन्दिरा गान्धीलाई पक्राउ गरिएको थियो । पक्राउको भोलिपल्टै मजिस्ट्रेटले आरोप रद्द गर्दै गान्धीलाई रिहा गरिदियो । त्यसपछि गान्धी ‘जनता पार्टी’ सरकारको चर्को विरोधमा उत्रिन थालेकी थिइन् ।
२७ मे, १९७७ मा बिहारको बेलछी गाउँमा कथित माथिल्लो जातिका मानिसले कथित तल्लो जातिका ९ जनालाई जलाएर हत्या गरेको घटना बाहिर आयो । पूर्वप्रधानमन्त्री गान्धीले घटनास्थल जाने निर्णय लिइन् । त्यस घटनाले गान्धी राजनीतिमा सक्रिय हुन पुगिन् । हवाईजहाजबाट पटना पुगे पनि वर्षाको मौसमका कारण गान्धीको बेलाछीसम्मको यात्रा कष्टकर थियो । कतै ट्र्याक्टर, कतै पैदल त कतै हात्तीको सवारीबाट उनी घटनास्थल पुगेकी थिइन् । उक्त यात्राले गान्धीलाई राजनीतिको केन्द्रमा ल्याइदिएको गुहा लेख्छन् ।
गान्धी संसद् प्रवेशका लागि सुरक्षित सिटको खोजीमा थिइन् । कर्नाटकको चिकमगलुर सिटको उपचुनावबाट उनी संसद् पुगेकी थिइन् । ‘जनता पार्टी’ को उदय पूर्ण लोक समर्थन र उच्च आकांक्षाहरूका साथ भएको थियो । तर, छिट्टै वैचारिक एवं राजनीतिक मतभेद उत्पन्न हुन थाल्यो । त्यसले ‘जनता पार्टी’ को सरकार रक्षात्मक हुन पुगेको थियो । ‘जनता पार्टी’ मा बढेको गुटबन्दी र व्यक्तिगत शत्रुताले सरकारका प्रयासहरू निष्फल भइरहेका थिए । पार्टी विभाजनको संघारमा पुगेको थियो । देसाईले चरण सिंहलाई मन्त्रिमण्डलबाट हटाए । फेरि केही महिनापछि उपप्रधानमन्त्रीको पदसहित उनलाई भित्र्याइएको थियो । पार्टी देसाई र सिंह दुई हिस्सामा विभाजित हुँदै थियो । सिंहको असहयोगपछि प्रधानमन्त्री देसाईले जुलाई १९७९ मा राजीनामा दिन बाध्य भए ।
२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादीसहितको वाम गठबन्धनले ऐतिहासिक जित हात पारेको थियो । प्रतिनिधिसभाको २७५ मध्ये वाम गठबन्धनले १७४ सिट जितेको थियो । झन्डै दुई तिहाइ बहुमतनजिक । उक्त बहुमत पनि फापेन । बहुमत रहे पनि पार्टीको अन्तरकलहका कारण केपी ओली नेतृत्वको सरकार साढे तीन वर्षमै ढल्न पुग्यो ।‘जनता पार्टी’ द्वारा बनाइएका प्रधानमन्त्री देसाई दुई वर्ष मात्रै प्रधानमन्त्री रहे । त्यस अवधिमा केही प्रदेश सरकार विघटन गरेर जुनमा चुनाव गराइयो । उत्तर प्रदेश, बिहार, हरियाणा, उडिसा, मध्य प्रदेश, राजस्थान र हिमाचाल प्रदेशमा ‘जनता पार्टी’ को सरकार बन्यो ।
देसाईको झुकाव अमेरिकातिर रहेको मानिएको थियो । जवाहरलाल नेहरू र इन्दिरा गान्धीको सत्ताकालमा कम्युनिस्ट सोभियत संघ (रुस गणराज्य) सँग झुकावको नीति थियो । देसाईको कार्यकालमा भारतले पुँजीवादी अमेरिकातिर कदम बढाएको विश्लेषक किदवईले लेखेका छन् । त्यसबेला देसाईको अमेरिका र अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको भारत यात्रा सम्पन्न भएको थियो । सन् १९७९ मा देसाई सरकार ढलेपछि चरण सिंह प्रधानमन्त्री भए । उक्त सरकारले बाहिरबाट कांग्रेसको समर्थन पाएको थियो । तर, विश्वासको मत लिने एक दिनअघि कांग्रेसले समर्थन फिर्ता लिइदियो । संसद्को एउटा पनि सत्रमा भाग लिने मौका नपाउँदै उनको सरकार ढल्यो । सरकार बन्ने कुनै विकल्प नदेखिएपछि लोकसभा भंग गरिएको थियो । जनवरी १९८० मा लोकसभा चुनाव भयो । त्यतिबेला ‘जनता पार्टी’ विभिन्न दलमा विभाजित हुन पुग्यो । ‘जनता दल’ आखिर ‘भारतीय जनता पार्टी’, ‘समाजवादी पार्टी’ आदिमा विभाजित भयो । सातौं लोकसभा चुनावबाट भारी बहुमतका साथ कांग्रेस (आई) सत्तामा फर्किएको थियो । इन्दिरा गान्धीले उत्तर प्रदेशको रायबरेली साथसाथै आन्ध्र प्रदेशको मेडकबाट पनि चुनाव जितिन् । फेरि प्रधानमन्त्री बनिन् ।
‘जनता पार्टी ठूलो आशा र भरोसाको लहरमा सवार भएर सत्तामा आएको थियो । अधिनायकवादी शासनबाट मुक्ति, आजादीको दोस्रो लडाइँ लड्ने प्रतिबद्धता जनतामा व्यक्त गरेको थियो । तर, सत्तामा आएपछि जनताले गरेको आशा र भरोसाको धज्जी उडाउन थालियो । केन्द्र र राज्यमा जनता पार्टीका नेताले आलिसान र राम्रा सरकारी बंगला
आफ्ना लागि छान्न थाले । महँगो एयर कन्डिसनको बसोबास र होटलका पार्टीहरूका पछाडि नेताहरू भाग्न थाले,’ गुहा लेख्छन्, ‘नेताहरूको टेलिफोन र बिजुली बिल ठूलो आउन थाल्यो । साना–साना काममा विदेशको दौडाहा हुन थाल्यो । पार्टी दिग्भ्रमित र आपसमा लड्ने, झगड्ने, एकअर्कामाथि आरोप–प्रत्यारोपको डौरबाट गुज्रियो । जनता पार्टी
आफ्नो कार्यकाल पूरा गर्न नाकामयाब रह्यो । जनता पार्टीको नाकामयाबीको परिणाम इन्दिरा गान्धीलाई सत्ता फर्किन तीन साल मात्रै लाग्यो । १९८० को चुनावमा उनको पार्टीले ३५३ सिट जित्यो । २४ जनवरी १९८० मा गान्धी पुनः प्रधानमन्त्री बनिन् ।’
अब नेपालको चुनावमाथि विमर्श गरौं । नेपालमा बहुमत ल्याएर पनि कुनै प्रधानमन्त्रीले पाँच वर्षको पूरा कार्यकाल सरकार चलाउन पाएको इतिहास छैन । २०१५ मा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो । प्रतिनिधिसभाको १०९ सिटमा कांग्रेसले ७४ सिट जितेको थियो । बीपी कोइराला नेतृत्वको उक्त सरकारलाई राजा महेन्द्रले दुई वर्षमै बर्खास्त गरेर सत्ता–शासन आफ्नो हातमा लिएका थिए । ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यपछि २९ वैशाख २०४८ मा भएको आमनिर्वाचनमा जनताले कांग्रेसलाई प्रतिनिधिसभाका २०५ मध्ये ११० सिट दिएका थिए । तर पार्टी र सरकारबीचको अन्तरद्वन्द्वले सरकार साढे ३ वर्षमै ढलेको थियो । नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राजालाई धन्यवाद दिने प्रस्तावमा मतदानका बेलामा कांग्रेस सांसद नै सदनमा अनुपस्थित भएपछि प्रस्ताव अस्वीकृत हुन पुगेको थियो । परिणामतः प्रधानमन्त्री कोइरालाले पदबाट राजीनामा गरेर मध्यावधि सिफारिस गरेका थिए । मध्यावधिमा कसैको बहुमत नआएपछि संसदीय विकृति उत्कर्षमा पुग्यो ।
२०५६ मा कांग्रेसले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनाव जितेको थियो । चुनावलगत्तै भट्टराई प्रधानमन्त्री बनाइए । तर पार्टीभित्रको अन्तरकलहकै कारण भट्टराईले १० महिना नपुग्दै ३ चैत्त २०५६ मा पदबाट राजीनामा गर्नुपरेको थियो । भट्टराईको नेतृत्वमा सरकार गठन भएको सय दिन पनि नपुग्दै पार्टीभित्रैबाट सरकारको आलोचना गर्न थालिएको थियो । पार्टीको कमान्ड कोइरालाको हातमा थियो । भट्टराईको राजीनामापछि सरकार र पार्टी दुवैको नेतृत्व कोइरालाको हातमा आयो । माओवादी द्वन्द्वविरुद्ध सेना परिचालनमा दरबारसँग भएको खटपटका कारण उनले पनि असार २०५८ मा राजीनामा दिए ।
अब प्रधानमन्त्री बन्ने पालो आयो– शेरबहादुर देउवाको । उनी दोस्रो पटक प्रधानमन्त्री भएका थिए । पार्टीभित्रकै किचलोका कारण देउवाले संसद्को बाँकी अवधि सरकार चलाउन पाएनन् । संकटकाल थप्ने कि नथप्ने विषयले पार्टीमा विवाद निम्तिएपछि ८ जेठको राति देउवाले संसद् विघटनको सिफारिस गरेका थिए । यो कदम नै राजा ज्ञानेन्द्रले १८ असोज र १९ माघमा ‘कू’ गर्ने प्रस्थानविन्दु भएको थियो ।
सशस्त्र द्वन्द्वबाट खुला राजनीतिमा आएका माओवादीलाई २०६४ को पहिलो संविधानसभा चुनावमा जनताले अपार मत दिएको थियो । बहुमतको नजिक लोकप्रिय मत पाए पनि सेनापति हटाउनेजस्ता अपरिपक्व निर्णयका कारण ९ महिनामै सरकार ढल्यो ।
बहुमत ल्याएर पनि पूरै कार्यकाल सरकार चलाउन नसकेको नेपालकै पुरानो इतिहास अब नदोहोरियोस् । विगतमा बहुमतका सरकारहरू आफ्नै दलभित्रका शक्ति संघर्षको सिकार भएका छन् । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादीसहितको वाम गठबन्धनले ऐतिहासिक जित हात पारेको थियो । प्रतिनिधिसभाको २७५ मध्ये वाम गठबन्धनले १७४ सिट जितेको थियो । झन्डै दुई तिहाइ बहुमतनजिक । उक्त बहुमत पनि फापेन । बहुमत रहे पनि पार्टीको अन्तरकलहका कारण केपी ओली नेतृत्वको सरकार साढे तीन वर्षमै ढल्न पुग्यो ।
२०७९ को निर्वाचनपछि गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पन्छाउँदै संसद्भित्रको पहिलो र दोस्रो दल क्रमशः कांग्रेस र एमालेले १७ असार २०८१ मा आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेर शक्तिशाली सरकार गठनको मार्गचित्र तयार गरेका थिए । त्यसैअनुसार ३० असारबाट ओलीले प्रधानमन्त्री चलाइरहेका थिए । साउन २०८३ मा देउवाको पालो आउँदै थियो । २३ र २४ भदौमा भएको जेन–जी विद्रोहले त्यसलाई भत्काइदियो । र, असमयमै मुलुक निर्वाचनमा होमिन पुग्यो ।
जेन–जी आन्दोलनको बलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठूलो मत परिणाम आफ्नो पक्षमा ल्याएको छ । यो भनेको भारतमा १९७७ को चुनावमा ‘जनता पार्टी’ ले ल्याएको मतभन्दा पनि ठूलो हो । स्थापित पार्टी र शक्तिशाली मानिएका नेताहरूलाई हराएर दुई तिहाइ बहुमतका साथ रास्वपा अब संसद् प्रवेश गर्दै छ । भारतमा जवाहरलाल नेहरू, इन्दिरा गान्धी, राजीव गान्धी तथा नरेन्द्र मोदीले बहुमतको बलमा पटक–पटक पाँच वर्षको पूरा कार्यकाल सरकार चलाएका छन् । पीबी नरसिंह राव, अटलबिहारी बाजपेयी तथा मनमोहन सिंहले सहयोगी दलसँग गठबन्धनको बलमा पाँचवर्षे पूरा अवधि सरकार चलाएका छन् । अहिले मोदीले आफ्नो तेस्रो कार्यकाल सहयोगी दलकै समर्थनमा चलाइरहेका छन् ।
बहुमत ल्याएर पनि पूरै कार्यकाल सरकार चलाउन नसकेको नेपालकै पुरानो इतिहास अब नदोहोरियोस् । विगतमा बहुमतका सरकारहरू आफ्नै दलभित्रका शक्ति संघर्षको सिकार भएका छन् । दलभित्रका समस्या र महत्त्वाकांक्षालाई लोकतान्त्रिक प्रक्रियाबाट व्यवस्थापन गर्न नसक्दा दुर्घटनामा परेका छन् । रास्वपा स्वयं र उसका तर्फबाट प्रधानमन्त्री बन्दै गरेका बालेन्द्र शाहले पनि त्यस्तै चुनौती भोग्नुपर्ने हुन सक्छ । त्यसकारण उनीहरूले नेपाल र भारतका विगतका अनुभवबाट पाठ सिकेर अघि बढ्न सक्दा सुरक्षित गन्तव्यमा पुग्न सकिन्छ ।
निष्कर्षमा, भारतमा ‘जनता पार्टी’ को जस्तो पुनरावृत्ति नेपालमा नहोस् । रास्वपाले लोकतन्त्र संस्थागत गर्दै जनताको सपना, आशा अनि भरोसा पूरा गर्न खरो उत्रियोस् ।
