अवतरण त भयौं, तर रूपान्तरणको मुद्दा बाँकी

संक्रमण र अतिक्रमणको संघार नाघेर मुलुक अहिले सुरक्षित तबरले गन्तव्यको स्थिर बिन्दुमा टक्क उभिएको छ । नयाँ संसद् भवनमा रंगरोगन र सरसजावटका काम अहोरात्र जारी छ । मौलिक शैलीमा निर्माण गरिएको संसद्ले भुइँमान्छेका सवाल गुञ्जायमान गराउनेछ ।

फाल्गुन २६, २०८२

राजेन्द्रसिंह भण्डारी

We have landed, but the issue of transformation remains.

What you should know

भदौ २३ र २४ को आकस्मिक, तर उद्वेलित युवा भावनाको विस्फोटन–गर्भबाट घटेको बलिदानीपूर्ण घटनापश्चात् मुलुकलाई स्थापित विधि र व्यवस्थामाथि थप आँच नपुर्‍याउने गरी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो । यो सरकारले उडान भरेको जहाज अहिले गन्तव्यमा सुरक्षित तबरले अवतरण भइसकेको छ ।

जहाजमा सवार सबै यात्रुलाई थप जानकारी दिँदै विमान सुचालिका सुशीला कार्कीले घोषणा गर्दै भनिन्— अहिले हामी आफ्नै भूमि नेपालको राजधानी काठमाडौंमा अवतरण गरिसकेका छौं, विमान पूर्णरूपमा नरोकिएसम्म अर्थात् अर्को सरकार गठन नभएसम्म आफ्नो कम्मरको पेटी नफुकाउनुहोला, बाहिरको राजनीतिक तापक्रम उच्च बिन्दुमा रहेकाले आ–आफ्नो स्वास्थ्य र राष्ट्रको सार्वभौम सुरक्षामा समेत विशेष रूपले ध्यान दिनुहोला । तपाईंको दिन शुभ रहोस्, हामीलाई यात्रा अवधिभर अनुशासित र जिम्मेवार यात्रुका हैसियतमा पुर्‍याएको सहयोगका लागि मलगायत चालक दलका सबै सदस्यका तर्फबाट आभार व्यक्त गर्दछु, भविष्यमा पुनः यस किसिमको अन्तरिम सरकारको विमानमा यात्रा गर्ने अवसर प्रदान नगर्नुहोला धन्यवाद ।

चालक दलको एक कनिष्ट सदस्यका हैसियतले यो पंक्तिकार स्वयंले गरेको अन्तरिम सरकारको जहाजको यात्रा आफैंमा रोमाञ्चक, तर अत्यन्तै जोखिमपूर्ण थियो । आरम्भमा बाहिरी वातावरण निकै प्रतिकूल थियो । विमान अवतरणका लागि तय गर्ने मार्ग स्पष्ट थिएन । भिजिबिलिटी अर्थात् धवनमार्ग आशंकाको तुवाँलोले ढाकेको थियो । वैकल्पिक धवनमार्गमा अवतरण गर्ने अनुमति थिएन । यात्रु सबैले सुरक्षित अवतरणको अपेक्षासहित महँगो टिकट खरिद गरेर नयाँ गन्तव्य र भविष्यको खोजीमा अन्तरिम सरकारको जहाजमा प्रवेश गरिसकेका थिए ।

जहाजको सुरक्षित अवतरण नभएको अवस्थामा पुग्ने राजनीतिक लाभको हिसाबकिताब गरेर बसेका समूहको संख्या पनि उत्तिकै सक्रिय र मौकामा चौका दाउ हान्ने गरी कोही पहिलेकै बाह्यगमन अर्थात् ‘डिपार्चर’ र कोही ‘ट्रान्जिट बिन्दु’मा ढकुवा भएर बसेकै थिए ।

यी र यस्तै संक्रमण अनि अतिक्रमणको संघारबाट अहिले मुलुक सुरक्षित तबरले गन्तव्यको स्थिर बिन्दुमा टक्क उभिएको छ । आगमन, अध्यागमनका नियमित प्रक्रियापश्चात् यात्रुहरू पुनः रूपान्तरणको जहाजमा चढ्नेछन्, उक्त जहाजका चालक दल र विमानको चयन भइसकेको छ । नयाँ संसद् भवनमा रंगरोगन र सरसजावटका काम अहोरात्र जारी छन् । आफ्नै मौलिक शैलीमा निर्माण गरिएको संसद्ले मौलिक हित र भुइँमान्छेका सवाललाई गुञ्जायमान गराउनेछ ।

दलले आफ्नै घोषणापत्रमा उल्लेख गरेको १८ को संख्या ननाघ्ने गरी छरितो, योग्य र विज्ञ सम्मलित सरकारगठन गर्नेछ । र, उक्त सरकारले आम परोपकार र सरोकारका मुद्दामा ध्यान दिनेछ । अब ‘ब्यालेट’मा अभिव्यक्त आमूल परिवर्तन र रूपान्तरणको उभार–जनमतलाई केन्द्रबिन्दुमा राख्दै विगतमा जस्तै सत्ता र भत्ताकेन्द्रित लुछाचुँडीको फोहरी खेल हुनेछैन ।

अब बिचौलियाको बीचमा भन्दा आमनागरिकको न्यानो काखमा बस्ने प्रवृत्तिको संस्थागत विकास हुनेछ । आफ्नो श्रमलाई स्वाभिमानको लाजसरमसँग सम्झौता गरेर विदेशिन बाध्य कामदारहरू हूलका हूल स्वदेश फर्किनेछन् । मानव बेचबिखनका माध्यमले आर्जेको ढुकुटीबाट होइन, राष्ट्रिय स्वाभिमानको ढुकढुकी र छटपटीको भावनाबाट प्रेरित र संकलित रकम–कलमको व्यवस्थापन गरिने परिपाटीको संस्थागत विकास हुनेछ । अब श्रमलाई स्वाभिमान र उत्पादनसँग कहिल्यै नजोड्ने गरिएको निरन्तरतामा क्रमभंगता हुनेछ । र, विद्यमान वैदेशिक रोजगार विभाग अबको केही महिनामै आन्तरिक रोजगार विभागमा रूपान्तरित हुनेछ । सरकारी सेवालाई झन्झटिलो प्रक्रिया र फाइलमुखीभन्दा सेवा र सुविधामुखी बनाइनेछ ।

अब देशमा यी र यस्तै परिवर्तनको अभ्यास र आभास हुनेखानेले मात्रै होइन, गरिखानेले पनि आफ्नै जीवनशैलीमा आएको रूपान्तरणका माध्यमबाट महसुस गर्नेछन् । वास्तवमा, हाम्रो विगत उत्साहबर्धक रहेन, तसर्थ अब यथाबमोजिम यथोचित रहन सक्दैन भन्ने आवश्यकताको बोध सबैमा भइसकेको छ । विगतमा कुशासनको कुचक्रमा फसेको सरकारी यन्त्र, सिंगो राज्य प्रणाली, संयन्त्रको पुनःसंरचना, पुनर्गठन गरी जवाफदेही र प्रणालीमुखी राज्य संयन्त्र स्थापनालाई सुशासनको प्रस्थान बिन्दु बनाइनेछ । र, यात्रा अवधिभर चालक दलबीचको विचारप्रधान एकता, सामूहिक भावना र भाइचारिता कायम रहने अपेक्षासहित नयाँ उचाइसहितको यात्रा आरम्भ गर्ने तयारी भइरहेको छ ।

यस ऐतिहासिक क्षणमा यो पंक्तिकार स्वयं फट्के किनाराको साक्षीका हैसियतले सबैको सफल एवं सुरक्षित यात्राको शुभकामना व्यक्त गर्छ ।

राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हुन् ।

Link copied successfully