समाजवादी टोपी सबैमा फिट छ, तर लोकप्रियतावादी टोपी पनि सबैमा फिट नहुन सक्छ । सबै लोकप्रिय बन्न चाहन्छन्– बालेन, रवि र गगनजस्तै । किनकि डिजिटल फ्रेमको लोकप्रियतावादले जीवनस्तर स्क्रिनमैत्री बनाएको छ ।
पछिल्लो समय नेपाली राजनीतिक वृत्तमा एउटा शब्द भाइरल बन्यो । वर्तमान समयमा पनि यो शब्दको प्रयोग भइरहेकै छ । यो हो– ‘पपुलिजम’ अर्थात् ‘लोकप्रियतावाद’ । यो शब्द ल्याटिन भाषाको ‘पपुलस’ बाट आएको हो, जसको अर्थ ‘पिपल्स’ वा ‘मान्छे’ हो । यसको उत्पत्ति अठारौं शताब्दीको मध्य वा सन् १८५८ ताका भएको पाइन्छ । रुसको जार शासकलाई फाल्न सन अठार सयको मध्यतिर भएको नारोडनीकी आन्दोलनले लोकप्रियतावाद शब्दलाई राजनीतिक रूपरंग दियो । रुसमा नारोडको अर्थ मान्छे भन्ने बुझिन्छ । तर, विश्वास गरिन्छ– यस शब्दको राजनीतिक विस्तार अमेरिकामा सन् १८९० ताका स्थापना भएको अमेरिकी पिपल्स पार्टीले गरेको हो ।
मोनाश विश्वविद्यालय अस्ट्रेलियाका प्राध्यापक बेन्जामिन मफिटको पुस्तक ‘लोकप्रियतावादको विश्वव्यापी उदय’ को प्रकाशन सन् २०१६ मा स्टानफोर्ड विश्वविद्यालयले गर्यो । यो पुस्तक प्रकाशनको समय (सन् २०१५–१६) विश्व राजनीतिमा ध्रुवीकरणको रेखा निम्तिँदै थियो, जुन बेला बेलायतमा ब्रेक्जिट, अमेरिकामा डोनाल्ड ट्रम्पको उदय, युरोप तथा ल्याटिन अमेरिकामा दक्षिणपन्थी तथा वामपन्थी शक्तिहरूको परीक्षण तथा हुर्कने लर्को लाग्दै थियो । यस पुस्तककै माध्यमबाट लेखक मफिटले राजनीतिलाई ग्ल्यामर वा स्टाइलका रूपमा वर्णन गरेका छन्, जसको छेकछन्द नेपाली राजनीतिक सेलेब्रिटीहरूसँग लगभग मिल्छ । यसको मेलोमेसो राजनीतिक विषयवस्तुभन्दा लवाइ, खुवाइ, हिँडाइ, बोलाइ वा समग्रमा लोकप्रियावादी छवि आदिसँग मेल खान्छ ।
बेमौसमी प्रवृत्ति
मुलुकमा निर्वाचनले एक प्रकारको स्पष्ट म्यान्डेट दिइसकेको छ, अब घोषणापत्रीय वाचाका कार्यान्वयन मात्रै बाँकी छ । नेपाली मूलधारका दलहरूले लगभग सीमा बन्द गरिसकेको सबैसामु छरपस्ट छ । समाजवादी टोपी सबैमा फिट छ, तर लोकप्रियतावादी टोपी पनि सबैमा फिट नहुन सक्छ । सबै लोकप्रिय बन्न चाहन्छन्– बालेन, रवि र गगनजस्तै । किनकि डिजिटल फ्रेमको लोकप्रियतावादले जीवनस्तर स्क्रिनमैत्री बनाएको छ । एक हिसाबले यसलाई नेपाली ग्रासरुटमा अवधारणाका रूपमा परिभाषित गरेको पाइन्छ, जसले साभ्रान्त वर्गविरुद्ध बोल्ने तथा जनमानसको समस्याको द्रुत समाधान गर्ने भनेर न्यारेटिभ विकास गरेको छ ।
यसैकारण बेमौसमी प्रवृत्तिको समाधान खोज्नु आवश्यक छ । यसका लागि संस्थागत सबलता, नीतिगत राजनीतिक व्यवस्था, पार्टीमा आन्तरिक लोकतन्त्र तथा सामाजिक सञ्जालको विवेकशील उपयोगमा ध्यान दिनुपर्छ । बेमौसमी तथा चुनावमैत्री यस्ता लोकप्रियतावादले हाम्रा विकासे कार्यक्रम तथा रणनीतिमा खासै प्रभाव पारेको देखिन्न । तर, वर्तमानमा द्विविधा धेरै छन् ।
नेपालको हकमा यसलाई थप प्रभाव नेपालकै राजनीतिक दलहरूले पारेका छन् । तर, वर्तमानमा सस्ता र लोकप्रियतावादी नारा जनताले नपत्याइदिँदा नेतावर्ग यही प्रियतावाद दोस्रोले उपयोग गरिदियो भनेर कुर्लिरहेका छन् । सचेत र ‘डिजिटाइज्ड’ जनता अब यसको लेखाजोखा सहजै गर्न सक्ने भएका छन् । त्यसैले अबको समय वा भविष्यमा बालेनको हात हल्लाई र गगनको विद्रोहमा लोकप्रियतावाद सीमित नबन्न सक्छ ।
हरेक निर्वाचनमैत्री प्रियतावाद
संरचनागत हिसाबले प्रियतावादलाई राजनीतिक प्रणालीको फ्याक्टरका रूपमा हेरिएको छैन । न यो राजनीतिक प्रणालीको आवश्यक वस्तु नै हो । तर, यो राजनीतिको ‘स्टाइल’, रणनीति तथा गति कम वा बढी गराउने उत्प्रेरक भने पक्का हो । यसका विश्वव्यापी उदाहरण हुन्– सन् २०१६ मा बेलायतमा भएको ब्रेक्जिटको ‘नियन्त्रण फिर्ता गर’ भन्ने नारा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो प्रधानमन्त्रीका बेला लागेको चायवाला नारा, भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको सन् १९९० को कुलीनताविरुद्ध व्यक्तिको नारा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो राष्ट्रपतीय निर्वाचनको ‘अमेरिकालाई फेरि महान् बनाऔं’ भन्ने नारा । यसले जटिल र कुटिल मामिलालाई प्रियतावादी नाराकै सप्कोबाट स–साना तथा स्पष्ट बुझिने गरी जनमानसमा छर्न सफल भएको थियो । लोकप्रियतावादी जगमा ब्रेक्जिट सफल भयो, नरेन्द्र मोदी सफल राजनीतिक प्रभावसहित तीन पटक प्रधानमन्त्री बने, ह्युगो चाभेज चार पटक भेनेजुएलाको राष्ट्रपति बने, डोनाल्ड ट्रम्प फेरि अमेरिकी राष्ट्रपति बन्न सफल भए ।
यसर्थ विश्वव्यापी सफल प्रयासपछि पछिल्लो समय नेपालको निर्वाचन, अधिवेशन र दलीय प्रणालीमा पनि चलाखीपूर्ण हिसाबले यसलाई ‘कनेक्ट’ गरिसकिएको छ । यही चुनावको नतिजाले यस्तै प्रकारको झल्को दिएको लगभग देखिन्छ । नेपाली चुनावी माहोलमा लोप्रियतावाद हाबी बनेको उदाहरण त छैन । तर, वर्तमान चुनावमा यसको फेरो समातिएको चुनावी परिणामले स्पष्ट पारेको छ । किनकि व्यक्ति डिजिटल छ र थप बन्न चाहन्छ । जब बालेन फ्याक्टर प्रबल भयो, रवि फ्याक्टर फिका बनेको महसुुस भयो, लोकप्रियतावादी हिसाबमा ।
यसको दिगो प्रभाव तब देखिन्छ, जब रास्वपा स्वयंमा घोषणापत्रका आधारमा निर्णय निर्माणमा द्विविधा देखापर्न थाल्छ । गगन अर्का पात्र हुन्, जसलाई फिटिक्कै ‘डिस्मेन्टल’ गर्न सकेन, देउवामुखी निवर्तमान संस्थापनले । तर, वर्तमानमा जनतासामु फिका परे । तर, यसले पनि गगनको लोकप्रियतावादलाई थप टेवा पुर्याइदिन सक्छ । यसैकारण गगन कांग्रेसीजनका बढी र जनताका कम हुन पुगे । अर्का पात्र महेश बस्नेत लोकप्रियतावादमा रमाउने पात्र हुन्, जो सुरुमा र वर्तमानमा थप फिका बन्न पुगे ।
डिजिटल समयमा उपयुक्तता मात्रै खोज्नु एक किसिमले घट्नुसमेत हो । घटाइका दुई स्वरूप छन्, जसले ‘क्रमिक र एकैपटक’ को भाव बोक्छन् । प्रायः लोकप्रियतावादमा विश्वास गर्नेहरू ‘एकैपल्ट’ को अवस्थामा पुगेको माथिका उदाहरणले पुष्टि गर्छन् । यसैकारण मात्रात्मक हिसाबले प्रवृत्तिभन्दा जनताको प्रकृतिमा ध्यान दिनु जरुरी छ ।
गणितको हिसाबमा दुईकोणीय समीकरणको अभ्यास छ । तर, नेपाली राजनीतिको समीकरण दुईकोणीय, त्रिकोणीय हुँदै बहुकोणीय बन्ने अभ्यासमा बिग्रिएको छ । कोण र समीकरण अब सार्थक बन्न नसक्ला कि ? तर, लोकप्रियवाद र नवलोकप्रियतावादले अबको परिवर्तनको हावालाई नछोला भन्न सकिन्न ।
सम्झौताको ठेली र निष्कर्ष
व्यवस्थापन विज्ञानमा एक अनौठो तर भरपर्दो चक्रबारे अध्ययन गरिन्छ– उत्पादन जीवन चक्र । यसले उत्पादित वस्तु वा सेवाको सीमा उसले व्यथित गर्ने अवस्थामा भर पर्छ भनी विश्वास गर्छ । यसमा चक्र सुरुवाती अवस्था, बढेको अवस्था, वयस्क अवस्था हुँदै ओर्लने अवस्थामा पुग्छ । उत्पादनले वयस्क अवस्थामा जति विश्वास वा ख्याति प्राप्त गर्छ, सो उत्पादन उति नै दिगो हुन्छ भन्ने विश्वास गरिन्छ । र, यसै अवस्थाका आधारमा गिरावट समयको तयसमेत गरिन्छ । अब नेपाली लोकप्रियतावादलाई यसै उत्पादन चक्रसँग तुलना गर्दा विश्वासको खडेरी लागेका नेपाली विद्यमान दलहरूमा जनताको विश्वास ज्यादै कम भएको पाइन्छ । यसैका आधारमा नेपाली लोकप्रियवादी दलहरूको आयु तय गरिन्छ । यसर्थ लोकप्रियतावाद नेपाली परिप्रेक्ष्यमा माथि उल्लेख भएझैं उत्पादन चक्रजस्तो नहोस् ।
नेपाल र विश्व राजनीतिमै लोकप्रियतावादको उन्मूलन र अन्त्य सहज छैन तर निवारण पक्का छ । यसको मूलमन्त्र हो– संस्थागत सन्तुलनलाई सबलीकरण गर्नु । यसकै आधारमा प्रजातन्त्रमा खर्च भएको शक्तिको एकीकरण, निर्वाचन पूर्वको गठबन्धन, नीतिगत सुधार, वास्तविकतामा आधारित स्वच्छन्द राजनीतिक प्रणाली, दण्ड र सजायका लागि मेगा संयन्त्रको निर्माण हुन सक्छ । राजनीतिक शिक्षा, नेपाली राजनीतिक परिपाटीमा संस्थागत बन्न नसकेको आन्तरिक लोकतन्त्र, आर्थिक समानता, गुणस्तरियतामा आधारित मिडिया साक्षरता, समावेशी राजनीतिक प्रतिनिधित्वजस्ता मूलभूत तत्त्व विकास गर्न सके लोकप्रियतावादी राजनीतिक प्रणाली फिका बन्न सक्छ । न यसका लागि राजनीतिक सम्झौता नै गर्नुपर्छ न ठूलो मूल्य नै चुकाउनुपर्छ ।
