निर्वाचन : राजनीतिक अन्योललाई सम्हाल्ने र संस्थागत गर्ने जनादेश (प्रकाशकीय)

कार्कीसँग केवल देशलाई संकटबाट पार लगाउने भीमकाय चुनौती थियो । शपथकै दिन घोषणा भएको मितिमा निर्वाचन सम्पन्न गरेर उनले शान्तिपूर्ण संक्रमणको राजमार्ग तयार पारेकी छन् । यसले हक्की पूर्वप्रधानन्यायाधीशका रूपमा उनको पूर्ववत् छविसँगै कुशल प्रधानमन्त्रीको व्यक्तित्व पनि थपिएको छ ।

फाल्गुन २२, २०८२

प्रकाशकीय

Elections: A Mandate to Manage and Institutionalize Political Confusion (Publication)

काठमाडौँ — देश अभूतपूर्व अनिश्चयको भुमरीमा परेका बेला २७ भदौमा कार्यकारी प्रमुखको जिम्मेवारी स्विकार्ने सुशीला कार्कीको निर्णय आफैंमा चुनौतीपूर्ण थियो । उनले लिएको जिम्मेवारी कुनै नियमित शासनको निरन्तरता थिएन । उनलाई सत्ता हस्तान्तरण गर्ने पूर्ववर्ती नेतृत्व थिएन, काँध थाप्ने राजनीतिक संगठन थिएन, आम नागरिक पनि विश्वस्त थिएनन् किनकि स्वयं राज्य संयन्त्र नै भयभीत थियो । कार्कीसँग केवल देशलाई संकटबाट पार लगाउने भीमकाय चुनौती थियो । शपथकै दिन घोषणा भएको मितिमा निर्वाचन सम्पन्न गरेर उनले शान्तिपूर्ण संक्रमणको राजमार्ग तयार पारेकी छन् । यसले हक्की पूर्वप्रधानन्यायाधीशका रूपमा उनको पूर्ववत् छविसँगै कुशल प्रधानमन्त्रीको व्यक्तित्व पनि थपिएको छ ।

त्यो कहालीलाग्दो परिस्थितिमा पनि संविधानको अधिकतम सुरक्षा गर्दै राजनीतिक निकास दिने राष्ट्रपति रामचन्द्र पौडेलको सुझबुझ नै आजको सफलताको प्रस्थानविन्दु थियो । त्यही मार्गमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टिमको प्रतिबद्धताले बिहीबार निर्वाचन सम्पन्न मात्र भएको छैन, तुलनात्मक रूपमा शान्तिपूर्ण पनि भएको छ । यसका लागि निर्वाचन आयोगको भूमिकालाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ । निर्वाचन आयोगमा पूरै पदाधिकारी नभएको अवस्थामा पनि कामु प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वले दलहरूलाई विश्वासमा लिन, समयमा नीति निर्माण गर्न, जनशक्ति परिचालन गर्न जुन कुशलता देखाएको छ, त्यसैको परिणाम यो निर्वाचन धेरैले सोचेभन्दा पनि शान्तिपूर्ण भएको छ ।

कान्तिपुर मिडिया ग्रुप २०४६ को प्रजातान्त्रिक परिवर्तनपछिका हरेक राजनीतिक आरोह/अवरोहको साक्षी हो । हरेक आन्दोलन र विद्रोहबाट देशले उपलब्धि प्राप्त गरेको छ र कतिपय अवस्थामा हाम्रो समाज, अर्थतन्त्र र सञ्चार क्षेत्रले क्षति पनि भोगेको छ । उही राजनीतिक नेतृत्व र उस्तै राजनीतिक शैलीबाट निराश जेन–जी पुस्ताले २३ भदौमा गरेको आन्दोलनमा तत्कालीन सरकारले गरेको दमनले नेपाली समाजलाई आहत बनाएको छ । तर आन्दोलनको आवरणमा भएको घुसपैठ र अर्को दिन भएको विध्वंसले पनि नेपाललाई अपूरणीय क्षति पुर्‍याएको छ । अघिल्लो दिन भएको २२ निहत्था युवाको हत्या बर्बरताको पराकाष्ठा हो र अर्को दिन संसद् भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालत, सिंहदरबार, स्वास्थ्य मन्त्रालय, सञ्चार प्रतिष्ठान र निजी उद्योग तथा सम्पत्तिहरूमा भएको लुटपाट र आगजनी पनि दण्डनीय अपराध हो । देशमा भएका बेथितिलाई उजागर गर्दै आएको कान्तिपुर मिडिया ग्रुपका कार्यालयहरू तथा प्रकाशकका निजी निवासमा मच्चाइएको उत्पात कुनै आकस्मिक परिघटना थिएन । तर त्यसको लेखाजोखा गर्ने जिम्मेवारी राज्य संयन्त्रलाई सुम्पिएर कान्तिपुर मिडिया ग्रुप आफ्नो पेसागत जिम्मेवारीमा डटिरहेको छ । त्यसैले यो प्रतिकूल पृष्ठभूमिमा पनि निर्वाचन सम्पन्न भएकामा कान्तिपुर परिवार उत्साहित र भविष्यप्रति आशावादी छ । 

बिहीबार साँझ निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार ५८ प्रतिशत मतदान भएको छ । निर्वाचनमा भाग लिन पाएका र नपाएका सारा नेपालीको समग्र कामना शान्ति, सुशासन र समृद्धि नै हो । यो निर्वाचनले नयाँ संसद् र नयाँ सरकार मात्र बनाउँदै छैन, बरु भदौ अन्तिम साता विकसित भएका घटनाक्रमसँगै निर्माण भएको कानुनी, संवैधानिक तथा राजनीतिक अन्योललाई सम्हाल्ने र संस्थागत गर्ने जनादेश पनि प्राप्त भएको छ । त्यति मात्र होइन, राजनीतिक स्थिरता, सुशासन, पारदर्शिता, जवाफदेहिता, सार्वजनिक सेवा प्रवाहमा सुधार, लगानी वृद्धि र सुरक्षा, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा सुधार गर्नुपर्ने दायित्व पनि छ । हरेक आन्दोलन, विद्रोह र परिवर्तनपछिको निश्चित अवधिमै आमसमुदाय निराश हुने गरेको विगत छ । त्यसैले आगामी राजनीतिक नेतृत्वको शासन शैलीप्रति निरन्तर प्रश्न र आलोचना गर्दै एउटा जिम्मेवार सञ्चारगृहको भूमिका कान्तिपुरले पूरा गरिरहनेछ । सबैलाई शुभकामना ।

प्रकाशकीय

Link copied successfully