‘बलात्कारीलाई खै कारबाही ?’ भन्दा ‘बलात्कार अमेरिकामा पनि हुन्छ, त्यो पुँजीवादलाई मैले कसरी समाउने ?’ भन्छ । जो ठेला र साइकलमा काम गरिखाने कर्मशीललाई कुनै उपायबिना लछारपछार गर्छ र क्षमायाचनासमेत माग्दैन ।
What you should know
काठमाडौँ — कस्ता दल र उम्मेदवारलाई भोट दिने भनेर त धेरै लेखियो । तर, आज म मेरो भोट कसले पाउँदैन भनेर लेख्न चाहन्छु । हुन त कसैलाई भोट गर्ने/नगर्ने छनोट ‘व्यक्तिगत’ हो । तर, बृहत्तर अर्थमा ‘व्यक्तिगत’ भन्ने केही हुँदैन । त्यो ‘समाजगत’ र ‘राजनीतिक’ नै हुन्छ ।
यहाँ मैले भोट नदिने विषय धेरै व्याख्या नगरी बुँदागत रूपमा लेखेको छु । त्यसैले वाक्यहरुबीच सिलसिला छैन । तपाईं यी बुँदामा केही हटाउन वा थप्न वा बिलकुल नयाँ बनाउन स्वतन्त्र हुनुहुन्छ । तर, मतदाता–शिक्षा भन्ने पनि केही चीज हुन्छ, जो अचेल गायबझैँ लाग्छ । म कसलाई भोट दिन्नँ त ?
जसका अभिव्यक्ति म विनासम्पादन मेरा बच्चाहरूलाई सुनाउन सक्दिनँ । जसले बच्चाहरू मारिँदा ‘श्रध्दाञ्जलि’ शब्दबिना नै विज्ञप्ति निकाल्यो । पत्रपत्रिकामा छापिने श्रद्धाञ्जलिमा ‘श्रद्धा’ नै नभएको तपाईंले देख्नुभएको छ ? छैन । तर, मैले ‘श्रद्धा’ नै नभएको श्रद्धाञ्जलि देखेँ । जसले आफू घरमुली हुँदा घरभित्र भएकोे बीभत्स हिंसाको नैतिक जिम्मा नलिई घरबाहिर मात्र देखायो । तत्क्षण राजीनामा गरेर घरको थप क्षति रोक्ने सत्प्रयास गरेन । अझै एक वचन क्षमासमेत मागेको छैन ।
परिवार सिध्याउने घरमुली र घरमुलीको रिसले घरै जलाउने परिवारका उद्दण्ड सदस्यहरू । जसले जलाइदिन्छु, गाडिदिन्छु जस्ता अभिव्यक्ति दिइरहे । जसले दुई–दुई पटक विभागीय मन्त्री भएर निर्मला पन्तको बलात्कार र हत्यामा सिन्कोसमेत भाँचेनन् । जसले जिम्मा लिएको काम पूरा नगरी छोड्नुपर्दा न मतदातासित कहिल्यै मुख देखाए, न धन्यवाद भने, न सरी । जसले पछि आफूले बोलेको त्यही कुरा देखाउँछन् र जवाफदेहिता माग्छन् भन्ने डरले हुनुपर्छ, चुनावअघि कुनै पत्रकारसित एउटै वार्ता र उम्मेदवारबीच एउटै संवाद गरेनन् । भौतिक, भर्चुअल खुला प्रश्नोत्तर एउटै गरेनन् ।
जसले प्रश्नकर्ताहरूको मुख थुन्छ, सञ्चारहरू जलाउँछ, सम्पूर्ण पत्रकारिता क्षेत्रकै खिल्ली उडाउँछ । जुन दलमा आन्तरिक लोकतन्त्र छैन, महाधिवेशन हुँदैन, टिकेतन्त्र चल्छ । जो आफ्नो परिवारमा सुधार र पुस्तान्तरणको पक्षमा उभिँदैन । जो आफ्ना दुर्गन्धित भ्रष्ट नेताको बचाउमा सधैँ दश हात माथि उफ्रिन्छ । जो वाक्यैपिच्छे वाक्कै लाग्ने गरी खालि घृणा र अहंकारका शब्द मात्र ओकल्छ ।
जो हिंसामा विश्वास गर्छ । जो दण्डहीनतालाई प्रश्रय दिन्छ । जो लिंग, जात, धर्म, क्षेत्र, वर्ग, शरीर, शारीरिक अवस्था आदिका आधारमा नकारात्मक विभेद (हिंसा) गर्छ । जसले नवराज विश्वकर्माहरू आफ्नै कारणले मरेका हुन् भनेर संसद्मा बोल्छ । जो जन्मका आधारमा कुनै थर वा वंशको अलोकतान्ति्रक शासन चाहन्छ । जो धर्मलाई राजनीतिमा मिसाउँछ ।
जो देश बनाउनै आफू विदेशबाट फर्केको भनिरहन्छ । जो आफ्नो जन्म नै देश बनाउन भएको हो जसरी बुढ्यौलीसम्म पनि ठेकेदारका रूपमा प्रस्तुत भइरहन्छ । जो आलोचनात्मक चेतलाई ‘आचे’ भनेर उडाइरहन्छ । जो केही खेलाडी खत्तम भए भन्दैमा खेल नै खराब हो जसरी भाष्य बनाउँछ र फैलाउँछ ।
जो ‘यो देश पढेलेखेकाले बिगारेका हुन्’ भन्छ । जो ‘राजनीति त डिग्रीधारी, धनी वा कुनै पेसा–व्यवसाय भएकाले मात्र गर्ने हो’ भन्छ । जो ‘गरिबहरू राजनीतिमा आए भने सबैभन्दा बढी भ्रष्ट हुन्छन्’ भन्ने मान्यता बोकिबस्छ । जो ‘गौतम बुद्धसित कतिवटा सर्टिफिकेट थिए ? हात्ती पढेर ठूलो भएको हो र ? किताब हैन, समाज पढ्ने हो समाज,’ भन्छ । जो ‘बौध्दिकहरू कोट काट्ने मुसा हुन्, धेरै पढे पागल होइन्छ’ भन्छ ।
जो ‘धनीजति सबै शोषक र सामन्ती अनि व्यापारीजति सबै फटाहा हुन्’ भन्छ । जो आफ्नो पार्टीका व्यवसायीबाहेक सबैलाई आगो लगाइदिनुपर्छ जस्ता अभिव्यक्ति दिन्छ । जो राज्यकोषको पैसा लिएर विदेश जँचाउन गइरहन्छ तर देशमा शिक्षा–स्वास्थ्यको बजेट घटाउँछ अनि यी क्षेत्र सबै निजीलाई सुम्पौँ भन्छ । तर फेरि कागज कारखाना, जुत्ता कारखाना, चुरोट र रक्सी कारखाना राज्यले चलाउनुपर्छ जस्ता कुरा गर्छ ।
जो ‘मैले यति भत्ता दिएँ, यति बढाइदिएँ, अब यति थप्छु’ भन्छ । जो ‘राज्यकोषबाट पाउने सुविधा तपाईंले तिरेकै कर हो’ भन्दैन । जो ‘मैले जितेँ भने एक रुपैयाँ तलबभत्ता लिन्नँ’ भन्छ । जो ‘सुत्केरीको उद्धार मैले मेरो हेलिकप्टरबाट गरेँ’ भन्छ ।
जुन वाद आफूलाई संवादभन्दा माथि ठान्छ । जो व्यक्तित्व अरुको अस्तित्व मान्दैन । जो नेता विधायक हुन उठेको छ तर विधिका नाममा प्रविधि मात्र चिन्छ । जसले सरकारमा बसेर सम्पत्ति विवरणसमेत सार्वजनिक नगरी बाहिर निस्केर ठूल्ठूला कुरा गर्छ । जो लामो समय पत्रकार थियो तर अब ‘पत्रकारिताजति खराब केही छैन’ भन्दै प्रश्नहरूबाट सधैँ तर्किन्छ । जसले पटक–पटक प्रधानमन्त्री र मन्त्री हुने मौका पाएर पनि कुनै उल्लेख्य नीतिगत (दिगो) परिवर्तनको काम गरेन । जो हरेक तन्त्रमा दाउ फेर्दैै चार दशकदेखि च्याँखे खेलिरहेछ ।
जो प्रश्न, आलोचना, टिप्पणी, सुझावहरू सुनेपछि भन्छ, ‘के गर्ने, कसो गर्ने हामीलाई सब थाहा छ । सिकाउन खोज्नेले पहिला मैले जस्तै चुनाव जितेर आउनुपर्छ, चुनावमा उठ्न कल्ले छेक्या थियो ?’ जो ‘कुरा गरेर देश बन्छ ? काम पो गर्नुपर्छ’ भनिरहन्छ । जो ‘पत्रकारिता गरेर, साहित्य लेखेर, गीत गाएर, लेख लेखेर, अनुसन्धान गरेर, अन्तर्क्रिया गरेर देश बन्छ ? देश बनाउन त मजस्तै चुनाव लड्नुपर्छ’ भन्छ ।
जो ‘महिलाको शत्रु महिला हुन्’ जस्तो विश्वास बोकिबसेको छ । जो जातीय विभेदको कुरा गर्नेबित्तिकै ‘कामी, दमाई, सार्कीभित्र पनि त विभेद छ नि’ भन्छ । जो ‘सकारात्मक विभेद नीतिले मेरिट सिस्टम भताभुंग भयो’ भन्छ । जसले बन्द सूचीलाई धनीमानी, पहुँचवाला, सनसनीपूर्ण सेलिब्रेटी, अनैतिक र बन्द ओठहरूको सूची बनाएको छ । अनि फेरि उही ‘समानुपातिक निर्वाचन प्रणालीले हामीकहाँ काम गरेन’ भन्छ ।
जो ‘देश त पहिले स्वर्ग थियो, अहिले नर्क भयो’ भन्छ । जो ‘देश त पहिला नर्क थियो, मैले जिते मात्र स्वर्ग बन्छ’ भन्छ । ‘बलात्कारीलाई खै कारबाही ?’ भन्दा ‘बलात्कार अमेरिकामा पनि हुन्छ, त्यो पुँजीवादलाई मैले कसरी समाउने ?’ भन्छ । जो ठेला र साइकलमा काम गरिखाने कर्मशीललाई कुनै उपायबिना लछारपछार गर्छ र क्षमायाचनासमेत माग्दैन । जो सहकारीहरूमा राखिएको सानोतिनो बचत खर्च गर्छ तर ‘पुराना भ्रष्टभन्दा असल हुँ’ भन्छ । जो बहुमुखी परिचयपत्रको धनी हुन्छ, सुरुमा त अस्वीकार गर्छ अनि लास्टाँ ‘मलाई त थाहै थिएन’ भनिदिन्छ । जो आफ्ना सार्वभौम नागरिकलाई मासुभात खान र पैसा असुल्न मात्र बाँचेको देख्छ ।
कोही चरम भोकप्यासले छटपटिएको बेला एक घुट्की पानी दिनु वितरणमुखी र अल्छी बनाउने कर्म हो, जो भन्ठान्छ । र भन्छ, ‘मेरो पार्टीमा आऊ, केही वर्ष भोकप्यास सहेर कठोर संघर्ष गर । समाजवाद/साम्यवाद आउँछ अनि एक गिलास पानी के, चौरासी व्यञ्जन नै खुवाउँछु ।’ (त्यतिन्जेल प्यासीको प्राण गइसक्छ वा उसको जवानी–जीवन बर्बाद भइसक्छ तर नेता भने कुबेर भइसकेको हुन्छ ।)
जुन वाद आफूलाई संवादभन्दा माथि ठान्छ । जो व्यक्तित्व अरुको अस्तित्व मान्दैन । जो नेता विधायक हुन उठेको छ तर विधिका नाममा प्रविधि मात्र चिन्छ । जो चुनाव लड्नुअघि समाजका अहं विषयमा सदा मौन बस्छ । फ्यान–फलोअर्स घट्छन् भनेर चुप बस्छ अनि चुनाव आउँदा चुपचाप मत देऊ भन्छ । जसलाई विधायक छान्ने भोट पनि कुनै रियालिटी शो जिताउन भोट मागेजस्तो लागिरहेछ ।
जो चरम निरंकुशताविरुद्ध उठेका हात देखाएर तिनीहरूलाई ‘ढुंगा हान्ने’ भन्दै निरंकुशताको पक्षपोषण गर्छ । जो ‘म जेल पर्दा तिमी जन्मेकै थिएनौ, मसँग लड्न नआऊ’ भन्छ । जो भिडिओमा समेत नयाँ पुस्तालाई बोल्नै नदिई, उनीहरूमा बुद्धि र विवेक नै छैन जसरी ‘सक्छस् भने बाआमा, देश र नक्सा फेर्’ भनेर इमोसनल अत्याचार गर्छ । जो गाउँमा वृद्ध बाआको बुद्धि र विवेक नै छैन जसरी ‘बाआमालाई यस्सैमा भोट हाल्न अह्राऊ’ भन्दै अग्रजहरूलाई अपमानित गर्छ । जो चुनावमा मुद्दाका कुरै गर्दैन, खालि मञ्चमा कुन मुद्रामा प्रस्तुत हुने र कति मुद्रा खाने/खुवाउने कुरा गर्छ ।
जसले हर नागरिक, संस्थाहरूले आफ्आफ्नो काम–कुरा गरेपछि समाज बन्छ भन्ने विश्वास गर्दैन । जसले शक्तिपृथकीकरण र सन्तुलन मान्दैन । जसले ‘दुई चार जना नेता ठीक भए देशमा रातारात चमत्कार म एक्लैले ल्याइदिन्छु’ भन्छ । जसले हर समस्या भूराजनीतिमा मात्र देख्छ । जसले खालि षड्यन्त्र सिद्धान्तको मात्र कथा हाल्छ । जसले मैले हारे देश हार्छ भन्छ । जसले आफू र आफ्नाहरूबाहेक हरेक नागरिकलाई विदेशी दलाल र एजेन्ट देख्छ ।
जसमा गल्ती गर्दा क्षमायाचना गर्ने बानी छैन । जो शान्त भावमा, शिष्ट तरिकाले, सभ्य शैलीमा, शालीन ढंगले बोल्नै जान्दैन । जो आफूउपर उठेका तमाम प्रश्नबाट भाग्छ । जो तथ्यगत प्रश्नको जवाफ कुर्तकको सहारामा मात्र दिन्छ ।
र, जो ‘यसपालि त यसको लहर छ, भोट खेर नफाल् है’ भन्छ ।
