इरानलाई केन्द्र बनाएर सिर्जना भएको अहिलेको तनाव कहाँ–कहाँ र कसरी विस्तारित हुन्छ वा सेलाएर जान्छ, त्यो अहिल्यै यकिन गर्न कठिन छ । तर, तनाव विस्तारित हुन सक्ने सम्भावित देशमा रहेका नेपालीको सुरक्षाका लागि नेपाल सरकार पनि सचेत हुनुपर्छ ।
अमेरिका र इजरायलले इरानमाथि हमला गरेसँगै विश्वको अर्को कुनाबाट पुनः हताहती, विस्थापन र बिछोडका खबर सार्वजनिक भएका छन् । प्रतिवाद गर्ने क्रममा इरानले उत्तरी इजरायल तथा मध्यपूर्वका केही मुलुकमा रहेका अमेरिकी सैन्य अखडामा हमला गरेपछि क्षति भोग्ने भूगोल थप विस्तारित भएको छ ।
युद्ध, आक्रमण, विस्फोट, हिंसाजस्ता अप्रिय घटना सम्बन्धित देशहरूको मात्रै सरोकारको विषय हुँदैन । किनकि टाढा–टाढाका देश र नागरिक पनि प्रभावित र प्रताडित हुन्छन् । यतिबेला नेपाली समाज त्यस्तै सम्भावनाबाट व्यतीत भइरहेको छ । पछिल्लो तनावमा एक जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । इरानी आक्रमणमा युएईमा एक नेपालीसहित तीन जनाको मृत्यु भएको हो । नेपालीको प्रमुख श्रम गन्तव्य रहेका खाडीका देशहरू तथा हमला हुन सक्ने सम्भावित अन्य देशहरूमा रहेका नेपाली नागरिकले थप सचेतता र होसियारी अपनाउनु अपरिहार्य बनेको छ ।
अमेरिका र इजरायलले गरेको हवाई आक्रमणबाट इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको छ । शनिबार नै आफूमाथि हमला भएपछि इरानले खाडीस्थित कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका अमेरिकाका सैन्य बेसक्याम्पमा प्रत्याक्रमण गरेको छ । ओमानको दुक्म बन्दरगाहमा दुई वटा ड्रोन आक्रमण भएको छ । आफ्ना सर्वोच्च नेताकै मृत्यु भएपछि इरानका थप कदम के हुनेछन् भन्ने प्रस्ट छैन ।
तर उसले अमेरिकी सेनालाई लक्षित गरेर जुन देशमा हमला गर्यो, ती देशहरू नेपाली नागरिकको रोजाइमै पर्ने श्रम गन्तव्यहरू हुन् । नेपालीहरू यूएईमा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार छन् । त्यस्तै, ओमानमा २५ हजार, इराकमा २५ हजार, इजरायलमा ५ हजार र लेबनानमा १ हजार नेपाली छन् । समग्रमा खाडीमा १९ लाख नेपाली श्रमिक रहेको तथ्यांक छ । त्यसैले उनीहरूको सुरक्षा हाम्रो प्राथमिक विषय हो ।
जहाँसुकै रहेका व्यक्तिले पनि आफ्नो सुरक्षाका लागि सबैभन्दा बढी स्वयं नै सचेत हुनुपर्छ । प्रथमतः आधिकारिक सूचनाका स्रोतहरूमाथि पहुँच राख्नुपर्छ र त्यसलाई पछ्याउनुपर्छ । सम्बन्धित देशले बनाएको सुरक्षा प्रोटोकललाई अक्षरशः अनुसरण गर्नुपर्छ । यस्ता प्रोटोकललाई आफूअनुकूल व्याख्या गर्नेभन्दा पनि सरकारका निकायहरूले गरेको व्याख्याअनुसारको व्यवहार गर्नुपर्छ ।
परिस्थितिलाई धेरै आफ्नो कोणबाट मात्रै व्याख्या गरेर व्यक्तिगत सुरक्षाका विषयमा हेलचेक््रयाइँ गर्नु हुँदैन । अनावश्यक यात्रामा निस्किनु हुँदैन । खाडी क्षेत्रमा नेपालीहरू जाने मुख्यतः श्रमका लागि हो । त्यसैले श्रमिकहरूले रोजगारदातासँग सम्बन्ध राखिराख्नुपर्छ । श्रमिकको निकटको अभिभावक उनीहरू नै हुने भएकाले उनीहरूका निर्देशन र सुरक्षा व्यवस्थापनलाई अनुसरण गर्नुपर्छ । साथै, सम्बन्धित देशमा रहेका नेपाली दूतावासले जारी गर्ने सूचनालाई पनि पछ्याउनुपर्छ । दूतावाससँग सम्पर्कमा बस्नुपर्छ । आफूलाई कुनै अप्ठ्यारो परेको वा सहयोग चाहिएको भए तत्काल जानकारी दिनुपर्छ । ती देशमा रहेका गैरआवासीय नेपालीहरूको संघसंस्थाबाट पनि सहयोग लिन सकिन्छ ।
इरानलाई केन्द्र बनाएर सिर्जना भएको अहिलेको तनाव कहाँ–कहाँ र कसरी विस्तारित हुन्छ वा सेलाएर जान्छ, त्यो अहिल्यै यकिन गर्न कठिन छ । तर, तनाव विस्तारित हुन सक्ने सम्भावित देशमा रहेका नेपालीको सुरक्षाका लागि नेपाल सरकार पनि सचेत हुनुपर्छ । किनकि, कठिन अवस्थामा जवाफदेही हुनुपर्ने सर्वोच्च अंग सरकार नै हो । त्यसका लागि तीन वटा पक्षबाट काम गर्नुपर्छ । पहिलो, सम्बन्धित देशलाई नेपाली नागरिकको सुरक्षालाई पनि प्राथमिकतामा राख्न कूटनीतिक पहल गरिराख्नुपर्छ । कुनै पनि देशले विदेशी नागरिकको सुरक्षाको विषयलाई संवेदनशील रूपमै लिने प्रचलन छ । यद्यपि, हामीले आफ्नो चासो र चिन्ता व्यक्त गरिराख्नुपर्छ । सम्बन्धित देशसँग संवाद र समन्वय गरिराख्नुपर्छ । कूटनीतिक पहल गरिराख्नुपर्छ । कूटनीतिक संयन्त्र र संवादमा रिक्तता छन् भने पूर्ति गर्नुपर्छ ।
दोस्रो, सरकारले तनाव विस्तारित स्वरूपबारे प्रक्षेपण गर्न सक्नुपर्छ । खासगरी उद्धार गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले आवश्यक संयन्त्र बनाइराख्नुपर्छ । त्यसका लागि सम्भावित बजेट र परिचालन गर्न सकिने टिम व्यवस्थापन गरिराख्नुपर्छ । यसअघि कोरोना महामारीका बेलामा चीनबाट, तालिवानले कब्जा गरेपछि अफगानिस्तानबाट तथा हमासको आक्रमणपछि इजरायलबाट नेपाली नागरिकको उद्धार गरिएको उदाहरण छन् । यद्यपि, ढिला उद्धार गरिएकामा त्यतिबेला सरकारको आलोचना भएको थियो । आफ्ना नागरिक अप्ठ्यारोमा परेका बेला उद्धार गर्ने विश्वभरकै प्रचलन हो । तत्काल उद्धार गर्न सकिए नागरिकको सुरक्षा गर्न सकिन्छ, विश्वास जित्न सकिन्छ । त्यसैले सरकारले आफ्ना विकल्पहरूका बारेमा मन्थन गरिराख्नुपर्छ ।
तेस्रो, भारत र बंगलादेश जस्ता देशले आफ्ना नागरिकका सुरक्षाबारे राख्ने सरोकार र गर्ने पहल हाम्रा लागि पनि सान्दर्भिक हुने गर्छ । विगतमा भारतसँगको समन्वयबाट नेपाली नागरिकको उद्धार भएका सन्दर्भ छन् । अहिले पनि आवश्यकता पर्दा सहयोग लिनुपर्ने हुन सक्छ । त्यसैले ती देशले गरिरहेको पहलकदमीको अध्ययन गर्नुपर्छ । आवश्यक समन्वय गर्नुपर्छ ।
मध्यपूर्वमा सिर्जना भएको तनावका कारण त्यो र वरपरका क्षेत्रमा त्रास बढ्नु स्वाभाविक छ । त्यहीँ रहेका नागरिक मात्रै होइन, उडानहरू अवरुद्ध हुँदा विश्वभरका हवाई यात्रा बिथोलिएको छ । नेपालबाट खाडी क्षेत्रमा जाने उडान रद्द हुँदा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा यात्रुहरूको चाप बढेको छ । साथै, अन्योल थपिएको छ । एक जना नेपालीको मृत्यु भइसकेकाले हामी थप संवेदनशील बन्नु जरुरी छ । अकस्मात् आइपर्ने जटिल स्थितिका लागि कोही पनि मानिस पूर्वतयारी अवस्थामा हुँदैनन् । त्यसैले क्षति बढ्न सक्छ । थप जटिलता भोग्नुपर्ने हुन सक्छ । तर आत्तिएर कुनै सकारात्मक परिणाम हासिल हुँदैन । सम्बन्धित देशको सहयोग लिएर विवेकसम्मत निर्णय लिनुपर्छ । देशको साधन स्रोत र नेपाली मनस्थितिलाई वस्तुगत भएर सोचेर उच्चतम सकारात्मक नतिजाका लागि प्रयत्नशील हुनुपर्छ ।
