अझ इरानको सिमानाबाट सुरु भएको यो युद्ध कम्तीमा पनि पश्चिम एसियाभरि फैलिने निश्चित छ । यसले अथाह भौतिक क्षति मात्र होइन, युद्धमा प्रत्यक्ष सरोकार नभएका निर्दोष नागरिकको जीवनको क्षति पनि निम्त्याएको छ । युद्धको यस्तो त्रासदी सभ्य दुनियाँका लागि अस्वीकार्य छ ।
What you should know
युक्रेनमाथि रुसले गरेको हमला र हरेक दिन आउने मानवीय क्षतिका समाचारबाट आहत र थकित मानवजातिलाई थप संवेदनशील बनाउँदै अमेरिकाले इरानमा हमला सुरु गरेको छ । सार्वभौम युक्रेनमाथि गरेको हमला २४ घण्टामै अन्त गरिदिने घोषणासहित पछिल्लो पटक निर्वाचन जितेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको एक वर्षमा सात वटा देशमाथि हमला गरेका छन् । अमेरिका आफैं अर्को युद्धमा सामेल भएपछि उसले गर्ने भनिएको मध्यस्थताको भूमिकाको वैधानिकता स्वतः निलम्बित भएको छ भने युक्रेनमाथि रुसी हमलाको भूराजनीतिक प्रश्न ओझेल रहेको छ । अझ इरानको सिमानाबाट सुरु भएको यो युद्ध कम्तीमा पनि पश्चिम एसियाभरि फैलिने निश्चित छ । यसले अथाह भौतिक क्षति मात्र होइन, युद्धमा प्रत्यक्ष सरोकार नभएका निर्दोष नागरिकको जीवनको क्षति पनि निम्त्याएको छ । युद्धको यस्तो त्रासदी सभ्य दुनियाँका लागि अस्वीकार्य छ ।
दोस्रो पटक राष्ट्रपति भएपछि ट्रम्प नोबेल शान्ति पुरस्कारका सबैभन्दा मुखर दाबेदार थिए । त्यसका लागि पाकिस्तानदेखि इजरायलका प्रधानमन्त्रीसम्मले नाम प्रस्ताव गरेपछि ट्रम्प उनीहरूप्रति कृतज्ञ पनि देखिएका थिए । यद्यपि नोबेल शान्ति पुरस्कार भने भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचादोले पाइन् । त्यसयता उनले नोबेल शान्ति पुरस्कारको खिल्ली उडाउँदै आएका छन् । त्यतिमात्र होइन, नोबेल शान्ति पुरस्कार घोषणा हुनुअघि र पछि उनले सात वटा देशमा हमला गरिसकेका छन् । राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले फेब्रुअरी २०२५ मा सिरिया र सोमालिया, मार्चमा इराक र यमन, जुनमा इरान, डिसेम्बरमा नाइजेरिया र यो वर्षको जनवरीमा भेनेजुएलामाथि सैन्य हमला गरेका छन् । ६ महिनाअघि इरानमा हमला गर्दा इरानका परमाणु प्लान्ट पूर्णरूपमा ध्वस्त पारेको दाबी उनले गरेका थिए । तर इरानजस्तो उग्र, धार्मिक र तानाशाही राज्यले परमाणु हतियार राख्नै नहुने भन्दै उनले शनिबारदेखि भीषण हमला सुरु गरेका छन् ।
निःसन्देह इरानी शासनप्रति विश्वको सभ्य, लोकतान्त्रिक समाजको समर्थन र समवेदना हुन सक्दैन । धर्मसत्ताका नाममा नागरिकमाथि दमन, महिलामाथि अत्याचार, आन्दोलनकारी युवा विद्यार्थीको हत्या र मानवअधिकारवादी अभियन्तालाई फासीमा चढाएर इरानी शासनले आफूलाई आधुनिक इतिहासको क्रूरतम सत्ताका रूपमा चिह्नित गराएको छ । त्यसका विरुद्ध त्यहाँका युवा विद्यार्थी, महिला र लोकतान्त्रिक अभियन्ता निरन्तर आन्दोलित छन् र उनीहरूप्रति संसारभरबाट ऐक्यबद्धता पनि प्रकट भएको छ । तर कुनै पनि देशको शासनसत्ता परिवर्तनको सम्पूर्ण अधिकार सोही देशका नागरिकमा निहित हुन्छ, कुनै पनि बहानामा बाह्य हस्तक्षेप सैद्धान्तिक, राजनीतिक, कानुनी र मानवीय दृष्टिकोणबाट अस्वीकार्य हुन्छ ।
बाह्य हमलाले शक्तिराष्ट्रको तुष्टि सिद्ध भए पनि सम्बन्धित देशको लोकतन्त्रको लडाइँलाई झन् जटिल बनाउँछ भन्ने उदाहरण विश्वभर छ । पछिल्लो उदाहरण अफगानिस्तान नै पर्याप्त छ, सन् २००१ मा अफगानिस्तान पसेको अमेरिकाले तालिबानलाई काबुलबाट विस्थापित गरेको थियो, तर तनावपूर्ण दुई दशकमा कम्तीमा दुई लाख जीवनको बर्बादीपछि काबुलको चाबी तालिबानलाई नै बुझाएर अमेरिका फर्कियो । इतिहासमा भियतनामदेखि इराकसम्म भएका युद्धबाट पनि अमेरिकाले कुनै गर्वलायक उदाहरण प्रस्तुत गर्न सकेको छैन ।
अमेरिका मात्र होइन, रुसले एक सातामै समेट्ने भनिएको युक्रेन युद्धले चार वर्ष पूरा गरेको छ, तर युक्रेनले हार मानेको छैन । बरु, रुसले समेत करिब दुई लाख फौजी जनशक्ति गुमाएको रिपोर्ट आएका छन् । त्यसैले कुनै पनि कमजोर भनिएको राष्ट्रले तुरुन्तै हतियार बिसाउने, शान्ति कायम हुने र देश समन्वय र समृद्धिको यात्रामा अघि बढ्ने सम्भावना सहज छैन । बरु युद्ध लम्बिने, व्यापक धनजनको क्षति हुने, उग्रवादी समूहहरू जन्मने र त्यसले मानवीय मूल्यलाई झन् कमजोर बनाउने गरेका उदाहरण धेरै छन् ।
हुन त अमेरिकी राष्ट्रपति ट्रम्प र उनका सहयोगी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका लोकतन्त्रवादी जनताको पक्षमा समेत यो हमला गरेको दाबी गरेका छन् । तर पहिलो दिनको हमलामा इरानी सैन्य अड्डाहरू मात्र होइन, सार्वजनिक भवनहरू तथा विद्यालयसमेत परेको समाचार आएका छन् । इरानी सरकारले दिएको औपचारिक जानकारीअनुसार मिनाव सहरको एक छात्रालयमा हमला हुँदा कम्तीमा ८२ जना बालिका मारिएको इरानी सरकारको दाबी छ । त्यस्तै तेहरानको सडकमा हिँडिरहेका पैदलयात्रीहरू पनि मारिएको दाबी त्यहाँको सरकारको छ । जहिले–जहिले र जहाँ जहाँ युद्ध हुन्छ, त्यसको पहिलो निसानामा यस्तै निर्दोष, निहत्था सर्वसाधारण पर्छन् । त्यसैले ज्यान जोगाउनका लागि तेहरानका दसौं लाख बासिन्दा आफ्नो थातथलो छोडेर हिँड्न बाध्य छन्, कुनै दिन फर्कंदा उनीहरूको घरबास कस्तो हुने, अनुमान कहालिलाग्दो छ । त्यसैले इरानी जनताको अधिकारको पक्षमा गरिएको भनिएको यो हमलाबाट सबैभन्दा बढी प्रताडित हुने सर्वसाधारण इरानी जनता नै हुन् । यसमा शंका छैन ।
युद्ध सुरु गर्न सजिलो छ, अन्त गर्न जटिल छ । युद्ध कसरी फैलिन्छ र कसरी तन्किन्छ भन्ने निश्चित गर्न कुनै पनि शक्तिशाली राष्ट्रका लागि समेत योग्यताको विषय होइन । शनिबार इरान युद्ध सुरु भएकै दिन यूएई, कतार र बहराइनसम्म पुगेको छ । बहराइन, कतार, साउदी अरब, कुवेत, यूएई र ओमानमा अमेरिकी सेनाका अड्डा छन् । आफूमाथि भएको हमलाको जवाफ भन्दै इरानले मध्यपूर्वका अमेरिकी अड्डाहरूलाई निसाना बनाएको छ । यसले युद्धमा प्रत्यक्ष सरोकार नभएका मध्यपूर्वका देशहरूबीच पनि तनाव बढेको छ, जो उनीहरूको पनि रुचि र रोजाइको विषय होइन । यसरी आफूले सुरु नगरेको युद्धमा होमिनुपर्ने अवस्थाले क्षेत्रीय र मानवीय मूल्यको सेवा गर्दैन, त्यसैले पनि यस्तो युद्ध अविलम्ब अन्त हुनुपर्छ ।
राष्ट्रपति ट्रम्पले इरानको उन्मादबाट अमेरिका मात्र होइन, आफ्ना युरोपियन मित्र देशहरूलाई पनि जोखिम रहेको भन्दै आफ्नो कदमको प्रतिरक्षा गरेका छन् । तर युरोपियन मित्रहरूको सरोकार र दृष्टिकोण के हो भनेर जान्ने, बुझ्ने र परामर्श लिने प्रयाससमेत उनले गरेका छैनन् । युरोपका लागि के ठीक हो र होइन भन्ने छुट्याउने जिम्मा पनि उनले आफैंलाई दिएका छन् । अझ, पछिल्लो घटनाक्रमले सबैभन्दा ठूलो क्षति संयुक्त राष्ट्रसंघको उपस्थिति र औचित्यमाथि गरेको छ । युद्ध रोक्न वार्ता र मध्यस्थता गर्ने, सुरक्षा परिषद्को बैठक बस्ने र सार्थक हस्तक्षेप गर्ने राष्ट्रसंघको जिम्मेवारी र अधिकार गायब हुँदै गएको छ । राष्ट्रसंघको यो निरीहता अमेरिका र रुसजस्ता शक्तिराष्ट्रको सफलता होला, तर शक्तिको खेलकुदबाट बाहिर रहेका राष्ट्रका लागि यो पक्कै पनि दुःखद् पक्ष हो । त्यसैले कुनै पनि युद्धको विपक्षमा भएका समुदाय र देशले एकीकृत भएर राष्ट्रसंघको भूमिकालाई पुनःस्थापित गराउनुपर्छ ।
कुनै पनि देशमा लोकतन्त्र अपरिहार्य छ, तर त्यसको स्थापना र पुनःस्थापना त्यही देशका जनताले गर्न सक्दैनन् भनेर अवमूल्यन गर्न मिल्दैन । लोकतन्त्रको अस्त्र आन्दोलन हो, युद्ध होइन । कुनै पनि युद्ध मानवीय मूल्यको पराजय हो । लोकतन्त्रका नाममा नागरिकमाथि युद्ध थोपर्ने हो भने त्यो संसारभर नियमित युद्धको उद्यम बन्नेछ । त्यसैले, युद्धबाट देशहरूलाई बाहिर निकाल्न, लोकतन्त्र र मानवीय मूल्य जोगाउन शान्तिपूर्ण सहकार्य अघि बढाउनुपर्छ । यसका लागि संसारभरका सबै सरोकारवाला समुदाय र देशहरूको सौम्य र सार्थक पहल जरुरी छ ।
