जित–हारभन्दा पनि ठूलो प्रश्न

हामी सिनेमा हेरिरहँदा सिनेमाकै पात्रहरूसँगै उनीहरूको यात्रामा हिँड्छौं । दृश्यअनुसार कहिलेकाहीं रोमाञ्चित हुन्छौं त कहिलेकाहीं दुःखी अनि कहिलेकाहीं आक्रोशित पनि । सिनेमाले हामीभित्र नयाँ सचेतनाको निर्माण त पक्कै गर्छ तर यथार्थ दृश्य परिवर्तन जस्तो सजिलो भने कदापि हुँदैन ।

फाल्गुन १७, २०८२

विजय बराल

A bigger question than victory or defeat

काठमाडौँ — हामी एउटै माटोमा जन्मिएका हौं ।

एउटै आकाशमुनि हुर्किएका हौं ।

एउटै देशको सपना बोकेर फरक–फरक बाटो हिँडेका हौं ।

तर आज प्रश्न उठ्छ— के हामीले खोजेको जस्तै समाज निर्माण हुँदै छ त ?

यतिखेर मुलुक चुनावको संघारमा छ । चुनावमा जित–हार स्वाभाविक हो । सत्ता त आउँछ–जान्छ । पद बदलिन्छन् । अनुहारहरू फेरिन्छन् । तर चुनाव सकिएपछि पनि एउटा प्रश्न बाँकी रहन्छ– हामीले वास्तवमै के जित्यौं र के हार्‍यौं ? भोलि, कतै हामी आफैंसँग हारेर चुनाव जितेको उन्मादमा रमाइरहेका त हुँदैनौं ? वा चुनावी नतिजासँगै हामीले आफ्नोपन पनि हारिसकेका त हुँदैनौं ? त्योभन्दा पनि ठूलो प्रश्न– हामी कस्तो सामाजिक चेतना निर्माण गर्दै छौं ? चुनावको पूर्वसन्ध्यामा हामीले अँगालिरहेको संस्कारले यो देशको कस्तो स्वरूप निर्माण गर्दै छ ?

यतिखेर देशैभर एउटा आवाज गुन्जिरहेको छ– परिवर्तन चाहियो । यो कस्तो परिवर्तनको परिबन्दमा छौं हामी, जहाँ परिवर्तनको परिकल्पना त गरिन्छ, तर सामाजिक चेतना भने झनै खस्किँदो अवस्थामा देखिन्छ । के हामीले केवल सत्ता परिवर्तन मात्रै खोजिरहेका हौं त ? वा हामी यतिखेर परिवर्तनको प्रारूप र त्यसको स्वरूपबारे पनि छलफल गरिरहेका छौं ? कस्तो थिति, कस्तो व्यवस्था, अनि कस्तो विधिको सपना भन्नेबारे हामी सौहार्दपूर्वक कति संवाद गरिरहेका छौं ? परिवर्तन सत्तामा मात्र आए पुग्छ कि हाम्रो सामाजिक चेतना र संस्कारमा पनि आउन जरुरी छ ? सत्ता केही मानिसहरूको हातमा हुन सक्छ, तर हाम्रो सामाजिक चेतना र संस्कार त हामीमै निहित हुने कुरा हो । देश चलाउने अनुहारहरू त बदलिइरहन्छन् तर देश बनाउने कर्मठ हात त हाम्रो नै हुन्छ । यस पटक भोट हाल्ने हात पनि त हाम्रो नै हो ।

आजको राजनीति हेर्दा कहिलेकाहीं सिनेमा जस्तै मात्र लाग्छ । आकर्षक संवाद, भावनात्मक भाषण, नायक र खलनायकको कथा, अनि हरेक ‘कट’मा बदलिरहने फरकफरक दृश्यहरू । सिनेमालाई लिएर एउटा भनाइ विश्वभर प्रचलित छ– सिनेमा इज अ मस्ट ब्युटिफुल इलुजन इन द वर्ल्ड । हो, सिनेमा सुन्दर भ्रम हो । भलै सिनेमाले सामाजिक परिदृश्यहरूमा नयाँ प्रश्न, नयाँ विचार, नयाँ समाजको परिकल्पनाको कुरा त गर्छ तर सिनेमाको उठान र बैठान जस्तै राजनीतिको उठान र बैठान एउटै हुँदैन ।

हामी सिनेमा हेरिरहँदा सिनेमाकै पात्रहरूसँगै उनीहरूको यात्रामा हिँड्छौं । दृश्यअनुसार कहिलेकाहीं रोमाञ्चित हुन्छौं त कहिलेकाहीं दुःखी अनि कहिलेकाहीं आक्रोशित पनि । सिनेमाले हामीभित्र नयाँ सचेतनाको निर्माण त पक्कै गर्छ तर यथार्थ दृश्य परिवर्तन जस्तो सजिलो भने कदापि हुँदैन ।

सिनेमा हामी नहेर्न सक्छौं, तर राजनीतिले हाम्रो जीवनलाई हामीले नै थाहा नपाउने गरी घेरिरहेकै हुन्छ । राजनीति त हाम्रो दैनिक जीवनसँग गाँसिएको यथार्थ हो । यहाँ वाक्पटुले ताली त पाउँछ, तर नीति बनाउँदैन । भावनाले भीड जम्मा त गर्छ, तर समाधान दिँदैन ।

जब हामी राजनीतिलाई सिनेमा मात्रै बनाउँछौं, तब हामी दर्शक मात्रै बन्छौं । केवल दर्शक । हामी ताली बजाउँछौं, कराउँछौं, रिसाउँछौं– तर जिम्मेवारी लिँदैनौं । हामीले सत्ताको चाबी थमाएर पठाएकाहरूलाई पनि जिम्मेवार बनाउनु हाम्रो नै कर्तव्य हो । र, सत्तालाई जिम्मेवार बनाउने काम जिम्मेवार नागरिकहरूले गर्छन् । जसरी दर्शकलाई सचेत बनाउने, सत्तालाई प्रश्न गर्ने काम जिम्मेवार सिनेमाकर्मीहरूले गर्छन् ।

यतिखेर राजनीति विचारको प्रतिस्पर्धाभन्दा गालीको प्रतिस्पर्धा जस्तो देखिन थालेको छ । इमान्दारिताको दौड हराइसकेको छ । नैतिकता कतै रनभुल्लमा छ । विश्वास पहिल्यै गुमाइसकेको अनि विलखबन्दमा परेर आफैं अल्झिरहे जस्तो । यतिखेर घृणाको हाटबजार लागेको छ । सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म, आलोचनाको ठाउँ गाली र असहमतिको ठाउँ घृणाले लिएको छ ।

हामी ‘राम्रो हुन्छ’ भनेर आशा गरिरहेका त छौं, तर त्यो ‘राम्रो कसरी हुन्छ ?’ भनेर न त हामीले सोध्न आवश्यक ठानेका छौं, न त बनाउँछु भन्नेले नै सबै जनताले बुझिने गरी बताउन आवश्यक ठानेका छन् । यतिखेर सबै राजनीतिक पार्टीहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन् तर हामीले त्यस घोषणापत्रलाई लिएर गहिरो तरिकाले निकै कम बहस गरिरहेका छौं । हामी या त कसैलाई निम्नस्तरमा झरेर गिज्याइरहेका छौं, या त कसैलाई अन्धभक्त भएर समर्थन गरिरहेका छौं । हामीमध्ये धेरैका लागि हाम्राले गाएको कर्कश गीत पनि सुरिलो सुनिएको छ । अर्काले भनेको जतिसुकै राम्रो विषय पनि खराब भइरहेको छ । हामी हाम्रो सबै राम्रो र अर्काको सबै खराब भन्ने स्थितिमा छौं । तर जब हामी आफैंमा प्रश्न आउँछ, तब हामी त्यो प्रश्नलाई नै खारेज गर्दै विषयान्तर गरिरहेका भेटिन्छौं ।

यतिखेर हामीले बिर्सिसकेका छौं– हाम्रा विचार फरक हुन सक्छन्, तर हामी एउटै देशका नागरिक हौं । हामी मतपत्रमा फरक मत दिन सक्छौं, तर एउटै भविष्य बाँड्छौं । हामी फरक भाषामा बोल्न सक्छौं, तर एउटै पीडा बुझ्छौं ।

हाम्रो सामाजिक चेतना र हाम्रो संस्कार, हाम्रो समाजको वास्तविक घरातलबाट सुरु हुन्छ । त्यसलाई सबैभन्दा पहिलो प्रभाव हाम्रो भाषाले पार्छ । यतिखेर हामीले सामाजिक सञ्जालमा होस् वा कतै सभा–समारोहमा, वा होस् कतै चियापसलका गफमा, हामीले प्रयोग गर्ने शब्दले हाम्रो चेतना र हाम्रो भविष्यको दिशा देखाउँछ ।

जब अपमान सामान्य हुन्छ, सम्मान कमजोर बन्छ । जब गाली राजनीति बन्छ, तर्क हराउँछ ।बालबालिकाहरूले त्यही भाषा सिक्छन्, युवाले त्यही शैली अपनाउँछन् र भोलिको समाज असहिष्णु बन्छ । यहाँ हामी सबैका लागि एउटा गहिरो प्रश्न उभिन्छ । नाटककार शेक्सपियरको एउटा प्रसिद्ध भनाइ छ– ‘टु बी अर नट टु बी, द्याट इज द क्वेसन’ ।आज यो प्रश्न प्रत्येक नागरिकको जीवनसँग जोडिएको छ ।

सचेत नागरिक बन्ने कि भीडको हिस्सा मात्र हुने ? देश बनाउने कि दोष थोपर्ने ? जोड्ने कि फुटाउने ? समाधान खोज्ने कि सत्तोसराप मात्र गर्ने ? हामी सबै एउटै हौं– यो नारा होइन, जिम्मेवारी हो । जब हामी ‘हामी’ भन्न छाडेर ‘तिमी–हामी’ भन्न थाल्छौं, तब समाज टुक्रिन थाल्छ । टुक्रिएको समाज लोकतन्त्रको सबैभन्दा ठूलो खतरा हो।

जब हामी विचार फरक भयो भनेर अर्को मान्छेलाई नै फरक ठान्छौँ, तब गणतन्त्र कमजोर हुन्छ। असहिष्णु सामाजिक चेतनाले सिंगो देशलाई खोक्रो बनाइरहेको हुन्छ।

जब सम्मान हार्छ तब त्यो केवल एक व्यक्तिको हार हुँदैन । त्यो सिंगो समाजको हार हो। फरक विचार राख्नेलाई शत्रु ठान्नु लोकतन्त्रको असफलता हो। लोकतन्त्रको आत्मा बहस हो। तर त्यो बहस सभ्य, जिम्मेवार र तर्कसहितको हुनुपर्छ। गाली र अपमानले चुनाव त जित्न सक्छ, तर त्यसले अन्ततोगत्वा लोकतान्त्रिक समाज हार्छ, देश हार्छ ।

हामीले साँचो रूपमा स्वीकार्नैपर्छ– राजनीति बिग्रनुमा दोष नेताको मात्र हुँदैन। प्रश्न नगर्ने, नीति नखोज्ने र परिणामको हिसाब नमाग्ने नागरिक पनि जिम्मेवार हुन्छ। हामीले धेरै पटक तर्क छोडेर भावनालाई रोज्यौँ। विचारभन्दा अनुहारलाई प्राथमिकता दियौँ। प्रश्न हामी आफूबाट नै सुरु हुनुपर्ने थियो। तर हाम्रो लागि सधैँ प्रश्नको घेरामा अर्को मान्छे, अर्को विचार र अर्को सिद्धान्तमात्र परिरह्यो । फलस्वरुप हाम्रो प्रश्न नै सही हुन सकेन।

हामीले खोजेको परिवर्तन भाषणमा होइन, निरन्तर नागरिक खबरदारीमा आउँछ।

परिवर्तन गालीमा होइन, ज्ञानमा आउँछ।

परिवर्तन फुटमा होइन, एकतामा आउँछ।

परिवर्तन घृणामा होइन, सम्मानमा आउँछ ।

सचेत नागरिक हुनु सबैको विरोध गर्नु होइन, न सबैको समर्थन। सहीलाई सही भन्न सक्ने साहस र गलतलाई गलत भन्न सक्ने विवेक नै उच्चतम चेतना र नागरिक संस्कार हो। पूर्वाग्रह बिना सुन्न सक्नु, तर्क बिना नबोल्नु, र भावनाभन्दा जिम्मेवारीलाई प्राथमिकता दिनु नै सचेत नागरिकको पहिचान हो। तर आज हामी यस्ता भएका छौँ कि, हामीसँग केही रेडिमेट गाली छन् । अनि केही हामीले घोकेका शब्दावली। हामी त्यही कुण्ठा, गाली र हामीभित्र भएको फ्रस्टेसन यतिखेर कहिले सामाजिक सञ्जालको कमेन्ट बक्समा, त कहिले इनबक्समा गएर आफ्नो सभ्यता नंग्याइरहेका भेटिन्छौँ । हाम्रा नेताले गाली गरिरहँदा हामी ताली बजाइरहेका छौँ । त्यो गाली जतिसुकै खराब किन नहोस्, हामी त्यसमा समर्थन जनाइरहेका छौँ । र त्यही गाली आजको हाम्रो सामाजिक चेतना बनिरहेको छ । गाली हाम्रो संस्कार बनिरहेको छ । 

देश बनाउने काम एक दिनमा हुँदैन। यो हरेक दिनको व्यवहारबाट सुरु हुन्छ– हामी कसरी बोल्छौँ, कसरी असहमत हुन्छौँ, कसरी फरक विचारलाई सम्मान गर्छौँ र त्यसलाई प्रस्तुत गर्छौँ । यी सबै कुराले परिवर्तनको संकेत मात्र नभई हामीले खोजेको परिवर्तन संस्थागत समेत गर्दछन् । यदि हामीले आज संस्कार जोगायौँ भने, असल सामाजिक चेतनालाई जोगायौं भने, लोकतन्त्र आफैं बलियो हुन्छ ।

हामी फरक दलका हुन सक्छौँ, फरक विचारका हुन सक्छौँ, तर हामी एउटै देशका हौँ । हामी एउटै पीडाबाट गुज्रिएका हौँ, एउटै आशा बोकेका हौँ। देश कसैको एक्लो सम्पत्ति होइन– यो हामी सबैको साझा सपना हो।

अन्ततः जित–हारभन्दा माथि उठेर सोच्ने बेला आएको छ । चुनावी परिणाम अस्थायी हुन्छन्, तर संस्कार दीर्घकालीन हुन्छ । हामी सबैलाई थाहा छ, भत्काउन भन्दा बनाउन निकै लामो समय लाग्छ। ठीक त्यसैगरी सामाजिक चेतना निर्माण गर्न लामो समय लाग्छ र त्यो दीर्घकालीन बनाउन झनै बढी मेहेनत गर्नुपर्ने हुन्छ। आज हामीले प्रयोग गर्ने भाषा, गर्ने व्यवहार र देखाउने सहनशीलताले नै भोलिको नेपाल निर्माण हुन्छ।

अन्त्यमा प्रश्न अझै उही छ–हामी चुनाव त जित्न सक्छौँ। तर यदि संस्कार हार्यौँ भने? गए गुज्रेको सामाजिक चेतना मलजल गरिरह्यौँ भने? त्यो जितले कस्तो परिवर्तनको कल्पना गर्छ? त्यो जितले कस्तो देशको निर्माण गर्छ?

देश त हामी सबै हौँ।

देश हामीबाटै सुरु हुन्छ।

र देश त्यतिबेला बलियो हुन्छ,

जब हामी सबै मिलेर भन्छौँ–

हामी एउटै हौँ।

विजय बराल अभिनेता

Link copied successfully