बंगलादेशको निर्वाचनबाट नेपालले के सिक्न सक्छ ?

जनता सरकार परिवर्तन मात्रै होइन, राजनीतिक संस्कृतिमै सुधार चाहन्छन्, यो निर्वाचन प्रतिनिधि छनोटभन्दा बढी स्थिरता, सुशासन र संरचनात्मक सुधारको जनादेश हुन सक्छ।

फाल्गुन १४, २०८२

मोहना अन्सारी

What can Nepal learn from the Bangladesh elections?

What you should know

१२ फेब्रुअरी २०२६ मा सम्पन्न बंगलादेशको राष्ट्रिय संसदीय निर्वाचन लोकतान्त्रिक यात्राको अर्को महत्त्वपूर्ण अध्यायका रूपमा देखिएको छ । त्यो निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक भई सहभागी हुने अवसर प्राप्त हुनु मेरा लागि महत्त्वपूर्ण अनुभव थियो । निर्वाचनका दिन मैले बञ्चरमपुर निर्वाचन क्षेत्र तथा गाजीपुर जिल्लाअन्तर्गत कालीगन्ज र कापासिया उपजिल्लाका विभिन्न मतदान केन्द्र भ्रमण गरी मतदान प्रक्रियाको प्रत्यक्ष अवलोकन गरेको थिएँ ।

दक्षिण एसियाको एक महत्त्वपूर्ण राष्ट्र बंगलादेशले पछिल्ला दशकमा तीव्र आर्थिक वृद्धि र सामाजिक विकास हासिल गरेको छ । तर, मानवअधिकारको कमजोर अवस्था, प्रतिशोधात्मक राजनीति, दलगत ध्रुवीकरण र निर्वाचनप्रति जनविश्वासजस्ता विषय समय–समयमा बहसको केन्द्रमा रहने गरेका छन् ।

सन् २०२४ जुलाईको विद्यार्थी आन्दोलनले बंगलादेशको राजनीतिक परिदृश्यमा निर्णायक मोड ल्यायो । लोकतान्त्रिक सुधार, भ्रष्टाचारविरुद्ध र जवाफदेहिता माग गर्दै देशैभर उठेका युवा नेतृत्वका प्रदर्शनले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट विस्थापित गर्‍यो । त्यसपश्चात् देशमा राजनीतिक स्थिरता कायम, जनविश्वास पुनःस्थापना तथा संक्रमणकालीन व्यवस्थापन गर्न नोबल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा गठित नागरिक सरकारले राष्ट्रिय निर्वाचन घोषणा गरेको थियो । यो पृष्ठभूमिमा सम्पन्न संसदीय निर्वाचनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोका रूपमा हेरिएको थियो ।

मतदान केन्द्र, सुरक्षा व्यवस्था र मतदाता सहभागिता

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन केवल प्रतिनिधि छनोटको प्रक्रिया मात्रै होइन– जनविश्वास, संस्थागत क्षमता र विधिको शासनप्रतिको प्रतिबद्धता परीक्षण पनि हो । त्यसैले निर्वाचनको दिनको वातावरण, प्रक्रियागत पारदर्शिता र समावेशिता अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । मैले भ्रमण गरेका अधिकांश मतदान केन्द्र सरकारी विद्यालय भवनमा स्थापना गरिएका थिए । सुरक्षाका लागि छुट्टै प्रवेश–निष्कासन मार्ग व्यवस्था मिलाइएको थियो । मतदान केन्द्रहरूको समग्र वातावरण शान्त र व्यवस्थित थियो । मतदाता लाइनमा उभिएर पालो कुर्दै थिए, मतदान अधिकारीले निर्धारित प्रक्रियाअनुसारै परिचय जाँच र मतपत्र वितरण गरिरहेका थिए ।

मतदान केन्द्रका इन्चार्ज तथा अन्य कर्मचारीसँगको संवादमा उनीहरू निर्वाचन प्रक्रियाबारे प्रशिक्षित र जानकार देखियो । मतदाता प्रमाणीकरण, मतपत्र व्यवस्थापन तथा मतपेटिका सुरक्षामाथि स्पष्ट अवगत थिए । प्रक्रियागत अनुशासन कायम राख्ने प्रयास गरिएको अनुभूति भयो । सुरक्षा निकायको उपस्थिति पनि सन्तुलित थियो ।

उनीहरूको भूमिकाले मतदातामा सुरक्षा र स्थिरताको भावना प्रदान गरेको देखिन्थ्यो । मतदाताको उपस्थिति उत्साहजनक थियो । मध्याह्नसम्म केही केन्द्रमा करिब ६० प्रतिशतसम्म मतदान भएको जानकारी दिइयो । महिलाहरूको उल्लेखनीय सहभागिता देखियो, जसलाई बंगलादेशको सामाजिक–राजनीतिक परिपक्वताको सकारात्मक संकेत मान्न सकिन्छ । लोकतन्त्रको मजबुतीका लागि लैंगिक–समावेशिता अत्यावश्यक हुन्छ । त्यो दृश्यले त्यस दिशामा प्रगतिको संकेत गरिरहेको थियो । राजनीतिक प्रतिस्पर्धाको स्तर, दलबीचको विश्वास, प्रचारप्रसारको स्वतन्त्रता र मतदाता शिक्षाको स्तरले निर्वाचनको गुणस्तर निर्धारण गर्छ । 

सुधारयोग्य पक्ष

केही मतदान केन्द्र विद्यालय भवनको माथिल्लो तल्लामा थियो, जसकारण ज्येष्ठ नागरिक तथा शारीरिक अशक्त व्यक्तिलाई सिँढी चढ्न कठिनाइ भएको देखियो । लोकतान्त्रिक प्रक्रियामा समान पहुँच सुनिश्चित गर्न भौतिक पूर्वाधार अत्यन्तै महत्त्वपूर्ण हुन्छ । भविष्यमा यस्ता केन्द्र भुइँतलामा राख्ने वा अस्थायी र्‍याम्पजस्ता संरचनात्मक व्यवस्था गर्ने विषयमा विचार गर्नुपर्छ । ज्येष्ठ नागरिक, स्तनपान गराइरहेका आमा तथा अस्वस्थ व्यक्तिका लागि छुट्टै लाइन वा प्राथमिकता व्यवस्था स्पष्ट लागू भएको देखिएन । समावेशी निर्वाचनका लागि यस्ता व्यवस्था सुदृढ हुनु आवश्यक छ ।

नेपालले के सिक्न सक्छ ? 

१. मतदान केन्द्र व्यवस्थापन : बंगलादेशमा मतदान अधिकारी प्रशिक्षित र आत्मविश्वासी देखिए । नेपालमा नियमित तालिम भए पनि नयाँ जनशक्तिका कारण प्रशिक्षणलाई अझ व्यावहारिक, परिस्थिति आधारित र पुनर्ताजगीमुखी बनाउनु आवश्यक छ, जसले प्रमाणीकरण, मतपत्र व्यवस्थापन र मतगणनामा एकरूपता होस् ।

२. पोस्टल मतदान व्यवस्थापन : बंगलादेशमा ‘भोट दिनु अधिकार हो’ भन्ने नारा थियो निर्वाचन आयोगको । यसैलाई मध्यनजर गरी पोस्ट–भोटको व्यवस्थापन गरिएको थियो । स्पष्ट सन्देश पनि थियो– विदेशी देशको नागरिकता नलिएकाहरू जो विदेशमा बसोबास र काम गर्छन् वा कर्मचारी, जो आफ्नो ठाउँ पुगेर मतदान गर्न सक्दैनन्– तिनका हकमा पोस्टल मतदानको व्यवस्था गरिएको थियो । त्यसका लागि एक साता समय दिएको थियो र क्यूआर स्क्यानबाट मतगणना व्यवस्था गरिएको थियो । त्यसको लाभ धेरैले पाए । निर्वाचनमा प्रविधि प्रयोग राम्रो रह्यो । नेपालले पनि यो व्यवस्था गर्नुपर्छ, जसले ‘भोट मौलिक अधिकार हो’ भन्ने संवैधानिक अधिकार व्यवहारमै लागू हुनेछ ।

३. भौतिक पहुँच : माथिल्लो तल्लाका केन्द्रहरूले ज्येष्ठ र अशक्त मतदातालाई असहज बनाएका उदाहरण छन् । सम्भव भएसम्म भुइँतलामै मतदान कक्ष, र्‍याम्प वा सहयोगी स्वयंसेवक र स्पष्ट प्राथमिकता लाइनको व्यवस्था सुनिश्चित गर्नुपर्छ ।

४. महिला सहभागिता सुदृढ : संवैधानिक समावेशिता मात्रै पर्याप्त छैन । मतदान गर्ने दिन सक्रिय सहभागिता बढाउन महिला, युवा र सीमान्तकृत समुदाय लक्षित प्रभावकारी मतदाता शिक्षा (विशेषतः डिजिटल र स्थानीय माध्यममार्फत) आवश्यक छ ।

५. जनविश्वास निर्माण : प्राविधिक सफलताभन्दा जनविश्वास महत्त्वपूर्ण हुन्छ । त्यसैले पूर्वनिर्वाचन संवाद, आचारसंहितामा कडाइ, पारदर्शी सूचना प्रवाह र स्वतन्त्र पर्यवेक्षण सुदृढ गर्नुपर्छ ।

६. सुरक्षा र स्वतन्त्रताको सन्तुलन : सुरक्षा आवश्यक छ, तर हस्तक्षेपविहीन । ‘सुरक्षा सुनिश्चित गर्ने, मतदान स्वतन्त्रतामा हस्तक्षेप नगर्ने’ सिद्धान्तले मात्रै निर्भय वातावरण सुनिश्चित गर्छ ।

डिजिटल राजनीति र युवा मतदाताको उदय

बंगलादेशको निर्वाचनमा डिजिटल प्रचार निर्णायक रूपमा देखापर्‍यो । सामाजिक सञ्जाल, लक्षित–अनलाइन सन्देश, प्रत्यक्ष डिजिटल संवाद, भिडियो अभियानजस्ता माध्यमले युवा मतदातासँग सिधा सम्पर्क स्थापना गरे । सहरी मतदाता र विदेशमा रहेका बंगलादेशी समुदायसम्म सन्देश पुर्‍याउन डिजिटल माध्यम प्रभावकारी बने ।

युवा पुस्ताले रोजगारी, सुशासन, पारदर्शिता र अवसरलाई मुख्य मुद्दाका रूपमा उठाएका थिए । परम्परागत सभा–जुलुसभन्दा डिजिटल बहस र वैकल्पिक विमर्श प्रभावकारी बने । यसले दक्षिण एसियाली चुनावी संस्कृतिमा नयाँ प्रवृत्तिको संकेत दिएको छ– राजनीति अब केवल मैदानमा होइन, मोबाइल स्क्रिनमा पनि लडिन्छ ।

नेपालका लागि सन्देश : आकांक्षाको चुनावतर्फ

यस निर्वाचनमा ‘बंगलादेश नेसनलिस्ट पार्टी’ (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ । उल्लेखनीय के हो भने अवामी लिग निर्वाचन प्रक्रियाबाट बाहिर रहेपछि प्रतिस्पर्धाको स्वरूप नै बदलिएको थियो । यो परिणामलाई केवल संख्यात्मक विजय होइन, बंगलादेशको राजनीतिक गतिशीलतामा आएको एक महत्त्वपूर्ण मोडका रूपमा हेरिनु आवश्यक छ । पछिल्ला वर्षमा देखिएको राजनीतिक ध्रुवीकरण, शासनशैलीमाथि उठेका प्रश्न, आर्थिक व्यवस्थापन र रोजगारीसम्बन्धी जनअपेक्षाले मतदाताको मनोविज्ञानमा प्रभाव पारेको देखिन्छ ।

मतदाताले स्थिरता, आर्थिक व्यवस्थापन र संस्थागत सन्तुलनप्रति नयाँ अपेक्षा व्यक्त गरेको देखिन्छ । अब नयाँ सरकारको मुख्य चुनौती हो– यो जनादेशलाई संस्थागत स्थायित्व, आर्थिक सुदृढीकरण तथा लोकतान्त्रिक संवादमा रूपान्तरण गर्नु । स्पष्ट बहुमतले शासन सञ्चालनमा सहजता दिन सक्छ तर दीर्घकालीन लोकतान्त्रिक सुदृढीकरणका लागि प्रतिपक्षसँग संवाद, समावेशी निर्णय प्रक्रिया तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण अपरिहार्य रहनेछ ।

नेपाल आकांक्षा र अपेक्षाको मोडमा छ । जनता सरकार परिवर्तन मात्रै होइन, राजनीतिक संस्कृतिको सुधार चाहन्छन् । आगामी निर्वाचन प्रतिनिधि छनोटभन्दा बढी स्थिरता, सुशासन र संरचनात्मक सुधारको जनादेश हुन सक्छ । बंगलादेशको अनुभवबाट तीन पाठ स्पष्ट छन्– पहिलो, प्राविधिक दक्षताभन्दा जनविश्वास निर्णायक हुन्छ– दलहरूबीच न्यूनतम सहमति र आचारसंहिताको कडाइ अपरिहार्य छ । दोस्रो, भौतिक पहुँच र समावेशिताबिना लोकतन्त्र अपूरो रहन्छ– दुर्गम क्षेत्र, अशक्त, ज्येष्ठ र सीमान्तकृत समुदायलाई ठोस योजना चाहिन्छ । 

तेस्रो, डिजिटल राजनीतिक ऊर्जालाई सकारात्मक एजेन्डामा रूपान्तरण गर्नुपर्छ– नत्र असन्तोष पुनः सडकमा फर्किन सक्छ ।

मोहना

Link copied successfully