के तपाईंले नेताहरूलाई प्रश्न गर्नुभयो ?

समाजमा प्रश्न छ, त्यसैले जीवनमा गतिशीलता छ, सामाजिक चेतना प्रज्वलित छ, तानाशाही पराजित छ र जवाफदेहिता अनिवार्य छ, आधुनिक मानव सभ्यताको जीवनधारा र लोकतन्त्रको आधार हो–प्रश्न।

फाल्गुन १४, २०८२

केशव दाहाल

Did you question the leaders?

What you should know

भोट माग्दै तपाईंलाई भेट्न आउने नेताहरूलाई के तपार्इंले प्रश्न गर्नुभयो ? कि चुपचाप उनका कुरा सुन्नुभयो र ‘हुन्छ’, ‘हस्’ भनेर आश्वस्त पार्नुभयो ? कतै तपाईंले आफूलाई फगत नेताको आदेश मान्ने र भोट हाल्ने मेसिन मात्रै त बनाउनुभएन ? कि आफू प्रश्न गर्ने एक सार्वभौम नागरिकका रूपमा प्रस्तुत हुनुभयो र भन्नुभयो, ‘तपाईंको उम्मेदवारी केका लागि ? हामीले तपार्इंलाई भोट हाल्नुपर्ने कारण के छ ?’ 

यदि तपाईंले नेतालाई प्रश्न गर्नुभयो, जवाफ माग्नुभयो र आफूलाई एक आलोचनात्मक र सार्वभौम मतदाता प्रमाणित गर्नुभयो भने धेरै नै ठीक गर्नुभयो । यसकारण ठीक गर्नुभयो कि, तपाईं राज्यको सार्वभौम हिस्सेदार बन्नुभयो । अन्यथा आफ्नै अगाडि उम्मेदवार आउँदा पनि प्रश्न नगरी बिदा गर्नुभयो भने तपाईंले आफूलाई थप शक्तिहीन र निर्बल बनाउनुभयो । र, तपाईंले एउटा अवसर गुमाउनुभयो– प्रश्न गर्ने अवसर ! आउनुहोस्, यो लेखमा प्रश्नको अर्थ, महत्त्व र गरिमामाथि केही मन्थन गरौं ।

सबैभन्दा पहिले एउटा सन्दर्भबाट कुरा थालौं । यही माघ २६ र २७ गते आयोजना गरिएको ‘कान्तिपुर’ कन्क्लेभकी प्रमुख वक्ता थिइन्, नोबेल पुरस्कार विजेता, इरानी लेखक तथा मानवअधिकार अभियन्ता डा. शिरिन इवादी । त्यहाँ उनले निकै शान्त र सारगर्वित मन्तव्य दिइन् । त्यो मन्तव्यको एउटा महत्त्वपूर्ण विषय थियो– प्रश्न र प्रश्न गर्ने सामर्थ्य । उनको मन्तव्यलाई आशयमा यसरी भन्न सकिन्छ, ‘मानिसले सबैभन्दा पहिला सिकेको कुरा नै प्रश्न हो । यदि मानिसले प्रश्न गर्दैनथ्यो भने ऊ आजको युगमा आइपुग्ने नै थिएन ।’ डा. इवादीको कुरा सुनिरहँदा मलाई लाग्यो– प्रश्न छ, त्यसैले जीवनमा गतिशीलता छ । प्रश्न छ, त्यसैले सामाजिक चेतना प्रज्वलित छ । प्रश्न छ, त्यसैले तानाशाही पराजित छ । प्रश्न छ, त्यसैले जवाफदेहिता अनिवार्य छ । प्रश्न आधुनिक मानव सभ्यताको जीवनधारा र लोकतन्त्रको आधार हो ।

अब प्रश्नमाथि नै प्रश्न गरौं । मान्छेका लागि प्रश्न किन आवश्यक हुन्छ ? र, हाम्रो सभ्यतामा प्रश्नको स्थान कहाँ छ ? स्पष्ट छ, हामीले निर्माण गरेको सभ्यता प्रश्नहरूबाटै प्रारम्भ भएको हो । हामीले आविष्कार गरेको विज्ञान, प्रश्नबाट जन्मियो । हामीले हासिल गरेको ज्ञान, प्रश्नबाट आर्जन भयो । मान्छेले यसकारण यो धर्तीमा उत्कृष्टता हासिल गर्‍यो कि उसँग प्रश्नहरू थिए । जो–जो मान्छे (समाज) सँग प्रश्न थिए, उनीहरू सभ्यताको उकालो चढ्दै गए, जोसँग प्रश्न थिएनन्, उनीहरू जहाँको त्यहीं रहे । 

मान्छेका मनमा आफ्नो अस्तित्वलाई लिएर प्रश्नहरू थिए, त्यसैले मान्छे अस्तित्वशाली हुँदै गयो । मान्छेका मनमा आफ्नो स्वतन्त्रतालाई लिएर प्रश्नहरू थिए, त्यसैले आन्दोलनहरू हुँदै गए र लोकतन्त्रको यात्रा अगाडि बढ्यो । यसरी हेर्दा दर्शन, विज्ञान, साहित्य र राजनीतिका सबै महान् यात्राहरू प्रश्नबाटै सुरु भए र प्रश्नसँगै अगाडि बढ्दै गए । अतः भन्न सकिन्छ, प्रश्नले मान्छेलाई मालिक बनाउँदै लग्यो र प्रश्न नगर्ने समाज दासत्वमा फसिरह्यो । 

इतिहास पल्टाएर हेर्ने हो भने हरेक राजनीतिक परिवर्तनहरू केही साहसी प्रश्नहरूको जगमा उठेका देखिन्छन् । चाहे अमेरिकाको स्वतन्त्रता संग्राम, चाहे बेलायतको गौरवमय क्रान्ति, चाहे सोभियत विद्रोह, चाहे भारतको स्वतन्त्रता संग्राम । यी सबैको जगमा थियो, मानव सर्वोच्चता र न्यायको प्रश्न । नेपालकै सन्दर्भमा पनि २००७ सालको आन्दोलन प्रश्नबाटै सुरु भएको थियो– वंशवादको अन्त्य गर्ने प्रश्न, मान्छेको सार्वभौमिकता स्थापित गर्ने प्रश्न, जहानियाँ शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको प्रश्न । ०४६ सालको परिवर्तन होस् वा ०६३ को, यी सबै हामी नेपालीले आफ्नो सर्वोच्चताका लागि गरेका प्रश्नहरूको परिणाम थिए ।

यी सन्दर्भलाई राजनीतिसँग एकाकार गर्दा स्पष्ट हुन्छ, राजनीति प्रश्नहरूको संगठित अभ्यास हो । सत्तासँग गरिने संवाद । असहमति र सहमतिका बीचमा गरिने प्रश्न र उत्तरको खोज । अथवा प्रश्नहरूको विमर्श । यस अर्थमा, राजनीति कुनै स्थिर अवधारणा होइन, यो प्रश्नले निरन्तर चलायमान बनाइरहने प्रक्रिया हो । त्यसैले भन्न सकिन्छ– प्रश्न रोकिनु समय रोकिनु हो र समय रोकिनु समाजको अग्रगामी यात्रा रोकिनु हो । प्रश्न नभएको समाजमा जीवन हुँदैन । त्यस्तो समाज मुर्दा–समाज हो ।

कतिपय मान्छेहरू ठान्छन्, प्रश्न गर्नु विरोध गर्नु हो । कतिपयलाई लाग्छ, प्रश्न गर्नु अवरोध गर्नु हो । अझ कतिपय मान्छे ठान्छन्, प्रश्न गर्नु नकारात्मक हुनु हो । तर, राजनीतिमा प्रश्न केवल विरोधीलाई असजिलोमा पार्ने चाल होइन– यो राज्य, दल, व्यक्ति र सरकारसँग उसका नीति, विचार र व्यवहारमाथि गरिने विवेकशील जिज्ञासा हो । प्रश्नले ‘के भइरहेको छ ?’ मात्रै होइन, ‘किन भइरहेको छ ?’, ‘कसका लागि भइरहेको छ ?’ र ‘यसको विकल्प के हुन सक्छ ?’ भन्ने तहसम्म उत्तरदायित्वको खोजी गर्छ । साथै राजनीतिमा प्रश्नले सत्ता र नागरिकबीच सेतुको काम गर्छ । यसले सत्तासँग नागरिकलाई जोड्छ । सँगसँगै प्रश्नले नागरिकको हैसियत पनि बढाउँछ । किनभने जब नागरिक प्रश्न गर्छ, तब ऊ केवल शासित व्यक्ति रहँदैन, शासन प्रक्रियाको हिस्सेदार बन्न पुग्छ । अर्थात्, प्रश्नले नागरिकलाई राजनीतिक प्रक्रियाको जिम्मेवार सदस्य बनाउँछ । यसर्थ नै भन्न सकिन्छ– प्रश्नहरू छन्, त्यसैले मान्छे उत्तरको खोजी गर्छ । प्रश्नहरू छन्, त्यसैले नेता उत्तरका लागि जिम्मेवार रहन्छ । अतः प्रश्न नागरिकको फगत जिज्ञासा मात्र होइन, यो उसको तागत पनि हो । 

प्रश्न आउँछ– किन प्रश्नसँग डराउँछ सत्ता ? यहाँ सत्ता भनेको दल पनि हो र सरकार पनि । किन प्रश्नसँग डराउँछ नेता ? अथवा, किन प्रश्नसँग डराउँछ हाम्रो राजनीति ? यो पद, अहंकार र शक्ति अभ्याससँग जोडिएको विषय हो । भ्रमबस नै सही, जो आफूलाई ज्ञान–सत्ताको स्वामी ठान्छ ऊ अरूले उसको ज्ञानमाथि सोधेको प्रश्नसँग डराउँछ । भ्रमबस नै सही, जो आफूलाई मान्छेको सार्वभौमिकताको स्वामी ठान्छ उसलाई आम मान्छेले प्रश्न गर्‍यो भने डर लाग्छ । यो शक्ति खोसिने त्रास हो, रजगज खोसिने त्रास हो, भ्रमको पर्दा च्यातिने त्रास हो । 

अर्थात् सत्ता प्रश्नसँग यसकारण डराउँछ, किनकि प्रश्नले उसलाई पारदर्शी (नग्न) बनाउँछ । प्रश्नले वाचा र व्यवहारबीचको अन्तर उजागर गर्छ । प्रश्नले तथ्य माग्छ, जवाफ खोज्छ र बहाना स्विकार्दैन । त्यसैले इतिहासमा निरंकुश शासकहरूले सबैभन्दा पहिले प्रश्न गर्नेहरूलाई दमन गरेका थिए । र, आज पनि जो भ्रमको खेतीमा हुन्छन्, उनीहरू प्रश्नलाई निरुत्साहित गरिरहन्छन् । यसको अर्थ जसले प्रश्नमाथि आक्रमण गर्छ– ऊ तानाशाह हो, जो लोकतन्त्रको आत्मा ध्वस्त पार्न चाहन्छ । र, भ्रमको सत्तालाई अकण्टक राख्न चाहन्छ । त्यसैले राजनीतिमा सोधिने प्रश्नहरू यसकारण महत्त्वपूर्ण हुन्छन्, तिनले भ्रमको पर्दा च्यात्छन् र उत्तरदायी राजनीतिलाई संस्थागत गर्न हरदम योगदान गरिरहन्छन् ।

त्यसो त कुनै पनि दल सधैं र सबै समयमा प्रश्नहरूको निगरानीमा हुन्छन् । यद्यपि, निर्वाचनमा यसकारण अझ धेरै प्रश्नहरू सोधिनु आवश्यक हुन्छ कि निर्वाचन जित्नु भनेको पाँच वर्षका लागि निरंकुश हुने अधिकार पाउनु होइन, पाँच वर्षसम्म जनताका प्रश्न सुन्ने दायित्व स्वीकार गर्नु हो । त्यसैले निर्वाचनमा सोधिने प्रश्नहरूले राज्य, दल, नेता र सरकार सबैलाई सम्झाइरहन्छन्– तिमी मालिक होइनौ, मालिक हुन् नागरिक । र, तिमी प्रश्नभन्दा माथि होइनौ, तिमीमाथि छन् प्रश्नहरू । 

यो अर्थमा, निर्वाचनका समयमा जब उम्मेदवारहरू मत माग्न नागरिकसँग आउँछन्, त्यो मतदाताका लागि सबैभन्दा महत्त्वपूर्ण राजनीतिक अवसर हो– प्रश्न सोध्ने अवसर । किनभने यहाँ मत कुनै दया वा बाध्यता होइन, सर्तसहितको विश्वास हो । र, त्यो विश्वासलाई परीक्षण गर्न पनि मत दिनुअघि प्रश्न आवश्यक हुन्छ । यो नागरिकको अधिकार मात्रै होइन, दायित्व हो । र, हो उम्मेदवारको परीक्षा । यस्तो परीक्षा, जहाँ उम्मेदवारको चरित्र, क्षमता र इमानदारी हेरिन्छ र उपयुक्तलाई छनोट गरिन्छ । 

निर्वाचनका समयमा राजनीतिक पार्टीहरू प्रायः नारामा रमाउँछन् । त्यसैले भावनात्मक नारालाई प्रश्नको कसीबाट परीक्षण गर्न पनि निर्वाचनका समयमा उम्मेदवारलाई प्रश्न गर्नु आवश्यक हुन्छ । किनभने प्रश्नले नारालाई नीतिमा बदल्न र व्यावहारिक बनाउन सहयोग गर्छ । अन्यथा प्रश्नबिना आउने नारा केवल कागजी सपना हुन् । र, ती हुन्– फगत आवेग र उत्तेजना । त्यसैले निर्वाचनलाई जीवन्त, सजीव र उत्तरदायी बनाउन प्रश्न आवश्यक छ नै, उम्मेदवारको विजयलाई जिम्मेवारीमा बदल्न पनि प्रश्न आवश्यक हुन्छ । 

चुनावमा प्रश्न सोध्ने संस्कृति स्थापित हुँदै गयो भने यसले मतदाता (समाज) लाई परिपक्व बनाउँदै लैजान्छ । यसले गाली, अपमान र भावनात्मक उत्तेजनालाई नियन्त्रण गर्छ र जवाफदेहिता बढाउँछ । तथ्यमा आधारित, तर्कयुक्त र सम्मानजनक प्रश्न सुसंस्कृत राजनीतिको मुख्य मानक हो । अतः प्रश्न सोध्नु भनेको शत्रुता होइन, यो लोकतान्त्रिक मित्रता हो– सत्तालाई सही बाटोमा हिँडाउने मित्रता । 

ख्याल गरौं, प्रश्न नगर्ने समाज बिस्तारै मौन बन्दै जान्छ । राजनीतिमा मौनता दासत्व हो । दासत्वले विवेकलाई नियन्त्रण गर्छ । जब विवेक नियन्त्रित हुन्छ, त्यही क्षण लोकतन्त्र सामर्थ्यहीन बन्न पुग्छ । जब लोकतन्त्रको सामर्थ्य सकिन्छ, त्यो लोकतन्त्र सीमित लोकतन्त्रमा संकुचित हुन्छ, जसको सीमा के हो भने चुनाव हुन्छ, तर त्यसले सही विकल्प दिँदैन । संसद् त बस्छ, तर त्यहाँ बहस हुँदैन । सरकार बन्छ, तर त्यो उत्तरदायी हुँदैन । यस्तो भयो भने त्यो लोकतन्त्रको जनतालाई के काम ? त्यो निर्वाचनको जनतालाई के प्रयोजन ?

राजनीतिमा प्रश्न सोध्नु कमजोरी होइन, शक्ति हो । प्रश्न नागरिकको आत्मसम्मान हो । प्रश्न लोकतन्त्रको प्राणवायु हो । प्रश्नबिनाको राजनीति अहंकारी हुन्छ र प्रश्नसहितको राजनीति मात्रै मानवीय हुन्छ । यदि राजनीति प्रश्नबाट भाग्न थाल्यो भने नागरिकले अझ धेरै प्रश्न गरेर त्यसलाई घेर्नुपर्छ । प्रश्नले राजनीतिलाई छेकबार गर्नुपर्छ र भड्किन दिनुहुँदैन । यो अर्थमा प्रश्न गर्ने नागरिक नै लोकतन्त्रको वास्तविक मालिक हो । र, प्रश्न सुन्ने सत्ता नै लोकतन्त्रको वास्तविक सत्ता ।

अन्त्यमा प्रिय मतदाताहरू ! भोट माग्दै तपाईंको घर–आँगनमा आउने उम्मेदवारलाई प्रश्न सोध्नुहोला– कतै तपाईंले लगाएको माला उखु किसानको आँसुले भिजेको त छैन ? सोध्नुहोला– कतै तपाईंले लगाएको लुगामा मिटरब्याजीको हृदयको मैलो त सरेको छैन ? सोध्नुहोला– तपाईंले चढ्ने गाडी कतै हाम्रो करमाथि रजगज गर्ने बिचौलियाको त होइन ? सोध्नुहोला– केही वर्षअघि आफ्नो मृत बच्चा जमिनमा गाढ्ने ठाउँ नपाएर कोशीमा बगाउने पिताको गल्ती के थियो ? सोध्नुहोला– १५ वर्ष उमेर नहुँदै भारतका बँधुवा बन्न बाध्य दलित, जनजाति र भूमिहीनले गरेको पाप के हो ? अन्यथा, उनीहरूमाथि राज्यको दायित्व खोइ ? 

प्रिय नागरिकहरू ! चुनावमा भोट माग्दै तपार्इंको घर–आँगन आउने उम्मेदवारलाई सोध्नुहोला– शीतलहरमा कठ्यांग्रिने हामी, गर्मीमा बाफिने हामी, भोकमा तड्पिने हामी, गरिबीमा फस्ने हामी तर भोट जित्नेहरू सधैं रजगजमा ! किन यस्तो ? ख्याल गर्नुहोला– अहिले तपाईंले प्रश्न सोध्न सक्नुभएन भने त्यसपछि कहिल्यै सोध्न सक्नुहुने छैन । त्यसपछि जे हुनेछ, त्यो हाम्रा लागि दुर्भाग्यबाहेक केही पनि हुनेछैन ।

केशव केशव दाहाल राजनीतिक-सामाजिक अभियान र लेखनमा सक्रिय छन् । राजनीतिक विश्लेषक र साहित्यकार दाहालकाे उपन्यास मोक्षभूमिले पद्मश्री साहित्य पुरस्कार पाएकाे थियाे ।

Link copied successfully