राजासँग सर्त राख्ने विश्वबन्धु

राष्ट्रिय पञ्चायत सदस्यबाट राजीनामा गरेका विश्वबन्धुलाई राजा महेन्द्रले सुरक्षा कानुन लगाएर ६ महिना नख्खु कारागारमा थुने । रिहा भएका थापा किसानी जीवनमा संलग्न हुँदै थिए । राजा महेन्द्रले पञ्चायतको सबलीकरणका निमित्त गठन गरिएको ‘गाउँ फर्क राष्ट्रिय अभियान’ को अध्यक्ष पदमा थापालाई नियुक्त गरे ।

फाल्गुन ११, २०८२

विनोद सिजापति

Vishwabandhu, who made a deal with the king

What you should know

पूर्वमन्त्री भूपालमानसिंह कार्कीका अनुसार, भान्जा (विश्वबन्धु) लाई जति राजा महेन्द्रले मन पराएका थिए, अर्को कुनै राजनीतिक पात्र थिएनन् । ‘राजाबाट धेरै पटक हुकुम भएको पनि हो– देशमा बीपीपछि प्रधानमन्त्री हुने ल्याकत विश्वबन्धुमा छ । तर, के गर्ने ऊ कुन बेला टेढिने हो, थाहा पाउनै कठिन हुन्छ ।’ 

एक दिन मन्त्रिपरिषद् अध्यक्ष डा. तुलसी गिरी विश्वबन्धु थापाको निवासमा आएर भनेछन्, ‘राजाले मलाई निकालेर तँलाई मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गर्ने निश्चित छ ।’ सोही दिन मध्यरात दरबारका सैनिक सचिव जनरल शेरबहादुर मल्लले फोनमा भने, ‘राजाबाट हजुरलाई दरबारमा बोलावट भएको छ ।’ थापाले तत्कालै जवाफ दिए, ‘महाराजालाई बिन्ती चढाइदिनुहोस्, महाराजाधिराज र हामी थापाबीचको पुर्ख्यौली सम्बन्ध लामो अवधिसम्म सौहार्दपूर्ण हुने गरेको छैन । झन् त्यसमाथि पनि दरबारबाट मध्यरातमा बोलावट हुँदाको परिणाम त अत्यन्त दुःखद भएको छ । 

(हेक्का होस्, मध्यरातमा दरबारबाट बोलावट भएर गएका प्रधानमन्त्री माथवरसिंह थापालाई हत्या गरिएको थियो ।) त्यसकारण म भोलि बिहान सबेरै दरबारमा हाजिर हुनेछु ।’

भोलिपल्ट बिहानै अपर्झट मन्त्रिपरिषद्का अर्का उपाध्यक्ष सूर्यबहादुर थापा उनको निवास आए । उनले सोधेछन्, ‘दरबारमा हजुरले राति हाजिर हुन किन इन्कार गरेको ?’ सूर्यबहादुर थापाकै अनुरोधमा दुवै जना एउटै गाडीमा सवार भएर नारायणहिटी दरबार प्रस्थान भए । बाटोभर सूर्यबहादुरले राजाले ‘जोगी’ (डा. गिरी) लाई हटाएर हजुरलाई मन्त्रिपरिषद्को अध्यक्ष नियुक्त गर्ने निश्चित छ । बिनाकुनै सर्त हजुरले राजाज्ञा पालना गर्दा सबैको भलो हुनेछ ।’

मन्त्रिपरिषद्को वरिष्ठ उपाध्यक्षको आगमनको प्रतीक्षामा रहेका राजा सामुन्ने विश्वबन्धुलाई एक्लै उपस्थित गराइयो । कानको लोती रातो पारेका (महेन्द्र रिसाएको सूचक) राजाले विश्वबन्धुलाई देख्नेबित्तिकै ‘बोलाउँदा पनि बेतुकको इतिहासको कुरा गर्दै अटेरी गर्ने ?’ भनेर झर्कंदै वार्ता सुरु गरे । अन्तमा तिनले ‘डाक्टरको स्थानमा मैले तिमीलाई मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गर्ने निर्णय गरें । तिम्रो केही भन्नु छ ?’ उक्त अवसरकै प्रतीक्षामा ढुकेको जस्तो गरेर विश्वबन्धुले सर्त अघि सारेछन्, ‘मलाई नियुक्त गर्नुपूर्व सरकारले राजनैतिक बन्दीको रिहाइ तथा दलउपर लागेको प्रतिबन्ध खारेज गरी बक्सनुपर्‍यो ।’

थापाको कुरा सकिनुपूर्व नै राजाले बीचमा रोक्दै ‘तिम्रो भनाइ बुझें, विचार गरेर बोलाउँला’ भने । त्यसपछि राजाले सूर्यबहादुर थापालाई बोलाए । दोस्रो दिन रेडियो नेपालले राजदरबारको विज्ञप्ति प्रसारण गर्‍यो, ‘मन्त्रिपरिषद्को अध्यक्ष पदबाट डा. तुलसी गिरीले महाराजाधिराजमा टक्राएको राजीनामा स्वीकृत भई उपाध्यक्ष श्री सूर्यबहादुर थापाको अध्यक्षतामा नयाँ मन्त्रिमण्डल गठन गरिबक्सेको छ ।’

डा. गिरी तथा विश्वबन्धु थापाबीच घनिष्ठ मित्रता थियो । उक्त घनिष्ठता डा. गिरीको देहावसानपछि मात्रै टुटेको हो । उनीहरूबीच नेपालीमा भन्दा बढी हिन्दी भाषामा ‘तँ तँ, म म’ चल्ने गर्थ्यो । थापाका अनुसार, बीपीलाई डा. गिरीसँग परिचय गर्ने कार्य उनीबाटै भएको थियो । बीपीले थापा तथा डा. गिरीलाई दलका अन्य सिनियरलाई पछि पार्दै एकैपटक सहमहामन्त्री पदमा नियुक्त गरेका थिए । सुवर्णशमशेर कांग्रेसको सभापति निर्वाचित हुँदा बीपीकै सुझावमा दुवैलाई पदोन्नति गर्दै महामन्त्री नियुक्त गरिएको थियो । प्रथम पटक डा. गिरीलाई राजा महेन्द्रसँग दर्शन भेट गराउने पनि उनी नै थिए । राजा तथा डा. गिरीबीच प्रधानमन्त्री बीपीलाई अपदस्थ गर्ने षड्यन्त्र हुँदै छ भन्ने खुलासा थापाले गरेका थिए । बीपीमाथि हुने षड्यन्त्रको खुलासा पनि थापाले गरेका थिए । 

१ पुस २०१७ मा राजाले सेना परिचालन गरेर निर्वाचित सरकारलाई बर्खास्तगी गरेको, प्रधानमन्त्री, मन्त्रिपरिषद् सदस्य तथा प्रमुख राजनैतिक दलका नेता कार्यकर्ताको गिरफ्तारी गरेको, संसद् भंग तथा संविधान निलम्बन गरेको घटना थापाले न्युयोर्कमा थाहा पाएका थिए । तीन महिनादेखि उनी संयुक्त राष्ट्रसंघको साधारण बैठकमा नेपाली प्रतिनिधि सदस्यका रूपमा सहभागी थिए । समाचार सुनेपछि उनी काठमाडौं प्रस्थान गरे । गौचर (त्रिभुवन अन्तर्राष्ट्रिय हवाई अड्डा) मा आइपुगेपछि केही घण्टा उनलाई सेनाको एक जनरलले गिरफ्तार गरे । थापाले उनलाई ‘दरबारमा खबर गरिदिनुहोस्, यदि मलाई गिरफ्तार गर्ने हो भने गिरफ्तार भएका आफ्ना नेताहरूकहाँ जाने हो । त्यहाँ गएपछि म फर्कनेवाला छैन ।’ लामो सोधपुछपछि उनी मुक्त भए ।

न्युयोर्क प्रस्थानपूर्व राजाले विश्वबन्धुलाई त्यहाँ नजान सुझाएका थिए । गृहमन्त्री सूर्यप्रसादको सल्लाहमा प्रधानमन्त्री बीपीले दोस्रो पटक उनलाई संयुक्त राष्ट्रसंघीय साधारणसभाको बैठकमा सामेल हुन खटाएका थिए । न्युयोर्कतर्फ प्रस्थानपूर्व राजासँग बिदाइ दर्शन भेटमा पुगेका विश्वबन्धुलाई राजाले केही दिनमै उपप्रधानमन्त्री सुवर्णशमशेरलाई लिएर बेलायत राजकीय भ्रमणमा जाने निर्णय सुनाए । उक्त अवसरमा बीपीलाई अपदस्थ गरेर प्रधानमन्त्री नियुक्त हुन सुवर्णलाई मनाउने मनसाय प्रकट गरेका थिए । थापाले राजालाई तत्काल उक्त कदम नचाल्न विनम्र आग्रह गरे । राजाको भनाइ थियो, ‘तिमी आउञ्जेल म सकेसम्म कुर्छु, त्यस्तै पर्‍यो भने मैले हृषि (अमेरिकास्थित नेपाली राजदूत एवं संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि) लाई लन्डनमा बोलाएको छु । तिनीमार्फत अग्रसूचना दिनेछु ।’ 

राजाले अप्रिय कदम चाल्छन् भन्ने थापालाई निश्चित थियो । तर, उक्त कदम त्यति छिटो चाल्लान् भन्ने लागेको थिएन । बेलायतबाट न्युयोर्क फर्केका शाहले पनि कुनै सूचना दिएका थिएनन् । 

कोलम्बोमा डा. तुलसी गिरीसँग गफिँदा राजा महेन्द्रले अपत्यारिलो रूपमा विश्वबन्धुलाई मन पराएको प्रसंग उठाउने गर्थे । अनि थप्थे, ‘यदि अरू कसैले राजाका सामुन्ने त्यसले जस्तो कुरा गरेको भए झुन्डाइदिने थिए । बेलगाम बोल्ने उसको आदत नै थियो । एक पटक बिनाकुनै तुक उसले राजालाई भन्दियो– ‘हजुरलाई राम्रैसँग थाहा छ, हजुर भगवान् होइन । हामीले जनतालाई राजा भगवान् हुन् भनेर भ्रम फैलायौं । तिनले हामीलाई विश्वास गरेर सरकारलाई भगवान् मान्न थाले ।’

राष्ट्रिय पञ्चायत सदस्यबाट राजीनामा गरेका विश्वबन्धुलाई राजा महेन्द्रले सुरक्षा कानुन लगाएर ६ महिना नख्खु कारागारमा थुने । रिहा भएका थापा किसानी जीवनमा संलग्न हुँदै थिए । राजा महेन्द्रले पञ्चायतको सबलीकरणका निमित्त गठन गरिएको ‘गाउँ फर्क राष्ट्रिय अभियान’ को अध्यक्ष पदमा थापालाई नियुक्त गरे । अध्यक्ष थापाले पञ्चायतको निर्वाचनमा सहभागिता जनाउने उद्देश्यस्वरूप भरतपुर पञ्चायतको निर्वाचनमा वडा सदस्य पदका निमित्त उमेदवारी दिए । तर अज्ञात व्यक्ति ‘सुकुचा’ बाट पराजित भए । उनी अध्यक्षबाट राजीनामा टक्राउन राजाको सामुन्ने पुगे । राजाले तिनलाई ‘वडा सदस्य पदमा अपदस्थ हुँदैमा किन राजीनामा दिने ?’ भनेर सोधे । उनले 

जवाफ दिए, ‘सरकारलाई राम्रैसँग थाहा छ, मलाई सुकुचाले हराएको होइन भनेर । मेरो बुझाइमा सरकारलाई मेरो सेवाको आवश्यकता छैन । त्यसकारण राजीनामा स्वीकार गरिबक्सियोस् ।’

राजा वीरेन्द्रले पञ्चायतलाई अझ संकीर्ण तुल्याउने हेतुले गाउँ फर्क राष्ट्रिय अभियानको पुनर्गठन गरे । नयाँ शक्तिशाली गाउँ फर्कको अध्यक्ष पदमा पुनः तिनै थापालाई नियुक्त गरे । तर अध्यक्ष थापा बीपीसँग दसैंको टीका ग्रहण गर्न गए । वीरेन्द्रले तिनलाई बोलाएर ‘के गरेको तिमीले यस्तो ?’ भनेर सोधे । थापाले प्रतिउत्तर दिएछन्, ‘सरकार सुवर्णशमशेरसँग टीकाटालो गर्न लक्ष्मी निवास सवारी भएको थियो । म पनि सान्दाजुसँग टीका थाप्न गएर के गल्ती गरें ?’

भोलिपल्ट राजदरबारबाट थापाले पदबाट टक्राएको राजीनामा स्वीकृत भएको विज्ञप्ति प्रकाशित भयो ।

विनोद सिजापति विनोद सिजापति अर्थ-राजनीतिक विश्लेषक हुन् ।

Link copied successfully