भयरहित मतदानको सुनिश्चितता अपरिहार्य

जितको अनुभूतिले बढाउने अहंकार वा हारको आशंकाले सिर्जना गर्ने उत्तेजनाबाट बहकिएर निर्वाचनलाई बिथोल्ने वा सुरक्षा जटिलतामा होम्ने भूल कसैले गर्नु हुँदैन । यस्तो गर्नु राजनीतिक संस्कारको परिचय होइन । जनताको विवेकमाथिको पनि अविश्वास हो ।

फाल्गुन ११, २०८२

सम्पादकीय

Ensuring fearless voting is essential

What you should know

मतदानको दिन नजिकिँदै गर्दा यसप्रतिको उत्साह जति उच्च हुन्छ, कैयौं निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा मतदान होला कि नहोला भन्ने संशय पनि उति नै उच्च हुन्छ । मतदानका लागि १० दिन मात्रै बाँकी रहेको समयमा दलहरूबीचको सामाजिक सञ्जालको ‘भर्चुअल’ मञ्चमा तीव्र कटाक्ष छ ।

कतिपय ठाउँमा भौतिक रूपमै पनि एकअर्काका प्रतिवाद भएको पाइन्छ । भयरहित वातावरणमा मतदाताले आफ्नो विवेक प्रयोग गर्दै दिएको मतले मात्रै निर्वाचनको ओज राख्न सक्छ, लोकतन्त्रलाई जीवन्त बनाउन सक्छ । त्यस किसिमको वातावरण बनाउनका लागि सरकार, सुरक्षा निकाय, सबै राजनीतिक दलहरू, उम्मेदवार, कार्यकर्ता तथा समर्थक सचेत बन्नुपर्छ ।

जितको अनुभूतिले बढाउने अहंकार वा हारको आशंकाले सिर्जना गर्ने उत्तेजनाबाट बहकिएर निर्वाचनलाई बिथोल्ने वा सुरक्षा जटिलतामा होम्ने भूल कसैले गर्नु हुँदैन । यस्तो गर्नु राजनीतिक संस्कारको परिचय होइन । जनताको विवेकमाथिको पनि अविश्वास हो ।

निर्वाचनमा दल तथा उम्मेदवारले आफ्नो एजेन्डा लिएर जनतामाझ जाने हो । आफ्नो एजेन्डाको पक्षमा प्रचारप्रसार गर्ने हो । जनताको मन जितेर मतमा परिणत गर्ने हो । जनताले आफ्नो दलको एजेन्डा मन पराएनन् भने पुनर्विचार गर्ने हो । दलको छवि र सांगठनिक आधारलाई अझै जनतामुखी बनाउने हो । आगामी निर्वाचनमा बढीभन्दा बढी जनताको विश्वास जित्ने गरी मिहिनेत गर्ने हो ।

यस्तै स्वभावले नै निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउनेछ । तर २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा झन्डा जलाउने कामसमेत हुन थालेको छ । ८ फागुनमा दाङमा एमालेको झन्डा जलाइएपछि एमाले र रास्वपाबीच वादप्रतिवाद भइरहेको छ । यो चिन्ताको विषय हो । मञ्चहरूबाट पनि नेताहरूको अभिव्यक्ति अर्को पार्टीका नेतालाई ‘दानवीकरण’ गर्नेतर्फ केन्द्रित छ । जबकि, आफ्नो एजेन्डालाई सौम्य ढंगले राख्नु उनीहरूको कर्तव्य हो । तर शीर्ष नेताहरू नै प्रतिस्पर्धी पार्टीका नेतालाई तल नखसाली आफू माथि बढ्न सकिँदैन भन्ने मानसिकताबाट ग्रसित देखिन्छन् । जसले गर्दा ‘निर्वाचन कोलाहल’ बढिरहेको छ ।

२३ र २४ भदौको जेन–जी आन्दोलनले नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको छ । त्यसलाई विद्रोह र उपलब्धि ठान्ने पक्ष तथा विध्वंस र आपराधिक घटनाका रूपमा औंल्याउने पक्ष निर्वाचनमा होमिएका छन् । निर्वाचनको मूल एजेन्डा नै जेन–जी आन्दोलनप्रतिको बुझाइमा केन्द्रित भएजस्तो अनुभूति हुन्छ । निर्वाचनका आवरणमा घटेका र सम्भावित जोखिम औंल्याएका गतिविधि यही बुझाइको वरपर देखिन्छन् । त्यसैले उम्मेदवार तथा कार्यकर्ताबाट उत्तेजक र भड्काउ अभिव्यक्ति बढ्ने सम्भावना छ ।

जसले निर्वाचनको वातावरणलाई नै प्रभावित गर्न सक्छ । त्यसैले निर्वाचनलाई सुरक्षित, व्यवस्थित, धाँधलीरहित र सर्वस्वीकार्य बनाउन सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरूलगायत सबै पक्षको उत्तिकै संयमपूर्ण भूमिका हुनुपर्छ । सुरक्षा संयन्त्रले भड्काउपूर्ण गतिविधिलाई बेलैमा आफ्नो पकडमा लिएर उपयुक्त शान्तिसुरक्षाको प्रबन्ध गराउनुपर्छ । यसो गरिनु सुरक्षाको दृष्टिकोणबाट मात्रै होइन, निर्वाचनको विश्वसनीयता बढाउनका लागि पनि अपरिहार्य छ ।

निर्वाचनअघि मात्रै होइन, मतदान हुने दिनको सुरक्षा चुनौती पनि स्मरणीय छ । गत निर्वाचनमा दोलखा, बझाङ र बाजुरामा मतदानलाई असुरक्षित र व्यवधान खडा गरिएका घटना बाहिरिएका थिए । स्याङ्जामा मृतक व्यक्तिका नाममा समेत मत खसेको घटना सार्वजनिक भएको थियो । तर मतदानमा व्यवधान गर्ने र फर्जी मत खसाउनेमाथि निर्वाचन आयोग निर्मम हुन नसकेको र निर्वाचन सुरक्षामा खटिएका जनशक्तिले गम्भीर रूपमा जिम्मेवारी बहन पनि नगरेको देखियो ।

यस्ता घटना आसन्न निर्वाचनमा नदोहोरियोस् भनेर सम्बद्ध पक्षहरूले मनन गर्नैपर्छ । राज्यका स्थायी संयन्त्रहरू चरम दलीयकरण भएका छन् । त्यसबाट बाहिर उठेर सुरक्षा संयन्त्रहरूले विश्वासिलो कार्यसम्पादनको सुनिश्चितता गर्नुपर्छ । यति मात्र होइन, सामाजिक सद्भाव खलल पार्ने, धार्मिक दंगा भड्काउन सक्ने, प्रकारान्तरले निर्वाचनलाई नै बिथोल्न खोज्ने र त्यसको नाजायज लाभ अमुक पक्षले लिन सक्ने जोखिमप्रति सबै सजग हुनुपर्छ । निर्वाचनमा खटिने सुरक्षा संयन्त्रले निर्भयपूर्वक मतदानस्थलसम्म पुग्ने र मतदान गरेर फर्किने वातावरणको सुनिश्चितता गर्नैपर्छ ।

कहींकतै हुने निर्वाचन आचारसंहिता विपरीतका गतिविधि दण्डनीय भएनन् भने, कोही कारबाहीमा परेनन् भने अन्यत्र पनि त्यस्तै गतिविधिले प्रश्रय पाउँछन् । त्यसले निर्वाचनलाई नै गैरराजनीतिक र गैरलोकतान्त्रिक कार्यक्रममा रूपान्तरण गर्छ । त्यसैले निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरू सबैले निर्वाचनको वातावरणलाई सहज बनाउनका लागि प्रयत्न गर्नुपर्छ ।

आयोगले आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गर्ने अग्रसरता देखाउनुपर्छ । सुरक्षा निकायले सुरक्षा विश्लेषण गर्दै रणनीति तय गर्नुपर्छ । मुख्य भूमिका भने राजनीतिक दलहरूकै हो । प्रथमतः उनीहरूले पालना गर्ने भनेर प्रतिबद्धता जनाएको आचारसंहिताको सम्मान गर्नुपर्छ । त्यसविपरीतका गतिविधि गर्नु हुँदैन । निर्वाचनलाई राजनीतिक उत्सव बनाउने जिम्मेवारी उनीहरूकै हो । एजेन्डाकेन्द्रित बनाउने जिम्मेवारी पनि उनीहरूकै हो ।

तर, उनीहरूले एजेन्डा होइन, बाहुबल प्रदर्शन गर्न थाले र त्यही बाटोबाट जितिन्छ भन्ने विश्वास गर्न थाले भने निर्वाचन प्राविधिक उपक्रम मात्रै बन्छ । हाम्रो जस्तो कलिलो लोकतन्त्रका लागि त्यो मुलुकको समस्या समाधानको आशासँग जोडिन सक्दैन, बरु थप गहिरा समस्याको सुरुङ प्रवेशको बाध्यता बन्दै जान्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully