प्रतिनिधि रोज्ने कि मुक्तिदाता खोज्ने ?

व्यक्तिको करिस्मातिर आकर्षित हुने कि भिजन र योजना भएका स्वप्नद्रष्टा रोज्ने ? प्रियतावादको बाढीमा बहने कि विधिमा विश्वास गर्ने र त्यसलाई संस्थागत गर्ने नेतृत्व चुन्ने ?

फाल्गुन ११, २०८२

राजाराम गौतम

Choose a representative or find a savior?

What you should know

एक जना पुराना आइरिस नाटककार एवं राजनीतिक चिन्तक जर्ज बर्नार्ड शाले भनेका थिए, ‘चुनावमा मतदाताहरू मुक्तिदाता छान्दैनन्, जनप्रतिनिधि छान्छन् ।’ तर, हमेसा ‘नायक’ खोजी बस्ने नेपाली मतदाताको रुचि सायद अलि भिन्न छ ।

यिनलाई आज पनि को असली जनप्रतिनिधि हो र को ‘मुक्तिदाता’ को आवरणमा आएको पात्र हो, खुट्याउन मुस्किल पर्ने गर्छ । तीन वर्षअघि २०७९ को चुनावमा मतदाताहरू बेग्लै निराशिएको मनोविज्ञानमा थिए । तिनको चुनौती थियो, खराबहरूमध्ये तुलनात्मक कम खराब रोज्ने ? यस पटक चुनौती अरू थपिएको छ, असली जनप्रतिनिधि रोज्ने कि मसिहा खोज्ने ? 

आकस्मिक आइपरेको चुनाव, २०८२ दैलोमै आइपुगेको छ । यसबीच कुनै आकस्मिक अनिष्ट नभए अबको दस दिनमा चुनाव छ । तापमानसँगै चुनावी सरगर्मी बढ्दै जाँदा मिठा–मिठा सपनाका पोका लिएर मसिहा र मुक्तिदाताको भेषमा अनेक दलका थरी–थरी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । देशमा विकास र समृद्धि ल्याउने अनि देश बदल्ने रुमानी वाचा सबैले गरेका छन् । 

चुनावी घोषणापत्रमार्फत मुख्य प्रतिस्पर्धी दलहरूले सार्वजनिक गरेका कतिपय प्रतिबद्धताहरू राजनीतिक इच्छाशक्ति हुँदा पूरा गर्न सक्ने खालका पनि छन् भने कैयौं वाचा मतदाता लोभ्याउने नियतबाट निर्देशित छन् । संकल्प, प्रतिज्ञा, वाचा वा प्रतिबद्धता जे भनिए पनि दलहरूका घोषणापत्र सारमा अति महत्त्वाकांक्षी र लोकरिझ्याइँ प्रेरित छन् । 

मुख्य प्रतिस्पर्धी दलका घोषणापत्रहरू कस्ता छन् ? संक्षिप्तमा सरसर्ती हेरौं । 

विशेष महाधिवेशनबाट नेतृत्व फेरेर चुनावी मोर्चामा होमिएको ऐतिहासिक राजनीतिक पृष्ठभूमि भएको पार्टी नेपाली कांग्रेसले दुई सय पृष्ठको प्रतिज्ञापत्रमार्फत देश विकासको रोडम्याप अघि सारेको छ । कांग्रेसको नयाँ नेतृत्वको मतदातासँग जिकिर छ, ‘हामी बदलिएर आयौं, अब देश बदल्न कांग्रेसलाई मत दिनुहोस् ।’ 

उसले भ्रष्टाचार नियन्त्रण, संस्थागत सुधार र डिजिटल सुशासनलाई प्रतिज्ञापत्रको केन्द्रमा राखेको छ । दलतन्त्र/नेतातन्त्रलाई निरुत्साहित गर्दै उसले प्रतिज्ञापत्रमा दलीय नियुक्तिको अन्त्य गर्ने र संवैधानिक संस्थाहरूको सुदृढीकरणमा जोड दिने बताएको छ । रोजगारी, शिक्षा, स्वास्थ्य र उत्पादनमुखी अर्थतन्त्र, कार्यकारी पदको कार्यकाल सीमा, मन्त्रालयको संख्या कटौती अनि निर्वाचन प्रणाली सुधारका मुद्दालाई प्रधानता दिएको छ । निःशुल्क स्वास्थ्यमा विशेष जोड दिएको छ । सभापति गगन थापाले आश्वासन बाँडेका छन्, ‘कांग्रेसको सरकार बनेपछि अस्पताल गएर नागरिकले खल्तीबाट एक रुपैयाँ तिर्न नपर्ने बनाउँछौं ।’ 

नेकपा एमाले विगतका चुनावको तुलनामा अलि बढी नै रक्षात्मक अवस्थामा पुगेको छ । आफ्नो संगठित आधार मजबुत भएको ठान्ने एमालेको मतदातासँग प्रत्यक्ष संवाद तुलनात्मक रूपमा कमजोर देखिएको छ । तथापि उसले यो चुनावमा पनि यसअघि झैं राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई मूल मुद्दा बनाएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले शासनसत्ताका बागडोरमा रहँदासम्म भ्रष्टाचारविरुद्ध ‘जिरो टोलरेन्स’को मुद्दा छोडेनन् तर, मुलुकले सुशासनको सास कहिल्यै फेरेन । अहिले पनि उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, उच्च आर्थिक वृद्धिदर, पूर्वाधार विकास र गरिबी हटाउने महत्त्वाकांक्षी लक्ष्यहरू प्रतिबद्धतापत्रमा समेटेका छन् । युवालाई निःशुल्क इन्टरनेट डाटा, विद्यार्थीलाई निर्ब्याजी ऋण, सामाजिक सुरक्षा विस्तार, डिजिटल पूर्वाधार, प्रविधिमैत्री निगरानी, आधुनिक कृषि आदि प्रतिबद्धता अघि सार्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा दोहोर्‍याएका छन् । 

विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ओली जति रक्षात्मक त छैनन्, तर ‘एसर्टिभ’ पनि देखिन्नन् । उनी आफ्नो पार्टीलाई नयाँ भन्दै छन् र संघीय गणतन्त्रको परिवर्तनका वाहकका रूपमा आफूलाई उभ्याउँदै मत माग्दै छन् । सत्ता अनुभव र परिवर्तनको वाहकको दुहाइ दिँदै सन्तुलन खोज्ने प्रयत्नमा जुटेका प्रचण्ड पुराना मतदाता जोगाउन र नयाँलाई विश्वास दिलाउने दोहोरो दबाबमा छन् । त्यसका लागि उनले प्रतिबद्धतापत्रमा शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनामा संशोधनको प्रस्ताव अघि सार्दै उच्च आर्थिक वृद्धिदर, गरिबी दस प्रतिशत घटाउने, रोजगारी बढाउने लगायतका थुप्रै महत्त्वाकांक्षी घोषणाहरू सार्वजनिक गरेका छन् । 

२०७९ को निर्वाचनबाट चौथो ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकर्षण र आत्मविश्वास दुवै बढेको छ । उसको दाबी छ, ‘पुराना दल परीक्षण भएर असफल भइसके । यस पटक परीक्षण हुने पालो हाम्रो हो ।’ मतदातासामु रास्वपाले राजनीतिक, प्रशासनिक, आर्थिक सबैखाले सुधारका सय बुँदे वाचापत्र सार्दै वैकल्पिक शक्तिका रूपमा स्थिर सरकार बनाउने गरी बहुमत दिन आग्रह गरेको छ । उसले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, गैरदलीय स्थानीय सरकार, २०४६ यताका सार्वजनिक पदमा बसेकाको सम्पत्ति छानबिनलगायत सुशासनको मुद्दालाई प्रधानता दिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चाहिँ पूर्णरूपमा चुनावमा होमिन नसकेर दोधारमा भएजस्तो भान हुन्छ । चुनावअघि नै राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने पूर्वराजा ज्ञानेन्द्रको मुद्दा बोक्ने कि चुनावबाट फेरि संसद्मा आफ्नो उपस्थिति खोज्ने ? यो पार्टी दोमनमा छ । 

पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एउटा शुभकामना सन्देश दिँदै नवीन राष्ट्रिय सहमति गरेर मात्रै निर्वाचनमा जान आग्रह गरेपछि राप्रपा धर्मसंकटमा पर्‍यो । उसले लगत्तै चुनावअघि राजनीतिक सहमति खोज्न दबाब दिने उद्देश्यले सडक प्रदर्शन गर्‍यो । तथापि, मुलुक निर्वाचनमा होमिइसकेको छ र राप्रपाले पनि घोषणापत्र सार्वजनिक गरिसकेको छ । घोषणापत्रमा उसले भन्दै आएको राजसंस्था अभिभावकीय भूमिका, हिन्दु राष्ट्र र प्रदेश खारेजीलाई पुनः मूल मुद्दाकै रूपमा अघि सारेको छ । त्यस्तै सम्पत्ति छानबिनका लागि नागरिक आयोगको गठन, उच्च आर्थिक वृद्धिदर, निःशुल्क शिक्षा/स्वास्थ्य, गैरदलीय स्थानीय तह, पूर्वाधार विकास लगायतका विषयलाई घोषणापत्रमा समेटिएको छ । 

त्यस्तै मधेशकेन्द्रित दलहरूले समानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित कार्यकारी, पहिचानसहितको संघीय पुनःसंरचनामा जोड दिएका छन् । नयाँ वैकल्पिक दलका रूपमा चुनावी मोर्चामा उभिएको श्रम संस्कृति पार्टीले श्रम संस्कृतिको अनिवार्य प्रवर्द्धनका कुरा गरेको छ भने उज्याले नेपालले संरचनागत सुधार र सुशासनको कुरामा जोड दिएको छ । 

सारमा दलहरूले घोषणा गरेका वाचाहरूमा उच्च आर्थिक वृद्धिदर, लाखौंलाई रोजगारी दिने लगायतका कुरा महत्त्वाकांक्षी लाग्छन् भने निःशुल्क स्वास्थ्य/शिक्षा, ऋण सुविधा आदि मतदाता लोभ्याउने उद्देश्यबाट प्रभावित छन् । शासकीय वा निर्वाचन प्रणालीलाई दोष दिए पनि नेतृत्वको योग्यता र कार्यशैलीमाथि घोषणापत्रहरूमा गम्भीर आत्मसमीक्षा पाइँदैन । 

के मतदाताले मतदानको मुख्य आधार घोषणापत्रलाई बनाउलान् ? घोषणापत्रहरूमा भन्दा नागरिक वृत्तमा चुनावमा कसको पल्ला भारी होला ? को जित्ला, को हार्ला ? भन्ने प्रश्नमा अधिक चासो छ । सामाजिक सञ्जालदेखि चिया पसलसम्म जित–हारका अनेक अनुमानहरू भइराखेका छन् । मतदाताको मनोविज्ञानलाई प्रभावित गर्ने नियतबाट मिडिया ‘डिस्कोर्स’हरू पनि गरिएका छन् । अर्थात् मतदाताको विवेकको परीक्षाको घडी नजिकिँदै गएको छ । 

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेथे, ‘मतपत्र गोलीभन्दा शक्तिशाली हुन्छ ।’ अब अनुमान गरौं, त्यो मतपत्रमा मतदान गर्ने मतदातासँग कति शक्ति होला ? नेपाली मतदातासामु आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै फेरि एकचोटि त्यो शक्तिअभ्यास गर्ने अवसर आएको छ । 

यो चुनावमा नेपाली मतदाताको विवेकको परीक्षा मुख्यतः दुईवटा प्रश्नमा तिनको भूमिका के हुन्छ भन्नेबाट हुनेछ । 

पहिलो, नयाँ कि पुरानो ? यतिबेला यो प्रश्न जोडतोडले उठेको छ । सामाजिक सञ्जाल र मिडिया रिपोर्टहरूका आधारमा नयाँ र वैकल्पिक पार्टीको पक्षमा धेरै मतदाता रहेको भाष्य बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी लगायतका दल र थुप्रै उम्मेदवारले आफूलाई नयाँ र वैकल्पिक पार्टी भनेका छन् । यीमध्ये पनि रास्वपाको पक्षमा जनलहर भएको दाबी यत्रतत्र सुनिन्छ । मतदाताको भूमिका यहींनेर हुनेछ । के सबै नयाँ भनेका सक्षम र योग्य हुन् ? पुरान सबै अक्षम र अयोग्य हुन् ? योग्यताको मापदण्ड नयाँ अनुहार मात्रै हो त ? निश्चय पनि लामो समय सत्तामा बसेका पुराना दल र कतिपय नेताप्रति नागरिक वृत्त असन्तुष्ट छ । तर, आक्रोश र असन्तुष्टि मात्रै नयाँ छनोटको आधार बन्न सक्छ कि सक्दैन ? कतै नयाँहरू झन् छिटै पुरानाका हविगतमा पुग्ने हुन् कि ? कतै ती निराशाको जमिनमा अवसरवादको खेती त गर्दै छैनन् ? मतदाताले मतदान गर्नुपूर्व यी प्रश्नको वस्तुगत निरूपण गर्दै आफ्नो विवेकको बिर्को खोल्नुपर्ने छ । 

दोस्रो, यथास्थितिवाद कि परिवर्तन ? नयाँ र पुरानोको भाष्यकै पूरक प्रश्न हो यो । तर, यहाँनेर थप प्रश्न पनि उठ्छ, को परिवर्तनकारी अनि को यथास्थितिवादी ? कुनै बेला परिवर्तनकारी शक्ति भनेर चिनिएका कम्युनिस्टहरू लामो समय सत्तासीन हुँदा, आन्तरिक लोकतन्त्रका हिसाबले कमजोर हुँदै जादा, नयाँ पुस्तासँगको तिनको संवादहीनता बढ्दै जाँदा अनि सुशासनको मुद्दामा चुक्दा ती पुराना र यथास्थितिवादी कहलिएका छन् । रक्षात्मक अवस्थामा पुगेका कम्युनिस्ट पार्टीहरू यो चुनावमा थप कमजोर हुन सक्ने प्रारम्भिक अनुमानहरू भइराखेका छन् । तर के साँच्चै कम्युनिस्ट पार्टीका प्रतिबद्ध मतदाता यो राजनीतिक विचारप्रति यो चुनावमा आफ्नो अस्वीकृति जाहेर गर्दै छन् ? वा कम्युनिस्ट पार्टीका नेतृत्वले गरेको असफल अभ्यासमाथि आक्रोश व्यक्त गर्दै छन् ? यी प्रश्नको जवाफ पनि अब मतदाताको विवेकले निर्धारण गर्नेछ । 

अनि के कांग्रेस पनि यथास्थितिवादी नै हो त ? कांग्रेसले जड बनेर बसेको नेतृत्वमाथि विद्रोह गरेर पार्टीमा जुनस्तरको रूपान्तरण गर्‍यो ? के कांग्रेस परिवर्तनकामी होइन ? आम मतदातासामु उठेको यो अर्को महत्त्वपूर्ण प्रश्न हो । एकातिर समाजमा व्याप्त असन्तोष र आक्रोशको जमिनमा रास्वपा उदाएको छ । जो आफूलाई परिवर्तनकारी शक्ति भन्छ । अर्कोतिर पार्टीभित्र विद्रोह गरेर नयाँ राजनीतिक संस्कार र भाष्य निर्माण गर्दै गरेको कांग्रेस छ । आफूलाई परिवर्तनका पक्षधर दाबी गर्ने यी दुई दलबीच कसले आगामी राजनीतिक दिशानिर्देश गर्न सक्ला ? वा गर्नुपर्छ ? मतदाताबीच यो प्रश्न पनि उठेको छ । 

अझ प्रतीकात्मक रूपमा कांग्रेस सभापति गगन थापा कि रास्वपाका वरिष्ठ नेता बालेन शाह परिवर्तनका प्रतीक हुन् ? भनेर तुलना गर्दै बहसहरू पनि भएका छन् । यी दुवै पार्टीले थापा र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका छन् । त्यसो त एमालेले अघि सारेका अध्यक्ष ओलीसँग शाह भिड्दै छन् । झापा क्षेत्र नम्बर–५ यो निर्वाचनको मुख्य ‘इपिसेन्टर’ पनि हो । चार पटक प्रधानमन्त्री भइसकेका ओलीसँग निवर्तमान मेयर शाहले चुनावी प्रतिस्पर्धा गर्ने उद्घोष गरेसँगै यो क्षेत्रले राष्ट्रिय ध्यान खिचेको हो । 

चुनावमा बालेनले ओलीलाई पछार्लान् ? वा ओलीले आफ्नो किल्ला सुरक्षित राख्छ सक्लान् ? आम नागरिकवृत्तमा यो प्रश्नमा चासो नभएको होइन । यद्यपि, यो चुनावको केन्द्रीय प्रश्न हो, परिवर्तनको आकांक्षालाई कसले सम्बोधन गर्ला ? र, परिवर्तन आकांक्षा सम्बोधन गर्ने आशाका दुई अनुहार गगन र बालेन चुनावी मैदानमा छन् । 

एकातिर कांग्रेस सुधारेर, देश बनाउने संकल्प गर्दै बढेका गगन छन् भने अर्कोतिर ठूला दललाई चुनौती दिँदै बढेका बालेन छन् । यी दुई पात्र यतिबेला नेपाली राजनीतिको परिवर्तनका सिम्बोल बनेका छन् । बालेन पुराना राजनीतिक दल र त्यसमा हुर्केको नेतातन्त्रविरुद्धको निराशा र आक्रोशका अभिव्यक्ति हुन् भने गगन दलीय प्रणालीभित्रै सुधारको आशा र आकांक्षा जगाउन सकेका पात्र हुन् । एकातिर राजनीतिमा संस्थागत सुधारको आशा जगाउने गगन र अर्कोतिर असन्तुष्ट आवाज बोक्ने बालेनबीचको छनोटले मतदाताको परिपक्वताको जाँच हुनेछ । 

र्‍याप गायनको पृष्ठभूमि भएका बालेन तीन वर्षअघि ठूला राजनीतिक दलका उम्मेदवारलाई चक्मा दिँदै काठमाडौं महानगरका ‘नगरपिता’ भएका थिए । उनले महानगरमा के कति सुधार गरे ? त्यसको वस्तुगत मूल्यांकन भएको छैन । कार्यकाल नसकी महानगरको जिम्मेवारी बीचैमा छोडेर प्रधानमन्त्रीको महत्त्वाकांक्षी दौडमा सामेल बालेनमाथि मान्छेहरूले खासै प्रश्न गरेका छैनन्, बरु तिनलाई उनले महानगरलाई बस्नलायक ठाउँ बनाए भन्ने लागेको छ । दल र नेतातन्त्रले ल्याएको बेथिति उनको ‘एक्सन’मा जाने शैलीले सुधार्छ भन्ने धेरैलाई लागेको छ । त्यसैकारण होला, निकै कम बोल्ने रहस्यमय छवि भएका बालेनप्रति नागरिक वृत्तमा अनौठो सम्मोहन र आकर्षण छ । नायक शैलीमा भीडमा केही क्षण झुल्किने, छोटो ‘पर्फम’ गर्ने अनि ओझेल परिहाल्ने यी पात्रलाई एउटा नागरिक पंक्तिले परिवर्तनको ‘वाहक’ ठानेको छ । 

ठीक अर्कोतिर कांग्रेस सभापति गगन छन्, जो राजनीतिक पृष्ठभूमिबाट लड्दै, भिड्दै पार्टीभित्र विद्रोह गरेर नेतृत्वमा पुगेका छन् । उनी राजनीतिक दलभित्रको संस्थागत सुधार र परिवर्तनको अनुहार बनेका छन्, यतिबेला । उनीसँग राजनीतिको अन्तर्य बुझ्ने क्षमता छ । नीतिगत प्रस्टता राख्छन्, त्यसलाई जनस्तरमा बुझाउन सक्छन्, उत्तेजना होइन, संवाद र सहमतिको पैरवी गर्छन् । कांग्रेसको नेतृत्वमा पुगेपछि गगनले नवीन राजनीतिक संस्कारलाई संस्थागत गर्ने अभ्यास थालेर एउटा आशाको सकारात्मक बिम्ब बनेका छन् । 

यहींनेर मतदाताको विवेकको परीक्षा हुनेछ, व्यक्तिको करिस्मातिर आकर्षित हुने कि भिजन र योजना भएका स्वप्नद्रष्टा रोज्ने ? प्रियतावादको बाढीमा बहने कि विधिमा विश्वास गर्ने र त्यसलाई संस्थागत गर्ने नेतृत्व चुन्ने ? आइरिस नाटककार जर्ज बर्नार्ड शाले भनेजस्तै नेपाली मतदाताले जनप्रतिनिधि र मुक्तिदाताबीचको भेद छुट्याउन कति सक्षम होलान् ? त्यो चाहिँ हेर्नुछ ।

राजाराम गौतम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको 'साप्ताहिक' र 'नारी' मासिकको सम्पादक भएका राजाराम कान्तिपुरमा समसामयिक बिषयमा लेख्ने गर्छन् ।

Link copied successfully